काठमाडौँ । रसुवामा १० जनाको ज्यान लिने र १९ जनालाई बेपत्ता पार्ने गरी मितेरी पुलसमेत बगाएको विनाशकारी बाढीले एउटा गम्भीर र टड्कारो प्रश्न खडा गरेको छ- चीनतर्फबाट आउने यस्ता विपद्को पूर्वसूचना पाउन नेपालले कहिलेसम्म अनौपचारिक माध्यम र भाग्यको भर पर्नुपर्ने ?

सोमबार राति तिब्बततर्फबाट आएको बाढी हिमताल फुटेका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसबारे नेपालसँग कुनै पूर्वसूचना थिएन । भारतसँग बाढीको ‘रियल-टाइम’ सूचना आदानप्रदान गर्ने औपचारिक सम्झौता भए पनि चीनसँग यस्तो कुनै संयन्त्र नहुँदा नेपाल बर्सेनि उत्तरी सीमाबाट आउने बाढीको उच्च जोखिममा छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आउनुअघि चीनतर्फको ‘प्युरेपु हिमनदी ताल’ मा पानीको सतह निकै बढेको स्याटलाइट तस्बिरले देखाएको छ । तर, यो जानकारी नेपालले बाढी आइसकेपछि मात्र विभिन्न स्रोतबाट पाएको हो ।
“चीनसँग औपचारिक सम्झौता नभएकाले उनीहरूले यस्तो जानकारी दिनैपर्छ भन्ने बाध्यता छैन,” जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली भन्छन्, “हामीले चीनको प्रणालीमा रहेको डेटामा पहुँच नपाउँदा र भरपर्दो सूचना नआउँदा पूर्वतयारी गर्न सकिरहेका छैनौँ ।”

यसको ठीक विपरीत, भारतसँग भने नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भारतको केन्द्रीय जल आयोगबिच बनेको समितिले २५ नेपाली नदी र १८ भारतीय नदी जलाधार क्षेत्रको सूचना आदानप्रदान गर्दै आएको छ ।
विगतको घटनाले पनि चीनसँगको सूचना सहकार्यको महत्त्वलाई पुष्टि गर्छ । ०७३ सालमा सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आउनुअघि चिनियाँ पक्षले जानकारी दिएका कारण ५० घर बग्दा पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । तर, यसपटक त्यस्तो सहकार्य देखिएन ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र यूएनडिपीको अध्ययनले नेपालका जलाधार क्षेत्रमा पर्ने ४७ ओटा हिमताल फुट्ने जोखिममा रहेको देखाएको छ, जसमध्ये २५ ओटा चीनमा पर्छन् ।
रसुवा घटनापछि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा चीनसँग विपद्बारे औपचारिक सम्झौताको पहल गर्ने विषयमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश कुमार भट्टले बताएका छन् । तर, यो प्रक्रिया कहिले र कसरी अघि बढ्छ भन्ने अझै अनिश्चित छ ।
जिल्ला जिल्लाबाट हुन्छन् सूचना आदानप्रदान
सोमबार राति रसुवामा आएको विपत्तिपछि मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको भन्दै अरनिको राजमार्ग, भोटेकोशी र सुनकोशीमा सतर्कता अपनाउन आग्रह गरेको थियो । तर, सो विषयमा चिनियाँ पक्षबाट कुनै औपचारिक जानकारी प्राप्त भएको होइन ।
चिनियाँ अधिकारीसँग सामाजिक सञ्जाल प्लेटफर्म विच्याटमार्फत मंगलबार कुराकानी गरेर त्यहाँको अवस्थाको बुझेर उक्त जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार जिल्लाबाट सिमापारिका जिल्लाहरूसँग हुने बैठकमा पनि एक अर्कालाई सूचना आदान प्रदान गरिन्छ । दुई जिल्लाका अधिकारीहरू एक अर्काको निरन्तर सम्पर्कमा बसिरहेने भएकाले सूचना आदानप्रदान हुने गरेको उनले बताए।
उनले भने, “बोर्डरमा रहेका प्रहरीहरूबाट पनि सूचना आदान प्रदान भइरहेको हुन्छ ।” तिब्बत क्षेत्रमा बाढी आउँदा त्यसको असर नेपालमा धेरै देखिने भएकाले पूर्व जानकारी लिन आफैँ अग्रसर हुने गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले भने, “रसुवाको अवस्था देखेपछि सिन्धुपाल्चोकमा पनि जोखिम देखेर उताको अवस्था बुझ्ने प्रयास गरेका हौँ ।” दुई राष्ट्रबिच औपचारिक सम्झौता भएमा पूर्व जानकारी सहजै पाउन सक्ने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ २०:२३
सामाग्री श्रोत :
टेक पाना