
जनताले कस्तो पानी खान्छन् भन्ने चासोसम्म कुनै राष्ट्रध्यक्ष वा सरकार प्रमुखले राख्दैन भने ऊ उल्लेखित पदका लागि योग्य पदाधिकारी हुन सक्तैन। जनता शारीरिक तथा मानसिक रुपले बलियो हुुनुपर्छ भने ऊ राम्रो स्वास्थ्यको हुनुपर्छ।
राम्रो स्वास्थ्यलाई सुनिश्चित गर्नको लागि अन्य कुराको अलावा शुद्ध पानी पिउनु अनिवार्य शर्त हो। शुद्ध पानी नपिउने हो भने जतिसुकै राम्रो र पोसिलो खाना खाए पनि उ रोगी- विरामी भएरै छोड्छ। शुद्ध पिउने पानीको लागि विश्वभरका सरकार तथा अनेक संस्थाहरुले लगानी तथा खर्च गर्नुको कारण पनि यही नै हो। भनिरहनु पर्दैन पानीको प्राणी र वनस्पतिसंग कस्तो सम्बन्ध छ भनेर।
कहाँको कस्तो पानी शुद्ध र पिउनयोग्य छ र कस्तो र कहाँको पानी अशुद्ध दूषित र पिउन अयोग्य छ भनेर वैज्ञानिक परिक्षणपछि मात्र थाहा हुने विषय हो। सामान्यतया जमेको भन्दा बगेको पानी नै पिउन लायक हुन्छ भन्ने आमजनधारणा रहेको पाइन्छ।
‘धाराको पानी धरर गर्छ कुवाको कुहिरहन्छ’ भनेर गाइने लोकगीतले पनि यही अर्थ राख्दछ। धाराको बग्ने पानी पिउने र कुवाको जमेको पानी पिउने मान्छेहरुको स्वास्थ्य, विचार-बुद्धि, क्षमता वा साहसमा फरक पर्छ होला र?
वैज्ञानिक किसिमको कुनै अध्यायन, अनुसन्धानले मात्र यसको सही उत्तर दिन सक्ला। व्यापक परीक्षण वैज्ञानिक अध्यायन अनुसन्धान बेगर कुवाको पानी पिउनेमा कम बुद्धि र साहस हुन्छ भनेर ठोकुवा गर्न त सकिँदैन। तर के कुरा ठोकुवा गरेर भन्न सकिन्छ भने तुलनात्मकरुपमा जमेको कुवाको पानी स्वच्छ र स्वस्थ पानी चाहि होइन।
खानेपानीको कारणले पनि मान्छेको बुद्धि बढी र घटी हुन्छ कि हुँदैन? खानेपानीको कारणले मान्छे साहसी वा कातर हुन्छ कि हुँदैन? यो जटिल सवाल हो। खानेपानीले पनि मान्छेमा बुद्धि घटी र बढी हुने, सूरो र काँतर हुने आधारतत्वमा प्रभाव पार्छ भन्ने विचार पृथ्वीनारायण शाहले ‘कुपको पानी खान्या छेउ बुद्धि पनि हुँदैन सूरो पनि हुँदैन’ भनेर अघि सारेको पाइन्छ।
अर्थात् कुपको पानी खानेहरुमा धाराको बग्ने पानी खानेको तुलनामा बुद्धि र साहस कम हुन्छ भन्ने मत पृथ्वीनारायणको रहेछ। उनले के आधारमा वा के अनुभवमा यो निष्कर्ष निकाले यसको वैज्ञानिक किसिमले सत्य तथ्य पत्ता लगाउने जिम्मा सम्बन्धित विज्ञ तथा अनुसन्धानकर्तालाई नै छोड्दा राम्रो होला।
कुवाको पानी खाने मान्छे कम सूरो वा कम बुद्धि भएको हुन्छ भनेर पृथ्वीनारायण शाहले संसार भरका अध्यायन अनुसन्धान गर्नेलाई नयाँ विषय चाहिँ दिएका रहेछन्। हेरौं विज्ञान जगतले यसको वैज्ञानिक किसिमले कसरी सदर व वदर गर्ला।
जमेको कुवाको पानी खाने कम सूरो र कम बुद्धि भएको हुन्छ बगेको पानी खानेको तुलनामा भन्ने पृथ्वीनाराण शाहको विचारमा वैज्ञानिक आधार भने जरुर देखिन्छ। यो शुद्धतासँग गाँसिएका सवाल हो। यो शुद्ध आहारा र खानपीनसँग गासिएको सवाल हो।
जनतालाई जमेको सडेको फोहर खाने पानी होइन बगिरहने निर्मल स्वच्छ खानेपानी खुवाउने वकालत हो पृथ्वीनारायण शाहको। गहिरिएर विचार गर्दा पृथ्वीनारायण शाहले ठिकै भनेको देखिन्छ। किनभने जमेको, सडेको दुषित फोहर पानी खायो भने मानिसमा अनेक रोग विराम लाग्ने संभावना प्रवल हुन्छ।
रोगी मान्छे शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छ। ऊ प्राय निरास देखिन्छ झोक्राएर बस्छ। उसको शारीरिक र मानसिक विकास ठिक ढंगले बढ्दैन। अर्थात् रोगले गर्दा उसको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा प्रतिकूल प्रभाव पार्दछ।
जसको कारणले उ सबै किसिमले शिथिल, निराश र कमजोर हुन्छ। यसले उसको साहस र बुद्धिलाई क्षय गराएर लान्छ। यसैलाई पृथ्वीनारायणले बुद्धि नहुने र सूरो नहुने रहेछ भनेको देखिन्छ।
शुद्ध खानेपानीको महत्व कति छ भनेर पृथ्वीविचारले दर्शाएको छ। शुद्ध खानेपानीको शक्ति बुझेर जनतालाई सफा खानेपानी को सुनिश्चित गर सरकार भनेको हो यो। शुद्ध पानी खुवाउ सबै किसिमले जनतालाई बलियो बनाउ पृथ्वीविचारले यही भन्छ हरेक सरकारलाई।
जनतालाई शुद्ध पानी खुवाउन नसक्नु जनतालाई साहस र बुद्धिमा कमजोर पारेर लानु हो भन्ने पृथ्वीविचारको मर्म बुझ्न कन्जुस्याइँ गर्नु हुँदैन। जनताले शुद्ध खाना र पाना अघाउने गरि खान पाउनु पर्दछ। कुन स्थानका जनताले शुद्ध पानी खान पाएका छन् छैनन् राज्यले हेर्नु र केलाउनु पर्छ।
कुन स्थानका जनता अर्थात् जनसमुदायमा पानीको कारणले के कस्तो रोग लागेको छ सबै जानकारी राज्य वा राज्यका निकायसंग हुनुपर्दछ। राज्यले जति सक्दो छिटोभन्दा छिटो जनतालाई शुद्ध खानेपानी खुवाउने परिस्थिति सुनिश्चित गरिनु पर्दछ।
जमेको र सडेको फोहर पानी खानुपर्ने बाध्यताबाट जनतालाई सदाको लागि मुक्त गरिनु पर्दछ। हाम्रा पूर्खाहरुले पानीका मूल छेउछाउ खोला नदी किनारमा, मुहानमा फोहर गर्न हुँदैन भनेर मान्छेलाई देउताको डर देखाएको पनि सफा जलकै लागि हो भन्ने सजिलै बुझ्न सकिन्छ। नदी खोलानालालाई पूजा गराउने चलन पनि यही पानी सफाईसँग नै जोडिएको सवाल हो। पानी सभ्यतासँग जोडिएको सवाल हो।
पृथ्वीविचारले मान्छेलाई मानसिक रुपले पनि अथवा मनोवैज्ञानिक किसिमले पनि झड्का दिएको रहेछ। जमेको सडेको फोहर पानी पिउने मान्छे साहसी पनि र बुद्धिमानी पनि हुँदैन भन्ने कुरा सुनेपछि या बुझेपछि उनीहरु झस्कन्छन्। र आफैं शुद्ध सफा खानेपानीको लागि सचेत हुन्छन्।
अनि उनीहरु आफैं सकृय र गम्भीर भएर शुद्ध सफा खानेपानीको लागि अभियान चलाउन लाग्दछन्। मान्छेले बढ्ता बुद्धिको लागि पनि शुद्ध पानी खानु पर्यो बढ्दा शक्ति र साहसको लागि पनि शुद्ध पानी खानु पर्यो। सधैं शुद्ध पानी खाउँ तनलाई बलियो बनाऔं मनलाई तिखो बनाऔं।
पृथ्वीविचारले सबैलाई यही भन्छ। जमेको अशुद्ध पानी नखाऔं बग्ने सफा पानी र पानीका मुहानलाई फोहर नबनाऔं। के हामी पानीका मुहान, खोला, नदी आदिलाई सफा राख्ने बनाउने अभियानलाई राष्ट्रिय अभियान बनाएर आम जनतालाई यो अभियानमा जोडेर यसलाई जनताको निरन्तर अभियान बनाउन सक्तैनौं र?
पृथ्वीनारायण शाह कुवाको पानी जस्तै जमेर बस्ने निष्कृय चरित्र र प्रवृतिका मान्छे होइनन्। बग्ने पानी जस्तै गतिशिल र सकृय जीवन जिउने धार र सार उनको चा्रीत्रिक व्याक्तित्व हो। उनले जीवन धारलाई पानीसँग मिलाउन र तुलना गर्न चाहेको देखिन्छ।
त्यसैले गतिशील व्याक्तित्वका धनी पृथ्वीनारायण शाहले जमेको कुवाको पानी र त्यो पानी प्रवृतिका गतिहीन लोसेलाई मन पराएनन्। अनि निष्कर्ष निकाले कुपको पानी खानेको बुद्धि पनि हुँदैन सूरो पनि हुँदैन। यो मनोविज्ञानसम्वध्द विश्लेषण पनि हो।
जे होस् शुद्ध पानी खान पाउनु पनि जनताको मौलिक अधिकार अथवा मानव अधिकार हो। अथवा यो मानव अधिकार अझ बढेर भन्दा जीवन अधिकारको सवाल पनि हो। यो पृथ्वीविचारको जनस्वास्थ्यसंग जोडिएका महत्वपूर्ण तर गम्भीर सवाल पनि हो।
जनतालाई कसरी बुद्धिमान र बलवान् याने शक्तिमान् बनाउने चिन्ताको सवाल पनि हो हाम्रा राष्ट्रनिर्माताको। जताबाट पनि जुनै कोणबाट पनि पृथ्वीविचारले बलियो जनता खोजेको छ। बग्ने पानी जस्तै स्वच्छ, सकृय र गतिशील जनता खोजेको छ। गतिशील जीवन धार खोजेको छ।
सामाग्री श्रोत :
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बेंगलुरु र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ । वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकाताको स्थिति झनै कमजोर बनाएको हो ।
खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन् । तर कोलकाताका लागि यो नतिजा पर्याप्त बनेन । कोलकातालाई प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाब थियो ।
यता बेंगलुरु भने अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । वर्षाले खेल प्रभावित बनेपछि समर्थकहरु निराश भएका थिए । आईपीएलमा आज राजस्थान रोयल्स र पन्जाब किङ्स खेल्दैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३५४ रुयैयाँ ६२ पैसा र विक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
सामाग्री श्रोत :
काठमाडौ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन्। त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो। मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन्।
यसैगरी मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरिन्।
सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन्। भेटका क्रममा मन्त्री डा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन्।
उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो।
सामाग्री श्रोत :
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन्।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन्। भक्तजनको उपस्थितिले यतिबेला पोखरामा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ।
पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अब नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुँदा यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ। कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो।
कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो।
कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए। जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ। यसै गरी शनिबार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए।
सामाग्री श्रोत :
तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।
सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।
न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, ‘यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ।’ उनले थपे, ‘पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन् यो हाल पुनरावलोकनको क्रममा छ।’
‘यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,’ जहाँगीरले भने, ‘उचित समयमा निर्णय घोषणा गरिनेछ।’ जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरेपनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए।
तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो । सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरको थिए। जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए।
पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए।
सामाग्री श्रोत :
तानसेन (पाल्पा)। जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ। यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो।
राणाले तत्कालीन समयमा तानसेनका घरघरमा खानेपानीको धारा भए पनि बाटो हिँड्ने बटुवा, विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि सार्वजनिक धारा निर्माण गरेका थिए। लामो समयसम्म उक्त धारा जीर्ण हुँदा प्रयोगमा आउन सकेको थिएन। अहिले त्यसको जीर्णोद्धार गरी सञ्चालनमा ल्याइएको छ।
वडा कार्यालयको रु एक लाख लागतमा धाराको जीर्णोद्धार गरिएको हो। राणाले बाझाबाट तानसेनमा पानी ल्याएर टोलटोलमा धारा वितरण गरी तानसेनवासीलाई पानी खुवाएका स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।
लण्डनबाट प्राविधिक झिकाई खानेपानीका धाराहरू निर्माण गरिएको उक्त धारालाई लण्डनधाराको नाम राखिएको छ। तानसेन खानेपानी उपभोक्ता समितिबाट उपलब्ध गराइएको धाराको पानीलाई फिल्टरमार्फत परम्परागत धारामा पठाउने प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको वडास्तरीय उपभोक्ता समितिकी अध्यक्ष अनुराधा बज्राचार्यले बताइन्। धारा निर्माण भएसँगै बाटो हिँड्ने सर्वसाधारण, पर्यटकलगायतलाई पानी पिउन सहज भएको उनले बताइन्।
नवनिर्मित धाराको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन्। उनले तानसेनमा रहेका ऐतिहासिक धाराहरूको संरक्षणमा स्थानीय सरकारले प्राथमिकतामा राखी जीर्णोद्धार गरिरहेको बताए। उनले भने, ‘अन्य वडामा पनि भएका यस्ता धाराको पहिचान गरी आवश्यकताअनुसार जीर्णोद्धार गर्नेर्छौँ।’ ऐतिहासिक संरचनाहरू नगरका गहना भएकाले ती संरचनाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले काम गर्दै आएको उनको भनाइ छ।
जनरल प्रतापशमशेरले जिल्लाका विभिन्न ठाउँमा पार्टी, पौवा, धारा, दरबार, चौतारालगायत संरचना निर्माण गरेका छन्। कतिपय संरचना जीर्ण भएर भत्किएका छन्भने केहीको जीर्णोद्धार गरिएका छन्।
हाल सङ्ग्रहालय रहेको पाल्पा दरबारको निर्माण राणाले गरेका थिए। दरबार निर्माणकर्ताको सम्झनामा सर्वसाधारण तथा पर्यटकको जानकारीका लागि अहिले प्रदेश सरकारले राणाको सालिक निर्माण गरेको छ।
यहाँ रहेका अन्य संरचनाको समेत खोजी गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले जोड दिए। उनले भने, ‘तानसेनमा तत्कालीन सानुराजा प्रताप शमशेरले निर्माण गरेका थुप्रै संरचनाहरू छन्, तिनीहरूको खोजी तथा अनुसन्धान हुन सकिरहेको छैन। त्यस्ता संरचनाको खोजी हुन आवश्यक भएकाले स्थानीय सरकारले चासो देखाउनुपर्छ।’
सामाग्री श्रोत :
वासिङ्टन। अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ।
केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन्।
केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो। अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।
मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन्। क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ।
सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन्। हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौं। विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन्। प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन्। चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन्। उनका अनुसार शुक्रबारदेखि आजको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन्।
ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ। ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन्। प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन्। अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही स्थानहरूमा गर्मीका कारण तथा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिजोको तुलनामा आज भने केही मौसम खुले पनि बदली भने कायम रहेको छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी २४ घण्टा केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ।
सामाग्री श्रोत :