काठमाडौँ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबिचको गोप्य फोनकल सार्वजनिक भएपछि उनको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन सरकार संकटमा परेको छ । सीमा विवादसम्बन्धी विषयमा भएको १७ मिनेटको फोनकल लिक भएपछि ३८ वर्षीया प्रधानमन्त्रीको चौतर्फी आलोचना भएको छ ।

उनले उक्त कलमा हुन सेनलाई अंकल भनेर सम्बोधन गरेकी थिइन् र एक थाइ सैन्य कमान्डरको आलोचना गरेकी थिइन् । शिनावात्राले फोनमा ती सैन्य कमान्डरलाई ‘सिर्फ स्मार्ट देखिन खोज्ने व्यक्ति’ भनेर टिप्पणी गरेकी थिइन् । उनको यो टिप्पणीलाई सेनाविरुद्धको अपमानको रूपमा व्याख्या गरिएको छ ।
शिनावात्राले सार्वजनिक माफी माग्दै भनेकी छन्, “कम्बोडियाली नेतासँगको मेरो कुराकानी लिक भएपछि जनतामा आक्रोश उत्पन्न भएकोमा म क्षमायाचना गर्न चाहन्छु ।”
उक्त घटनाले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको भन्दै विपक्षीहरूले राजीनामा माग गरिरहेका छन् । त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठुलो दल भुमजाइथाइ पार्टीले बुधबार गठबन्धन त्यागेको घोषणा गरेको छ । यसले शिनावात्राको पार्टी पिउ थाइको संसदमा रहेको बहुमत नै खतरामा परेको छ ।

आफ्नै दल पिउ थाइ पार्टीले समेत शिनावात्राको भूमिकालाई लिएर आलोचना गरेको छ । यदि अन्य दुई गठबन्धन दलले पनि समर्थन फिर्ता लिएमा सरकार ढल्ने निश्चित देखिएको विश्लेषण गरिएको छ । ती दुई दलले बिहीबार बस्ने बैठकमा निर्णय लिने बीबीसीले जनाएको छ ।
कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनले उक्त फोनकलको अडियो ८० जना नेताहरूलाई शेयर गरेको बताएका छन् । यसमध्ये कुनै एकबाट लिक भएको हुनसक्ने बताएका सेनले पछि आफ्नै फेसबुक आईडीमार्फत् पूरै अडियो सार्वजनिक गरेका छन् ।
–बीबीसीको सहयोगमा
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १५:३८
सामाग्री श्रोत :
टेक पाना