आजको जीवनशैलीमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, स्ट्रोक, क्यान्सर र मानसिक समस्या तीव्र रूपमा वृद्धि हुँदै गएका छन्। यस्ता दीर्घकालीन रोगहरू अचानक देखा पर्दैनन्, यी वर्षौँको अस्वस्थ बानीहरूको परिणाम हुन्। विडम्बना, हामीले जीवनको लम्बाइ त बढाएका छौँ, तर गुणस्तर अझै सुधार गर्न बाँकी छ। अब हाम्रो लक्ष्य दीर्घायुसँगै गुणस्तरीय जीवनयापन हुनु पर्दछ।
त्यसैले आज हामी तपाईंलाई यस्तो सरल, स्मरणीय र व्यवहारिक सूत्र बताउँदैछौँ जुन बच्चादेखि वृद्धासम्म, कामदारदेखि विद्यार्थीसम्म सबैले अपनाउन सक्नेछन्। त्यो सूत्र हो – आरोग्यम्।
आरोग्यम् एक स्मरणयोग्य शब्द हो जसमा दीर्घरोगबाट जोगिन सकिने चार आधारभूत कुराहरू समावेश छन्। यो एक जीवनशैली सुधारको रणनीति हो, जसलाई दैनिक व्यवहारमा उतार्न सकिन्छ।
आरोग्यम् शब्द चार भागमा विभाजित छ
आ आत्मपरीक्षण (screening)
रो रोगनिवारक कसरत (physical activity)
ग्य गुणस्तरयुक्त खानपान (healthy diet)
म् मानसिक विश्राम (mindfulness and rest)
अब यी चारवटै स्तम्भहरूलाई विस्तारमा बुझौँ-
१. आत्मपरीक्षण (Screening)
स्वास्थ्य समस्या प्रारम्भमा लक्षण देखाएर नआउने हुँदा धेरैजसो व्यक्तिहरूमा रोग गम्भीर अवस्थामा मात्रै थाहा हुन्छ। जस्तै, उच्च रक्तचापको असर मुटु र मस्तिष्कमा पर्दछ, तर सुरुवाती अवस्था मौन हुन्छ। मधुमेहका बिरामीमा आँखाको दृष्टि जान सक्छ, किड्नी बिग्रन सक्छ र घाउ नसुक्ने हुन्छ। कोलेस्ट्रोल बढ्दा मुटुका नसा बन्द भई मायोकार्डियल इन्फ्राक्शन वा स्ट्रोक जस्ता जटिलता आउन सक्छन्।
क्यान्सर जस्तै स्तन, पाठेघर वा कोलन क्यान्सर प्रारम्भमै पहिचान भयो भने ज्यान बचाउन सकिन्छ। मानसिक समस्याहरू पनि प्रारम्भमै आत्मसमीक्षा र सहयोग खोज्ने संस्कार भए नियन्त्रण सम्भव हुन्छ।
यसैले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। रक्तचाप, रक्तचिनी, कोलेस्ट्रोल, आँखाको जाँच, क्यान्सर स्क्रिनिङ तथा मानसिक स्वास्थ्य मूल्याङ्कन समयमै गर्नु आवश्यक छ।
२. रोगनिवारक कसरत (Physical Activity)
नचल्ने जीवनशैली आजको आधुनिक रोगहरूको मूल कारण हो। अफिसको कुर्सी, मोबाइल स्क्रिन, टिभी आदिमा अत्यधिक समय बिताउने बानीले गर्दा शरीर निष्क्रिय बन्दै गएको छ। यसको परिणाम स्वरूप मोटोपन, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्ट्रोक जस्ता समस्या देखा परिरहेका छन्।
अझ दुःखद त के भने, निष्क्रियताले मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दछ। शरीर नचल्दा मन पनि थलिन्छ।
यसको समाधान भनेको नियमित रूपमा कसरत गर्ने हो। हप्तामा कम्तीमा १५० मिनेट मध्यमस्तरको व्यायाम आवश्यक हुन्छ। बच्चाहरूको हकमा दिनको कम्तीमा एक घण्टा खेलकुद अनिवार्य छ। अफिसमा लामो समय बस्नुपरेमा एक-एक घण्टामा केही मिनेट हिंडडुल गर्ने बानी बसाल्नुपर्छ। घरको काम, बगैँचा स्याहार, योग वा नाच जस्ता गतिविधिहरूले पनि शरीर सक्रिय रहन्छ।
३. गुणस्तरयुक्त खानपान (Healthy Diet)
आजको खानपान स्वादअनुसार बनिरहेको छ, स्वास्थ्य अनुसार होइन। अत्यधिक नुन, चिनी, बोसो र जति सक्यो तारेको खाने बानीले गर्दा कोलेस्ट्रोल बढ्न, रक्तचाप चढ्न, मधुमेह हुन र मुटु र मस्तिष्कका नशा अवरुद्ध हुन सक्छन्। साथै, अल्ट्रा–प्रोसेस्ड खाना जस्तै चाउचाउ, प्याकबन्द फास्टफुड आदिले क्यान्सरको जोखिम बढाउँछ।
सन्तुलित खानपान भनेको आहारमा विविधता, सिजनअनुसारका फलफूल, गेडागुडी, सागसब्जी र रेशायुक्त खाना समावेश हुनु हो। बजारमा धेरै पटक धेरैपटक रासायनिक प्रक्रिया गरेर बनाइने तेललाई प्रशोधित तेल भनिन्छ, जसले पोषण घटाउँछ र स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ। यस्ता तेलमा ट्रान्स–फ्याट बढेको हुन्छ, जुन मुटुरोगको खतरा बढाउँछ।
त्यसैले प्रशोधित तेलको सट्टा स्वस्थ र परम्परागत तेलहरू जस्तै तोरी तेल, सरसों तेल, तिल तेल वा आधुनिक विकल्पको रूपमा ओलिभ तेल प्रयोग गर्नुपर्छ।
चिनी, नुन र बोसो सीमित मात्रामा लिनुपर्छ। बच्चादेखि नै घरको खाना, सादा र पौष्टिक खाने संस्कार बसाल्न आवश्यक छ।
४. मानसिक विश्राम (Mindfulness and Rest)
तनाव, निद्राको कमी, सामाजिक एक्लोपना—यी सबै मनको रोग हुन्, तर यसले शरीरमा गहिरो असर पार्दछ। तनावले रक्तचाप चढाउँछ, धड्कन तेज बनाउँछ। निद्राको कमीले शरीरको इन्सुलिन प्रतिरोध बढाउँछ र मधुमेहको जोखिम बढ्छ। सामाजिक अलगावले डिप्रेशन, आत्महत्या र आत्मग्लानि जन्माउँछ।
निद्रा राम्रो हुनुपर्छ। हरेक दिन सातदेखि आठ घण्टा गहिरो निद्रामा सुत्ने अभ्यास गर्नुपर्छ। निद्राअघि मोबाइल स्क्रिन कम गर्नु, क्याफिनजन्य पेय पदार्थ नपिउनु, सजिलो वातावरण तयार गर्नु आवश्यक हुन्छ। साथै, दैनिक रूपमा १० मिनेट ध्यान गर्ने, सासप्रश्वासको अभ्यास (जस्तै 4-7-8 विधि) गर्ने, मौन बस्ने वा सकारात्मक कुरा सोच्ने बानी विकास गर्नुपर्छ। किशोरहरूलाई तनाव व्यवस्थापन, सृजनात्मक गतिविधिमा सहभागिता र आत्म–विश्वास बढाउने वातावरण आवश्यक छ।
यी सूत्र केबल ४० वर्ष नाघेकाहरूको लागि मात्र होइन
धेरै मानिसहरू सोच्दछन् कि स्वास्थ्यको ख्याल अब उमेर ढल्किएपछि गर्ने हो। तर वास्तविकता उल्टो हो- स्वस्थ जीवनशैलीको बीउ त बाल्यकालमै रोप्नुपर्छ। बच्चाले के खाँदैछन्, कति खेल्दैछन्, कसरी निद्रामा छन्, तिनै कुराले उनको भविष्यको स्वास्थ्य निर्धारण गर्छ।
यदि अहिलेको पुस्ताले आरोग्यम् सूत्रलाई आत्मसात गरेन भने, भोलिको पुस्ता अस्पताल र औषधिको भरमा बाँच्छ। त्यसैले विद्यालय, समुदाय, मिडिया र घरपरिवार सबैले यो सूत्रलाई व्यवहारमा उतार्न मिल्ने गरी प्रवर्धन गर्नु आवश्यक छ।
निष्कर्ष
आरोग्यम् जीवनशैली सुधारको आधारशिला हो। आत्मपरीक्षण, कसरत, गुणस्तरयुक्त खानपान र मानसिक विश्राम, यी चार आधारमा टिकेको यो सूत्र जीवनको सम्पूर्ण पाटो समेट्दछ।
यो केवल एक लेखको शीर्षक होइन, जीवन बाँच्ने तरिका हो। याद गर्न सजिलो भएकाले आरोग्यम् शब्दलाई हाम्रा दिनचर्या, विद्यालयको पाठ्यक्रम, सामुदायिक कार्यक्रम र अभिभावकको व्यवहारमा उतार्न सकिन्छ।
हामीले अब जीवनको लम्बाइ मात्र होइन, गुणस्तर पनि बढाउनुपर्छ। हामी स्वस्थ रह्यौँ भने मात्रै हामी अरूलाई पनि स्वस्थ राख्न सक्छौँ। बच्चाहरू, युवाहरू, महिलाहरू, वृद्धहरू सबैले यो सूत्र आत्मसात् गरून्।
आजैदेखि भनौँ –
आरोग्यम् मेरो जीवनशैली हो।
आचरणमा सुधार ल्याएर स्वास्थ्यलाई अपनाउँछु।
औषधिको भर होइन, बानीको भरमा बाँच्ने प्रण गर्छु।
(डा गुरागाईं बिराट मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar

