२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

मासिक तलब लिने वा दैनिक भाडा तिर्ने विकल्पसहित राइड शेयरिङ गर्न २५ युवाले पाए ईभी स्कुटर

काठमाडौँ । युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित ललितपुरमा राइडर लक्षित विद्युतीय स्कुटर (ईभी) वितरण योजना सुरु गरिएको छ । ‘तपाईँको बजार’, ‘ई-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को सहकार्यमा शनिबार भैंसेपाटीमा आयोजित एक कार्यक्रमबिच पहिलो चरणमा छनोट भएका राइडरलाई ईभी स्कुटर हस्तान्तरण गरिएको हो ।

ई-ड्राइभले राइड शेयरिङ प्लेटफर्मको भूमिका निर्वाह गर्दा, तपाईँको बजारले वित्तीय तथा फ्लिट व्यवस्थापनको पाटो हेर्नेछ । त्यस्तै परिमिता ग्रुपले विद्युतीय स्कुटर व्यवस्थापनको जिम्मा लिएको छ । राइडर ई-ड्राइभमा खाली भएको अवस्थामा अर्को प्लेटफर्म प्रयोग गर्नेगरी राइड शेयरिङ कम्पनी ‘याङ्गो’ आबद्ध भएको छ ।

कार्यक्रमको उद्घाटन अवकाश प्राप्त मेजर जनरल सुरेशकुमार कार्की, अवकाश प्राप्त एआईजी जनक भट्टराई, ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा गरेका थिए । योजना सुरु भएको अवसरमा राइडरलाई एक दिनका लागि स्कुटर निःशुल्क उपलब्ध गराइएको आयोजकले बताएको छ । 

ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले पहिलो चरणमा इच्छुक र योग्य राइडरलाई ईभी स्कुटर वितरण गरिएको जानकारी दिए । उनले, “सुरुवातमा प्रदान गरिएको निःशुल्क अफरले उहाँलाई रोजगारीमा लाग्न सहज बनाउने हाम्रो विश्वास छ ।”

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार राइडरले शनिबारदेखि नै स्कुटर चलाएर आम्दानी गर्न थालिसकेका छन् । निःशुल्क अफरले राइडरमा थप ऊर्जा र आत्मविश्वास बढाएको उनको भनाइ छ । राइडरलाई भाडा तिर्न वा आम्दानी गर्न सहज होस् भनेर ‘ई-ड्राइभ नेपाल’ आफैले व्यवसायको ग्यारेन्टी लिनेछ । “यदि राइडरले पर्याप्त आम्दानी गर्न सकेनन् भने हामी आफै उनीलाई व्यापार दिन्छौँ,” सीईओ भट्टराईले भने, “यसका लागि हामीले अर्को राइड शेयरिङ कम्पनी याङ्गोसँग सहकार्य गरेका छौँ ।”

‘तपाईँको बजार’का सञ्चालक सुशील सङ्ग्रौलाले यो योजनालाई नेपाली युवाको भविष्यमा गरिएको लगानीको रूपमा चित्रण गरे । “यो केवल साधन वितरण मात्र होइन, युवालाई आत्मनिर्भर बनाउने अभियान पनि हो,” उनले भने ।

योजनाबाट लाभान्वित राइडर दीपक थापाले नयाँ ईभी स्कुटर पाएपछि काम गर्न सहज भएको अनुभव सुनाए । “पहिले सेकेन्डह्यान्ड स्कुटर चलाउँदा मर्मतमा धेरै खर्च हुन्थ्यो । अहिले नयाँ ईभी स्कुटरले आम्दानी र आत्मविश्वास दुवै बढाएको छ,” उनले खुसी व्यक्त गर्दै भने ।

आयोजकहरूका अनुसार यो योजनाले आयातित इन्धनमाथिको परनिर्भरता घटाउने, स्वदेशमा उत्पादित बिजुलीको खपत बढाउने र हरित यातायात प्रणालीको विकासमा योगदान पुऱ्याउने लक्ष्य राखेको छ । साथै यसले युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

आयोजकका अनुसार इच्छुक राइडरले दुई मोडेलमा स्कुटर प्राप्त गर्न सक्नेछन्  । एउटा दैनिक भाडामा आधारित (रेन्टल) र अर्को मासिक तलबमा आधारित । रेन्टल मोडेलमा राइडरले प्रतिदिन लगभग ७०० देखि १००० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । तलबमा आधारित मोडेलमा राइडरले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित रूपमा पाउनेछन् भने राइडको आधारमा बोनससहित मासिक २० देखि २५ हजार रुपैयाँभन्दा बढी कमाउन सक्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १३:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट