२०८२ श्रावण १५ बुधबार
LATEST NEWS
२०८२ श्रावण १५ बुधबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अघि सारेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठसंग संयुक्त रुपमा श्रम संसार र नागरिक एपबीचको साझेदारीलाई विधिवत उद्‍घाटन गर्दै मन्त्री भण्डारीले मन्त्रालयले उपलव्ध गराउने सबै सेवाहरुलाई नागरिक समक्ष पुग्ने गरी डिजिटल फ्रेमवर्कको विस्तार तथा नागरिक मैत्री सुशासन अभिवृद्धी गर्न लागिएको बताए।
आजै (सोमवार)बाट नागरिक एपसंग जोडिएकोले बेरोजगार व्यक्तिहरुले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेवसाइट चाहर्नु पर्ने तथा सेवा प्राप्तिको लागि भनसुन गर्नुपर्ने अवस्था नरहने मन्त्री भण्डारीको विश्वास छ। श्रम संसारमा कन्सुलर सेवा सहित विस्तार गरिएकोले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलव्ध भएको जानकारी समेत दिए। मन्त्रालयले आन्तरिक रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाहरुको साझा र एकीकृत सूचना प्रणालीको रुपमा रणनीतिक डिजिटल प्रणालीको विकास गरिरहेको सन्दर्भमा यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झण्झट, ढिलाइ र अस्पष्टता हट्ने मन्त्रालयको दावी छ। श्रमिकलाई केन्द्रमा राखेर सेवा तथा प्रविधिको विस्तार गर्न लागेको बताउदै मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रविधिको प्रयोग आवश्यक देखिएकोले मन्त्रालयले अगाडी सारेको सूचना प्रणालीमा आवश्यक सुधारका लागि सञ्चार माध्यम तथा पत्रकारलाई अनुरोध गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगको सदस्य डा. श्रेष्ठले डिजिटल पद्दतिको विकास गर्दै जाँदा नागरीकले सेवा प्राप्तिका गर्दा डिजिटल व्यारियर नबनोस भनेर मन्त्रालय सजग बन्नु पर्ने धारणा व्यक्त गरे । १६ औं योजनाको कार्यान्वयनका लागि सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेकोले मन्त्रालयले प्रविधिको विकास र विस्तारमा ध्यान दिएकोमा खुसी व्यक्त गरेका छन्। कार्यक्रममा मन्त्रालयको रणनीतिक डिजिटल रोडम्याप र कार्ययोजनाको प्रस्तुत गर्दै श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले सन् २०३० भित्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी सूचनाहरुलाई एकीकरण गर्दै नागरीकलाई सेवा प्रवाह गर्दा कृत्रिम बौद्धिकता र मेसिन लर्निङ्ग जस्ता उच्च प्रविधिको प्रयोगलाई जोड दिइएको बताए।
कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले अवको श्रम तथा रोजगार सेवा प्रविधिमा आधारित हुने र यसको लागि नीतिगत र कानुनी सुधारको बाटो अगाड बढाइ सकिएको बताए ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं- सरकारले यस वर्ष थप चार वटा अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्र संचालन मागर्दशन परिमार्जन गर्दै थप चार वटा अस्पतालहरुमा उक्त केन्द्र सञ्चालन गर्न लागेको हो।

लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ९३ वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। चार वटा केन्द्र विस्तार भएसँगै यसको संख्या ९७ वटा पुगेको छ। 

सरकारले कोशी प्रदेशमा दुई, मधेशमा एक र बागमतीमा एक वटा केन्द्र विस्तार गरेको हो। 

केन्द्रले एकीकृत रुपमा महिला विरुद्धका हिंसालाई सम्बोधन गर्ने, हिंसा पीडित बालिका, किशोरी र महिलाका साथमा रहेका बालबच्चा समेतलाई उपचार तथा आश्रयको व्यवस्था मिलाउने मार्गदर्शनमा उल्लेख छ। 

सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति यसको लक्षित समूह हुन्। सशस्त्र द्धन्द्ध तथा प्राकृति विपद तथा महामारीका कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका, एचआइभी तथा संक्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित र तेस्रो लिंगी समूहका व्यक्तिहरुलाई पनि यसले समेटेको छ।

केन्द्र स्थापना भएको अस्पतालबाट लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिलाई २४ सै घण्टा नि:शुल्क रुपमा सेवा उपलब्ध गराउनुपर्नेछ। मार्गदर्शनले लैङ्गिक हिंसा पीडितलाई अस्पतालसम्म सार्वजनिक यातायात सेवाबाट आवत जावत गर्न तथा आवश्यकता अनुसार एम्बुलेन्स सेवाका लागि खर्च उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। 

पीडितलाई अन्य अस्पतालमा उपचारका लागि रेफर गर्नुपर्ने भए मामला व्यवस्थापन समितिको निर्णय अनुसार उपचार, यातायात, एवं खाना खर्च, पीडितको साथमा बालबालिका भएमा उनीहरुका लागि उपचार, यातायात तथा खाना खर्च समेत बेहोनुपर्नेछ। पीडितको साथमा अभिभावक/सहयोगी समेत जानुपर्ने अवस्थामा एक जनाको यातायात तथा खाना खर्च समेत बेहोनुपर्ने व्यवस्था छ।

यी हुन् ९७ वटा केन्द्र सञ्चालनमा रहेका अस्पतालहरु

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – केही समयदेखि सेवा बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल फेरि सञ्चालनमा आउने भएको छ। शिक्षण अस्पताललाई आगामी साउन १६ गते, शुक्रबारदेखि  सञ्चालनमा ल्याउन लागिएको कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिए।

उनले भने, ‘हामीले फेरि मेडिकल कलेज सञ्चालनका लागि तयारी पूरा गरेका छौं । अहिले अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं। अस्पताल सञ्चालन सुरु गर्नुको कारण नै मेडिकल कलेज चालाउनका लागि हो।’

शिक्षण अस्पतालले पुनः संचालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क ओपीडी सेवा प्रदान गर्ने तयारी गरिरहेको अस्पताल व्यवस्थापक दिलिप साहले बताए। उनका अनुसार अर्को सूचना नआएसम्म निशुल्क सेवा जारी रहनेछ। ओपीडीबाहेक अस्पतालका अन्य सेवामा भने सुरुवातमा निश्चित प्रतिशत छुट दिइने उनको भनाइ छ। ‘विभिन्न विशेषज्ञ सेवाहरू जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसुती तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक-कान-घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोग पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध गराइनेछ,’ उनले भने।

यसका अतिरिक्त आपतकालीन सेवा (इमर्जेन्सी) समेत २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी जस्ता सेवामा विशेष छुट प्रदान गरिनेछ। साथै, फार्मेसी सेवा पनि उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालका सीईओ जहाँगिर अन्सारीले शहरको बीचमा रहेको शिक्षण अस्पताल सञ्चालन गरेर उत्कृष्ट चिकित्सा सेवा र  शिक्षा दिन खोजिएको बताए। उनले भने, ‘आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो दायित्व हो। यस पुनः प्रारम्भको अवसरमा हामीले निःशुल्क सेवा प्रदान गरेर समुदायप्रति हाम्रो जिम्मेवारी निर्वाह गर्न खोजेका छौं।’

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालन गरेको हो। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्। 

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अगाडि बढाएपनि मन्त्रिपरिषद्बाट स्वीकृत नभएको गुनासो गरेका हुन्। 

उनले देशभरका सङ्घीय अस्पतालको जनशक्ति जम्मा २६ सय जनामात्रै रहेको भन्दै उपत्यका बाहिरका अस्पतालमा एक तिहाई जनशक्ति पनि नरहेको बताए। २०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेण्ट) नै नभएको उनको गुनासो छ। 

गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो। मन्त्रालयकाअनुसार ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार सङ्घीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो। 

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रस्ताव गरेको थियो। तर मन्त्रिपरिषद्बाट ओएनएम नै स्वीकृति नभएको मन्त्री पौडेलको गुनासो छ। यस्तै उनले चिकित्सकहरू सरुवा गरेको ठाउँमा जान नमान्ने र उनीहरूलाई कारबाहीसमेत गर्न सक्ने अवस्था नरहेको बताए। मन्त्रालयको नम्स नै लागू नहुने अवस्था रहेको मन्त्री पौडेलको गुनासो छ। 

मन्त्री पौडेलले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति भएमात्रै कुनै प्राकृतिक प्रकोप वा दुर्घटनामा तत्काल सेवा दिन सकिने स्पष्ट पारे। काठमाडौँ उपत्यकाभित्रकै अस्पतालमा समेत जनशक्ति र क्षमता बढाउनुपर्ने उनको भनाई थियो।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन्।

हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए। त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरुका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ।

प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ। मन्त्री पौडेलले यस अघि अतिक्रमणमा परेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए। अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ।

देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन्।

कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुन समेत बाँकी रहेको मन्त्रालयको आन्तरिक विश्लेषण छ। यसले केही स्थानको सेवा प्रवाहमा नै समस्या देखिएको छ भने बाँकीमा भावी दिनमा सेवा विस्तारमा प्रभाव पर्ने देखिएकाले यकिन विवरण संकलन गरेर संरक्षणमा सक्रियता देखाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरुका जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे। 

सामाग्री श्रोत :
swasthyakhabar

भक्तपुर- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ असार महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको जानकारी सार्वजनिक गरेको छ।

केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ इतिहास कायम गरेको दाबी पनि गरेको छ। ‘संसार भरी नै यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण बिरलै हुने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। सोही आर्थिक वर्षमा केन्द्रको अगुवाइमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। यसका साथै, सोही आर्थिक वर्षमा एक जना मस्तिष्क मृत व्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो। 

केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरूको उमेर १४ देखि ७१ वर्षसम्म रहेको छ। जसमध्ये, १५५ जना (झन्डै ८० प्रतिशत) ग्रहणकर्ताहरूको उमेर २० देखि ४९ वर्ष समूहका थिए। 

मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (करिब ७३ प्रतिशत) र ५० जना महिला (करिब २७ प्रतिशत) रहेका छन्। यस्तै, अंगदाताहरूमा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) रहेका छन्। यसले अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिए पनि अझै पनि असमानता रहेको देखाउँछ। 

देशका सातवटै प्रदेशबाट केन्द्रमा उपचारका लागि आएका बिरामीहरूमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, मधेश प्रदेशबाट १० प्रतिशत, कर्णाली प्रदेशबाट ५ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट २ प्रतिशत बिरामीहरू रहेका थिए। 

केन्द्रमा देशका विभिन्न भू-भागबाट सबै जातजातिहरू प्रत्यारोपणका लागि आउने गरेका छन्। आदिवासी जनजातिहरू ५२ प्रतिशत, ब्राम्हण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत र मुस्लिम २ प्रतिशतले प्रत्यारोपण गराएका छन्। 

मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। 

नेपाल सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले हालसम्म चारवटा प्रदेश (बागमती, गण्डकी, कर्णाली, लुम्बिनी) मा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ। बाँकी तीनवटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण सेवा सुरु गर्ने योजना बनाएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं-  भारतका विभिन्न प्रतिष्ठित शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरूको दीर्घकालीन मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो मुद्दालाई प्राथमिक राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रिय चिकित्सक संघ (एनडान) का अध्यक्ष प्राडा विकास गौचन, महासचिव डा सम्राट पराजुलीलगायत पदाधिकारीहरूले प्रधानमन्त्रीसँग विशेष भेटवार्ता गरेका थिए। उक्त भेटमा, भारतका सम्पूर्ण शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउने विषयमा अन्तिम र सार्थक पहल गर्न आग्रह गरिएको थियो।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा, पिजीआई चण्डीगढ़मा एमडी, एमएस, डिएम तथा एमसीएच अध्ययनरत नेपाली चिकित्सकहरूले निर्वाह भत्ता प्राप्त गर्न सफल भएका थिए। तर, एम्स लगायत अन्य प्रतिष्ठित शिक्षण संस्थानहरूमा अझै यो सुविधा लागू हुन सकेको छैन।

प्रधानमन्त्री ओली समक्ष एनडानले प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको थियो। त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कूटनीतिक र कार्यान्वयन पक्षमा निर्णय गराउन पहल गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको महासचिव डा पराजुलीले जानकारी दिए।

सोही अवसरमा, सात महिनाअघि आवसीय चिकित्सकहरूको लागि हप्ताको ७२ घण्टा काम र कम्तिमा श्रमिक सरह प्रसुति र क्रिया बिदाको लगायतका व्यवस्था गर्न प्रधानमन्त्रीले  दिएको निर्देशनको पालना नभएको पनि जानकारी गराइएको  उनले बताए।

