२०८३ जेष्ठ २६ मंगलवार
LATEST NEWS
२०८३ जेष्ठ २६ मंगलवार

लिमासोल । साइप्रसमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै नेपाली राजदूतावास, इजरायलले सञ्चालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको निरन्तर पहल तथा समन्वयमा राजदूतावासले ३१ मे र जुन १ तारिखमा  निकोसिया स्थित पूर्व अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालय  मा उक्त सेवा सञ्चालन गरेको हो।

दुई दिनसम्म सञ्चालन गरिएको सेवामार्फत कुल १०८ जनाको राहदानी नवीकरण, ४ जनाको ट्राभल डकुमेन्ट तथा १८ जनाको वारेसनामा सम्बन्धी सेवा प्रदान गरिएको थियो।

राजदूतावासले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सेवा सञ्चालन गर्ने तालिका तय गरे पनि पहिलो दिनमै करिब दुई सयभन्दा बढी सेवाग्राही उपस्थित भएपछि सबैले सेवा प्राप्त गर्न सकेनन्। सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न राजदूतावासले समय थप गर्दै राति ९:३० बजेसम्म सेवा प्रवाह गरेको थियो। साथै, उत्तरी साइप्रसमा रहेका नेपाली नागरिकलाई समेत लक्षित गर्दै त्यहाँ पुगेर राहदानी नवीकरण सेवा प्रदान गरिएको छ।

घुम्ती कन्सुलर सेवा सहजीकरण गरेको एनआरएनए साइप्रसले व्यवस्थापन तथा पूर्व तयारीमा केही कमजोरीका कारण सेवाग्राहीलाई असुविधा भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित बनाउन आवश्यक फाराम पूर्व-भर्ने व्यवस्था, समय तालिका निर्धारण तथा सेवा प्रवाह प्रणाली सुधार गरिने जनाएको छ।

यसअघि नेपाल सरकारको निर्णयअनुसार साइप्रसस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले १५ मेदेखि सम्पूर्ण कन्सुलर सेवा बन्द गरेको थियो। उक्त सेवा बन्द भएपछि राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाका लागि नेपाली समुदायले कठिनाइ भोग्दै आएका छन्।

यसैबीच, इजरायलस्थित नेपाली राजदूतावासले प्रत्यक्ष रूपमा साइप्रसमै पुगेर सेवा प्रदान गर्नु समुदायका लागि सकारात्मक पहलका रूपमा लिइएको छ। यद्यपि घुम्ती सेवा मात्र पर्याप्त नभएको भन्दै नेपाली समुदायले साइप्रसमा स्थायी कन्सुलर वा दूतावास नै  स्थापना गर्न माग गर्दै आएका छन्। नेपाल सरकारले दूतावास स्थापना गर्ने निर्णय गरि सकेको भए पनि कार्य प्रगति हुन् सकेको छैन।  

साइप्रस स्थित अवैतनिक नेपाली वाणिज्यदूतावास निकोसियाले प्रदान गर्दै आएको सम्पूर्ण कन्सुलर तथा सहजीकरण सेवा अनिश्चितकालका लागि  स्थगित गरेको छ। 

आज एक सुचना जारी गर्दै कार्यालयले  १५ मे २०२६ देखि अर्को व्यवस्था नभएसम्मका लागि  दिइँदै आएका सबै सेवा रोकिएको जानकारी दिएको  हो।

साइप्रसमा रहेका नेपालीहरूले यो नियोगलाई  आफ्नो “मुख्य सहारा र अभिभावक” को रूपमा लिँदै आएका थिए। विशेषगरी करिब १० हजार घरेलु कामदार सहित विभिन्न क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूका लागि यसको भूमिका निकै महत्वपूर्ण रहेको छ । सेवा बन्द भएपछि उनीहरूलाई तत्कालै समस्या पर्न सक्ने देखिएको छ। 

नेपाल सरकार मन्त्रिपरिषद्को  २०८३ वैशाख २५ को निर्णयबाट साइप्रस को निकोसिया सहित  १५ स्थानमा रहेका नेपाली अनररी कन्सल जनरल तथा कन्सलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको हो। अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिड्नी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकार्ता, साइप्रसको निकोसिया र इजरायलको रेहोवोट सिटी लगायतका स्थान रहेका छन्।

