काठमाडौँ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको हो ।

आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाइ छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवालासँगको अन्तरक्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।
लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको बताइएको छ यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहितको टोली प्रत्येक वडामा सात दिन बस्ने र आवश्यकता अनुसार १५ दिनसम्म बस्न सक्ने सुविधा मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १०:५५
सामाग्री श्रोत :
टेक पाना