काठमाडौँ । सोमबार बिहान नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नयाँ वर्षको शुभकामना दिएको भिडिओ सार्वजनिक भयो । नेपाल प्रहरीको आधिकारिक फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र टिकटकमा उक्त भिडिओ राखिएको थियो ।

भिडिओमा आईजीपी थापाले सम्पूर्ण नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०८२ को शुभकामना थिएका थिए । साथै उनले आम सर्वसाधारणलाई अपराधसँग सम्बन्धित जानकारी विभिन्न माध्यमबाट तत्कालै उपलब्ध गराउन आह्वान समेत गरेका थिए । उक्त भिडिओले सामाजिक सञ्जालका सबै माध्यममा राम्रो इङ्गेजमेन्ट पाएको छ ।
यो सामग्री तयार पार्दासम्म फेसबुकमा सो भिडिओमा १२ लाख बढी भ्युज, ५५ हजार बढी रियाक्सन, १० हजार बढी कमेन्ट आएका छन् । एक्स, टिकटक र इन्स्टाग्राममा पनि यो भिडिओले उत्तिकै चर्चा पाएको छ ।
टिकटकमा यही भिडिओलाई ३४ हजार बढीले लाइक गरेका छन् भने तीन हजार बढीले कमेन्ट गरेका छन् । त्यसमा पनि अधिकांश अपाच्य शब्दसहितका कमेन्ट छन् ।

१५ चैतमा राजावादी आन्दोलनका क्रममा भएको झडपलाई लिएर सर्वसाधारण प्रहरी प्रति नकारात्मक देखिएका छन् । आन्दोलनकारीहरूले प्रहरीले कार्यक्रम बिथोल्न अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन् । यद्यपि प्रहरीले घटनाको केही दिनपछि पत्रकार सम्मेलनमार्फत यस विषयमा स्पष्ट जानकारी दिएको थियो ।
प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले आन्दोलनकारी नै प्रहरीमाथि जाइलाग्न थालेपछि अश्रुग्यास प्रहार गरिएको स्पष्टीकरण दिएका थिए । त्यसका साथै उनले स्टेजमा राष्ट्रगान बजिरहेको बेला अश्रुग्यास प्रहार भएको भनिएको भिडिओ ‘डिपफेक’ भएको दाबी समेत गरेका थिए । उक्त भिडिओ डिपफेक नभएको, तर अश्रुग्यास प्रहार भइरहँदा एक्कासि राष्ट्रगान बज्न थालेको तथ्य खुलेको थियो । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू प्रहरीमाथि थप आक्रोशित बनेका हुन् ।
आईजीपी थापाले शुभकामना दिएको भिडिओमा आएका अधिकांश कमेन्ट हेर्दा यो विषय स्पष्ट हुन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सो पोस्टमा कमेन्ट गर्दै नेपाल प्रहरीलाई व्यङ्ग्य गर्दै ‘नेकपा प्रहरी’ भनेका छन् । केहीले भने आईजीपी थापालाई युवासङ्घको सहअध्यक्ष भन्दै गाली गरेका छन् ।
टिकटकमा भने सत्ताधारी पार्टी र नेतासँग नाम जोडेर अश्लील र अपाच्य शब्द प्रयोग गर्दै प्रहरीलाई गाली गरेको देखिन्छ । पछिल्लो समय समाजमा नकारात्मक धारणा फैलाउने उद्देश्यसहित सङ्गठित रूपमा केही समूहले कमेन्ट गर्ने गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । “पछिल्लो समयका घटनाक्रमलाई लिएर सर्वसाधारणमा प्रहरी प्रति आक्रोश बढेको हुन सक्छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “यो भनेको प्रहरी सङ्गठनले काम गरेर नै सकारात्मक प्रभाव पार्ने हो । तर, केही व्यक्ति बदनाम गर्ने नियतले नै गाली बेइज्जतीमा उत्रिएका छन् ।”
यसरी सङ्गठित रूपमा समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गर्दै गाली गर्नेहरूलाई निगरानी गरिरहेको उनले सुनाए । “प्रहरीको छविमा आँच पुर्याउने र निरन्तर सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने अकाउन्टको निगरानी गरिरहेका छौँ,” उनले थपे, “शृङ्खलाबद्ध रूपमा त्यस्ता गतिविधि भइरहेको पाइए उनीहरू कारबाहीमा पर्छन् ।”
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ मा गाली बेइज्जती सम्बन्धी कसुरको व्यवस्था छ । त्यसको दफा ३०५ को उपदफा (१) मा कसैले कसैलाई गाली गर्न नहुने उल्लेख गरिएको छ । सो दफाको उपदफा (२) मा कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिने उल्लेख छ । यस्तो कसुर गरेको पुष्टि भएमा गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै दफा ३०६ मा बेइज्जती गर्न नहुने व्यवस्था उल्लेख गरिएको छ । सो दफाको उपदफा (२) (क) मा के गर्दा बेइज्जती मानिने भन्ने उल्लेख छ । उक्त उपदफामा लेखिएको छ, “अरूको इज्जतमा धक्का पुऱ्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानाजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरू कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो व्यक्तिलाई अरूको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरूलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रूपमा प्रयोग गरिएको कुनै चिज जानाजानी विक्री वा वितरण गरेमा ।”
प्रहरी र सर्वसाधारणबिचको सम्बन्ध सधैँ एकनासको नहुने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । “जनता र प्रहरीको सम्बन्ध सधैँ एकनासको हुँदैन,” मल्ल भन्छन्, “राम्रो काम गर्दा अत्यधिक प्रशंसा, प्रेम, तारिफ गर्ने र चित्त नबुझे गाली गर्ने, ढुङ्गामुढा गर्ने प्रवृत्ति छ । यो ग्राफ सधैँ एकनासको हुँदैन ।”
प्रहरीप्रति जनताले राख्ने अपेक्षाले पनि सम्बन्ध तीव्र रूपले तलमाथि हुने गरेको उनी सुनाउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसलाई झनै प्रशय पुर्याएको छ । नकारात्मक टिप्पणीका अघि सकारात्मक टिप्पणी ओझेलमा पर्ने भएकाले पनि नकारात्मक टिप्पणी हाबी हुने गरेका छन् ।
सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणी र गालीगलौजको प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्ने उनको सुझाव छ । “नकारात्मक टिप्पणी गर्ने सबैलाई कारबाही गर्न सकिँदैन । सम्भव पनि हुँदैन । तर, प्रहरीले जनतासँग संवाद गरेर नकारात्मक टिप्पणी गर्नेलाई निरुत्साहित गर्न सक्छ,” मल्ल अगाडि भन्छन्, “कस्तो क्षेत्रमा बढी गुनासो आएका छन् । तिनलाई तत्कालै सम्बोधन गर्नुपर्छ । विज्ञप्ति निकालेर मात्र आम जनतासँग सुमधुर सम्बन्ध हुन सक्दैन । विभिन्न माध्यमबाट जनतासँग जोडिन सकियो र उनीहरूका गुनासो हल गरियो भने नकारात्मकताले कम प्रशय पाउँछ ।”
सर्वसाधारणको गुनासो र नकारात्मक धारणालाई सम्बोधन गर्न थप पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्नेमा उनी सुझाव दिन्छन् । त्यस्तै प्रहरीले आफ्नो काम कारबाही र नीतिहरूको बारेमा सही सूचना समयमै प्रवाह गर्दा आम जनताप्रति सकारात्मक सन्देश प्राप्त हुने उनी ठान्छन् ।
सामाजिक सञ्जालको सहज पहुँचले गुमनामता कायम गर्दै आफ्ना विचार, धारणा प्रस्तुत गर्ने सुविधा दिएको छ । त्यसैले पनि नकारात्मक टिप्पणी हाबी हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्न प्रहरीले सकारात्मक विचारलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । त्यसका लागि प्रहरीले हरेक दिन सामाजिक सञ्जालबाट प्रहरीलाई सही र उपयुक्त सुझाव दिने व्यक्तिलाई आफ्ना विभिन्न माध्यममा फिचर गरेर प्रोत्साहन गर्न सक्ने उनी बताउँछन् । “प्रहरीलाई सही सूचना र सुझाव दिने, सहकार्य गर्ने व्यक्तिलाई प्रहरीले हरेक वर्ष अभिनन्दन गर्छ,” मल्ल अगाडि थप्छन्, “अब सामाजिक सञ्जालमा आफ्ना विचार राख्ने, व्यवहारिक र जायज सुझाव दिने आम सर्वसाधारणलाई पनि प्रहरीले प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम ल्याउन सक्छ ।”
सामाजिक सञ्जालका प्लेटफर्म प्रयोग गर्ने सवालमा आम सर्वसाधारण पनि उत्तिकै सचेत र सजग हुनुपर्ने उनी सुनाउँछन् । खासगरी अरूकै लहलहैमा लागेर आवेशमा आई नकारात्मक, समाजमा अपाच्य हुने शब्द प्रयोग गरी गाली गर्दा कानुनी कारबाहीका साथै मान प्रतिष्ठामा समेत आँच आउने भएकाले त्यसो नगर्न उनी सुझाव दिन्छन् । “राम्रो सुझाव दिने, मीठो बोली बोल्ने व्यक्तिलाई सबैले सम्मान गर्छन्,” उनी भन्छन्, “नकारात्मक कमेन्ट गर्दा, गाली गर्दा क्षणिक रमाइलो लाग्ला तर त्यसले व्यक्तिको प्रतिष्ठामा नै आँच पुर्याउन सक्छ ।”
सामाजिक सञ्जालमा कुनै सूचना देखिए भने त्यसलाई पुष्टि नै नगरी आक्रोश पोख्ने प्रवृत्ति छ । कुनै पनि विषयमा आफ्ना विचार राख्दा त्यो विषय सत्य हो वा होइन यकिन गर्नुपर्ने उनको सुझाव छ । यदि सही हो वा होइन भन्ने स्पष्ट छैन भने कुनै प्रतिक्रिया नै नदिनु उपयुक्त हुने मल्ल सुझाउँछन् ।
प्रहरी सङ्गठन मात्र नभई सार्वजनिक निकाय, सार्वजनिक व्यक्तित्व, राजनीतिज्ञले पनि सकारात्मक भावना प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । “पुरै हटाउन नसकिएला । तर, सकारात्मक धारणा, विचारले प्रशय पाउन थाले भने प्रतिस्पर्धाको भावना पनि बढ्छ । र, मानिसहरू सकारात्मक हुन थाल्छन्,” उनी भन्छन्, “यी पहल सबैले अगाडि बढाउनुपर्छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ २०:१६
सामाग्री श्रोत :
टेक पाना