२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

साइबर अपराधको मुद्दा झेल्दै रक्सीको नसामा छिमेकीकी छोरीलाई जथाभाबी मेसेज पठाउने शिक्षक

काठमाडौँ । सुनसरी इनरुवाका एक शिक्षक विरुद्ध आफ्नै छिमेकीकी छोरीलाई जथाभाबी मेसेज पठाएको कसुरमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार इनरुवा-१ का ५१ वर्षीय विनोद कार्की विरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

अभियोगपत्र अनुसार विवाह गरेर हाल अस्ट्रेलियामा रहेकी छिमेकीकी छोरीलाई कार्कीले फेसबुक मेसेन्जर मार्फत अमर्यादित मेसेज पठाएका थिए । जसमा उनले “कान्छी बुढी”, “विवाह गर्छु” जस्ता शब्दहरू लेखेका थिए ।

युवतीका बुबाले आफ्नी कान्छी छोरीलाई कार्कीले पहिला समेत जिस्काउने, बाटो छेक्ने, जे पायो त्यही शब्द प्रयोग गरी विवाह गर्न भन्दै धम्की दिने जस्ता कार्य गर्ने गरेको ब्यहोरा समेत आफ्नो जाहेरी खुलाएका छन् । त्यसपछि अभद्र व्यवहार गरेको कसुरमा जाहेरी दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट उनीमाथि तीन हजार रुपैयाँ जरिबाना समेत भएको उल्लेख छ ।

मेसेन्जरमा जथाभाबी मेसेज पठाएर हैरानी दिन थालेपछि युवतीले कार्कीलाई ब्लक गरी दिइन् । त्यसपछि छिमेककै ६५ वर्षीय महेन्द्र ढकालको फेसबुक आईडी प्रयोग गरी कार्कीले युवतीलाई पुनः त्यस्तै मेसेज पठाए ।

बयानका क्रममा कार्कीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेका छन् । भगवती माध्यमिक विद्यालय इनरुवाका स्थायी शिक्षक कार्कीले पीडित युवती अस्ट्रेलिया जानुभन्दा अगाडि कहिले काँहि भेटघाट बोलचाल हुने गरेको बताएका छन् । “लगभग २०/२२ दिन म मादक पदार्थ सेवन गरी बसेको अवस्थामा …लाई सम्झिन गई मैले आफ्नो फेसबुकबाट …मेसेज लेखि पठाएको थिएँ,” उनले दिएको बयानमा भनिएको छ ।

मेसेज पठाएको केही दिनपछि गाउँघरमा हल्लाखल्ला हुन थाल्यो र कार्की घरबाट भागे । असार ८ गते घरमा आएर ९ गते विद्यालय जाने क्रममा आफूलाई प्रहरीले पक्रिएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीले गरेको अनुसन्धान समेतबाट कार्कीले युवतीको पारिवारिक तथा व्यक्तिगत जीवनमा खलल पुर्‍याउने गरी मेसेज पठाएर साइबर अपराध सम्बन्धी कसुर गरेको देखिएको छ । यसअघि अभद्र व्यवहार गरेको कसुरमा सजाय पाइसकेका कार्की उपर मुलुकी अपराध संहिता बमोजिमको कसुर समेत गरेको सरकारी वकिलको कार्यालयको राय छ ।

साइबर अपराधको कसुरमा प्रतिवादी कार्की उपर १ लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय र मुलुकी अपराध संहिता बमोजिम थप सजायको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिताको दफा ४४ (२) अनुसार कार्कीमाथि पछिल्लो पटक गरेको सजायको दोब्बर सजाय हुनसक्छ । 

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १४:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट