२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

मामा-भान्जाले खोलेको स्टार्टअप, जहाँबाट केही मिनेटमै बनाउन सकिन्छ चाहेजस्तो ईकमर्स वेबसाइट

काठमाडौं । कुनै नयाँ काम गर्न थाल्दा विभिन्न चुनौती आउँछन् । र, कहिलेकाहीँ त्यही चुनौतीले नयाँ सम्भावना पनि जन्माउँछ । यस्तै भयो, प्रशान्त फुयाँल (२४) लाई पनि ।

स्नातक पढ्दै गर्दा कलेजका दुई साथीसँग मिलेर अनलाइन व्यवसाय गर्दा भोगेका चुनौतीपछि उनले ‘ब्लाङ्सर टेक्नोलोजी’ नामको स्टार्टअप सुरु गरे । यो स्टार्टअप ई-कमर्स वेबसाइट बनाइदिने कम्पनीका रूपमा परिचित छ ।

सन् २०२२ को जनवरीमा प्रशान्तले आफ्ना साथीहरू अभिनव साह र जीवन रिसालसँग मिलेर मोबाइल स्किन ब्रान्ड ‘र्‍याप्सी’ सुरु गरेका थिए । त्यसबेला ‘र्‍याप्सी’ नौलो कन्सेप्टका कारण  भाइरल नै बन्यो । टेकपानाले पनि यसबारे सामग्री बनाएको थियो ।

टिकटक लगायतका सामाजिक सञ्जालमा र्‍याप्सी जति भाइरल हुँदै थियो, त्यति नै धेरै अर्डर आउन थाले । अर्डर बढ्न थालेसँगै सामाजिक सञ्जालमा ग्राहकसँग कुराकानी गर्न र सही समयमा सामान डेलिभरी गर्न उनीहरूलाई सकस पर्न थाल्यो । 

गुगलशिटमा अर्डर राख्ने, सामान डेलिभरीका लागि गाडीको व्यवस्थापन गर्ने, सामान डेलिभरी भएको छ कि छैन भनेर जानकारी राख्ने जस्ता काम व्यवस्थापन गर्न हम्मेहम्मे पर्‍यो ।

“सबै ग्राहकको अर्डरको रिप्लाई गर्न एक हप्ताभन्दा पनि बढी समय लाग्थ्यो । रिप्लाई ढिलो हुँदा धेरै जनाको सामान किन्ने इच्छा पनि हराइसकेको हुन्थ्यो,” प्रशान्त सम्झिन्छन् । 

यस समस्याले अनलाइन व्यापारलाई व्यवस्थापन गर्नका लागि आवश्यक पर्ने राम्रो प्लेटफर्म नभएको उनले महसुस गरे । वर्डप्रेसमार्फत वेबसाइट बनाए पनि ठुलो कारोबार गर्नुपर्दा राम्रोसँग नचल्ने, स्लो हुने समस्या आयो । 

त्यसपछि प्रशान्तले अनलाइन व्यवसायलाई सजिलो बनाउनका लागि अर्डर व्यवस्थापन प्रणाली भएको प्लेटफर्म बनाउने बारेमा सोच्न थाले । 

काठमाडौंस्थित हेराल्ड कलेजबाट आईटीमा स्नातक गरेका उनीसँग आफैँले अनलाइन व्यवसाय गरेको अनुभव थियो । नयाँ स्टार्टअप कम्पनीको लागि उनले आफ्नै मामा किरण न्यौपाने (२६) सँग कम्पनीको आइडिया शेयर गरे । आईटी क्षेत्रमै सक्रिय किरणले प्रशान्तको आइडिया मन पराए । र, दुईजना मिलेर सन् २०२३ को जनवरीमा ब्लाङ्सर सुरु गरे । 

ब्लाङ्सर अङ्ग्रेजी शब्द ‘Blank बाट ल्याइएको हो । “खाली स्पेसमा आफ्नो नयाँ आइडिया, इनोभेसन र क्रियटिभिटिलाई आकार दिने माध्यम हो, ब्लाङ्सर,” प्रशान्त भन्छन् ।

अनलाइन व्यापारका क्रममा आउने अर्डरदेखि डेलिभरीसम्मका काम स्वचालित रूपमा व्यवस्थापन गर्नसक्ने वेबसाइट केही मिनेटमै बनाइदिने प्लेटफर्म हो, ब्लाङ्सर । जसमार्फत व्यवसायीहरूले ग्राहकलाई बिना कुनै समस्या आफ्ना सामान सजिलै बेच्न सक्छन् । 

कस्तो व्यवसाय गर्ने भनेर निर्णय गर्ने र ग्राहकहरूलाई किन्न कन्भिन्स गर्ने काम बाहेकका सम्पूर्ण काम ब्लाङ्सरबाट नै हुने प्रशान्त बताउँछन् ।

“ब्लाङ्सर अनलाइन व्यापारका लागि सबैभन्दा उपयुक्त विकल्प हो । यहाँबाट आफ्नो अनलाइन बिजनेसको नामको वेबसाइट बनाउन सकिन्छ । त्यसपछि अर्डर लिने, डेलिभरीको प्रोसेस अघि बढाउने, सामान कहाँ पुग्यो भनेर ट्र्याक गर्ने, ग्राहकलाई सामान डेलिभरी हुँदै छ भनेर एसएमएस पठाउने सिस्टमबाट अटोमेटिक हुन्छ,” उनी भन्छन् । 

कम्पनीले सामान डेलिभरीका लागि लजिस्टिक कम्पनीहरूसँग पनि सहकार्य गरेकाले व्यवसायीलाई सामान डेलिभरीका लागि आफैँ सवारीसाधन खोज्ने चिन्ता नपर्ने उनले सुनाए ।

यस्तै, टिकटक, इन्स्टाग्राम, फेसबुकबाट आफ्नो ब्रान्डको प्रचार गर्ने क्रममा कमेन्टमा लिङ्क राखेर ग्राहकलाई वेबसाइटमार्फत खरिद गर्न अनुरोध गर्न सकिने उनले सुनाए । उनले थपे, “हाम्रा धेरै ग्राहक बिजनेसका लागि ब्लाङ्सरकै भर पर्नुभएको छ ।”

ब्लाङ्सरमार्फत कसरी वेबसाइट बनाउने ? 

ब्लाङ्सरमार्फत व्यापारीहरू आफैँले केही मिनेटमै आफ्नो व्यवसायलाई चाहिए अनुसारको वेबसाइट तयार गर्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिला ब्लाङ्सरको वेबसाइटमा गएर रजिस्टर गर्नुपर्छ ।

रजिस्टर गरेपछि १५ दिनको नि:शुल्क परीक्षण गर्न सकिन्छ । यो समयमा ब्लाङ्सर कस्तो प्लेटफर्म हो र यसले कसरी काम गर्छ भनेर जान्न सकिन्छ भने आफ्नो आवश्यकता अनुसार कुन प्याकेज आवश्यक पर्छ भनेर पनि थाहा पाउन सकिन्छ । 

यो प्लेटफर्मको परीक्षण गररहेको समयमा नै व्यवसायीहरूले आफ्नो कम्पनीको वेबसाइट बनाउन र वेबसाइटमा बेच्नका लागि प्रडक्टहरू अपलोड गर्न सक्छन् । ब्लाङ्सरमा वेबसाइट बनाउन समस्या हुने व्यक्तिहरूका लागि ब्लाङ्सरले आफ्नो युट्युब च्यानलमा ट्युटोरियल भिडिओसमेत राखेको छ । जहाँ आफ्नो कम्पनीको नामको वेबसाइट कसरी बनाउने, वेबसाइटमार्फत अर्डर कसरी लिने लगायतका कुरा विस्तृतमा सिकाइएको छ । 

प्रशान्त भन्छन्, “रजिस्टर गर्ने समयमा नै ‘Getting Started’ को स्क्रिन देखा पर्छ । त्यहाँबाट युट्युबको ट्युटोरियल भिडिओमा सिधै जान सकिन्छ । प्रयोगकर्तालाई सहज हुने अझै धेरै भिडिओ बनाउँदै छौँ ।” 

यस्तै १५ दिनको परीक्षण समय सकिनुभन्दा पहिलेदेखि नै परीक्षणकालीन समय एक्स्पायर हुन लाग्यो भनेर एक किसिमको पपअप देखा पर्छ । त्यसपछि क्यूआर कोडमार्फत रकम भुक्तानी गरेर आफूलाई अनुकूल हुने किसिमको वार्षिक सदस्यता लिन सकिन्छ ।

ब्लाङ्सरले वार्षिक २४ हजार, २८ हजार र ४८ हजार गरी तीन किसिमको सब्सक्रिप्सन प्याकेज उपलब्ध गराउँछ । 

छुट्टै वेबसाइट बनाएर व्यवसाय सञ्चालन गर्नुभन्दा ब्लाङ्सरको वार्षिक सदस्यता फाइदाजनक रहेको उनी बताउँछन् । “राम्रो वेबसाइट बनाउने पैसाले ब्लाङ्सरको १० वर्षको सब्सक्रिप्सन लिन सकिन्छ । अझ वेबसाइट मेन्टेनेन्स गर्न नपर्ने भएकाले धेरैको पैसा पनि जोगिन्छ,” प्रशान्त भन्छन् ।

ब्लाङ्सरमा सुरुवाती चरणमा करिब १० लाख लगानी भएको उनी बताउँछन् । त्यतिबेलादेखि नै मामा-भान्जा अर्थात् किरण र प्रशान्त मिलेर काम गर्दै आएका थिए । ग्राहकहरूसँग सहकार्य गर्न कस्टमर सर्भिसका लागि एक कर्मचारी राखे ।

अहिलेसम्म जति आम्दानी भएको छ, त्यो रकम कम्पनी चलाउन खर्च भइरहेको प्रशान्त बताउँछन् । यसै वर्षदेखि कम्पनीमा कर्मचारीहरू पनि थपिएका छन् । हाल कम्पनीमा १० जना कार्यरत छन् । 

प्रशान्तका अनुसार ५५० भन्दा बढी अनलाइन व्यवसायीहरूले ब्लाङसरको प्लेटफर्ममार्फत आफ्नो व्यवसायको वेबसाइट बनाएर सक्रिय रूपमा व्यापार गरिरहेका छन् । “हाम्रोबाट बनेको वेबसाइट सबैको चेकआउट सिस्टम एउटै हुन्छ । त्यही भएर धेरैले सामान किन्दा ब्लाङ्सरबाट बनेको वेबसाइट रहेछ भनेर थाहा पाएर ढुक्क भएर शपिङ गर्नुहुन्छ,” उनी भन्छन् ।

काम गर्दै जाँदा ब्लाङ्सरको प्लेटफर्म प्रयोग गर्ने व्यवसायीका लागि सामान डेलिभरीका लागि प्याकेजिङको सामान तथा प्रिन्टर पनि आवश्यक रहेको महसुस भयो । त्यसपछि ब्लाङ्सर सप्लाई डटकम सुरु गरेर अनलाइन व्यापार तथा सामान डेलिभरीका लागि आवश्यक पर्ने सामग्रीहरू पनि बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको प्रशान्त बताउँछन् ।

उनका अनुसार कम्पनीले थर्मल प्रिन्टर, रोल लेबल, बार कोड जस्ता सामग्री बिक्री गर्छ । उनले भने, “हाम्रोबाट वेबसाइट बनाउनेहरूले यो प्रडक्ट पनि किन्न हुन्छ । ” 

कम्पनीले अनलाइन व्यापारका लागि प्लेटफर्म बनाउनुका साथै बस सिस्टम पनि बनाउने तयारी अघि बढाएको छ । उक्त प्रणालीले अनलाइन व्यापारका साथै अफलाइन पसलको पनि व्यवस्थापनमा सहज पुर्‍याउने उनले बताए ।

उनले भने, “भौतिक पसल भएर अनलाइनमा पनि व्यापार गर्ने धेरै हुनुहुन्छ । बस सिस्टमले अफलाइनमा सामान बेचेपछि त्यसको बारेमा अनलाइनमा पनि अपडेट राख्छ ।” यस प्रणालीको प्रयोगले व्यवसायीलाई सेल्स डेटाको रेकर्ड राख्न र व्यवस्थापन गर्न पनि सहज हुने उनले बताए । 

यस्तै विदेशमा पनि सेवा विस्तार गर्ने योजना ल्याइएको छ । “अमेरिका, अस्ट्रेलिया, जापानमा हुनेहरूले पनि त्यहाँ अनलाइन प्रडक्ट बेच्नका लागि ब्लाङ्सर चलाउने इच्छा देखाइरहनु भएको छ ।” ब्लाङ्सरको माग अनुसार त्यहाँ सेवा विस्तारका लागि कस्ता कानुनी व्यवस्था छन् भनेर बुझिरहेको उनले सुनाए ।

 

शब्दचित्रमा ब्लाङ्सर टेक्नोलोजी

























विवरण

जानकारी

कम्पनीको नाम

ब्लाङ्सर टेक्नोलोजी प्रालि

सेवा क्षेत्र

ई-कमर्स

सुरुवाती लगानी

१० लाख रुपैयाँ

संस्थापकहरू

प्रशान्त फुयाँल, किरण न्यौपाने

सीईओ

प्रशान्त फुयाँल

सीटीओ

किरण न्यौपाने

स्थापना वर्ष

१ जनवरी, २०२३ 

ठेगाना

मनोहरा पार्क नजिकै, लोकन्थली, भक्तपुर 

ईमेल

[email protected]

फोन

९८०२७०५५५७ 

संस्थागत ग्राहक सङ्ख्या

५५०+

सामाजिक सञ्जाल

वेबसाइट, लिङ्क्डइन, युट्युब

सेवा

अनलाइन व्यवसायका लागि केही मिनेटमा नै प्रयोगमा ल्याउन वेबसाइट बनाउने । 

ग्राहक कम्पनीहरू

 

आफ्ना ब्रान्डलाई अनलाइनमा सार्वजनिक गर्न चाहने उद्यमीहरू 

शर्टिफिकेसनहरू

 

यूएसपी (विशिष्ट विशेषता)

केही मिनेटमा नै ई-कमर्स वेबसाइट बनाइदिने

अवार्ड तथा प्रमाणपत्रहरू

आईसीटी राइजिङ स्टार इनोभेसन अवार्ड २०२३ विजेता, एनवाईईएफ स्टार्टअप अवार्ड ३.० को शीर्ष ५ मा पर्न सफल 

उद्देश्य तथा लक्ष्य

नेपालका साना तथा मझौला व्यवसायहरूलाई डिजिटल रुपान्तरण गर्ने । अनलाइन र अफलाइन व्यवसाय चलाउनका लागि ग्राहकको चाहना अनुसारको वेबसाइट, अर्डर व्यवस्थापन, अनलाइन भुक्तानी तथा व्यापारको विश्लेषण गर्ने जस्ता काम एउटै ड्यासबोर्डबाट सहज तरिकाले गर्न सकिने सुविधा

अबका योजनाहरू

बस सिस्टम सञ्चालनमा ल्याउने

कर्मचारी सङ्ख्या

१०

 

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १७:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट