काठमाडौं । कुनै नयाँ काम गर्न थाल्दा विभिन्न चुनौती आउँछन् । र, कहिलेकाहीँ त्यही चुनौतीले नयाँ सम्भावना पनि जन्माउँछ । यस्तै भयो, प्रशान्त फुयाँल (२४) लाई पनि ।

स्नातक पढ्दै गर्दा कलेजका दुई साथीसँग मिलेर अनलाइन व्यवसाय गर्दा भोगेका चुनौतीपछि उनले ‘ब्लाङ्सर टेक्नोलोजी’ नामको स्टार्टअप सुरु गरे । यो स्टार्टअप ई-कमर्स वेबसाइट बनाइदिने कम्पनीका रूपमा परिचित छ ।
सन् २०२२ को जनवरीमा प्रशान्तले आफ्ना साथीहरू अभिनव साह र जीवन रिसालसँग मिलेर मोबाइल स्किन ब्रान्ड ‘र्याप्सी’ सुरु गरेका थिए । त्यसबेला ‘र्याप्सी’ नौलो कन्सेप्टका कारण भाइरल नै बन्यो । टेकपानाले पनि यसबारे सामग्री बनाएको थियो ।
टिकटक लगायतका सामाजिक सञ्जालमा र्याप्सी जति भाइरल हुँदै थियो, त्यति नै धेरै अर्डर आउन थाले । अर्डर बढ्न थालेसँगै सामाजिक सञ्जालमा ग्राहकसँग कुराकानी गर्न र सही समयमा सामान डेलिभरी गर्न उनीहरूलाई सकस पर्न थाल्यो ।

गुगलशिटमा अर्डर राख्ने, सामान डेलिभरीका लागि गाडीको व्यवस्थापन गर्ने, सामान डेलिभरी भएको छ कि छैन भनेर जानकारी राख्ने जस्ता काम व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो ।
“सबै ग्राहकको अर्डरको रिप्लाई गर्न एक हप्ताभन्दा पनि बढी समय लाग्थ्यो । रिप्लाई ढिलो हुँदा धेरै जनाको सामान किन्ने इच्छा पनि हराइसकेको हुन्थ्यो,” प्रशान्त सम्झिन्छन् ।
यस समस्याले अनलाइन व्यापारलाई व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने राम्रो प्लेटफर्म नभएको उनले महसुस गरे । वर्डप्रेसमार्फत वेबसाइट बनाए पनि ठुलो कारोबार गर्नुपर्दा राम्रोसँग नचल्ने, स्लो हुने समस्या आयो ।
त्यसपछि प्रशान्तले अनलाइन व्यवसायलाई सजिलो बनाउनका लागि अर्डर व्यवस्थापन प्रणाली भएको प्लेटफर्म बनाउने बारेमा सोच्न थाले ।
काठमाडौंस्थित हेराल्ड कलेजबाट आईटीमा स्नातक गरेका उनीसँग आफैँले अनलाइन व्यवसाय गरेको अनुभव थियो । नयाँ स्टार्टअप कम्पनीको लागि उनले आफ्नै मामा किरण न्यौपाने (२६) सँग कम्पनीको आइडिया शेयर गरे । आईटी क्षेत्रमै सक्रिय किरणले प्रशान्तको आइडिया मन पराए । र, दुईजना मिलेर सन् २०२३ को जनवरीमा ब्लाङ्सर सुरु गरे ।
ब्लाङ्सर अङ्ग्रेजी शब्द ‘Blank बाट ल्याइएको हो । “खाली स्पेसमा आफ्नो नयाँ आइडिया, इनोभेसन र क्रियटिभिटिलाई आकार दिने माध्यम हो, ब्लाङ्सर,” प्रशान्त भन्छन् ।
अनलाइन व्यापारका क्रममा आउने अर्डरदेखि डेलिभरीसम्मका काम स्वचालित रूपमा व्यवस्थापन गर्नसक्ने वेबसाइट केही मिनेटमै बनाइदिने प्लेटफर्म हो, ब्लाङ्सर । जसमार्फत व्यवसायीहरूले ग्राहकलाई बिना कुनै समस्या आफ्ना सामान सजिलै बेच्न सक्छन् ।
कस्तो व्यवसाय गर्ने भनेर निर्णय गर्ने र ग्राहकहरूलाई किन्न कन्भिन्स गर्ने काम बाहेकका सम्पूर्ण काम ब्लाङ्सरबाट नै हुने प्रशान्त बताउँछन् ।
“ब्लाङ्सर अनलाइन व्यापारका लागि सबैभन्दा उपयुक्त विकल्प हो । यहाँबाट आफ्नो अनलाइन बिजनेसको नामको वेबसाइट बनाउन सकिन्छ । त्यसपछि अर्डर लिने, डेलिभरीको प्रोसेस अघि बढाउने, सामान कहाँ पुग्यो भनेर ट्र्याक गर्ने, ग्राहकलाई सामान डेलिभरी हुँदै छ भनेर एसएमएस पठाउने सिस्टमबाट अटोमेटिक हुन्छ,” उनी भन्छन् ।
कम्पनीले सामान डेलिभरीका लागि लजिस्टिक कम्पनीहरूसँग पनि सहकार्य गरेकाले व्यवसायीलाई सामान डेलिभरीका लागि आफैँ सवारीसाधन खोज्ने चिन्ता नपर्ने उनले सुनाए ।
यस्तै, टिकटक, इन्स्टाग्राम, फेसबुकबाट आफ्नो ब्रान्डको प्रचार गर्ने क्रममा कमेन्टमा लिङ्क राखेर ग्राहकलाई वेबसाइटमार्फत खरिद गर्न अनुरोध गर्न सकिने उनले सुनाए । उनले थपे, “हाम्रा धेरै ग्राहक बिजनेसका लागि ब्लाङ्सरकै भर पर्नुभएको छ ।”
ब्लाङ्सरमार्फत कसरी वेबसाइट बनाउने ?
ब्लाङ्सरमार्फत व्यापारीहरू आफैँले केही मिनेटमै आफ्नो व्यवसायलाई चाहिए अनुसारको वेबसाइट तयार गर्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिला ब्लाङ्सरको वेबसाइटमा गएर रजिस्टर गर्नुपर्छ ।
रजिस्टर गरेपछि १५ दिनको नि:शुल्क परीक्षण गर्न सकिन्छ । यो समयमा ब्लाङ्सर कस्तो प्लेटफर्म हो र यसले कसरी काम गर्छ भनेर जान्न सकिन्छ भने आफ्नो आवश्यकता अनुसार कुन प्याकेज आवश्यक पर्छ भनेर पनि थाहा पाउन सकिन्छ ।
यो प्लेटफर्मको परीक्षण गररहेको समयमा नै व्यवसायीहरूले आफ्नो कम्पनीको वेबसाइट बनाउन र वेबसाइटमा बेच्नका लागि प्रडक्टहरू अपलोड गर्न सक्छन् । ब्लाङ्सरमा वेबसाइट बनाउन समस्या हुने व्यक्तिहरूका लागि ब्लाङ्सरले आफ्नो युट्युब च्यानलमा ट्युटोरियल भिडिओसमेत राखेको छ । जहाँ आफ्नो कम्पनीको नामको वेबसाइट कसरी बनाउने, वेबसाइटमार्फत अर्डर कसरी लिने लगायतका कुरा विस्तृतमा सिकाइएको छ ।
प्रशान्त भन्छन्, “रजिस्टर गर्ने समयमा नै ‘Getting Started’ को स्क्रिन देखा पर्छ । त्यहाँबाट युट्युबको ट्युटोरियल भिडिओमा सिधै जान सकिन्छ । प्रयोगकर्तालाई सहज हुने अझै धेरै भिडिओ बनाउँदै छौँ ।”
यस्तै १५ दिनको परीक्षण समय सकिनुभन्दा पहिलेदेखि नै परीक्षणकालीन समय एक्स्पायर हुन लाग्यो भनेर एक किसिमको पपअप देखा पर्छ । त्यसपछि क्यूआर कोडमार्फत रकम भुक्तानी गरेर आफूलाई अनुकूल हुने किसिमको वार्षिक सदस्यता लिन सकिन्छ ।
ब्लाङ्सरले वार्षिक २४ हजार, २८ हजार र ४८ हजार गरी तीन किसिमको सब्सक्रिप्सन प्याकेज उपलब्ध गराउँछ ।
छुट्टै वेबसाइट बनाएर व्यवसाय सञ्चालन गर्नुभन्दा ब्लाङ्सरको वार्षिक सदस्यता फाइदाजनक रहेको उनी बताउँछन् । “राम्रो वेबसाइट बनाउने पैसाले ब्लाङ्सरको १० वर्षको सब्सक्रिप्सन लिन सकिन्छ । अझ वेबसाइट मेन्टेनेन्स गर्न नपर्ने भएकाले धेरैको पैसा पनि जोगिन्छ,” प्रशान्त भन्छन् ।
ब्लाङ्सरमा सुरुवाती चरणमा करिब १० लाख लगानी भएको उनी बताउँछन् । त्यतिबेलादेखि नै मामा-भान्जा अर्थात् किरण र प्रशान्त मिलेर काम गर्दै आएका थिए । ग्राहकहरूसँग सहकार्य गर्न कस्टमर सर्भिसका लागि एक कर्मचारी राखे ।
अहिलेसम्म जति आम्दानी भएको छ, त्यो रकम कम्पनी चलाउन खर्च भइरहेको प्रशान्त बताउँछन् । यसै वर्षदेखि कम्पनीमा कर्मचारीहरू पनि थपिएका छन् । हाल कम्पनीमा १० जना कार्यरत छन् ।
प्रशान्तका अनुसार ५५० भन्दा बढी अनलाइन व्यवसायीहरूले ब्लाङसरको प्लेटफर्ममार्फत आफ्नो व्यवसायको वेबसाइट बनाएर सक्रिय रूपमा व्यापार गरिरहेका छन् । “हाम्रोबाट बनेको वेबसाइट सबैको चेकआउट सिस्टम एउटै हुन्छ । त्यही भएर धेरैले सामान किन्दा ब्लाङ्सरबाट बनेको वेबसाइट रहेछ भनेर थाहा पाएर ढुक्क भएर शपिङ गर्नुहुन्छ,” उनी भन्छन् ।
काम गर्दै जाँदा ब्लाङ्सरको प्लेटफर्म प्रयोग गर्ने व्यवसायीका लागि सामान डेलिभरीका लागि प्याकेजिङको सामान तथा प्रिन्टर पनि आवश्यक रहेको महसुस भयो । त्यसपछि ब्लाङ्सर सप्लाई डटकम सुरु गरेर अनलाइन व्यापार तथा सामान डेलिभरीका लागि आवश्यक पर्ने सामग्रीहरू पनि बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको प्रशान्त बताउँछन् ।
उनका अनुसार कम्पनीले थर्मल प्रिन्टर, रोल लेबल, बार कोड जस्ता सामग्री बिक्री गर्छ । उनले भने, “हाम्रोबाट वेबसाइट बनाउनेहरूले यो प्रडक्ट पनि किन्न हुन्छ । ”
कम्पनीले अनलाइन व्यापारका लागि प्लेटफर्म बनाउनुका साथै बस सिस्टम पनि बनाउने तयारी अघि बढाएको छ । उक्त प्रणालीले अनलाइन व्यापारका साथै अफलाइन पसलको पनि व्यवस्थापनमा सहज पुर्याउने उनले बताए ।
उनले भने, “भौतिक पसल भएर अनलाइनमा पनि व्यापार गर्ने धेरै हुनुहुन्छ । बस सिस्टमले अफलाइनमा सामान बेचेपछि त्यसको बारेमा अनलाइनमा पनि अपडेट राख्छ ।” यस प्रणालीको प्रयोगले व्यवसायीलाई सेल्स डेटाको रेकर्ड राख्न र व्यवस्थापन गर्न पनि सहज हुने उनले बताए ।
यस्तै विदेशमा पनि सेवा विस्तार गर्ने योजना ल्याइएको छ । “अमेरिका, अस्ट्रेलिया, जापानमा हुनेहरूले पनि त्यहाँ अनलाइन प्रडक्ट बेच्नका लागि ब्लाङ्सर चलाउने इच्छा देखाइरहनु भएको छ ।” ब्लाङ्सरको माग अनुसार त्यहाँ सेवा विस्तारका लागि कस्ता कानुनी व्यवस्था छन् भनेर बुझिरहेको उनले सुनाए ।
शब्दचित्रमा ब्लाङ्सर टेक्नोलोजी
विवरण
|
जानकारी
|
कम्पनीको नाम
|
ब्लाङ्सर टेक्नोलोजी प्रालि
|
सेवा क्षेत्र
|
ई-कमर्स
|
सुरुवाती लगानी
|
१० लाख रुपैयाँ
|
संस्थापकहरू
|
प्रशान्त फुयाँल, किरण न्यौपाने
|
सीईओ
|
प्रशान्त फुयाँल
|
सीटीओ
|
किरण न्यौपाने
|
स्थापना वर्ष
|
१ जनवरी, २०२३
|
ठेगाना
|
मनोहरा पार्क नजिकै, लोकन्थली, भक्तपुर
|
ईमेल
|
|
फोन
|
९८०२७०५५५७
|
संस्थागत ग्राहक सङ्ख्या
|
५५०+
|
सामाजिक सञ्जाल
|
|
सेवा
|
अनलाइन व्यवसायका लागि केही मिनेटमा नै प्रयोगमा ल्याउन वेबसाइट बनाउने ।
|
ग्राहक कम्पनीहरू
|
आफ्ना ब्रान्डलाई अनलाइनमा सार्वजनिक गर्न चाहने उद्यमीहरू
|
शर्टिफिकेसनहरू
|
|
यूएसपी (विशिष्ट विशेषता)
|
केही मिनेटमा नै ई-कमर्स वेबसाइट बनाइदिने
|
अवार्ड तथा प्रमाणपत्रहरू
|
आईसीटी राइजिङ स्टार इनोभेसन अवार्ड २०२३ विजेता, एनवाईईएफ स्टार्टअप अवार्ड ३.० को शीर्ष ५ मा पर्न सफल
|
उद्देश्य तथा लक्ष्य
|
नेपालका साना तथा मझौला व्यवसायहरूलाई डिजिटल रुपान्तरण गर्ने । अनलाइन र अफलाइन व्यवसाय चलाउनका लागि ग्राहकको चाहना अनुसारको वेबसाइट, अर्डर व्यवस्थापन, अनलाइन भुक्तानी तथा व्यापारको विश्लेषण गर्ने जस्ता काम एउटै ड्यासबोर्डबाट सहज तरिकाले गर्न सकिने सुविधा
|
अबका योजनाहरू
|
बस सिस्टम सञ्चालनमा ल्याउने
|
कर्मचारी सङ्ख्या
|
१०
|
पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १७:७
सामाग्री श्रोत :
टेक पाना