दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको उपचारका क्रममा भएको निधनलाई लिएर चिकित्सक, नर्स र सुरक्षाकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान) ले आपत्ति जनाएको छ।
संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ। विज्ञप्तिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई देशभरका अस्पताल र जिल्ला प्रशासन कार्यालयहरूलाई स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।
संघका प्रवक्ता डा. अरुण उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरू सुरक्षित वातावरणमा कार्य गर्न पाउने संवैधानिक हकबाट बञ्चित भइरहेका छन्। अस्पतालभित्रै चिकित्सक, नर्स तथा सुरक्षाकर्मीमाथि भएको आक्रमण गम्भीर चिन्ताको विषय हो।’
संघले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति एक वर्षदेखि नियमित बैठक बस्न नसकेकोमा गहिरो खेद व्यक्त गरेको छ। साथै, ‘शून्य सहनशीलता नीति’ सम्बन्धी कार्यविधि अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै मन्त्रालयप्रति असन्तोष व्यक्त गरिएको छ।
संघले मन्त्रालयलाई थप जिम्मेवार बन्न आग्रह गर्दै शून्य सहनशीलता नीतिको कार्यविधि तत्काल लागू गर्न र सुरक्षासम्बन्धी बैठकहरू नियमित राख्न पनि जोड दिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