साइप्रसमा कार्यरत करिब २० हजारभन्दा बढी नेपाली श्रमिक, विशेषगरी घरेलु कामदारहरू, यस कार्यालयमा निर्भर रहेका थिए। दैनिक रूपमा कागजात प्रमाणिकरण, सिफारिस, तथा आपतकालीन सहजीकरण सेवाका लागि ठूलो संख्यामा सेवा लिने गरिएको थियो।

सेवा बन्द भएपछि उनीहरूको प्रशासनिक तथा कानुनी प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।

घरेलु कामदारहरूले नेपाल बिदामा जाँदा आवश्यक पर्ने “होलिडे पेपर” (अनुसूची–८) बनाउन नपाउने अवस्था आउने बताइएको छ, जहाँ दैनिक ३० देखि ५० जना सम्मले सेवा लिने गरेका थिए। उक्त कागजपत्र  अनररी कन्सुलरबाट प्रमाणित नभएसम्म वैदेशिक रोजगार विभाग (DOFE) मा श्रम नवीकरणमा समस्या आउने सम्भावना देखिएको छ।

त्यस्तै पासपोर्ट नवीकरण समयमै नहुँदा कयौ नेपाली गैरकानुनी बन्न सक्ने अवस्था छ।  साइप्रसको इमिग्रेसन विभाग ले पासपोर्ट मा १८ महिना भन्दा कम को म्याद भए भिसा नवीकरण गर्दैन  तर “पासपोर्ट रिन्यु ” गर्न दिएको भनेर कन्सुलर कार्यालयले पत्र जारी गरे पछि भने  इमिग्रेसन विभागले भिसा नवीकरण गर्ने गरेको छ। 

अधिकृत वारेसनामा  तथा कागजात प्रमाणीकरण, एकतर्फी ट्राभल डकुमेन्ट, विभिन्न  सिफारिस जस्ता  सेवाहरू पनि रोकिने अवस्था छ। 

यसैगरी, श्रमिकको अधिकार र न्यायसँग जोडिएका विषयमा आवाज उठाउने माध्यम कमजोर हुने, साथै केही म्यानपावर कम्पनीहरूले श्रमिकलाई श्रम शोषण गर्ने जोखिम बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

गम्भीर अवस्थाहरूमा पनि समस्या देखिने अनुमान गरिएको छ। कुनै नेपालीको मृत्यु भएमा शव नेपाल पठाउने प्रक्रिया, कानुनी सहजीकरण र स्थानीय प्रशासनसँगको समन्वय जस्ता काम पूर्ण रुपमा  प्रभावित हुनेछ । त्यस्तै, अस्पतालमा उपचाररत बिरामी नेपालीका लागि आवश्यक समन्वय र जानकारी सेवा पनि कमजोर हुने देखिन्छ।

समुदायका प्रतिनिधिहरूले वैकल्पिक व्यवस्था नगरी सेवा रोक्नु दुःखद भएको भन्दै नेपाल सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको अधिवेशन साइप्रसको लिमासोलस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भएको छ । गत मंगलबार सम्पन्न  अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नयाँ कार्यसमितिमा रेशम पाण्डे अध्यक्षमा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गोपाल तिमल्सिना चयन भएका छन् । उपाध्यक्षहरूमा लाल बहादुर बुढा मगर, सुमन पाण्डे र दिनेश महरा चयन भएका छन् भने  महासचिवमा नबिन चौलागाईं चयन भएका छन् । त्यस्तै सचिवमा समिर जंग गिरी, कोषाध्यक्षमा सतीश शाहु र सह–कोषाध्यक्षमा सुरज गैरे चयन भएका छन् ।

उक्त अधिवेशन संस्थाका अध्यक्ष रेशम बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा संयोजक युवराज तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । साथै वरिष्ठ सल्लाहकार हरिराम घिमिरे, उप–संयोजक सुदर्शन लामा न्हेगी तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनमा पुरानो कार्यसमिति विघटन गर्दै सचिवालयले दुई वर्षे प्रतिवेदन प्रस्तुत गरेको थियो भने कोषाध्यक्षले आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मध्यपूर्वमा जारी तनाव र त्यसका कारण प्रभावित अन्तर्राष्ट्रिय उडानहरूका कारण विदेशमा फसेका गैर–ईयू देशका नागरिकलाई ध्यानमा राख्दै साइप्रस सरकारले बसोबास अनुमति (Residence Permit) सम्बन्धी समयसीमा अस्थायी रूपमा बढाएको छ।

साइप्रसमा बसोबास तथा काम गर्दै आएका तर हाल आफ्नै देशमा रहेका धेरै विदेशी नागरिक उडान अवरोधका कारण निर्धारित समयभित्र साइप्रस फर्किन नसकेको अवस्थालाई ध्यानमा राख्दै Cyprus Deputy Ministry of Migration and International Protection ले यस्तो निर्णय गरेको हो।

गैर–ईयू नागरिक भनेको युरोपियन युनियन (EU) बाहिरका देशका नागरिक हुन्। उदाहरणका लागि नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, इन्डोनेशिया, थाइल्याण्ड, भियतनाम र चीन जस्ता एशियाली देशका नागरिकहरू यस श्रेणीमा पर्छन्।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार निम्न व्यक्तिहरूलाई राहत दिइएको छः

१. Residence Permit (भिजा कार्ड) भएका व्यक्तिहरू

यदि तपाईं २८ फेब्रुअरी २०२६ पछि विदेश जानुभएको छ र तीन महिनाभन्दा बढी समय साइप्रस बाहिर बस्नुभएको छ भने पनि ३० अप्रिल २०२६ भित्र पुरानो Residence Permit प्रयोग गरेर साइप्रस प्रवेश गर्न सक्नुहुन्छ।

२. Residence Permit Renewal का लागि आवेदन दिएका व्यक्तिहरू

जसले बसोबास अनुमति नवीकरणका लागि आवेदन दिई immigration बाट पेमेन्ट रसिद प्राप्त गरेका छन्, उनीहरूले तीन महिनाभन्दा बढी समय विदेशमा बसेको भए पनि ३० अप्रिल २०२६ सम्म साइप्रस प्रवेश गर्न पाउनेछन्।

३. पहिलो पटक साइप्रस आउन लागेका Entry Permit भएका व्यक्तिहरू

जसको Entry Permit को म्याद १ मार्चदेखि ३१ मार्च २०२६ बीचमा सकिँदै थियो, त्यस्ता Entry Permit हरू ३० अप्रिल २०२६ सम्मका लागि स्वतः बढाइएको छ।

मन्त्रालयका अनुसार यी व्यवस्था अस्थायी हुन् र उडान अवरोधको अवस्था जारी रहेमा आवश्यक अनुसार थप निर्णय लिन सकिनेछ।

news :cyprusmail 

२९ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ ।

अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म वितरणको काम प्रभावित हुने विभागको भनाइ छ ।

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने छ ।

‘उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ,’ विभागले भनेको छ ।

विभागले नयाँ प्रणाली सुरू हुने मिति र उक्त अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत् जानकारी गराइने बताएको छ ।

अनलाइन खबर मा प्रकाशित सामाग्री 

साइप्रस रेडियो टेलिभिजन अथोरिटी (CRTA) ले स्थानीय मिडिया संस्थाहरूलाई वर्तमान संवेदनशील अवस्थासम्बन्धी समाचार प्रसारण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अथोरिटीले बुधबार सार्वजनिक अपिल जारी गर्दै अप्रमाणित जानकारी, हल्ला वा जनतामा डर र आतंक फैलाउन सक्ने सामग्री प्रसारण नगर्न मिडियालाई सचेत गराएको हो।

CRTA ले समाचार तयार गर्दा र प्रसारण गर्दा प्रयोग गरिने जानकारीको वैधता, सत्यता र प्रमाणीकरणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ। साइप्रस तथा क्षेत्रीय अवस्थाबारे आउने सबै समाचारहरू सही, निष्पक्ष र अतिरञ्जनाविहीन हुनुपर्ने अथोरिटीको जोड छ।

गलत अनुमान वा अपुष्ट दाबीले जनतामा भ्रम, डर वा असुरक्षा पैदा गर्न सक्ने भएकाले त्यस्ता सामग्रीबाट टाढा रहन मिडियालाई आग्रह गरिएको छ।

अथोरिटीका अनुसार समाचारका स्रोतहरू विश्वसनीय र आधिकारिक निकायहरूबाट प्राप्त हुनुपर्ने छ।

साथै पत्रकारिताको नैतिकता पालन गर्दै नाटकीय प्रभाव सिर्जना गर्ने संगीत, सनसनीपूर्ण शीर्षक वा अतिरञ्जित प्रस्तुति प्रयोग नगर्न पनि सुझाव दिइएको छ।

CRTA ले विशेषगरी सामाजिक सञ्जाल वा अविश्वसनीय अनलाइन स्रोतबाट आएको अपुष्ट सामग्री पुनःप्रसारण नगर्न मिडियालाई चेतावनी दिएको छ।

यसले प्रसारण संस्थाहरूलाई विश्वसनीयता र निष्पक्षता कायम राख्ने स्पष्ट जिम्मेवारी पनि सम्झाएको छ।

अथोरिटीका अनुसार सबै प्रसारण संस्था तथा CyBC (Cyprus Broadcasting Corporation) को प्रमुख दायित्व भनेको संकट वा संवेदनशील परिस्थितिमा समेत जनतालाई सही, जिम्मेवार र प्रमाणित जानकारी उपलब्ध गराउनु हो, जसले नागरिकहरूको सुरक्षाबोध कायम राख्न सहयोग पुर्‍याउँछ।

श्रोत :Cyprusmail मा प्रकाषित सामाग्री को अनुवाद 

साइप्रस सरकारले सम्भावित आपतकालीन अवस्था बेला नागरिकलाई छिटो सूचना दिनका लागि राष्ट्रव्यापी एसएमएस अलर्ट प्रणाली सुरु गरेको छ।

यस प्रणालीमार्फत देशभरका सबै मोबाइल प्रयोगकर्तालाई आवश्यक परेमा तुरुन्तै एसएमएस मार्फत  चेतावनी पठाइनेछ।

यसको परीक्षण आज बुधबार साँझ करिब ७ बजे गरिनेछ। त्यस समयमा साइप्रसका सबै मोबाइल फोनमा परीक्षण सन्देश आउनेछ।

आन्तरिक मन्त्री Konstantinos Ioannou ले यो प्रणाली नागरिकको सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताएका छन्। उनका अनुसार कुनै आपतकालीन अवस्था आएमा यसले मानिसहरूलाई छिटो र विश्वसनीय जानकारी दिन मद्दत गर्नेछ।

यो प्रणाली देशका सबै दूरसञ्चार कम्पनीहरूसँगको सहकार्यमा तयार गरिएको हो र आवश्यक परेमा मात्रै सक्रिय गरिने बताइएको छ। 

emergency  अवस्था आएमा के गर्ने?

सिभिल डिफेन्सका अनुसार यदि वास्तविक चेतावनी आयो भने शान्त रूपमा नजिकैको बेसमेन्टमा जानुहोस्। आफ्नो घर, छिमेकीको घर वा नजिकैको भवनको बेसमेन्ट प्रयोग गर्न सकिन्छ।

यदि घरमा बेसमेन्ट छैन भने घरभित्रै बस्नुहोस् र ढोका, झ्याल र सिसाबाट टाढा रहनुहोस्। बाहिर हुनुहुन्छ भने तुरुन्तै नजिकको भवनभित्र पस्नुहोस्।

स्कूल, अस्पताल र स्टेडियममा भने त्यहाँका कर्मचारीले पहिलेबाट बनाइएका आपतकालीन प्रोटोकल अनुसार काम गर्नेछन्। अधिकारीहरूले यस्तो अवस्थामा अनावश्यक रूपमा गाडी चलाएर यात्रा नगर्न र अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।

साइप्रसमा शेल्टरको अवस्था

मन्त्री Ioannou का अनुसार साइप्रसमा करिब २,५०० शेल्टर मात्र  छन्। तर ती सबैले देशको आधाभन्दा कम जनसंख्या मात्र समेट्न सक्छन्।

उनका अनुसार विश्वमा केवल दुई देश इजरायल र स्विट्जरल्यान्ड मात्र यस्ता छन् जहाँ सम्पूर्ण जनसंख्यालाई शेल्टरमा राख्ने क्षमता छ।

सेल्टर कहाँ छ भनेर थाहा पाउन Playstore/Appstore बाट SAFECY एप डाउनलोड गरि लोकेसन अन गरि हेर्नुहोस्। 

ध्यान दिनुहोस् 

आज साँझ आउने एसएमएस परीक्षण मात्र हो। यसले कुनै वास्तविक खतरा जनाउँदैन। यदि तपाईंको मोबाइलमा सन्देश आयो भने चिन्ता लिनु पर्दैन। यो प्रणाली ठीकसँग काम गर्छ कि गर्दैन भनेर जाँच गर्ने उद्देश्यले पठाइने हो।

स्रोत: Cyprus Mail (४ मार्च २०२६)

