उँटको आँशु अब केवल भावनाको प्रतीक मात्र होइन, ज्यान जोगाउने औषधिको स्रोत पनि बन्ने सम्भावना देखिएको छ। भारतको उँट अनुसन्धान केन्द्र, बीकानेर र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबका वैज्ञानिकहरूले संयुक्त रूपमा गरिएको अनुसन्धानबाट थाहा भएको छ कि उँटको एक थोपा आँशुमा २६ प्रकारका सर्पहरूको विषको उपचार गर्ने क्षमता हुन्छ।
यदि यो खोज सफलतापूर्वक औषधिमा रूपान्तरण गर्न सकियो भने, यो सर्पदंश उपचारको क्षेत्रमा ऐतिहासिक मोड सावित हुन सक्छ- विशेषगरी भारत, नेपाल र अन्य दक्षिण एशियाली मुलुकहरूमा, जहाँ सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको संख्या निकै उच्च छ।
अनुसन्धानकर्ताहरूले उँटहरूलाई इचिस क्यारिनेटस सोचुरेकी जस्ता विषालु सर्पको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराए। त्यसपछि उँटको रगत र आँशु दुवैबाट लिइएका नमूनामा गरिएको परीक्षणले देखायो कि तीमा रहेको एन्टिबडीहरूले २६ प्रकारका सर्पहरूको विष-जसमा न्युरोटक्सिन (स्नायु प्रणालीलाई असर पार्ने) र हिमोटक्सिन (रक्त प्रणालीमा असर पार्ने) विषहरूको उपचार गर्न सक्छन्।
उँटको एन्टिबडी किन विशेष छ?
न्यानोबडी: उँटको एन्टिबडी सामान्य एन्टिबडीभन्दा साना हुन्छन्, जसले शरीरभित्र गहिरो तन्तुसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सक्छन्।
एलर्जीको खतरा कम: घोडाबाट बनाइने परम्परागत एन्टिभेनममा देखिने एलर्जिक प्रतिक्रिया उँटको एन्टिबडीमा कम देखिन्छ।
तातो तापक्रममा पनि स्थिर: उँटको आँशु र प्रोटिनहरू डिहाइड्रेट नभई लामो समयसम्म सुरक्षित रहने भएकाले विद्युत् वा फ्रिज अभाव भएका ग्रामीण क्षेत्रहरूमा प्रयोग गर्न सहज हुन्छ।
परम्परागत एन्टिभेनम:
महँगो हुन्छ,
सीमित मात्रामा उपलब्ध हुन्छ,
कुनै कुनै क्षेत्रमा मात्र प्रभावकारी हुन्छ।
तर उँटको आँशुबाट तयार हुने एन्टिभेनमले यी सबै चुनौतीलाई समाधान गर्ने सस्तो, सुरक्षित र फराकिलो विकल्प प्रदान गर्न सक्छ।
उँटपालकका लागि पनि आशा
बीकानेर, जैसलमेर र जोधपुरजस्ता क्षेत्रका उँटपालकहरू अनुसन्धान टोलीसँग साझेदार बनेका छन्।
उनीहरूले रगत र आँशु प्रदान गरेबापत प्रति उँट रु.५,००० देखी रु. १०,००० सम्म मासिक आम्दानी गर्न थालेका छन्।
‘यसले न केवल उँटपालक समुदायको आम्दानी बढाउनेछ, बरु घट्दो उँट जनसंख्या संरक्षणमा पनि सहयोग पुग्नेछ,’ एक वैज्ञानिकले बताए।
भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया जस्ता प्रमुख औषधि कम्पनीहरूले यो खोजमा चासो देखाइरहेका छन्।
यद्यपि खोज उत्साहजनक छ, वैज्ञानिकहरूले भनेका छन् कि यो अझै प्रारम्भिक चरणमा छ।
सामाग्री श्रोत :
swasthyakhabar

