काठमाडौँ । अब युट्युबमा राखिने अश्लील तथा आपत्तिजनक गीत-सङ्गीत तथा भिडिओ सामग्रीलाई लिएर साइबर ब्युरोले उजुरी लिने भएको छ । गृहमन्त्री रमेश लेखकले बिहीबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको प्रतिनिधि टोलीसँगको भेटघाटमा यस्तो व्यवस्था मिलाउने जानकारी दिएका हुन् ।

बिहीबार मात्रै सो संस्थाले एक विज्ञप्ति निकाल्दै युट्युबमा राखिएका दुई ओटा गीतमाथि आफ्नो सञ्जालमा ‘प्रतिबन्ध’ लगाइएको जानकारी दिएको थियो । जसमा धुर्व पुन र चन्द्रकुमारी शाहीको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमार’मा शीर्षकका गीतहरू छन् ।
पत्रकारहरूसँगको भेटघाटका क्रममा गृहमन्त्री लेखकले अश्लील गीतहरूमा साइबर ब्युरोले एक्सन लिने जानकारी दिँदै त्यसप्रति आफ्नो प्रतिबद्धता समेत व्यक्त गरे । “गीतहरू अश्लील भए, अपमानजनक भए, घृणास्पद अभिव्यक्ति समावेश गरिएमा त्यसको उजुरी लिन साइबर ब्युरोमा एउटा छुट्टै सेल बनाउने सल्लाह भइसकेको छ,” गृहमन्त्रीले भने, “ब्युरोले त्यसका लागि फोकल पर्सन समेत तोकिदिनेछ । जहाँ सम्पर्क गरेर यस किसिमका विषयमा उजुरी टिपाउन सकिनेछ ।”
गृहमन्त्री लेखकले सिनेमा सेन्सर भइरहँदा गीत किन सेन्सर नगर्ने भन्दै तर्क समेत गरे । “यो विषय सञ्चार मन्त्रालयसँग सम्बन्धित छ र संस्कृति मन्त्रालयसँग पनि छलफल गरेर हेर्नुपर्ने हुन सक्छ,” उनले अगाडि भने, “सामाजिक सञ्जाल युट्युब लगायतका प्लेटफर्महरूबाट सार्वजनिक हुने गीतहरूको नियमन गर्ने कुराका लागि केही कानुनहरू समेत बनाउने क्रममा छन् ।”

लोक सञ्चारकर्मीहरूको उक्त संस्थाले सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीत-सङ्गीत उत्पादन तथा प्रसारण गरिरहेको विषयमा संलग्न उपर कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी, कलाकार सङ्गठन लगायतका निकायहरूलाई समेत अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १०:४५
सामाग्री श्रोत :
टेक पाना