इरानले साइप्रसतर्फ दुईवटा मिसाइल प्रहार गरेको बेलायतका रक्षा सचिव John Healey ले दाबी गरेका छन्। उनका अनुसार ती मिसाइलहरू लक्ष्यमा पुग्नुअघि नै नस्ट गरिएको थियो।

साइप्रसमा बेलायतका दुई सैन्य अड्डा छन्। ती मध्ये एक RAF Akrotiri हवाई अड्डा लिमासोल नजिक अवस्थित छ। प्रारम्भिक विवरणमा उक्त अड्डालाई लक्षित गरिएको उल्लेख भए पनि, मिसाइल प्रत्यक्ष रूपमा बेलायती अड्डातर्फ नै प्रहार गरिएको थियो भन्ने विषयमा स्पष्टता नरहेको बताइएको छ।

“ती हाम्रो अड्डालाई नै लक्षित गरेर प्रहार गरिएका हुन् भन्ने यकिन भइसकेको छैन,” रक्षा सचिव Healey ले भने।

यता साइप्रस सरकारले भने आफ्नो देश कुनै पनि प्रकारको निशानामा नरहेको जनाएको छ। राष्ट्रपति निकोस क्रिस्टोधुलिदेशले बेलायती प्रधानमन्त्री कीर स्टार्मर सँग कुराकानी भएको जनाउँदै इरानको लक्ष्य साइप्रस नभएको स्पष्ट पारेका छन्।

साइप्रसका रक्षा मन्त्री Vasilis Palmas ले पनि साइप्रसतर्फ मिसाइल प्रहार भएको दाबी अस्वीकार गरेका छन्। सरकारी प्रवक्ताले पनि  साइप्रस तर्फ कुनै प्रत्यक्ष खतरा नरहेको जनाएका छन्।

क्षेत्रीय तनाव बढ्दै

अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको सैन्य कारबाहीपछि मध्यपूर्व तथा पूर्वी भूमध्यसागरीय क्षेत्रमा तनाव चर्किएको छ। बेलायतले भने उक्त कारबाहीमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएको छ।

साइप्रसस्थित बेलायती सैन्य अड्डामा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

समाचार श्रोत : साइप्रस मेल 

साइप्रसमा रहेका नेवारी समुदायको पहलमा “झिगु नेवा समाज, साइप्रस” (Jhigu Newa Samaj Cyprus) औपचारिक रूपमा गठन गरिएको छ। निकोसियामा फेब्रुअरी ८  तारिख आइतबार आयोजित एक कार्यक्रममा रोजगारी तथा उच्च शिक्षाका लागि साइप्रसमा बसोबास गर्दै आएका नेवारी समुदाय तथा नेवारी संस्कृतिप्रति आस्था राख्ने व्यक्तिहरूको उपस्थितिमा संस्था गठन गरिएको हो।

साइप्रसमा रहेका नेवा (नेवार) समुदायलाई एकताबद्ध गर्ने, नेवारी भाषा, संस्कृति, कला तथा परम्परागत चाडपर्व (इन्द्रजात्रा, म्हः पूजा, यःमरी पुन्हि आदि) को संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्था गठन गरिएको हो।  साथै साइप्रस  सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, आपतकालीन अवस्थामा सदस्यहरूलाई सहयोग गर्ने तथा स्थानीय निकाय, नेपाली नियोग र  नेपाली संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उद्देश्य लिएको जनाएको छ।

संस्थाको प्रमुखमा लक्ष्मी श्रेष्ठ र उपप्रमुखमा मित्रलाल श्रेष्ठ  चयन भएका छन् । नवगठित संस्थाले आफूलाई गैर–राजनीतिक तथा गैर–नाफामूलक सामाजिक संगठनको रूपमा अघि बढाउने जनाएको छ। 

संस्थालाई व्यवस्थित, प्रतिनिधिमूलक र दिगो रूपमा अगाडि बढाउने उद्देश्यले समुदायलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ। लिमासोल, निकोसिया, पापोस, पारालिम्नी–आयिया नापा र लार्नाका गरी पाँच क्षेत्र निर्धारण गर्दै प्रत्येक क्षेत्रबाट समिति, सहसमिति र कार्यसमिति सदस्य चयन गरिएको जनाइएको छ।

झिगु नेवा समाज, साइप्रसको पाँच क्षेत्रगत संरचना

क्षेत्र नं. १ – लिमासोल

समिति: प्रमिला श्रेष्ठ

सहसमिति: शेखर श्रेष्ठ

कार्यसमिति: समीक्षा श्रेष्ठ

क्षेत्र नं. २ – निकोसिया

समिति: राधा बज्राचार्य

सहसमिति: खेमराज श्रेष्ठ

कार्यसमिति: अम्बिका श्रेष्ठ

क्षेत्र नं. ३ – पापोस

समिति: विजय श्रेष्ठ

सहसमिति: रोजिना श्रेष्ठ

कार्यसमिति: उमेश श्रेष्ठ

क्षेत्र नं. ४ – पारालिम्नी–आयिया नापा

समिति: अप्सरा श्रेष्ठ

सहसमिति: मनिष राज श्रेष्ठ

कार्यसमिति: राम श्रेष्ठ

क्षेत्र नं. ५ – लार्नाका

समिति: संगिता श्रेष्ठ

सहसमिति: सुदिक्ष्या श्रेष्ठ

कार्यसमिति: अमर श्रेष्ठ

साथै, संस्थाले साइप्रसभरि रहेका नेवारी समुदायलाई “झिगु नेवा समाज, साइप्रस”सँग आबद्ध भई सदस्यता ग्रहण गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ।

सदस्यताका लागि सम्पर्क  केन्द्रीय नेतृत्व  प्रमुख: लक्ष्मी श्रेष्ठ – 94062581  र 

क्षेत्रीय सम्पर्क व्यक्ति

नेपाल राष्ट्रिय तामाङ घेदुङ ले सामाजिक सञ्जालमार्फत आफ्नो संस्थाको नाम जोडेर लगाइएका आरोपहरूलाई अस्वीकार गरेको छ। संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै आफूले कुनै पनि सदस्य वा व्यक्तिलाई कल तथा सन्देशमार्फत धम्की नदिएको स्पष्ट पारेको हो।

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत असंवैधानिक, अव्यावहारिक तथा अनैतिक अभिव्यक्ति दिँदै समुदायभित्र भ्रम र विभाजन सिर्जना गर्ने प्रयास भइरहेको’ उल्लेख गरेको छ। यसले साइप्रसमा बसोबास गर्दै आएका तामाङहरूबीच अनावश्यक तनाव बढाएको संस्थाको ठहर छ।

घेदुङका अनुसार संस्था मुनाफारहित सामाजिक संगठनका रूपमा सन् २०२५ मा स्थापना गरिएको हो। तामाङ भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षणका साथै समुदायको अधिकार र सामूहिक सशक्तिकरणका मुद्दालाई संगठित रूपमा अघि बढाउने उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ। संस्थाले आफूहरू नेपालको संविधान २०७२ को धारा १७ (२) (घ) अनुसार संघ–संस्था खोल्न पाउने मौलिक हकअन्तर्गत वैधानिक रूपमा गठन भएको स्पष्ट पारेको छ। 

“कल र म्यासेजमार्फत सदस्यहरूलाई ध्यान दिन धम्की दिएको” भन्ने आरोपप्रति विज्ञप्तिमा कडा आपत्ति जनाइएको छ। निराधार, मनगढन्ते र संस्थाको छवि धूमिल पार्ने उद्देश्यले गरिएको सबै आरोपलाई “सरासर झुटो” भन्दै खण्डन गर्दै  कसैलाई पनि  दबाब दिने, डर देखाउने वा फोन–म्यासेजमार्फत धम्की दिने कार्य आफ्नो नीति विपरीत रहेको स्पष्ट पारेको छ। 

संस्थाका अध्यक्ष सुदर्शन  लामा नेगी र  महासचिव राजमान घलानले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा कुनै विषयमा असहमति वा जिज्ञासा भए सामाजिक सञ्जालमार्फत आरोप लगाउनुको साटो आधिकारिक माध्यमबाट सम्पर्क गर्न, प्रत्यक्ष भेटघाट वा बैठकमार्फत छलफल गर्न आफूहरू तयार रहेको जनाएको छ।

साथै, व्यक्तिगत रिस, कुण्ठा वा आवेगका कारण गरिने सार्वजनिक अभिव्यक्तिले समुदायमा दीर्घकालीन असर पार्न सक्ने भन्दै संयमता अपनाउन अपिल गरिएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ साइप्रस शान्ति, सहकार्य र मेलमिलापको पक्षमा दृढ रहेको जनाएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ, साइप्रस

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट