२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

फाइभजीमा नेपालको अस्वाभाविक ढिलासुस्तीः किन तयार छैनन् नेपाल टेलिकम र एनसेल ?

नेपाल टेलिकमले फाइभजीको आन्तरिक परीक्षण थालेको दुई वर्ष पूरा भइसकेको छ । तर आम उपभोक्ताले भने अहिलेसम्म परीक्षण सफल भइसकेको भनिएको नयाँ पुस्ताको मोबाइल प्रविधि प्रयोग गर्ने अवसर भने पाएका छैनन् । यो लेखमा नेपालमा फाइभजी रोलआउट गर्न भइरहेको ढिलाई, दूरसञ्चार कम्पनीहरूको अलमल, लगानी र प्रतिफलका सवाल आदि विषय केलाउने प्रयास गरेको छु । 

सरकारको तर्फबाट व्यावसायिक रूपमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी तोक्ने काम भएको पनि एक वर्ष नाघिसक्यो । तर अहिलेसम्म त्यसको वितरण भने भइसकेको छैन । खासगरी फाइभजीका लागि तत्काल ७०० र ३५०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी वितरण गर्ने चर्चा चलेको पनि धेरै समय भइसकेको छ ।

नियामकले अक्सन मार्फत यो फ्रिक्वेन्सी सेवा प्रदायकलाई वितरण गर्नु पर्ने हुन्छ । भएकै सेवा प्रदायकबिच बोलकबोल गर्ने कुरा आफैँमा नाम मात्रैको प्रतिस्पर्धा हुने कुरा त छँदैछ ।  तर पनि विद्यमान दुई ओटै टेलिकम कम्पनीहरू नै अनिच्छुक रहेको बेला उनीहरूबिचमै बोलकबोल गराएर फ्रिक्वेन्सी वितरण गर्न पनि त्यति सम्भव देखिँदैन । 

फाइभजी फ्रिक्वेन्सी वितरण गर्न नियामक प्राधिकरण तर्फ त्यति जटिलता नहोला । तर फाइभजी फ्रिक्वेन्सीको बोलकबोल भएको खण्डमा दुई कम्पनी मध्येको एनसेल सहभागी हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि आफैँमा गम्भीर छ । किन कि अबको करिब साढे चार वर्षपछि कम्पनीको भविष्य के हुने भन्ने कुरा अनिश्चित छ ।

विदेशी लगानीको कम्पनी भएकाले २०८६ को भदौपछि सम्भवतः (कुनै चमत्कार भएन भने) एनसेल सरकारी स्वामित्वमा आउनेछ । दूरसञ्चार ऐनको विद्यमान व्यवस्था अनुसार त्यसपछि कम्पनीको मूल्य निर्धारण गरेर सरकारले एनसेललाई वर्तमान लगानीकर्ताकै जिम्मा लगाउन सक्छ । अहिलेसम्मको स्थितिले निश्चित जस्तै देखिने यो परिदृश्यमा एनसेलले त्यसअघि आफ्नो मूल्य तथा पूँजी बढाउने गरी नयाँ लगानी गर्ने सम्भावना देखिँदैन । 

यदि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी बोलकबोल गर्दा एनसेल सहभागी नभए पनि नेपाल टेलिकमले सो फ्रिक्वेन्सी नै नपाउने भन्ने पनि होइन । फाइभजी फ्रिक्वेन्सी बोलकबोलका लागि सूचना आह्वान गरियो र नेपाल टेलिकमको एक मात्र आवेदन पर्‍यो भने पनि नियामकले नेगोसियसन तथा दुई पक्षीय वार्ता मार्फत आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउन सक्छ । यसअघि फोरजी फ्रिक्वेन्सी अक्सनका क्रममा यस किसिमको अन्योलताको निरूपण भइ नै सकेको छ । 

हुन त प्रविधि तटस्थताको नीतिले सेवा प्रदायकहरूलाई आफूसँग रहेको फ्रिक्वेन्सी प्रयोग गरेर फाइभजीमा जान सक्ने विकल्प पनि दिएकै छ । तर सेवा प्रदायकहरू आफैँ फाइभजीका लागि अनिच्छुक देखिएको अवस्थामा यो विकल्पको कुनै अर्थ हुने छैन । 

 

टेलिकम कम्पनीहरूको आनाकानी

वास्तवमा नेपालमा फाइभजी सेवा सुरु गर्ने सवालमा पछिल्लो समय सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेल दुवैमा अनिच्छा जस्तो देखिन्छ । एनसेल फाइभजीका लागि तयार नहुनु स्वभाविक देखिए पनि नेपाल टेलिकमको हकमा भने अस्वाभाविक नै मान्नु पर्छ । नीतिगत तथा कानुनी र नियामकीय तवरबाट फाइभजीमा अगाडि बढ्न खासै कठिनाइको अवस्था छैन ।

बजारमा अन्य प्रतिस्पर्धी नै नरहेको र भएको एक मात्र प्रतिस्पर्धीको पनि भविष्य अनिश्चित रहेको वर्तमान समय नेपाल टेलिकमलाई फाइभजी सेवामा जान र बजारमा एकछत्र राज गर्ने सबैभन्दा उपयुक्त मौका हो । तर पनि कम्पनी यसका लागि तयार नहुनुलाई त्यति स्वाभाविक मान्न सकिन्न ।

खुला रूपमा एनसेलबाट फाइभजीको सवालमा त्यस्तो कुनै आशय त प्रकट भएको छैन । तर पनि नेपाल टेलिकमले फाइभजी सुरु नगर्दा उसका लागि फाइदाकै विषय हुन्छ । किन भने एनसेलका लागि अबको साढे चार-पाँच वर्षपछि मात्रै फाइभजीमा लगानी गर्ने अवसर जुर्न सक्छ, जुन तत्काल उसको हकमा सम्भव देखिँदैन ।

यदि नेपाल टेलिकमले अहिले नै फाइभजी सुरु गर्ने हो भने चार पाँच वर्षपछि सुरु गर्ने एनसेललाई बजार लिन त्यति सहज हुने छैन । त्यतिन्जेल यो नयाँलो प्रविधिमा नेपाल टेलिकम निकै अघि पुगिसकेको हुनेछ । त्यसैले अहिले नेपाल टेलिकमले तत्काल फाइभजीको तयारी थाल्न ढिलाई गर्नु हुन्न । 

 

कस्तो फाइभजी ? 

दूरसञ्चार क्षेत्र तीव्र गतिमा परिवर्तन हुँदैछ, जहाँ फाइभजी प्रविधिले अग्रणी भूमिका खेलिरहेको छ । वर्तमान दूरसञ्चार जगतमा फाइभजीले प्रभावशाली विकास देखाइरहेको छ । तर यसको पूर्ण क्षमता र उपयोगिता हासिल गर्न स्ट्यान्डअलोन (SA) फाइभजी निकै महत्वपूर्ण हुन्छ । 

यसको महत्त्वको विषयमा प्रवेश गर्नु अघि स्ट्यान्डअलोन र नन-स्ट्यान्डअलोन फाइभजीको अवधारणा र यी दुई बिचको आधारभूत भिन्नता बारे बुझ्न आवश्यक छ । नन-स्ट्यान्डअलोन (NSA) यस्तो फाइभजी हो, जुन विद्यमान फोरजी पूर्वाधारमाथि नै निर्भर हुन्छ । तर स्ट्यान्डअलोन फाइभजी भने पूर्णतया नयाँ नेटवर्क संरचनामा चल्छ ।

यसको मतलब सिग्नलिङ तथा कन्ट्रोल फङ्सनका लागि स्ट्यान्डअलोन फाइभजी फोरजीमाथि निर्भर हुँदैन । जसले गर्दा यसले फाइभजी मापदण्डका सम्पूर्ण क्षमता उपयोग तथा उपभोग गर्ने अवसर उपलब्ध गराउन सक्छ । स्ट्यान्डअलोन फाइभजी केवल अपग्रेडको विषय मात्र होइन, नेटवर्क संरचनामा एक महत्त्वपूर्ण रूपान्तरण एवम् स्थानान्तरण पनि हो ।

स्ट्यान्डअलोनले नेटवर्कमा स्लाइसिङ, लो लेटेन्सी र उल्लेखनीय आईओटी क्षमता जस्ता फाइभजीका स्तरीय फिचर पाउन सकिन्छ । जुन एड्भान्स युज केसहरूका लागि अत्यावश्यक छ । यो व्यवसाय-व्यवसाय (B2B) बीच हुने सेवाहरूमा प्रयोग हुने इन्टरप्राइज एप्लिकेसनहरूका लागि महत्वपूर्ण हुन्छ । जीएसएमए इन्टेलिजेन्स अपरेटर सर्भे २०२२ ले सेवा प्रदायकहरूका लागि इन्टरप्राइज सोलुसन दिन स्ट्यान्डअलोन सबैभन्दा महत्त्वपूर्ण तथा क्षमतावान् फाइभजी हुने देखाएको छ।

यो स्ट्यान्डअलोन फाइभजी नै पूर्ण क्षमताको फाइभजी सेवा प्राप्त गर्नको लागि आवश्यक पूर्वाधार एवम् पूर्व सर्त पनि हो । यसको अभावमा फाइभजीबाट अपेक्षित धेरै जसो एड्भान्स सेवाहरू प्राप्त गर्न सकिँदैन । यसको महत्त्व र आवश्यकताका बाबजुद फाइभजी सेवा सुरु गर्ने सबै सेवाप्रदायकले स्ट्यान्डअलोनलाई नै रोज्नुपर्छ र रोज्ने गरेका छन् भन्ने पनि होइन । यसमा अवसरसँगै चुनौतीहरू पनि छन् । 

मुख्य चुनौती भनेकै यसका लागि आवश्यक पर्ने ठुलो लगानी हो । अपरेटरहरूले फाइभजी नेटवर्क तयार पार्न र त्यसलाई विस्तार गर्न धेरै लगानी चाहिन्छ । तर, धेरैजसो बजारमा टेलिकम कम्पनीहरूको प्रतिफल भने स्थिर तथा घट्दो क्रममा रहेको देखिन्छ । यसका लागि सेवा प्रदायकहरूमा सोही अनुरूपको रणनीति आवश्यक पर्छ भने राज्यको तर्फबाट पनि सस्तो मूल्यमा पर्याप्त फ्रिक्वेन्सी उपलब्ध गराउने, कर छुट दिने जस्ता प्रोत्साहन जरुरी हुन सक्छ ।

 

लगानी र प्रतिस्पर्धा

स्ट्यान्डअलोनमा जाँदा फाइभजी नेटवर्क रोलआउट तथा त्यसको विस्तारमा ठुलो खर्च  हुन्छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सरकार फाइभजी सञ्चालनको सवालमा सकारात्मक नै देखिएका छन् । फाइभजी सेवा सञ्चालनमा आउँदा मन्त्री तथा मन्त्रालयलाई आफ्नो प्रगति विवरणमा देखाउने एउटा उपलब्धि बन्छ । मन्त्रालयले फाइभजीका लागि दबाब दिँदा समेत सेवा प्रदायक यसका लागि आवश्यक ठुलो लगानी गर्ने निर्णय लिन र सो लगानी जुटाउन हिम्मत गर्न सकिरहेका छैनन् ।

अर्कोतर्फ ठुलो लगानीमा नयाँ परियोजना अगाडि बढाउँदा सो अनुरूपको प्रतिफल प्राप्त गर्न सकिने कुरामा विश्वस्त हुने आधार समेत सेवा प्रदायकहरूले फेला पार्न नसकिरहेको जस्तो देखिन्छ । सँगसँगै विद्यमान फोरजी सेवाको ब्यान्डविथ, पूर्वाधार र नेटवर्क नै पूर्ण रूपमा खपत नभइरहेको अवस्थामा यति ठुलो लगानी गरेर किन फाइभजी ल्याउने भन्ने प्रश्न पनि उठ्ने गरेको छ । 

हुन त टुजी र थ्रीजीलाई विस्थापित गर्नेगरी देशव्यापी रूपमा फोरजी सेवा विस्तारको कार्य सम्पन्न हुँदै गर्दा पनि सेवा प्रदायकको घट्दो आम्दानीलाई भरथेग गर्न मुस्किल परिरहेकै छ । त्यही दृष्टान्त फाइभजीको सवालमा पनि दोहोरिन सक्ने जोखिम देखेर सेवा प्रदायकहरूले हिम्मत गर्न नसकेका हुन सक्छन् । आम्दानी बढाउन नसकिने नयाँ परियोजनामा लगानी किन गर्ने ? टेलिकम कम्पनीहरू सामु यो नै जटिल प्रश्नको रूपमा खडा भएको छ । 

नन-स्ट्यान्डअलोन फाइभजीमा विद्यमान फोरजी पूर्वाधारकै कोर नेटवर्क प्रयोग हुने र थप रूपमा र्‍यान इक्विपमेन्ट मात्रै ल्याउनु पर्ने हुन्छ । तर स्ट्यान्डअलोन फाइभजीमा भने फोरजीभन्दा पृथक् र अलग्गै नेटवर्क तयार पार्नु पर्ने हुन्छ । 

स्यान्डअलोन फाइभजीमा जान एउटा दूरसञ्चार कम्पनीलाई कम्तीमा २०/२२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने आँकलन गरिएको छ । तर नन-स्ट्यान्डअलोन फाइभजी भने ५ देखि १० अर्बमै सुरु हुन सकिने बताइन्छ । यी दुई विकल्प मध्ये कुनमा जाने भन्ने अर्को जटिल प्रश्नको जवाफ समेत टेलिकम कम्पनीहरूले ठम्याउन सकिरहेका छैनन् ।

यो सवालमा लगानीको प्रश्न मात्रै छैन । नेपालको टेलिकम नेटवर्क चाहे त्यो नेपाल टेलिकम होस् वा एनसेलकै किन नहोस्, चिनियाँ भेन्डरहरूको एकलौटी जस्तै छ । नन-स्ट्यान्डअलोन फाइभजीको विकल्प अपनाउने हो भने तिनै ह्वावे, जेडटीई जस्ता चिनियाँ भेन्डर कम्पनीहरूकै भर पर्नुपर्ने हुन्छ ।

जब कि नेपालको टुजी, थ्रीजी हुँदै फोरजीसम्म तिनै चिनियाँ कम्पनीहरूको आधिपत्य छ । यो विकल्पमा अघि बढ्दा नयाँ भेन्डरहरूको प्रवेश असम्भव प्रायः हुन्छ ।  त्यसैले भेन्डरहरूबिच खुला प्रतिस्पर्धा गराएर फाइभजीमा जाने हो भने स्ट्यान्डअलोन फाइभजीको विकल्प देखिँदैन । चिनियाँ भेन्डरहरूमै सीमित हुने कि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धालाई अङ्गाल्ने भन्ने कुरा भू-राजनीतिक हिसाबले पनि चासो र चिन्ताको विषय हुन सक्छ ।

 

फाइभजीमा लगानी किन गर्ने ?

फोरजी नेटवर्कले करिब एक दशकभन्दा लामो समयदेखि डिजिटल रूपान्तरणमा मेरुदण्डको काम गरेको छ । फाइभजी प्रविधिले कनेक्टिभिटी, स्पिड र इनोभेसनलाई नयाँ उचाई दिइरहेको छ । तर, लगानीको प्रतिफल (आरओआई) सुनिश्चित नरहेको कुराले टेलिकम कम्पनीहरूका लागि फाइभजीमा जाने सवाल चुनौतीपूर्ण बनेको छ ।

टेलिकम कम्पनीहरूले लगानीको प्रतिफल ग्यारेन्टी नहुँदा नहुँदै फाइभजीमा जाने कि नजाने ? यसको सरल उत्तर हो, हामी जसरी थ्रीजीबाट फोरजीमा जानु अपरिहार्य थियो, त्यसरी नै अब फाइभजीमा जानुको विकल्प छैन । त्यसको कारण बुझ्नु पहिला फाइभजीका विशेषताहरू थाहा पाउनु पर्ने हुन्छ ।

यसको अल्ट्रा-लो लेटेन्सी, फास्ट डेटा स्पिड र उच्चतम ब्यान्डविड्थ क्षमताका कारण फाइभजीले दूरसञ्चारलाई मात्र नभएर अन्य उद्योग क्षेत्रलाई समेत रूपान्तरण गर्ने सम्भावना राख्छ । यसले अर्बौँ आईओटी डिभाइसहरू बीचमा सहज सञ्चार सम्भव गराउँछ । जुन स्मार्ट सिटी, स्वचालित सवारीसाधन र औद्योगिक अटोमेसनका लागि अपरिहार्य छ ।

फाइभजीको फास्ट स्पिड र लो लेटेन्सी नेटवर्कले गर्दा गेमिङ, स्वास्थ्य र शिक्षामा एआर (अग्मेन्टेड रियालिटी) तथा भीआर (भर्चुअल रियालिटी) को प्रभावशाली अनुभव दिलाउन सक्छ । फाइभजीको इनह्यान्स्ड मोबाइल ब्रोडब्यान्ड (ईएमबीबी) फिचरमा हुने तीव्र डाउनलोड तथा अपलोड स्पिडले भिडिओ स्ट्रिमिङ, क्लाउड गेमिङ र रिमोट वर्क जस्ता गतिविधिलाई सहज बनाउँछ । रिमोट सर्जरी र प्रिसिजन एग्रिकल्चर (प्रविधिको सहयोगमा गरिने कृषि कार्य) जस्ता एप्लिकेसनहरूमा पनि फाइभजीको हाई स्पिड र भरपर्दो नेटवर्क चाहिन्छ । 

