२०८२ श्रावण १४ मंगलवार
LATEST NEWS
२०८२ श्रावण १४ मंगलवार

नसर्ने रोगको रोकथाम एवं उपचारमा आहारको भूमिका

चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दिमा करिव दोब्बर भएको छ । तर रोग एवं औषधीरहित उत्पादनशिल आयु (हेल्थस्पान) भने सो अनुसार बढेको छैन। केही दशक अघीसम्म बुढ्यौलीका रोगका रुपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरु हिजोआज युवावस्थामै सामान्य भैसकेको छ । जस्ले व्यक्तिको जीवनको गुणस्तर, उत्पादन र उत्पादकत्वमा ह्रास ल्याएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका करिव तीन चौथाई मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ । जसको करिव आधा मृत्यु अल्पायुमा हुन्छ । सन २०१९ को तथ्यांक अनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो , जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट , ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ । यी नसर्ने रोगहरु जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन, जुन स्वास्थ्य प्रतिकुल आहार, विहार, विचार, व्यवहार र वातावरणको कारणले लाग्दछ । 

       पोषण विज्ञानमा ‘वि आर ह्वाट वि इट’ भनिन्छ । आयुर्वेद विज्ञान (चरक संहिता) मा ‘आहारसम्भव वस्तु रोगाश्च आहारसम्भवाः’ अर्थात आहारले नै स्वस्थ जीवन र रोग दुवैको निर्धारण गर्दछ भनिएको छ  । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्सले ‘लेट फुड वि द मेडिसिन’ अर्थात आहार नै औषधी हो भनेका छन् । खाद्य पदार्थको औद्योगिकीरण र व्यापारिकरणसंगै बढ्दो प्रशोधित आहारको उपलब्धता र उपयोगले विश्वभरी नै नसर्ने रोग महामारीको रुपमा फैलिएको छ । विशेषगरी प्रशोधित अन्न, प्रशोधित  वनस्पतीजन्य तेल, चिनी, मैदा, ट्रान्स फ्याट र नुन एवं यिनीहरुबाट निर्मित तयारी ठोस एवं पेय आहार सेवन नसर्ने रोगको मुख्य कारण हो भनी वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । यस आलेखमा नसर्ने रोगको आहारजन्य कारण, रोगको प्याथोफिजियोलोजी र आहारले उक्त रोग गराउन खेल्ने भूमिकाका साथै आहारको सहि छनौट र उपयोगबाट नसर्ने रोगबाट बँच्न र रोगको प्रारम्भिक उपचार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरिएको छ ।

नसर्ने रोगको सामान्य कारणलाई व्याख्या गर्न जनस्वास्थ्यको दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनको नसर्ने रोगको (४*४ अथवा ५*५) मोडेल, म्याकमोहन एण्ड पगको वेभ थ्योरी अफ कजेसन वा मल्टिफ्याक्टोरियल थ्योरीलाई अघी सारिन्छ । जस्ले नसर्ने रोगको कारण कुनै एक  नभएर धेरै पक्षहरु जिम्मेवार छन् भन्दछ । समग्रमा सुर्तिजन्य पदार्थ र मद्यपान सेवन,शारीरिक निश्क्रियता, अस्वस्थकर खानपान, तनावपूर्ण जीवनशैली, प्रदुषण आदिलाई नसर्ने रोगको जोखिम तत्वको रुपमा लिइन्छ । प्थाथोफिजियोलोजीकल दृष्टिकोणबाट उल्लिखित कारणहरुले शरीरको कोषीय एवं मोलिकुलर लेभलमा अक्सिडेटिभ स्ट्रेस एवं दीर्घ सुजन र इन्सुलिन रेसिस्टान्स बढाउने, गट माइक्रोबायोटाहरुको असन्तुलित  पार्ने,माइटोकोन्ड्रियल डिस्फङसन गराउने आदि गर्दछन । नसर्ने रोगको लागि जिम्मेवार यी प्याथोलोजिकल परिवर्तन गराउनमा आहारको प्रमुख भूमिका हुन्छ । यसर्थ आहारको सहि छनौट र  प्रयोगबाट नसर्ने रोगको रोकथाम र उपचार सम्भव छ । 

 
सामान्यतया शरीरमा अक्सिडेन्ट र एन्टि–अक्सिडेन्ट सन्तुलित अवस्थामा रहन्छन् । तर जव अक्सिडेन्डहरुको मात्रा बढ्छ वा एन्टिअक्सिडेन्ट डिफेन्स सिस्टम कमजोर हुन्छ , रोग लाग्ने प्रक्रिया शुरु हुन्छ । बाह्य श्रोत ( न्यून ओर्याक भ्यालुयुक्त आहार, रेडियसन, रसायन,औषधी ,विषादि, सुर्तिजन्य पदार्थ आदिको प्रयोग) र आन्तरिक श्रोत ( शरीरमा मेटाबोलिज्म हुने क्रममा उत्पन्न हुने सुपरअक्साइड, हाइड्रोजन पेरोअक्साइड, हाइड्रोक्सिल रेडिकल, पेरोक्सिनाइट्राइट आदि) बाट शरीरमा फ्रि रेडिकल्सहरु (अक्सिडेन्ट) निस्कन्छन । जसलाई एन्टिअक्स्डिेन्ट डिफेन्स सिस्टम ( सुपरअक्साइड  डिस्म्युटेज, काटालेज, ग्लुटाथियोन पेरोअक्सिडेज, भिटामिन सि,ई) ले निश्क्रिय पार्दछ । यो सन्तुलन कायम रहदा शरीर स्वस्थ रहन्छ भने विग्रदा रोग लाग्दछ । अक्सिडेटिभ स्ट्रेसले शरीरमा क्रोनिक सिस्टेमिक इन्फ्लामेसन, माइटोकोन्ड्रियल डिस्फङसन, इन्सुलिन रेसिस्टान्स् ,लिपिड पेरोक्सिडेसन, प्रोटिन र डिएनए ड्रयामेज आदि गर्दछ जुन कोरोनरी हार्ट डिजिज, मधुमेह, मोटोपना ,क्यान्सर लगायतका सवै दीर्घ एवं नसर्ने रोगहरुको कारण हो । आयुर्वेदमा सबै रोगको कारणको रुपमा उल्लेखित आम र प्राकृतिक चिकित्सामा उल्लेखित विजातिय पदार्थको अवधारणा आधुनिक चिकित्साको अक्सिडेटिभ स्ट्रेसंग मेल खान्छ । आहारले शरीरमा अक्सिडेटिभ स्ट्रेसको तहलाई कस्तो असर गर्छ भनि उक्त आहारको अक्सिजन रेडिकल अप्जर्सन क्यापासिटी (ORAC value) बाट थाहा पाउन सकिन्छ ।ओर्याक भ्यालुले कुनै पनि आहारको एन्टि अस्क्सिडेन्ट ( शरीरमा रहेका फ्रि रेडिकलको असरलाई न्यून गर्न सक्ने) क्षमता लाई जनाउछ । फापर, कोदो, जौ,कागुनो, मकै जस्ता परम्परागत अन्नको ओर्याक भ्यालु बढी छ भने आधुनिक आहारको मुख्य हिस्साको रुपमा रहेको प्रशोधित सेतो चामल र गहुँको ओर्याक भ्यालु निकै न्यून छ  । यसैगरी बेसार, ल्वाङ, दालचिनी, जिरा, मरिच आदि जस्ता मसलाहरु, कागती, अंगुर, स्याउ, जामुन, चुकन्दर, गाजर, अमलाजस्ता फलफूलहरुको ओर्याक भ्यालु बढी छ ।  यस्ता  उच्च ओर्याक भ्यालुयुक्त अन्न, फलफूल, मसलालगायतका खाद्य परिकारहरु नसर्ने रोगको रोकथाम र प्रारम्भिक उपचारमा उपयोगी हुन्छन भने न्यून ‌ओर्याक भ्यालुयुक्त आहारहरु नसर्ने रोगको कारण बन्दछन्।

दीर्घ सुजन सम्पूर्ण नसर्ने रोगको मुख्य प्याथोलोजी हो । अस्वस्थकर खानपिन, धुम्रपान एवं मद्यपान, दीर्घ तनाव, अनिन्द्रा,शारीरिक निष्क्रियता, प्रदुषण आदिले कोषीय तहमा सुजनकारक रसायन, साइटोकाइन्स (ट्युमर निक्रोसिस फ्याक्टर अल्फा, इन्टरल्युकिन्स सिक्स, सि रियक्टिभ प्रोटिन, अक्सिजन फ्रि रेडिकल्स आदि) बढाउदछन । जस्ले अक्सिडेटिभ स्ट्रेस बढाउने, डिएनए, प्रोटिन र लिपिडको संरचनात्मक परिवर्तन ल्याउने, कोषहरुको इन्सुलिनप्रतिको संवेदनशिलता घटाउने, रक्तनलिको भित्री तह इन्डोथेलियममा असर गरी एथेरोसिस गराउने, कोषको फाइब्रोसिक गराउने, शरीरको हर्मोनल र इम्युन प्रणालीको कार्यमा प्रतिकुलता ल्याउने आदि गर्दछ । आहारको डाइटरी इन्फ्लामेटरी इन्डेक्सबाट उक्त आहारले शरीरमा दीर्घ सुजन गराउदछ वा दीर्घ सुजन हुन बाट रोक्दछ भन्ने थाहा पाउन सकिन्छ । डाइटरी इन्फ्लामेटरी इन्डेक्स धनात्मक भएका आहारहरु (प्रोइन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन गराउछन् भने ऋणात्मक भएका आहार(एन्टि इन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन हुन दिदैदन वा दीर्घ सुजन घटाउछन भन्ने बुझिन्छ । जौ, फापर, कोदो, खैरो, खैरो चामल, गहुँ जस्ता अन्नको साथै भान्छामा प्रयोग हुने मसलाहरु, हरिया सागपात र फलफूलहरुको डाइटरी इन्फ्लामेटरी इन्डेक्स ऋणात्मक छ भने सेतो चामल, प्रशोधित गहुँ,  मकैको साथै चिनी, रातो मासु, तयारी खाद्य परिकारहरुको धनात्मक छ । यसर्थ नसर्ने रोगको कारकको रुपमा रहेको प्रोइन्फ्लामेटरी डाइटको सट्टा एन्टि इन्फ्लामेटरी डाइटलाई नियमित आहार बनाई नसर्ने रोगको रोकथाम र उपचार गर्न सकिन्छ।

यसैगरी उमेगा थ्रीयुक्त चिल्लाले एन्टिइन्फ्मेटरी हुन्छ भने उमेगा सिक्सयुक्त चिल्लो प्रोइन्फ्लामेटरी हुन्छ ।  नसर्ने रोगबाट बँच्न उमेगा थ्रि र सिक्सयुक्त चिल्लो सन्तुलनमा सेवन गर्नु पर्दछ । चिल्लोहरुमा ट्रान्स फ्याट सवैभन्दा नराम्रो मानिन्छ, जस्ले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल) घटाउछ । पुनः तताइएको तेल र बनस्पती घ्यु ट्रान्स फ्याटको प्रमुख स्रोत हो , जुन खाद्य उद्योग र (अधिकांश) होटेलहरुले प्रयोग गर्दछन् ।  उमेगा ६ बाट शरीरमा प्रोस्टाग्लान्डिन २, प्रोस्टाग्लान्डिन इ २, प्रोस्टाग्लान्डिन १२, थ्रोम्बोक्सेन ए २ , ल्युकोट्राइन बि ४ , ल्युकोट्राइन सि ४ ल्युकोट्राइन इ ४ आदि जस्ता इन्फ्लामेटरी केमिकल्सहरु बन्दछ, जस्ले रक्तनली एवं शरीरमा सुजन, रक्तनली साँघुरो बनाउने, प्लेटलेट एकीकृत गर्नेजस्ता कार्यहरु गर्दछ , जसले मुटुरोग  लगायत अन्य नसर्ने रोग गराउन भूमिका खेल्दछ । यसैगरी उमेगा ३ बाट रिजोल्भिन , प्रोक्टेटिन, प्रोस्टाग्लान्डिन वि ३ , प्रोस्टाग्लान्डिन डि ३ , प्रोस्टाग्लान्डिन इ ३,  थ्रोम्बोक्सेन ए ३ जस्ता केमिकल्सहरु बन्दछ , जस्ले उमेगा ६ को विपरित कार्य गरी मुटु, स्नायु र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्दछ  र नसर्ने रोगबाट बचाउछ ।  आहारमा उमेगा ३ र ६ अनुपात १:१ देखी १:४ सम्म स्वस्थकर मानिन्छ । यो अनुपात परम्परागत रुपमा तयार गरिएको घ्युमा १:१.५, तोरीको तेलमा १:२, सूर्यमुखी तेलमा १:१०, ओलिभ तेलमा १:१२, मकैको तेलमा १:४६, भटमासको तेलमा १:१६,घास खाएको (चरेको)जनावरको मासुमा १:७ र अन्न (दाना)खाएको जनावरको मासुमा १: १५ हुन्छ । नरिवल तेलमा भने मिडियम चेन फ्याटी एसिड बढी हुन्छ, जुन स्वस्थकर हुन्छ । यसैगरी आलसमा उमेगा ३ र ६ को मात्रा करिव  ४:१ र चिया सिडमा ३:१ हुन्छ ।  पछिल्लो समय बढ्दो प्रशोधित उच्च उमेगा सिक्सयुक्त तेलको प्रयोगले नसर्ने रोगलाई बढोत्तरी दिइरहेको छ । यसरी हेर्दा नेपाली परिवेशमा चिल्लोको रुपमा घ्यु र तोरीको तेल (कोलमा परम्परागत तरिकाले पेली निकालिएको) सवैभन्दा उपयुक्त र स्वस्थकर देखिन्छ । 

इन्सुलिन एनाबोलिक हर्मोन हो । यस्ले कार्बोहाइड्रेट प्रोटिन र फ्याटको मेटाबोलिजमका साथै शरीरमा प्रणालिगत असर देखाउदछ । सामान्यतया कार्बोहाइड्रेटयुक्त आहार सेवनबाट शरीरमा ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ। उक्त ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन्छ। इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउंनुको साथै बढी (खर्च नभएको) भएको ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा भन्डारण गर्छ। आधुनिक प्रशोधित आहार एवं अन्नहरु हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्स (उच्च मात्रामा सुगर भएको र सेवन लगत्तै रगतमा उच्च मात्रामा ग्लुकोज बढाउने) युक्त  छन्। यसका साथै विभिन्न बहानामा आहार धेरै पटक सेवन गर्ने प्रचलन छ । अर्कोतर्फ मानिसको शारीरिक श्रम कम भएको छ। यसले गर्दा सबै सेवन गरिएको ग्लुकोज खर्च हुँदैन । त्यो फ्याटी लिभर एवं बेल्ली फ्याटको रुपमा बस्छ। अचेल भान्सामा खाना तयार गर्दा सेतो चामल, मैदा, फ्रिज गरिएका परिकार, ट्रान्स फ्याट, सिम्पल कार्ब आदि र खाजा एवं नास्ताको रुपमा जंक फुड, चिनीयुक्त चिया वा पेयको प्रयोग सर्वत्र देखिन्छ। यी परिकारहरुले सुगर छिटो र उच्च मात्रामा उपलब्ध गराउँछ र सोही अनुपातमा इन्सुलिनको मात्रा र अन्ततोगत्वा मोटोपना बढाउँछ।

हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तर ( वैज्ञानिक अध्ययन अनुसार ५ देखी २५ वर्ष ) मा इन्सुलिनप्रति शरीरका कोषहरुले प्रतिक्रिया देखाउँन छोड्छ वा इन्सुलिन रेसिस्टेन्ट हुन्छ। इन्सुलिनको उच्च मात्रा वा रेसिस्टेन्टले सम्पूर्ण शरीरमा असर गर्छ । हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टेन्टले मोटोपनाको अलवा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लेसेराइड, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, पिसिओडी, मुटुजन्य रोग, अल्जाइमर्स, थाइरोइड डिसअर्डर आदि गराउँछ । अतः मुख्य आहारको रुपमा नियमित सेतो चामल, प्रशोधित गहुँ, चिनी जस्ता ग्लाइसेमिक इन्डेक्सयुक्त उच्च आहार एवं अन्नको सेवनले नसर्ने रोग  गराउछ भने फापर, जौ, कोदो, जस्ता अन्न र लहरामा फल्ने तरकारी एवं गेडागुडी, सागपात आदिले नसर्ने रोगको रोकथाम एवं उपचारमा उपयोगी हुन्छ ।

मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । विशेषगरी प्रशोधित एवं न्यून फाइबरयुक्त आहार सेवन, दीर्घ तनाव, एण्टिवायोटिक्सको अविवेकशील प्रयोग, संक्रमण, शारीरिक निष्क्रियता,  बढ्दो उमेर, प्रदुषण, अनिन्द्रा आदिले गट माइक्रोवायोटाको संगठन र कार्यलाई असर गर्दछ जसबाट लिकी गट, कोषमा दीर्घ सुजन, कोषहरुको इन्सुलिनप्रती न्यून सेन्सेटिभ, मस्तिष्कमा शुक्ष्म दीर्घ सुजन , रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या गराई नसर्ने रोग गराउन भूमिका खेल्दछ । गट माइक्रोवायोटालाई सन्तुलनमा राख्न प्रिवायोटिक्स(उच्च फाइबर) प्रोवायोटिक्स(गुन्द्रुक, तामा, अंकुरित अनाज जस्ता फर्मेन्टेड फुडहरु) र उच्च फिनोलिक कम्पाउण्डयुक्त आहारको महत्वपूर्ण भूमिका हुन्छ । आहारमा कार्ब र फाइबरको अनुपात १०:१ र सामान्यता दैनिक २५ ग्राम फाइबर लिनको लागि सिफारिस गरिएको छ । तर उच्च मात्रामा आंशिक एवं पूर्ण रुपमा प्रशोधित गरिएको अन्न र आहार एवं न्यून मात्रामा फलफूल र सागपातको सेवनको कारण फाइबरको कमी भई गट माइक्रोवायोटा असन्तुलित बन्न पुगेको छ । यसर्थ स्वस्थकर र सन्तुलित गट माइक्रोवायोटाको लागि उच्च फाइबरयुक्त सम्पूर्ण अन्न (होल ग्रेन र मिलेट) र प्रशस्त फलफूल एवं सागपात सेवन गर्न जरुरी छ । यसैबाट नसर्ने रोगको रोकथाम हुन्छ । 
तालिका: १०० ग्राम पकाइएको विभिन्न अन्न एवं परिकारको विवरण

अक्सिडेटिभ स्ट्रेस, दीर्घ सुजन, भिटामिन एवं मिनरल्सको कमी, प्रदुषण, उच्च मात्रामा प्रशोधित कार्ब सेवन, बढ्दो उमेर, शारीरिक निष्क्रियता आदिको कारणबाट शरीरको उर्जाघरको रुपमा रहेको माइटोकोन्ड्रियाको कार्य क्षमतामा ह्रास आउछ र पुन: अक्सिडेटिभ स्ट्रेस बढ्ने दुष्चक्र चल्दछ । माइटोकोइन्ड्रियालाई स्वस्थ राखि नसर्ने रोगबाट बँच्न माइक्रोन्यूटियन्ट, एन्टि अक्सिडेन्ट, उच्च फिनोलिक कम्पाउण्ड, न्यून ग्लाइसेमिक्स इन्डेक्स र स्वस्थकर चिल्लोयुक्त  आहारको साथै आवधिक उपवासको जरुरी छ । 

निष्कर्षमा भन्नुपर्दा नसर्ने रोगहरु जीवनशैलीजन्य रोग हुन र तिनीहरुलाई जीवनशैली चिकित्सामार्फत मात्रै रोकथाम र व्यवस्थापन गर्न सकिन्छ । नसर्ने रोगको आहारजन्य कारण उच्च क्यालोरियक्त, अक्सिडेटिभ स्ट्रेस बढाउने, दीर्घ सुजन गराउने, उच्च ग्लाइसेमिक इन्डेक्स र न्यून फाइबर एवं माइक्रोन्युट्रियन्टयुक्त आहार सेवन भएकाले नसर्ने रोगको रोकथाम र उपचारको लागि उचित क्यालोरियुक्त, एन्टि अक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी, न्यून ग्लाइसेमिक इन्डेक्स र उच्च फाइबर एवं माइक्रोन्यूट्रियन्टयुक्त आहार सेवन गर्नुपर्दछ ।   जुन रिजनल, सिजनल र ओरिजिनल स्रोतको  आहारबाट सजिलै प्राप्त गर्न सकिन्छ । 

(डा केसी स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख हुन्।)
 

  

सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