काठमाडौँ । सामसङले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले आफ्नो नयाँ फोल्डेबल मोडेल प्रस्तुत गरेको हो ।

कम्पनीले यसलाई आफ्नो जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा पातलो, हल्का र शक्तिशाली फोन भएको दाबी गरेको छ । नयाँ फोनमा स्तरीय क्यामेरा, शक्तिशाली प्रोसेसर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई विशेष प्राथमिकता दिइएको छ ।
यस फोनको तौल जम्मा २१५ ग्राम छ । यो भनेको सामसङका अन्य ठुला फोनभन्दा पनि हल्का हो । फोल्ड गर्दा यसको मोटाइ ८.९ एमएम र खोल्दा ४.२ एमएम हुन्छ । फोनमा ६.५ इन्चको बाहिरी (कभर) डिस्प्ले र खोल्दा ८ इन्चको मुख्य डिस्प्ले उपलब्ध छ ।
फोनलाई बलियो बनाउन यसको फ्रेममा ‘एडभान्स्ड आर्मर एलुमिनियम’ र बाहिरी स्क्रिनमा ‘गोरिल्ला ग्लास सेरामिक टु’ प्रयोग गरिएको छ । यसले फोनलाई दैनिक प्रयोगमा टिकाउ बनाउने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी जेड फोल्ड सेभेनमा पहिलो पटक २०० मेगापिक्सेलको मुख्य क्यामेरा समावेश गरिएको छ । यसका साथै पछाडिपट्टि १२ मेगापिक्सेलको अल्ट्रा-वाइड र १० मेगापिक्सेलको टेलिफोटो लेन्ससहित तीन ओटा क्यामेरा छन् । यसले थ्री एक्स (३ गुणा) अप्टिकल जुम र ३० गुणासम्म स्पेस जुम गर्न सक्ने कम्पनीले जनाएको छ । सेल्फीका लागि भने १० मेगापिक्सेलको क्यामरा राखिएको छ ।
फोनमा ‘स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी’ नामक प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले फोनको समग्र गति बढाउनुका साथै एआईसँग सम्बन्धित काम छिटो गर्न मद्दत गर्छ ।
१२ जीबी र्याममा दुई इन्टर्नल स्टोरेज भेरियन्ट रहेका छन्- एउटा २५६ जीबी र अर्को ५१२ जीबी । १६ जीबी र्याममा भने १ टीबी इन्टर्नल स्टोरेज पाउन सकिनेछ ।
फोनमा नयाँ एन्ड्रोइड १६ र ‘वन यूआई ८’ अपरेटिङ सिस्टम दिइएको छ । यस ओएसमा एआईमा आधारित थुप्रै नयाँ फिचर छन् । ‘सर्कल टु सर्च’ मार्फत स्क्रिनको कुनै पनि वस्तुलाई घेरा लगाएर त्यसको जानकारी लिन सकिन्छ । गेम खेल्दाखेल्दै केही टिप्स चाहियो भने यो फिचर प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी ‘फोटो एसिस्ट’ र ‘अडियो इरेजर’ जस्ता फिचरले फोटो र भिडिओ एडिटिङलाई थप सहज र सटीक बनाएको बताइएको छ ।
फोनमा ४४०० एमएएच क्षमताको ब्याट्री छ । यो फोन पानी प्रतिरोधी (आईपी ४८ रेटिङ) पनि हो । ग्यालेक्सी जेड फोल्ड सेभेनको प्रि-अर्डर आजदेखि नै सुरु गरिएको छ । विश्वव्यापी रूपमा यो फोन २५ जुलाईमा बिक्री हुनेछ । कम्पनीका अनुसार यो फोन ब्लु स्याडो, सिल्भर स्याडो, जेटब्ल्याक र मिन्ट गरी विभिन्न रङहरूमा उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय बजारमा यसको सुरुवाती मूल्य १,९९९ डलर (अन्दाजी दुई लाख ७३ हजार रुपैयाँ) तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १४:४४
सामाग्री श्रोत :
टेक पाना