प्रधानमन्त्री ओलीले यसबारे छिटो ठोस कदम लिने उल्लेख गरेको उनकझो भनाइ छ। ‘यो पहलले भारतमा अध्ययनरत सयौं नेपाली चिकित्सकहरूको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। यदि यो कार्यान्वयन भयो भने, विदेशमा अध्ययनरत नेपाली चिकित्सकहरूको हक अधिकार सुरक्षित गर्ने दिशामा एक महत्वपूर्ण कदम सावित हुनेछ,’ भेटपछि प्राडा गौचनले भने।

सामाग्री श्रोत :
swasthyakhabar

चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दिमा करिव दोब्बर भएको छ । तर रोग एवं औषधीरहित उत्पादनशिल आयु (हेल्थस्पान) भने सो अनुसार बढेको छैन। केही दशक अघीसम्म बुढ्यौलीका रोगका रुपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरु हिजोआज युवावस्थामै सामान्य भैसकेको छ । जस्ले व्यक्तिको जीवनको गुणस्तर, उत्पादन र उत्पादकत्वमा ह्रास ल्याएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका करिव तीन चौथाई मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ । जसको करिव आधा मृत्यु अल्पायुमा हुन्छ । सन २०१९ को तथ्यांक अनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो , जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट , ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ । यी नसर्ने रोगहरु जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन, जुन स्वास्थ्य प्रतिकुल आहार, विहार, विचार, व्यवहार र वातावरणको कारणले लाग्दछ । 

       पोषण विज्ञानमा ‘वि आर ह्वाट वि इट’ भनिन्छ । आयुर्वेद विज्ञान (चरक संहिता) मा ‘आहारसम्भव वस्तु रोगाश्च आहारसम्भवाः’ अर्थात आहारले नै स्वस्थ जीवन र रोग दुवैको निर्धारण गर्दछ भनिएको छ  । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्सले ‘लेट फुड वि द मेडिसिन’ अर्थात आहार नै औषधी हो भनेका छन् । खाद्य पदार्थको औद्योगिकीरण र व्यापारिकरणसंगै बढ्दो प्रशोधित आहारको उपलब्धता र उपयोगले विश्वभरी नै नसर्ने रोग महामारीको रुपमा फैलिएको छ । विशेषगरी प्रशोधित अन्न, प्रशोधित  वनस्पतीजन्य तेल, चिनी, मैदा, ट्रान्स फ्याट र नुन एवं यिनीहरुबाट निर्मित तयारी ठोस एवं पेय आहार सेवन नसर्ने रोगको मुख्य कारण हो भनी वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । यस आलेखमा नसर्ने रोगको आहारजन्य कारण, रोगको प्याथोफिजियोलोजी र आहारले उक्त रोग गराउन खेल्ने भूमिकाका साथै आहारको सहि छनौट र उपयोगबाट नसर्ने रोगबाट बँच्न र रोगको प्रारम्भिक उपचार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरिएको छ ।

नसर्ने रोगको सामान्य कारणलाई व्याख्या गर्न जनस्वास्थ्यको दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनको नसर्ने रोगको (४*४ अथवा ५*५) मोडेल, म्याकमोहन एण्ड पगको वेभ थ्योरी अफ कजेसन वा मल्टिफ्याक्टोरियल थ्योरीलाई अघी सारिन्छ । जस्ले नसर्ने रोगको कारण कुनै एक  नभएर धेरै पक्षहरु जिम्मेवार छन् भन्दछ । समग्रमा सुर्तिजन्य पदार्थ र मद्यपान सेवन,शारीरिक निश्क्रियता, अस्वस्थकर खानपान, तनावपूर्ण जीवनशैली, प्रदुषण आदिलाई नसर्ने रोगको जोखिम तत्वको रुपमा लिइन्छ । प्थाथोफिजियोलोजीकल दृष्टिकोणबाट उल्लिखित कारणहरुले शरीरको कोषीय एवं मोलिकुलर लेभलमा अक्सिडेटिभ स्ट्रेस एवं दीर्घ सुजन र इन्सुलिन रेसिस्टान्स बढाउने, गट माइक्रोबायोटाहरुको असन्तुलित  पार्ने,माइटोकोन्ड्रियल डिस्फङसन गराउने आदि गर्दछन । नसर्ने रोगको लागि जिम्मेवार यी प्याथोलोजिकल परिवर्तन गराउनमा आहारको प्रमुख भूमिका हुन्छ । यसर्थ आहारको सहि छनौट र  प्रयोगबाट नसर्ने रोगको रोकथाम र उपचार सम्भव छ । 

 
सामान्यतया शरीरमा अक्सिडेन्ट र एन्टि–अक्सिडेन्ट सन्तुलित अवस्थामा रहन्छन् । तर जव अक्सिडेन्डहरुको मात्रा बढ्छ वा एन्टिअक्सिडेन्ट डिफेन्स सिस्टम कमजोर हुन्छ , रोग लाग्ने प्रक्रिया शुरु हुन्छ । बाह्य श्रोत ( न्यून ओर्याक भ्यालुयुक्त आहार, रेडियसन, रसायन,औषधी ,विषादि, सुर्तिजन्य पदार्थ आदिको प्रयोग) र आन्तरिक श्रोत ( शरीरमा मेटाबोलिज्म हुने क्रममा उत्पन्न हुने सुपरअक्साइड, हाइड्रोजन पेरोअक्साइड, हाइड्रोक्सिल रेडिकल, पेरोक्सिनाइट्राइट आदि) बाट शरीरमा फ्रि रेडिकल्सहरु (अक्सिडेन्ट) निस्कन्छन । जसलाई एन्टिअक्स्डिेन्ट डिफेन्स सिस्टम ( सुपरअक्साइड  डिस्म्युटेज, काटालेज, ग्लुटाथियोन पेरोअक्सिडेज, भिटामिन सि,ई) ले निश्क्रिय पार्दछ । यो सन्तुलन कायम रहदा शरीर स्वस्थ रहन्छ भने विग्रदा रोग लाग्दछ । अक्सिडेटिभ स्ट्रेसले शरीरमा क्रोनिक सिस्टेमिक इन्फ्लामेसन, माइटोकोन्ड्रियल डिस्फङसन, इन्सुलिन रेसिस्टान्स् ,लिपिड पेरोक्सिडेसन, प्रोटिन र डिएनए ड्रयामेज आदि गर्दछ जुन कोरोनरी हार्ट डिजिज, मधुमेह, मोटोपना ,क्यान्सर लगायतका सवै दीर्घ एवं नसर्ने रोगहरुको कारण हो । आयुर्वेदमा सबै रोगको कारणको रुपमा उल्लेखित आम र प्राकृतिक चिकित्सामा उल्लेखित विजातिय पदार्थको अवधारणा आधुनिक चिकित्साको अक्सिडेटिभ स्ट्रेसंग मेल खान्छ । आहारले शरीरमा अक्सिडेटिभ स्ट्रेसको तहलाई कस्तो असर गर्छ भनि उक्त आहारको अक्सिजन रेडिकल अप्जर्सन क्यापासिटी (ORAC value) बाट थाहा पाउन सकिन्छ ।ओर्याक भ्यालुले कुनै पनि आहारको एन्टि अस्क्सिडेन्ट ( शरीरमा रहेका फ्रि रेडिकलको असरलाई न्यून गर्न सक्ने) क्षमता लाई जनाउछ । फापर, कोदो, जौ,कागुनो, मकै जस्ता परम्परागत अन्नको ओर्याक भ्यालु बढी छ भने आधुनिक आहारको मुख्य हिस्साको रुपमा रहेको प्रशोधित सेतो चामल र गहुँको ओर्याक भ्यालु निकै न्यून छ  । यसैगरी बेसार, ल्वाङ, दालचिनी, जिरा, मरिच आदि जस्ता मसलाहरु, कागती, अंगुर, स्याउ, जामुन, चुकन्दर, गाजर, अमलाजस्ता फलफूलहरुको ओर्याक भ्यालु बढी छ ।  यस्ता  उच्च ओर्याक भ्यालुयुक्त अन्न, फलफूल, मसलालगायतका खाद्य परिकारहरु नसर्ने रोगको रोकथाम र प्रारम्भिक उपचारमा उपयोगी हुन्छन भने न्यून ‌ओर्याक भ्यालुयुक्त आहारहरु नसर्ने रोगको कारण बन्दछन्।

दीर्घ सुजन सम्पूर्ण नसर्ने रोगको मुख्य प्याथोलोजी हो । अस्वस्थकर खानपिन, धुम्रपान एवं मद्यपान, दीर्घ तनाव, अनिन्द्रा,शारीरिक निष्क्रियता, प्रदुषण आदिले कोषीय तहमा सुजनकारक रसायन, साइटोकाइन्स (ट्युमर निक्रोसिस फ्याक्टर अल्फा, इन्टरल्युकिन्स सिक्स, सि रियक्टिभ प्रोटिन, अक्सिजन फ्रि रेडिकल्स आदि) बढाउदछन । जस्ले अक्सिडेटिभ स्ट्रेस बढाउने, डिएनए, प्रोटिन र लिपिडको संरचनात्मक परिवर्तन ल्याउने, कोषहरुको इन्सुलिनप्रतिको संवेदनशिलता घटाउने, रक्तनलिको भित्री तह इन्डोथेलियममा असर गरी एथेरोसिस गराउने, कोषको फाइब्रोसिक गराउने, शरीरको हर्मोनल र इम्युन प्रणालीको कार्यमा प्रतिकुलता ल्याउने आदि गर्दछ । आहारको डाइटरी इन्फ्लामेटरी इन्डेक्सबाट उक्त आहारले शरीरमा दीर्घ सुजन गराउदछ वा दीर्घ सुजन हुन बाट रोक्दछ भन्ने थाहा पाउन सकिन्छ । डाइटरी इन्फ्लामेटरी इन्डेक्स धनात्मक भएका आहारहरु (प्रोइन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन गराउछन् भने ऋणात्मक भएका आहार(एन्टि इन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन हुन दिदैदन वा दीर्घ सुजन घटाउछन भन्ने बुझिन्छ । जौ, फापर, कोदो, खैरो, खैरो चामल, गहुँ जस्ता अन्नको साथै भान्छामा प्रयोग हुने मसलाहरु, हरिया सागपात र फलफूलहरुको डाइटरी इन्फ्लामेटरी इन्डेक्स ऋणात्मक छ भने सेतो चामल, प्रशोधित गहुँ,  मकैको साथै चिनी, रातो मासु, तयारी खाद्य परिकारहरुको धनात्मक छ । यसर्थ नसर्ने रोगको कारकको रुपमा रहेको प्रोइन्फ्लामेटरी डाइटको सट्टा एन्टि इन्फ्लामेटरी डाइटलाई नियमित आहार बनाई नसर्ने रोगको रोकथाम र उपचार गर्न सकिन्छ।

यसैगरी उमेगा थ्रीयुक्त चिल्लाले एन्टिइन्फ्मेटरी हुन्छ भने उमेगा सिक्सयुक्त चिल्लो प्रोइन्फ्लामेटरी हुन्छ ।  नसर्ने रोगबाट बँच्न उमेगा थ्रि र सिक्सयुक्त चिल्लो सन्तुलनमा सेवन गर्नु पर्दछ । चिल्लोहरुमा ट्रान्स फ्याट सवैभन्दा नराम्रो मानिन्छ, जस्ले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल) घटाउछ । पुनः तताइएको तेल र बनस्पती घ्यु ट्रान्स फ्याटको प्रमुख स्रोत हो , जुन खाद्य उद्योग र (अधिकांश) होटेलहरुले प्रयोग गर्दछन् ।  उमेगा ६ बाट शरीरमा प्रोस्टाग्लान्डिन २, प्रोस्टाग्लान्डिन इ २, प्रोस्टाग्लान्डिन १२, थ्रोम्बोक्सेन ए २ , ल्युकोट्राइन बि ४ , ल्युकोट्राइन सि ४ ल्युकोट्राइन इ ४ आदि जस्ता इन्फ्लामेटरी केमिकल्सहरु बन्दछ, जस्ले रक्तनली एवं शरीरमा सुजन, रक्तनली साँघुरो बनाउने, प्लेटलेट एकीकृत गर्नेजस्ता कार्यहरु गर्दछ , जसले मुटुरोग  लगायत अन्य नसर्ने रोग गराउन भूमिका खेल्दछ । यसैगरी उमेगा ३ बाट रिजोल्भिन , प्रोक्टेटिन, प्रोस्टाग्लान्डिन वि ३ , प्रोस्टाग्लान्डिन डि ३ , प्रोस्टाग्लान्डिन इ ३,  थ्रोम्बोक्सेन ए ३ जस्ता केमिकल्सहरु बन्दछ , जस्ले उमेगा ६ को विपरित कार्य गरी मुटु, स्नायु र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्दछ  र नसर्ने रोगबाट बचाउछ ।  आहारमा उमेगा ३ र ६ अनुपात १:१ देखी १:४ सम्म स्वस्थकर मानिन्छ । यो अनुपात परम्परागत रुपमा तयार गरिएको घ्युमा १:१.५, तोरीको तेलमा १:२, सूर्यमुखी तेलमा १:१०, ओलिभ तेलमा १:१२, मकैको तेलमा १:४६, भटमासको तेलमा १:१६,घास खाएको (चरेको)जनावरको मासुमा १:७ र अन्न (दाना)खाएको जनावरको मासुमा १: १५ हुन्छ । नरिवल तेलमा भने मिडियम चेन फ्याटी एसिड बढी हुन्छ, जुन स्वस्थकर हुन्छ । यसैगरी आलसमा उमेगा ३ र ६ को मात्रा करिव  ४:१ र चिया सिडमा ३:१ हुन्छ ।  पछिल्लो समय बढ्दो प्रशोधित उच्च उमेगा सिक्सयुक्त तेलको प्रयोगले नसर्ने रोगलाई बढोत्तरी दिइरहेको छ । यसरी हेर्दा नेपाली परिवेशमा चिल्लोको रुपमा घ्यु र तोरीको तेल (कोलमा परम्परागत तरिकाले पेली निकालिएको) सवैभन्दा उपयुक्त र स्वस्थकर देखिन्छ । 

इन्सुलिन एनाबोलिक हर्मोन हो । यस्ले कार्बोहाइड्रेट प्रोटिन र फ्याटको मेटाबोलिजमका साथै शरीरमा प्रणालिगत असर देखाउदछ । सामान्यतया कार्बोहाइड्रेटयुक्त आहार सेवनबाट शरीरमा ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ। उक्त ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन्छ। इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउंनुको साथै बढी (खर्च नभएको) भएको ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा भन्डारण गर्छ। आधुनिक प्रशोधित आहार एवं अन्नहरु हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्स (उच्च मात्रामा सुगर भएको र सेवन लगत्तै रगतमा उच्च मात्रामा ग्लुकोज बढाउने) युक्त  छन्। यसका साथै विभिन्न बहानामा आहार धेरै पटक सेवन गर्ने प्रचलन छ । अर्कोतर्फ मानिसको शारीरिक श्रम कम भएको छ। यसले गर्दा सबै सेवन गरिएको ग्लुकोज खर्च हुँदैन । त्यो फ्याटी लिभर एवं बेल्ली फ्याटको रुपमा बस्छ। अचेल भान्सामा खाना तयार गर्दा सेतो चामल, मैदा, फ्रिज गरिएका परिकार, ट्रान्स फ्याट, सिम्पल कार्ब आदि र खाजा एवं नास्ताको रुपमा जंक फुड, चिनीयुक्त चिया वा पेयको प्रयोग सर्वत्र देखिन्छ। यी परिकारहरुले सुगर छिटो र उच्च मात्रामा उपलब्ध गराउँछ र सोही अनुपातमा इन्सुलिनको मात्रा र अन्ततोगत्वा मोटोपना बढाउँछ।

हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तर ( वैज्ञानिक अध्ययन अनुसार ५ देखी २५ वर्ष ) मा इन्सुलिनप्रति शरीरका कोषहरुले प्रतिक्रिया देखाउँन छोड्छ वा इन्सुलिन रेसिस्टेन्ट हुन्छ। इन्सुलिनको उच्च मात्रा वा रेसिस्टेन्टले सम्पूर्ण शरीरमा असर गर्छ । हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टेन्टले मोटोपनाको अलवा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लेसेराइड, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, पिसिओडी, मुटुजन्य रोग, अल्जाइमर्स, थाइरोइड डिसअर्डर आदि गराउँछ । अतः मुख्य आहारको रुपमा नियमित सेतो चामल, प्रशोधित गहुँ, चिनी जस्ता ग्लाइसेमिक इन्डेक्सयुक्त उच्च आहार एवं अन्नको सेवनले नसर्ने रोग  गराउछ भने फापर, जौ, कोदो, जस्ता अन्न र लहरामा फल्ने तरकारी एवं गेडागुडी, सागपात आदिले नसर्ने रोगको रोकथाम एवं उपचारमा उपयोगी हुन्छ ।

मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । विशेषगरी प्रशोधित एवं न्यून फाइबरयुक्त आहार सेवन, दीर्घ तनाव, एण्टिवायोटिक्सको अविवेकशील प्रयोग, संक्रमण, शारीरिक निष्क्रियता,  बढ्दो उमेर, प्रदुषण, अनिन्द्रा आदिले गट माइक्रोवायोटाको संगठन र कार्यलाई असर गर्दछ जसबाट लिकी गट, कोषमा दीर्घ सुजन, कोषहरुको इन्सुलिनप्रती न्यून सेन्सेटिभ, मस्तिष्कमा शुक्ष्म दीर्घ सुजन , रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या गराई नसर्ने रोग गराउन भूमिका खेल्दछ । गट माइक्रोवायोटालाई सन्तुलनमा राख्न प्रिवायोटिक्स(उच्च फाइबर) प्रोवायोटिक्स(गुन्द्रुक, तामा, अंकुरित अनाज जस्ता फर्मेन्टेड फुडहरु) र उच्च फिनोलिक कम्पाउण्डयुक्त आहारको महत्वपूर्ण भूमिका हुन्छ । आहारमा कार्ब र फाइबरको अनुपात १०:१ र सामान्यता दैनिक २५ ग्राम फाइबर लिनको लागि सिफारिस गरिएको छ । तर उच्च मात्रामा आंशिक एवं पूर्ण रुपमा प्रशोधित गरिएको अन्न र आहार एवं न्यून मात्रामा फलफूल र सागपातको सेवनको कारण फाइबरको कमी भई गट माइक्रोवायोटा असन्तुलित बन्न पुगेको छ । यसर्थ स्वस्थकर र सन्तुलित गट माइक्रोवायोटाको लागि उच्च फाइबरयुक्त सम्पूर्ण अन्न (होल ग्रेन र मिलेट) र प्रशस्त फलफूल एवं सागपात सेवन गर्न जरुरी छ । यसैबाट नसर्ने रोगको रोकथाम हुन्छ । 
तालिका: १०० ग्राम पकाइएको विभिन्न अन्न एवं परिकारको विवरण

अक्सिडेटिभ स्ट्रेस, दीर्घ सुजन, भिटामिन एवं मिनरल्सको कमी, प्रदुषण, उच्च मात्रामा प्रशोधित कार्ब सेवन, बढ्दो उमेर, शारीरिक निष्क्रियता आदिको कारणबाट शरीरको उर्जाघरको रुपमा रहेको माइटोकोन्ड्रियाको कार्य क्षमतामा ह्रास आउछ र पुन: अक्सिडेटिभ स्ट्रेस बढ्ने दुष्चक्र चल्दछ । माइटोकोइन्ड्रियालाई स्वस्थ राखि नसर्ने रोगबाट बँच्न माइक्रोन्यूटियन्ट, एन्टि अक्सिडेन्ट, उच्च फिनोलिक कम्पाउण्ड, न्यून ग्लाइसेमिक्स इन्डेक्स र स्वस्थकर चिल्लोयुक्त  आहारको साथै आवधिक उपवासको जरुरी छ । 

निष्कर्षमा भन्नुपर्दा नसर्ने रोगहरु जीवनशैलीजन्य रोग हुन र तिनीहरुलाई जीवनशैली चिकित्सामार्फत मात्रै रोकथाम र व्यवस्थापन गर्न सकिन्छ । नसर्ने रोगको आहारजन्य कारण उच्च क्यालोरियक्त, अक्सिडेटिभ स्ट्रेस बढाउने, दीर्घ सुजन गराउने, उच्च ग्लाइसेमिक इन्डेक्स र न्यून फाइबर एवं माइक्रोन्युट्रियन्टयुक्त आहार सेवन भएकाले नसर्ने रोगको रोकथाम र उपचारको लागि उचित क्यालोरियुक्त, एन्टि अक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी, न्यून ग्लाइसेमिक इन्डेक्स र उच्च फाइबर एवं माइक्रोन्यूट्रियन्टयुक्त आहार सेवन गर्नुपर्दछ ।   जुन रिजनल, सिजनल र ओरिजिनल स्रोतको  आहारबाट सजिलै प्राप्त गर्न सकिन्छ । 

(डा केसी स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख हुन्।)
 

  

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट