नेपालका वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको फेसबुक पेजमा उहाँकै गर्दनको नसा च्यापिएर शल्यक्रिया गरे पश्चात्को फोटो पोष्ट हुनासाथ शिघ्र स्वास्थ्य लाभको कामनासहित हजारौं सन्देशहरू बर्सन थाले । शुभकामना सन्देशसँगै धेरैमा शल्यक्रिया कौतुहलता र चासोको विषय बन्यो । पन्तको शल्यक्रिया ? कतिपय मानिसहरू प्रश्न गर्दै थिए । यति जटिल शल्यक्रिया डा. पन्तले नेपालमा नै गरे ? किन उनी विदेश गएनन् ? मिश्रित प्रतिक्रिया भेटिन्थ्यो ।
आमनागरिकको बुझाइ थियो ; कतै पैसाकै अभाव भएर वा विदेशमा शल्यक्रिया महँगो भएर त होइन ?
चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूको भने बुझाइ भिन्नै थियो । सायद आफ्नो अस्पतालको छविलाई माथि उठाउनका लागि यो निर्णय गरेको हुनुपर्छ ।
तेस्रो वर्गका व्यक्तिहरू जसले डा. पन्तलाई नजिकबाट चिन्दथे, उनीहरू भने भन्दै थिए ः नेपालको स्वास्थ्य सेवा प्रणालीको गुणस्तरीयताप्रति पूर्ण रूपमा विश्वस्त भएर नै उनले सहज र पारिवारिक वातावरणमा आफ्नै अस्पतालमा शल्यक्रिया गरेका हुन्।
अर्काथरीको चासो भने छुट्टै थियो । हैन, उनलाई शल्यक्रिया गर्ने उनका शिष्यहरू चाहिँ कति दक्ष थिए हुन् । आफ्नै गुरुको शल्यक्रिया गरिरहँदा उनीहरूको हात कामे कि कामेनन् होला ?
प्रत्यक्ष र परोक्ष रूपमा धेरैले मसँग पनि डा. पन्तको स्वास्थ्यको बारेमा चासो लिन थालेपछि मैले धेरैका मनमा डा. पन्तको उपचारप्रति उब्जिएका मिश्रित धारणाहरूको उत्तर खोज्ने प्रयास गरें ।
म सानो छँदा डा. पन्तले चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको चर्चापरिचर्चा रेडियो, टि.भि.बाट सुन्ने गर्थे । टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रियाको चर्चा त कक्षाकोठाहरूमा नै हुने गथ्र्यो । सन् २०१३ देखि त झन् प्रत्यक्ष रूपमा मैले पनि वहाँसँगै काम गर्ने अवसर मात्र पाएकी हैन, मेरो पीएच.डी.को गुरु समेत उहाँ नै हुनुहुन्छ । यस अर्थमा म उहाँको शिष्य पनि हुँ ।
जहाँसम्म पैसाको अभाव हो कि भन्ने बुझाइ छ, त्यसप्रति मेरो के धारणा छ भने डा. पन्तलाई पैसाको कुनै पनि अभाव छैन होला । उहाँ सफल चिकित्सक मात्र नभइ चिकित्सा क्षेत्रका सफल व्यवसायी पनि हुनुहुन्छ । सानो पुर्नस्थापना केन्द्रको रूपमा सन् २००९ मा सेवा प्रदानको सुरुवात गरेको उहाँको अस्पतालले आज चिकित्सकीय आचार संहितालाई मुख्य केन्द्रमा राख्दै नेपालकै विशिष्टिकृत न्युरो अस्पतालका रूपमा पहिचान दिन सफल भएको छ । न्युरोसर्जरीको क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउनु भएका उहाँले चाहेको भए वहाँको योगदानको कदर गर्दै विकशित मुलुक जापान, चीन, अमेरिका, भारत जस्ता मुलुकहरूले निःशुल्क रूपमा उहाँको उपचार गरिदिन सक्थे होला । शुल्क तिर्नुपर्ने भएको भए तापनि संसारको कुनै पनि महँगो अस्पतालमा गएर उपचार गर्न कुनै गाह्रो थिएन उहाँलाई । आफ्नो स्वास्थ्यलाई पैसासँग तौलन पनि त मिल्दैन नि ।
अर्काथरी समूहको बुझाइ छ कि डा. पन्तले आफ्नै अस्पतालको छविलाई अझ माथि उठाउनका लागि यो कदम चालेको हो । एकपटक सोचौं त, हामी सबैलाई सबैभन्दा प्यारो आफ्नो शरीर लाग्दछ । मस्तिष्क र मेरूदण्ड सम्बन्धी कतिपय जटिल शल्यक्रियाहरू विश्व प्रसिद्ध सर्जनले गर्दापनि कहिलेकाहीँ असफल भएका थुप्रै उदाहरणहरू छन् । कतिपय शल्यक्रियापश्चात् जटिलता उत्पन्न भई हातखुट्टा नचल्ने, प्यारालाइसिस हुने, विरामीको होस नखुल्ने, दिसापिसाब चुहिनेदेखि मृत्युसम्म पनि हुने संभावना रहेको पनि पाइन्छ । हाम्रै देशका नाम चलेका नेता, चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरका विदेशी अस्पतालहरूमा सर्जरी गर्न जाँदा पनि अनेकौं जटिलताहरू उत्पन्न भएको देखिएको छ । तपाईं हामीले कल्पना गरेजस्तो शतप्रतिशत परिणाम नआएको र जीवनभर ह्विलचियरको बास भएको पनि देखिएको छ । अब तपाईंहरू आफैं सोच्नुहोस् त यी सबै जटिलताहरूको बारेमा पूर्ण ज्ञान भएका जो कोहीले के आफ्नै संस्थालाई राम्रो बनाउनको लागि ज्यानै जोखिममा पार्लान् त ? पक्कै पनि कोही व्यक्तिले आफ्नो स्वास्थ्यप्रति अविवेकी र मूर्खपूर्ण निर्णय गर्नै सक्दैन ।
डा वसन्त पन्त
अब लागौं, तेस्रो सन्दर्भतिर । डा. पन्तलाई नजिकबाट चिन्नेहरूको जस्तै दृष्टिकोण मेरो पनि छ । मेरो विचारमा सच्चा राष्ट्रप्रेमी हुनुहुन्छ डा. पन्त । उहाँको प्रगाढ राष्ट्रप्रेमले नेपालको परिचय दिएको छ । यसर्थ जहाँ गएपनि राष्ट्रियता भुल्नु हुँदैन । राष्ट्रियता भूल्ने भनेको आफ्नो अस्तित्व भूल्नु हो भन्ने मान्यता उहाँको पनि छ । राष्ट्रियता बोलीमा हुँदैन, शब्दमा झल्कदैन । कर्ममा राष्ट्रियता देखिनुपर्छ । हामी सबै आफ्नो कर्ममा रम्न सिकौं । नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन जहिले पनि डा. पन्त र उनको टिम लागि परिरह्यो र नै सफलता प्राप्त गर्यो । नेपालको चिकित्सा क्षेत्रमा थुप्रै न्युरोसर्जरीका हस्तिहरू उहाँको प्रत्यक्ष मार्गदर्शनमा उत्पादन भइसकेका छन् । सबैभन्दा ठुलो कुरा विश्वस्तसँग सिक्ने र त्यस सिकाइलाई पुस्तान्तरण गर्नुपर्दछ भन्ने मान्यताका कारण आफैंले हात समाएर सिकाएका सिपमा र निखारिएका आफ्ना अनुयायीप्रति पूर्ण विश्वस्त भएर नै डा. पन्तले आफ्नै शिष्यको हातबाट शल्यक्रिया गर्ने निर्णय गर्नुभएको हो । झण्डै १ वर्ष अगाडि पित्त थैलीको पत्थरीको सफल शल्यक्रिया पनि उहाँले आफ्नै अस्पतालका सर्जन डा. विवेक खड्कासँग गराउनुभएको थियो । वास्तवमा यो शल्यक्रिया पनि डा. पन्त र उहाँका अनुयायीहरू दुवैका लागि ठूलो परीक्षा थियो । भोलिको परिणाम के आउलाभन्दा पनि वर्तमानको प्रयास उत्कृष्ट हुनुपर्दछ भन्ने विश्वास गरेका गुरु डा. पन्त र शिष्यहरू डा. समिर आचार्य, डा सुदन ढकाल, डा जनम श्रेष्ठ लगायत शल्यक्रिया गर्ने अन्य टिम सदस्यहरू सबैजना उत्कृष्ट हुन सफल हुनुभयो । फलस्वरूप नेपालको चिकित्सा सेवा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त अस्पतालभन्दा कम छैन भन्ने बुझाइ सत्य सावित भएको छ ।
आफ्नै देशमा बसेर, पारिवारिक वातावरणमा उपचार गर्न जति सहज हुन्छ, त्यस्तो वातावरण विदेशमा नहुनपनि सक्दछ । विदेशिंदा एकातिर ठुलो आर्थिक भार पर्दछ भने अर्कोतिर सोचेकै जस्तो परिणाम नआउन पनि सक्दछ । सामान्य रुघाखोकी लाग्दा समेत उपचारकै नाममा देशको अर्थतन्त्रलाई धरासायी बनाउँदै राष्ट्रको ढुकुटी रित्याउने अधिकांश नेतृत्ववर्गका लागि यो एउटा राम्रो पाठ हो । वास्तवमा राष्ट्रियता भाषणमा होइन, व्यवहारमा झल्किनुपर्छ । यसर्थ व्यवहारिकतामा अथक मिहिनेत र परिश्रम गर्दै राष्ट्रको हर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्धेश्य बोकेका जो कोहीलाई पनि सम्मान गर्ने बानी बसालौं । डा. पन्तको शल्यक्रियाको घटनालाई हेर्दा आफ्नै देश, आफ्नै सेवा, आफ्नै विज्ञताप्रति विश्वस्त हुने वातावरण सिर्जना गर्न राज्य र नेतृत्वले अहम् भूमिका खेल्नुपर्दछ भन्ने मलाई लागेको छ।
उहाँको शल्यक्रियाको पृष्ठभूमीलाई नियाल्दै गर्दा मलाई संस्कृतको एउटा श्लोक याद आयो ः “दुग्धेन धेनुः कुसुमेन वल्ली, शीलेन भार्या कमलेन तोयम् । गुरुं विना भाति न चैव शिष्यः शमेन विद्या नगरी जनेन ।।” अर्थात् दुध विनाको गाई, शील विनाको नारी, कलम विनाको जल, शान्ति विनाको विद्या, जन विनाको नगर उस्तै हुन्छ जस्तो गुरु विनाको शिष्य । सच्चा गुरुले सदैव आफु विश्वस्त हुन सक्ने शिष्यहरू जन्माउँछ साथै शिष्यको सिप र क्षमताप्रति सच्चा गुरु सदैव शिर उचो बनाएर गर्वको महशुस गर्दछ । आत्मनिर्भरता, लगनशीलता, परिश्रम र राष्ट्रप्रेममा सदैव मार्गदर्शन गर्ने मेरा समस्त गुरुहरूमा गुरूपूर्णिमाको हार्दिक शुभकामना । मभित्रको अहंकार, अन्धकार र अज्ञानतालाई हटाइ सत्मार्गमा लगाइदिनुभएकोमा हार्दिक धन्यवाद !
सामाग्री श्रोत :
swasthyakhabar

