२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

सरकारी स्कुलमा ई-हाजिरी: आईडी कार्ड स्क्यान गरेपछि विद्यार्थी कक्षा छिर्ने, अभिभावकलाई ढुक्क

काठमाडौँ । हरेक बिहान शिक्षक कक्षामा पसेर ‘रोल नम्बर एक, दुई…’ भन्दै हाजिरी लिने झन्झट अब ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ स्थित कटुञ्जे माध्यमिक विद्यालयमा देखिँदैन । यहाँका विद्यार्थीहरू विद्यालयको गेटबाट छिर्नेबित्तिकै एउटा डिभाइसमा आफ्नो परिचयपत्र (आईडी कार्ड) छुन भ्याइसकेका हुन्छन् ।

उनीहरू कक्षामा पुग्दा नपुग्दै अभिभावकको मोबाइलमा ‘तपाईंको बाबु/नानी विद्यालय आइपुगेको छ’ भन्ने मेसेज पुगिसकेको हुन्छ । यो कुनै चलचित्रको दृश्य होइन, कटुञ्जे माविको बदलिँदो दैनिकी हो ।

यस शैक्षिक सत्रदेखि विद्यालयले सुरु गरेको ‘ई-हाजिरी’ प्रणालीले परम्परागत हाजिरीको झन्झट मात्र हटाएको छैन, विद्यार्थी र अभिभावकबिचको दूरीलाई प्रविधिले जोडिदिएको छ । विद्यार्थीले आफ्नो कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गरेपछि उनीहरूको हाजिरी स्वतः विद्यालयको सिस्टममा दर्ता हुन्छ ।

“बिहान हरेक कक्षामा हाजिरीका लागि लाग्ने १०-१५ मिनेटको समय अब सिधै पढाइमा खर्च हुन्छ,” विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले उत्साहका साथ सुनाए, “यसले विद्यार्थीलाई समयमै विद्यालय आउन र अनुशासित बन्न पनि प्रेरित गरेको छ ।”

विद्यालय छुट्टी भएपछि घर फर्कनुअघि पनि विद्यार्थीले पुनः कार्ड स्क्यान गर्छन् र ‘तपाईंको बाबु/नानी विद्यालयबाट घर फर्किएको छ’ भन्ने सन्देश फेरि अभिभावकको मोबाइलमा पुग्छ । यसले गर्दा छोराछोरी दिनभर कहाँ छन् भन्ने चिन्ताबाट अभिभावकहरू मुक्त भएका छन् ।

कसरी सम्भव भयो यो प्रविधि ?

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीका अनुसार ‘पाठशाला’ नामक स्कुल म्यानेजमेन्ट प्रणालीको सहयोगमा यो प्रविधि जडान गरिएको हो । विद्यालयको आन्तरिक स्रोत, विद्यार्थीबाट लिइने कार्ड छपाइ शुल्क र केही दाताहरूको सहयोगबाट यसको खर्च व्यवस्थापन गरिएको छ ।

कक्षा १ देखि १० सम्मका २३० जना विद्यार्थी र शिक्षकहरू सबैले यही प्रणालीबाट हाजिरी गर्छन् ।

“हामीले यो शैक्षिक सत्रको सुरुबाटै लागु गर्ने सोचेका थियौँ, शिक्षक आन्दोलनले केही ढिला भयो,” अध्यक्ष कार्की भन्छन्, “अहिले शिक्षक र अभिभावक सबै खुसी हुनुहुन्छ । अब विद्यालयको आर्थिक कारोबार पनि पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्ने योजनामा छौं ।”

गाउँपालिकाको नजरमा कटुञ्जे मावि

कटुञ्जे माविको यो सफल प्रयासलाई सुनकोशी गाउँपालिकाले नजिकबाट नियालिरहेको छ । गाउँपालिकाका अध्यक्ष कमल तामाङका अनुसार यो प्रयोग सफल भएमा पालिकाभित्रका अन्य ३७ ओटै सामुदायिक विद्यालयमा यो प्रविधि विस्तार गर्न सहयोग गरिनेछ ।

“हामीले गत वर्षदेखि नै शिक्षकका लागि फिङ्गर प्रिन्ट हाजिरी अनिवार्य गरेका थियौँ । अब विद्यार्थीको ई-हाजिरी पनि सफल भएमा पालिकाको शैक्षिक स्तर नै सुधार्न मद्दत पुग्छ,” अध्यक्ष तामाङले भने, “यसले हामीलाई कुन विद्यालयमा कति विद्यार्थी नियमित छन् भनेर तथ्याङ्क लिन पनि सजिलो बनाएको छ ।”

एउटा सामुदायिक विद्यालयले सुरु गरेको यो सानो प्राविधिक प्रयासले सिंगो गाउँपालिकाको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने आशा उनले व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ १८:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट