काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालय भुक्तानीका लागि आवश्यक वन टाइम पासवर्ड (ओटीपी) लिन गएको टोली २४ असार बिहानदेखि सम्पर्कविहीन भएको थियो । गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरका अनुसार सबै कर्मचारी सकुशल छन् ।

“प्रमुख प्रशासकीय अधिकृतले आज (बिहीबार) बिहान ७:०५ बजे फोन गर्नुभएको थियो,” अध्यक्ष बुढामगरले टेकपानासँग भने, “उहाँले हामी गुल्मीमा ठीक छौँ, आज लिबाङ आएर पालिकामा पुग्छौँ भन्नुभयो ।”
२३ असार राति प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरको नेतृत्वमा सात सदस्यीय टोली छिमेकी जिल्ला रुकुम पूर्व गएको थियो । तर २४ असार बिहानदेखि उनीहरूसँग सम्पर्क हुन नसकेपछि गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरेको थियो ।
टोलीमा प्रशासकीय अधिकृत घर्तीमगरसँगै सहायक प्रशासन (पाँचौँ तह) का कर्मचारी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियरद्वय चन्द्रप्रकाश वली र निशा आचार्य, खा.पा.स.टे. शिवकुमार वली र सवारी चालक प्रदीप केसी थिए ।

विज्ञप्तिमा भनिएको थियो, “कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको पाइयो । खोजी गर्दा रुकुम पूर्वमा पनि नभेटिएकाले कार्यालयको कामकाज प्रभावित भएको छ ।”
मोबाइलहरू बन्द हुनुको कारणबारे स्पष्ट जानकारी प्राप्त नभएको अध्यक्ष बुढामगरले बताए । प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई सम्पर्क गर्न खोज्दा उनीहरूको फोन उठ्न सकेको थिएन ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १४:१६
सामाग्री श्रोत :
टेक पाना