उल्लिखित लाभ भएको फाइभजी प्रविधिमा नगई अहिलेकै फोरजीमा सीमित हुनु उपभोक्ता, विभिन्न उद्योग र सरकारका लागि मात्र नभएर स्वयम् टेलिकम कम्पनीहरूका लागि समेत सही दृष्टिकोण नहुन सक्छ । पहिलो कुरा त फाइभजी सुरुमा अपनाउने वा त्यसमा ढिलाइ गर्ने भन्ने सवाल सोझो रूपमा बजारसँग जोडिन्छ । कुनै एउटा टेलिकम कम्पनीका लागि सुरुमा फाइभजी अपनाउने कुराले बजार हिस्सा मजबुत पार्न सघाउँछ भने ढिलाई गर्दा बजार हिस्सा गुमाउने वा पेचिलो प्रतिस्पर्धा खप्नुपर्ने जोखिम निम्त्याउन सक्छ । 

बजारमा फाइभजी ह्यान्डसेटहरू ठुलो सङ्ख्यामा भित्रिन थालिसकेका छन् । तिनमा गुणस्तरीय सेवा प्रयोग गर्न डेटा पनि त्यही अनुरूपको आवश्यक पर्छ । फोरजी नेटवर्कले त्यस किसिमको माग धान्न नसक्दा ग्राहकमा असन्तुष्टि बढाइरहेको छ र त्यसले अन्ततः कम्पनीकै आम्दानीमा असर पार्न सक्छ ।

नयाँ प्रविधि र व्यावसायिक मोडेल फाइभजीको क्षमतामा निर्भर हुँदै गइरहेका छन् । यसमा लगानी नगर्नु भनेको यस किसिमका अवसरहरू गुमाउनु पनि हो । त्यसैले फाइभजीमा लगानी गर्नु भनेको दीर्घकालीन रणनीति हो, जसका लागि टेलिकम कम्पनीहरूको नेतृत्वमा धैर्ययता र स्पष्ट दृष्टिकोण आवश्यक पर्छ । तत्काल लगानीको प्रतिफल सुनिश्चित नभए पनि फाइभजीको विस्तारित आर्थिक तथा सामाजिक लाभ नकार्न सकिन्न । 

विभिन्न अध्ययनहरूले फाइभजीले बढ्दो उत्पादकत्व र इनोभेसन मार्फत सन् २०३० सम्म विश्व अर्थतन्त्रमा खर्बौँ डलरको योगदान पुर्‍याउन सक्ने सम्भावना देखाइसकेका छन् । फाइभजी नेटवर्क र यससँग सम्बन्धित प्रविधिको रोलआउटले नेटवर्क पूर्वाधार, सफ्टवेयर डेभलपमेन्ट र डिभाइस म्यानुफ्याक्चरिङ जस्ता क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गर्नेछ ।

समयमै फाइभजी अपनाउने टेलिकम कम्पनीहरूले प्रविधि प्रति सचेत ग्राहकहरूलाई आकर्षित गर्न र उनीहरूको विश्वास जित्न सक्छन् । फाइभजी प्रविधिले सिर्जना गर्न सक्ने लाभका यस्ता विषयहरू नकार्न नसके पनि मुख्य जटिलता आवश्यक लगानीमै आएर जोडिन्छ । यो विषय टेलिकम कम्पनीहरूको जिम्मामा मात्रै छोड्ने भन्दा पनि सरकार र अन्य सरोकारवाला क्षेत्रबाट समेत सकारात्मक पहलकदमी जरुरी छ ।

फाइभजीमा आवश्यक पर्ने ठुलो लगानी जुटाउन टेलिकम कम्पनीहरू, सरकार, विभिन्न प्रविधि कम्पनी र उद्योगहरूबिच सहकार्यको सम्भावना तर्फ पनि विचार गर्न सकिन्छ । देशव्यापी रूपमा एकै पल्ट फाइभजी रोलआउट गर्न आवश्यक लगानी एकै पटक जुटाउन नसकिए पनि चरणबद्ध रूपमा उच्च माग भएका सहरी क्षेत्रहरूबाट सुरु गरेर ग्रामीण क्षेत्रहरूमा विस्तार गर्ने रणनीति अपनाउन सकिन्छ ।

 

(लेखक साउद टेकपाना डटकमका सम्पादक हुन् ।)

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १२:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट