२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

काठमाडौँबाट ३ वर्षअघि चोरी भएको मोटरसाइकल फेसबुकमार्फत झापामा बेचेको भेटियो

काठमाडौँ । मोटरसाइकल चोरी गरी सामाजिक सञ्जाल फेसबुक मार्फत बिक्री गरेको आरोपमा दुई जना विरुद्ध आइतबार मुद्दा दायर भएको छ । मोटरसाइकलको अनलाइन विज्ञापन गरी ठगी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा चोरी भएको तथ्य समेतको मुद्दा दायर गरिएको हो ।

जिल्ला झापा जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम संलग्न २ जना विरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूमाथि चोरी, ठगी तथा लिखत सम्बन्धी कसुर गरेको जिल्ला सरकारी वकिल कार्यालय, झापाको आरोप छ ।

चोरी गरिएको मोटरसाइकल झापाको दमक-१० का उत्तम यादवलाई बेचिएको थियो । उनका अनुसार करिब १ वर्ष अघि विवश काफ्लेले चलाउने एक फेसबुक पेजमा एउटा रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट मोटरसाइकल बिक्रीको लागि विज्ञापन गरिएको थियो । उक्त विज्ञापनमा मोटरसाइकलको मूल्य तीन लाख पचास हजार रुपैयाँ राखिएको थियो ।

विज्ञापन देखेर उनले मोटरसाइकल किन्ने इच्छा देखाए । त्यसपछि मोरङ, सुन्दरहरैचा-९ बिराटचौकका २८ वर्षीय विवश काफ्ले र मोरङ कानेपोखरी-०५ का ३१ वर्षीय दिपेश श्रेष्ठसँग कुराकानी भयो । उनीहरूबीच दुई लाखमा मोटरसाइकल खरिद-बिक्री गर्ने सहमति भयो ।

आरोपि विवश काफ्लेको बयानअनुसार दिपेश श्रेष्ठले मोटरसाइकल बेचिदिन आग्रह गरेका थिए र उनले सोहीअनुसार फेसबुकमा विज्ञापन गरेका थिए । दिपेश श्रेष्ठबाट मोटरसाइकल बेचिदिए बापत आफूले छ हजार रुपैयाँ पाएको काफ्लेले बताएका छन् ।

यसरी थाहा भयो चोरीको मोटरसाइकल

मोटरसाइकल बिक्री गर्दा विवेक भण्डारीको नाममा दर्ता कायम रहेको भनी ब्लुबुक देखाइएको थियो । उनी विदेशबाट आएपछि मात्र नामसारी गर्ने सर्तमा तमसुक कागज गरिएको थियो । तर, लामो समयसम्म मोटरसाइकल पास गर्न नआएपछि यादवलाई शङ्का लाग्यो ।

उनले मोटरसाइकलमा प्रयोग भएको बागमती प्रदेश ०२-०२३ प ३८३१ नम्बरको बारेमा यातायात कार्यालयमा बुझे । तर उक्त नम्बरप्लेट नागमणी स-मिल तथा फर्निचरको नाममा दर्ता भएको १५० सीसीको बजाज पल्सर मोटरसाइकलको भएको पत्ता लाग्यो । यसबाट आफू ठगिएको थाहा पाएपछि उत्तम यादवले विवश काफ्ले र दिपेश श्रेष्ठविरुद्ध ठगी र किर्ते कसुरमा इलाका प्रहरी कार्यालय, दमकमा जाहेरी दिए।

अनुसन्धानका क्रममा बरामद भएको रोयल इन्फिल्ड मोटरसाइकलको वास्तविक धनी दैलेख घर भई हाल काठमाडौँमा बस्ने अमरबहादुर थापा मगर भएको खुल्यो । उनको भे १० प ९२२४ नम्बरको खरानी रङ्गको रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको मोटरसाइकल २४ जेठ २०७९ मा साँझपख काठमाडौँको शान्तिनगरस्थित घरअगाडि पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो । उनले मोटरसाइकल चोरी भएपछि खोजतलासका लागि प्रहरी वृत नयाँ बानेश्वरमा निवेदन दिए । फेला नपरेपछि मगरले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट तीन लाख ४९ हजार रुपैयाँ बीमा भुक्तानी समेत लिइसकेका थिए ।

आरोपीहरूले चोरी गरेको मोटरसाइकलको नम्बरप्लेट हटाएर बागमती प्रदेश ०२-०२३ प ३८३१ नम्बरको काल्पनिक नम्बरप्लेट राखेको बताइएको छ । त्यसपछि रङ्ग समेत परिवर्तन गरी कालो लगाइएको र नक्कली ब्लुबुक बनाएर सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोप छ ।

काफ्ले पक्राउ परिसकेका छन् भने श्रेष्ठ फरार छन् । “यसको मुख्य जड कोहो भन्ने खुलिसकेको छैन,” अनुसन्धानमा खटिएका एक प्रहरीले भने, “यो कति पटक खरिद बिक्री भयो भन्ने पनि स्पष्ट छैन । झन्डै तीन वर्षसम्म भनेपछि त धेरै पटक खरिद बिक्री भयो होला भन्ने लाग्छ ।”

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २४१ (१) र (२) बमोजिमको चोरी कसुर, दफा २४९ (१) र (२) बमोजिमको ठगी कसुर, दफा २७६ (१) र (२) बमोजिमको लिखत किर्ते कसुर र दफा ४३(१) बमोजिम एकीकृत कसुरमा मागदाबी लिइएको छ । जसअनुसार उनीहरू माथि चोरीतर्फ तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना र ठगी कसुरतर्फ सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ ।

साथै, जाहेरवालाको ठगी भएको दुई लाख रुपैयाँ भराउँदै लिखत सम्बन्धी कसुरतर्फ सात वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबानाको समेत माग दाबी लिइएको छ । यस बाहेक एकीकृत कसुर गरेकोमा मुलुकी अपराध संहिताको दफा ४३ (२) बमोजिम सजाय । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुर बापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरको आधा सजाय थप सजाय हुन सक्छ । 

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ २१:२





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट