
काठमाडौं। जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा आग्रह गरेका छन्। पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकलाई आग्रह गरेका हुन्।
ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिकस्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले उल्लेख गरेका छन्।
मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताएका छन्।
केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पुर्याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्नुपर्नेमा जोड दिइएको छ।
मन्त्री यादवले भनेका छन्, ‘विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु। वीरगञ्ज क्षेत्रका सबै नागरिकसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र आग्र गर्दछु। म नगरवासीलाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ।’
सामाग्री श्रोत :
काठमाडौँ । नेपालका प्रमुख अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन (नाइमा) को औपचारिक घोषणा भएको छ । लामो समयदेखि नाडा अटोमोबाइल्स एसोसिएसनसँग आबद्ध व्यवसायीहरूले नै मिलेर नयाँ संस्था गठन गरेका हुन् ।
यो संस्थामा सवारीसाधन आयात गर्ने र उत्पादन वा एसेम्बल गर्ने कम्पनीहरू सदस्यका रूपमा रहने बताइएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच संस्थाको नेतृत्व र बोर्ड सदस्यहरूको घोषणा पनि गरिएको थियो । संस्थाको नेतृत्वमा युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य रहेकी छिन् भने संस्थापक बोर्ड सदस्यको रूपमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन्।
संस्थाको औपचारिक घोषणाका नै दिन संस्थाले २१-२५ साउनसम्म ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । यससँगै अब नेपालमा पहिलो पटक दुई ओटा पृथक् अटो शोहरू हुने निश्चित भएको छ- एक नाडा अटो शो, जुन भदौ ३ गतेदेखि सुरु हुँदैछ, र अर्को नाइमाले आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो । नाडा अटो शोमा यो पटक विद्युतीय सवारी साधनहरूलाई प्राथमिकतामा राखिने भएको छ । नाडाले यसका लागि स्टल बुकिङ पनि खुलाइसकेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:२४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली लोकदोहोरी संगीत अहिलेको समयको मुख्य धार बन्न पुगेको छ। यही लोकप्रियताको शिखरमा समीप इन्टरटेन्मेन्टले नयाँ लोकदोहोरी गीत ‘यूके लान्छु’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ, जसले परदेशी नेपालीको भावना र पारिवारिक सम्बन्धको गहिरो कथा बोकेको छ।
गीतको कथावस्तु युकेमा बस्ने एक लाउरेको जीवन र उनी आफ्नी प्रेमिकालाई सम्झिँदै बहिनीको विवाहमा स्वदेश फर्कंदा भोग्ने भावनात्मक क्षणहरूमा आधारित छ। भिडियोमा ती पलहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले परदेशमा बस्ने धेरै नेपालीको मन छोएको छ।
गीतमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले प्रमुख भूमिका निर्वाह गरेका छन्। साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, र बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।
गीतका शब्द र संगीत गायक सचिन भट्टराई स्वयंले तयार पारेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। प्राविधिक पक्षमा पनि गीत उच्च स्तरको देखिन्छ।
छायांकन हरी हुमागाईं कोरियोग्राफर रोशन विश्वकर्मा,मेकअप दिपु पौडेल,सम्पादन तथा रङ संयोजनस् दिल्सन शाह सह–निर्देशन सुनिल बुढाथोकी,प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने र निर्माणस् मिना बर्तौलाको रहेको छ ।
गीतको निर्देशन दिलीप समनले गरेका छन्, जो हाल नेपाली संगीत भिडियो निर्देशनमा निकै चर्चामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ।सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागु गर्ने निर्णय गरेका स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् ।यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन्।समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जिकरण विभागका प्रतिनिधि छन् ।यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् ।समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् ।समितिलाई स्वास्थ्य पहिचान नम्बर श्रृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरि प्रस्ताव गर्न कार्यादेश दिइएको छ।यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ ।मन्त्रालया प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्नेछ ।विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्य सम्बन्धी सबै विवरण एकतृत हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ।समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागु हुन सके मद्द्त पुग्ने बताउँछन् ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको बताएका छन्।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीमा कुनै सत्यता नरहको बताएका हुन्।
‘हाम्रो बीचमा कुनै समस्या छैन। सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको कुरा असत्य हो,’ उनले भने। गभर्नर सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने पनि उनले जानकारी दिए।
सामाग्री श्रोत :
उच्चस्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्रीको प्रतिक्रिया- सरकारमा कुनै समस्या छैन
काठमाडौँ । एनसेलले पहिलो पटक दिनको ३९ रुपैयाँ मूल्यमा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा पाउन सकिने प्याकसहित अन्य विभिन्न नयाँ प्याकहरू ल्याएको छ । ग्राहकहरू माझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याक ल्याएको हो ।
भ्वाइस सेवामा, एनसेलले ५९९ रुपैयाँसम्मका ६ ओटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दैनिक २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् ।
एउटा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य हुने अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन् । जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी ५९९ रुपैयाँमा करिब तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम समेत प्राप्त गर्न सकिनेछ ।
भारतमा फोन गरी सम्पर्कमा रही रहने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रति मिनेट २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो भएको कम्पनीले बताएको छ ।
यस्तै ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्नेछन् । २,४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् ।
साथै सधैँ अन प्याकअन्तर्गत, एनसेलले १,९९९ रुपैयाँमा २८ दिनसम्म मान्य हुने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, १,१९९ रुपैयाँमा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस रहेको अर्को प्याक पनि उपलब्ध छ ।
ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् । “यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौँ । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध छौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सत्तारुढ नेकपा एमाले र कांग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले र कांग्रेसका नेताहरु उपस्थित छन् ।
बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भइरहेको बताइएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।
त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी छैनन् । उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । थापा आज पार्टीको क्षेत्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्न बारा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयमाथि निशाना साँधेका छन्। ट्रम्पले हार्वर्ड विश्वविद्यालय अब अध्ययनका लागि राम्रो स्थान नरहेको बताएका छन्। आफ्नो ट्रुथ सोशल खातामा ट्रम्पले लेखेका छन्, ‘सबैलाई थाहा छ- हार्वर्ड विश्वविद्यालय ‘आफ्नो बाटोबाट भट्किएको’ छ।’प्राध्यापकमाथि आक्रोशित हुँदै थपेका छन्- विश्वविद्यालयमा भर्ती गरिने प्राध्यापकहरू ‘मूर्ख’ छन्।ट्रम्पले लेखेका छन्, ‘यसकारण हार्वर्डलाई अब पढाइ-लेखाइको राम्रो स्थान मान्न सकिँदैन, र यसलाई संसारका उत्कृष्ट विश्वविद्यालय वा कलेजहरूको सूचीमा राखिनु हुँदैन।’उनले हार्वर्ड विश्वविद्यालय एउटा मजाक बनेको बताउँदै आक्रोश पोखे, ‘यसले घृणा र मूर्खता सिकाउँछ र त्यसैले अब सरकारी कोष पाउनु हुँदैन।’स्मरणीय छ, हार्वर्ड युनिभर्सिटीले ह्वाइट हाउसबाट पठाइएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो।ह्वाइट हाउसले गत हप्ता विश्वविद्यालयको प्रशासन, प्राध्यापक भर्ती र भर्ना प्रक्रियामा परिवर्तन गर्नुपर्ने मागसहितको सूची पठाएको थियो। ह्वाइट हाउसका अनुसार त्यो सूची क्याम्पसभित्रको यहूदी विरोधी सोचसँग लड्न बनाइएको हो।तर हार्वर्ड विश्वविद्यालयले ती मागहरू अस्वीकार गर्दै ह्वाइट हाउस आफूमाथि नियन्त्रण गर्न खोजिरहेको आरोप लगाएको थियो। त्यसपछि ट्रम्प प्रशासनले हार्वर्डलाई दिइँदै आएको दुई अर्ब अमेरिकी डलरको सरकारी कोष रोकेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १–१ को बराबरीमा खेलेका हुन्। यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ। ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो।
त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए। भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ।
सामाग्री श्रोत :
काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जालमा टिकटक बनाउने क्रममा एक महिलालाई नदीले बगाएको भिडिओ भाइरल भइरहेका छन् । भिडिओमा एक महिला नदीको किनारबाट बिचतिर गइरहेकी देखिन्छिन् । यत्तिकैमा उनी चिप्लिएर नदीमा लड्छिन् र बग्न थाल्छिन् । त्यसपछि एक बालिका “मम्मी” भन्दै आत्तिएर चिच्याउँछिन् ।
भाइरल उक्त भिडिओहरूको अधिकांश स्टाटसमा लेखिएको छ, “कालीगण्डकीमा स्नान गरिसकेपछि भिडिओ बनाउने क्रममा चिप्लिदा पर्वतको महाशीला गाउँपालिका-५ घर भई पोखरा बस्ने ३५ वर्षीय विष्णु पन्त यसरी बगेकी थिइन् ।”
तर टेकपानाले तथ्य जाँच गर्दा उक्त भिडिओ विष्णु पन्तको नभइ जाजरकोटको कुशे गाउँपालिका घर भएकी बिन्दु सिंहको रहेको र उक्त घटना नेपालमा नभई भारतमा घटेको पाइएको छ ।
दाबी
मङ्गलबारदेखि सामाजिक सञ्जालमा पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीमा बगाएको भिडिओ दाबी गर्दै सार्वजनिक भएका छन् । मङ्गलबार दिउँसो ४:५२ मा हंश राज नामक फेसबुक पेजमा पर्वतको महाशीलाकी ३५ वर्षीय विष्णु माझीको मृत्यु भएको दाबी गर्दै भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ यो सामाग्री तयार पार्दासम्म पाँच लाख ३३ हजार पटकभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् हंश राजको नामबाट सार्वजनिक भिडिओ र त्यसको आर्काइभ लिङ्क ।
एमपी प्याकुरेल नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले मङ्गलबार दिउँसो २ बजे महाशीला गाउँपालिका ५ की विष्णु पन्तको मृत्यु भएको भन्दै भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओले यो सामाग्री तयार पार्दासम्म १ लाख ६६ हजार भ्युज, पाइसकेको थियो । उक्त भिडिओ र त्यसको आर्काइभ लिङ्क हेर्नुहोस् ।
पर्वतको महाशीला गाउँपालिकाकी विष्णु पन्तलाई बगाएको दाबी गर्दै फेसबुकमा मात्र नभएर युट्युब र टिकटकमा पनि भिडिओ राखिएका छन् । टिकटकमा राखिएका भिडिओहरू यहाँ र यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ । यस्तै युट्युबमा राखिएको भिडिओ हेर्न यहाँ, यहाँ, यहाँ र यहाँ क्लिक गर्नुहोस् ।
तथ्यजाँच
सामाजिक सञ्जालमा दाबी गरिएको जस्तो भाइरल भिडिओ महाशीला गाउँपालिकाकी विष्णु पन्तको हो वा होइन भनेर टेकपानाले तथ्यजाँच गरेको छ । भिडिओको विभिन्न कि-फ्रेमहरू निकालेर भिडिओ कहिले पहिलो पटक राखिएको थियो भनेर खोज्यौँ । यसरी खोजी गर्ने क्रममा उक्त भिडिओ हालसालै सामाजिक सञ्जालमा राखेको पाइयो ।
त्यसपछि भिडिओमा दाबी गरिएको जस्तै पर्वतको महाशीला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष चन्द्रबहादुर मल्ललाई सम्पर्क गर्यौँ । मल्लले आफ्नै वडाकी विष्णु पन्तको मोदी बेनीको त्रिवेणीमा स्नान गर्ने क्रममा ढुङ्गामा चिप्लिएर कालीगण्डकीमा बगेको समाचार साँचो भएको बताए । मङ्गलबार साँझ टेकपानाले सम्पर्क गर्दा उनी पन्तकै अन्तिम दाहसंस्कार सक्काएर घर फर्किँदै थिए ।
वडाध्यक्ष मल्लका अनुसार दुई छोरासमेत रहेकी पन्त श्रीमानसँगै पोखरा बस्दै आएकी थिइन् । उनी नयाँ वर्षको दिन दिदी र दुई छोराहरूसँग मोदी बेनीमा स्नान गर्न पुगेकी थिइन् । स्नान गरिसकेपछि एउटा ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर नदीमा बगेको मृतकका छोराले आफूलाई जानकारी दिएको उनले सुनाए ।
उनले मृतकका छोराको भनाई उद्धृत गर्दै भने, “ममीले ढुङ्गा माथि उभिएर फोटो खिच्दै हुनु हुन्थ्यो । फोटो खिच्दा खिच्दै खुट्टा चिप्लिएर लड्नु भयो । मलाई समात्न खोज्दै हुनु हुन्थ्यो । म पनि लड्न खोज्दा ठुली ममीले मलाई तान्नुभयो । ममी बगेर तल पुग्नुभयो । तल पुगेपछि एकछिन त ढुङ्गा समात्नु भएको थियो । अनि त्यसपछि बगेको बग्यै हुनुभयो ।”
पन्त बगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बलले उनको खोजी कार्य गरेको थियो र सोही दिन उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रवक्ता तथा प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार शवको पोस्टमार्टम गरेर मङ्गलबार नै परिवारलाई जिम्मा लगाइएको थियो । सापकोटाले भने, “उहाँका श्रीमान् योग प्रशिक्षक पनि हुनु हुँदो रहेछ । श्रीमान् श्रीमती नै धर्मकर्ममा बढी नै ध्यान दिने भएकाले विभिन्न तीर्थस्थलमा पुगेर स्नान गर्नुहुँदो रहेछ । उहाँ भिडिओ बनाउन भन्दा पनि धर्मकर्मकै लागि त्यहाँ स्नान गर्न जानुभएको हुनुपर्छ ।”
टेकपानाले मृतक पन्तको बारेमा बुझ्दा वडाध्यक्ष मल्ललाई भाइरल भिडिओ पनि उपलब्ध गराएको थियो । तर, मल्लले भाइरल भिडिओ पन्तको नभएको स्पष्ट पारे । “कालीगण्डकीमा बगेर उहाँको मृत्यु भएको हो, तर भिडिओमा भएकी महिला उहाँ होइन ।” मृतक पन्तलाई चिनेपनि भाइरल भिडिओमा बगेको देखिने महिलालाई भने आफूले चिन्न नसकेको उनले बताए ।
त्यसपछि भाइरल भिडिओ कहाँको हो भनेर खोज्न थाल्यौँ । त्यसै क्रममा फेसबुकमा “रंगदर्पण” नामक फेसबुक पेजले मंगलबार साँझ ६ बजे जाजरकोटको भिडिओलाई पर्वतको भिडिओ भन्दै सार्वजनिक गरेकोमा क्षमा मागेको स्टाटस हालेको भेटियो । उक्त पेजले भाइरल भिडिओ जाजरकोटको कुशे गाउँपालिका वडा नं २ को भएको दाबी गरेको छ । हेर्नुहोस् “रंगदर्पण” को भिडिओ ।
त्यसपछि हामीले जाजरकोटको कुशे गाउँपालिका वडा नं २ का वडाध्यक्ष मानबहादुर सिंहलाई सम्पर्क गर्यौँ । वडाध्यक्ष सिंहले भाइरल भिडिओ आफ्नै वडाकी बिन्दु सिंहको रहेको पुष्टि गरे ।
उनले भिडिओमा देखिएकी सिंहको घर र माइतीघर पनि आफ्नै वडामा पर्ने जानकारी दिए । उनले भने, “सामाजिक सञ्जालमा भिडिओ देखेर नै हामीले उहाँको दुर्घटनाबारे थाहा पाएका थियौँ ।”
उनका अनुसार विन्दुका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । उनी श्रीमान्सँगै सपरिवार पछिल्लो ५ वर्षदेखि काठमाडौँ बस्दै आएकी थिइन् । एक निजी विद्यालयमा शिक्षकको रूपमा समेत काम गर्थिन् ।
उनका अनुसार सिंहका माइती तर्फका दाजुहरू भारतमा बस्दै आएका छन् । उनी पनि नयाँ वर्षमा आफन्तसँग भेटघाट गर्न भारत पुगेकी थिइन् ।
नयाँ वर्षको दिन उनी ११ वर्षकी छोरीसहित उत्तरकाशीको भागीरथी नदी बग्ने मणिकर्णिका घाटमा घुम्न पुगेकी थिइन् । सोही घाटमा भिडिओ बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् । सिंह बेपत्ता भएको समाचार भारतीय अनलाइन मिडिया पञ्जाब केसरीले पनि लेखेको छ । यस्तै सिंहको खोजी कार्य भइरहेको र हालसम्म उनको अवस्थाबारेमा पत्ता लागि नसकेको उल्लेख गरिएको छ ।
दाबी
पर्वतकी विष्णु पन्तलाई कालीगण्डकी नदीले बगाएको दाबी गर्दै महिला नदीमा चिप्लिएको भिडिओ भाइरल ।
दाबीकर्ता
हंश राज, एमपी प्याकुरेलसहित फेसबुक, टिकटक, युट्युब लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
भाइरल भिडिओमा नदीमा बगेकी महिला पर्वतको महाशीला गाउँपालिका वडा नं ५ की विष्णु पन्तको नभई भारतको उत्तरकाशीमा बगेर बेपत्ता भएकी जाजरकोटकी विन्दु सिंहको हो ।
निष्कर्ष
नयाँ वर्षको दिन (सोमबार) पर्वतको मोदीबेनी र भारतको उत्तरकाशीमा गरी दुई महिलाहरू नदीमा बगेका थिए । तर सामाजिक सञ्जाल प्रयोकर्ताले भने भारतमा बगेर बेपत्ता भएकी जाजरकोट कुशे गाउँपालिका वडा नं २ की विन्दु सिंहको भिडिओ राख्दै मोदी बेनीको त्रिवेणीमा बगेर मृत्यु भएकी विष्णु पन्तको भन्दै प्रचार गरेका हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउन सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १९:५६
सामाग्री श्रोत :
टेक पाना