साइप्रसमा सोनाम ल्होसारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रवासमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली कला र संस्कृतिको प्रस्तुति रहनेछ।
लामा अपार्टमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम १८ जनवरी, आइतबार का दिन पापोस मा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा नेपालका चर्चित तथा राष्ट्रिय गायक राजु लामा (मंगोलियन हार्ट) ले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। मंगोलियन हार्ट ब्याण्डका संस्थापक सदस्यसमेत रहेका गायक लामा नेपाली आधुनिक तथा जातीय संगीत क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएका कलाकार हुन्।
उनका “हल्ला चलेछ”, “पर्खाइ मा ”, “सायद तिम्रो बाटो मा ” जस्ता चर्चित गीतहरू नेपालसहित साइप्रस तथा युरोपमा रहेका नेपाली समुदायबीच लोकप्रिय रहेका छन्।
कार्यक्रममा राजु लामासँगै साइप्रसमा सक्रिय स्थानीय कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ।

स्थानीय कलाकारहरूमा डान्सर मुना तामाङ, स्थानीय गायिका मोनिका विश्वकर्मा, डान्सर जियासना तामाङ, स्थानीय गायक मिङमार शेर्पा, साथै रसुवाली ग्रुप द्वारा प्रस्तुत गरिने स्याब्रु नृत्य र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने बताइएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क २५ युरो निर्धारण गरिएको छ। साथै, सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै साइप्रसका विभिन्न सहरहरूबाट बसको व्यवस्था समेत गरिएको जनाइएको छ।
प्रवासमा नेपाली मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामुदायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक पक्षले पोस्टरमा उल्लेख गरिएका सम्पर्क माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।









