२०८२ पुष २३ बुधबार
२०८२ पुष २३ बुधबार

न्याय खोज्दै जलिरहेका मैनबत्तीहरू: आज शोएब खान, भोलि को?

✍️ लेखक: मधुकर गुरुङ्ग,निकोसिया

हिजो ६ जनवरी २०२६, मंगलबार, निकोसियाको एलेफ्थेरिया स्क्वायरमा बेलुका पाँच बज्दा चिसो हावाबीच मानिसहरू शान्त रूपमा उभिएका थिए। सबैका आँखामा गहिरो पीडा स्पष्ट देखिन्थ्यो। मनमा अनेक प्रश्नहरू उब्जिए। म भीड चिर्दै बीचमा पुगेँ। त्यहाँ बलिरहेका प्रशस्त मैनबत्तीहरूको बीचमा २४ वर्षीय पाकिस्तानी युवक शोएब खानको तस्बिर राखिएको थियो।

ठीक एक वर्षअघि यही मितिमा, साइप्रसको बफर जोन नजिक शोएब खान मृत फेला परेका थिए। सार्वजनिक रूपमा उपलब्ध साइप्रस मिडियाका रिपोर्टहरू अनुसार, सुरुमा उनको मृत्यु प्राकृतिक कारणले भएको भनिएको थियो। तर पछि गरिएको पोस्ट-मोर्टेम परीक्षणमा उनको शरीरभित्र गोली भेटिएको तथ्य सार्वजनिक भयो।

उक्त घटना नर्थ साइप्रस र रिपब्लिक अफ साइप्रस बीचको  बफर जोन नजिकको Potamia क्षेत्रमा भएको जनाइएको छ, जहाँ त्यस समयमा प्रहरीको उपस्थिति रहेको रिपोर्ट गरिएको थियो। घटनासँग सम्बन्धित विवरणहरूलाई लिएर मानव अधिकारकर्मी तथा विभिन्न नागरिक समूहहरूले प्रश्न उठाउँदै स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन्। यस घटनासम्बन्धी कानुनी अनुसन्धान अझै पूर्ण रूपमा टुंगोमा नपुगेको जनाइएको छ, र त्यसैले यो विषय हाल पनि न्यायिक परीक्षणकै प्रक्रियामा रहेको छ।

हिजो साँझको कार्यक्रम केवल श्रद्धाञ्जली मात्र थिएन। त्यो एउटा गहिरो प्रश्न थियो, पीडा थियो, आक्रोश थियो, र न्यायको मागमा ऐक्यबद्धताको अभिव्यक्ति थियो। सबैका आँखामा एउटै प्रश्न थियो—आज शोएब खान, भोलि को?

कार्यक्रम सम्पन्न भएपछि यस स्तम्भकारले ऐक्यबद्धता समूहका आयोजक तथा मानव अधिकारकर्मी Frixos Petrou लाई भेटेँ। आफूलाई साइप्रसमा बसोबास गर्ने एक नेपाली नागरिकका रूपमा परिचय दिँदै शोएब खानको घटनाप्रति आफ्नो व्यक्तिगत चासो र संवेदना व्यक्त गर्दा उनले भने—न्याय स्थापित नहुञ्जेल एकताको आवाज निरन्तर उठिरहनुपर्छ।

त्यसपछि मन्तव्य दिने क्रममा उनले माइक समातेर भीडलाई अर्को एउटा साक्ष्य सुनाए—एक अफगान शरणार्थी युवकको कथा। उनका अनुसार, यो कथा शोएब खानको मृत्यु कुनै अपवाद नभई कठोर र अमानवीय प्रणालीसँग जोडिएको विषय भएको देखाउँछ।

सन् २०२३ मा साइप्रस पुगेका २३ वर्षीय अफगान युवक पहिलो रात नै चिसो सडकमा एक्लै छाडिएका थिए। पोर्नारा शरणार्थी केन्द्र पुगेपछि पनि प्रहरीको कठोर व्यवहारका कारण उनी र अन्य शरणार्थीहरू रातभर बाहिरै बस्न बाध्य भएको उनीहरूको अनुभव थियो। चिसो, भोक र अपमानको त्यो रात उनले कहिल्यै बिर्सन सकेनन्।

क्याम्पभित्र प्रवेश गरेपछि पनि जीवन सहज भएन—पिउने पानीको अभाव, बिजुलीबिहीन टेन्ट, आधारभूत आवश्यकताहरूको कमी। क्याम्पबाहिर निस्किएपछि कामको खोजीमा उनले एकपछि अर्को ढोका ढकढक्याए, तर “अफगानिस्तान” भन्नेबित्तिकै अवसर बन्द हुने गरेको अनुभव सुनाइयो। अन्ततः पाएको काममा पनि श्रम शोषण, महिनौँसम्म बिदाविहीन श्रम र अनिश्चित भविष्यले उनलाई मानसिक रूपमा थकित बनाएको बताइयो। वर्षौँसम्म शरणसम्बन्धी निर्णय नआउँदा उनको जीवन मानौँ रोकिएको घडीझैँ भएको थियो।

यही किसिमको असुरक्षित र अनिश्चित संरचनाभित्र शोएब खान पनि बाँचिरहेका थिए। रोजगारी र सुरक्षित जीवनको खोजीमा साइप्रस आएका उनी कागजविहीनताको डर, गिरफ्तारीको त्रास र सीमापार गर्नुपर्ने बाध्यताबीच जीवन बिताइरहेका थिए।

एक नेपाली नागरिकका रूपमा, यो कथा मलाई झनै चिरपरिचित लाग्छ। रोजगारी र भविष्यको खोजीमा लाखौँ नेपाली विश्वका विभिन्न मुलुकमा पुगेका छन्—कहिले खाडी, कहिले मलेसिया, कहिले युरोप। समय–समयमा विदेशमा ज्यान गुमाएका नेपालीका दुःखद समाचारहरूले हामीलाई स्तब्ध बनाउँछन्। इराकमा १२ जना नेपालीलाई क्रूर रूपमा हत्या गरिएको घटना आज पनि मेरो स्मृतिमा ताजै छ।

शोएब खान आज हामीबीच छैनन्, तर भोलि अर्को शोएब, अर्को नेपाली, अर्को अफगान यही चक्रको शिकार नहोला भन्न सकिँदैन।

एलेफ्थेरिया स्क्वायरमा बालिएका ती मैनबत्तीहरूले मलाई एउटा कुरा स्पष्ट रूपमा सम्झाइरहेका थिए—अन्यायका विरुद्ध मौन बस्नु पनि अपराधसरह हो। शोएब खानका लागि न्याय माग्नु भनेको भोलिका सम्भावित पीडितहरूलाई जोगाउने प्रयास हो। यदि हामी आज चुप लाग्यौँ भने, इतिहासले फेरि उही पीडा दोहोर्‍याउनेछ।

शोएब खानप्रति गहिरो समवेदना तथा हार्दिक श्रद्धाञ्जली ।

नोट: यो लेख , लेखकको व्यक्तिगत अनुभूति, सार्वजनिक कार्यक्रममा प्रस्तुत विवरण तथा मानव अधिकारकर्मीहरूको भनाइमा आधारित छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट