२०८२ श्रावण १३ सोमबार
LATEST NEWS
२०८२ श्रावण १३ सोमबार

९४ वर्षीय बिरामीको उपचार अनुभव: जेष्ठ नागरिकको क्यान्सर उपचार केन्द्रीत सरकारी नीति किन जरुरी?

केस स्टडी: ९४ वर्षीय बुबाको साहसिक यात्रा

केही समयअघि पाटन अस्पतालको मेडिकल अनकोलोजी विभागमा ९४ वर्षीय एक बुबा आउनुभयो, उहाँलाई कोलोन (आन्द्राको क्यान्सर) भएको पुष्टि भएको थियो। प्रारम्भमा धेरैले सोचे, ‘यो उमेरमा उपचार सम्भव होला र?’ तर उहाँको परिवार दृढ थियो – उहाँको शारीरिक अवस्था राम्रो थियो, जीवनका लागि इच्छाशक्ति प्रबल थियो।

हामीले उहाँलाई सन्तुलित र सहन सक्ने केमोथेरापी सुरु गर्‍यौं। नियमित फलो-अपमा उहाँले थोरै कमजोरी भएपनि जीवनशैलीमा उल्लेखनीय सुधार देखाउनुभयो। तर उपचार यात्रा सहज थिएन। 

अस्पतालसम्मको यात्रा आफैंमा संघर्ष पूर्ण थियो, कम सुनिने, दृष्टि कमजोर र अनेक पुराना रोगहरूसँग सहअस्तित्व थियो, आर्थिक पक्ष, सामाजिक सहयोग र पोषण व्यवस्थापन अझै चुनौतीपूर्ण थिए।

उहाँको केसले हामीलाई सम्झायो- क्यान्सर उमेर हेरेर आउँदैन, र उमेरले उपचार रोकिनु हुँदैन।

नेपालमा जेष्ठ नागरिकको क्यान्सर उपचार (जेरियाट्रिक अन्कोलोजी): अब आवश्यकताको विषय मात्र होइन, प्राथमिकताको कुरा हो।

हाल देशको कुल जनसंख्याको करिब ९ प्रतिशत ६५ वर्षभन्दा माथिका छन्, र आगामी दशकमा यो अनुपात झन् उच्च  हुँदै जानेछ। जस्तै, माथिको उदाहरणले देखाउँछ- जेष्ठ नागरिकको क्यान्सरको उपचार नेपालमा  सम्भव छ । उनीहरुको जीवनको गुणस्तर पनि उल्लेखनीय रूपले सुधार गर्न सकिन्छ। तर, यसका लागि सरकारको समुचित योजना, सहजीकरण र नीति जरुरी हुन्छ।

किन आवश्यक छ जेष्ठ नागरिकका लागि लक्षित क्यान्सर सेवा?


उमेरसँगै क्यान्सरको जोखिम बढ्दछ
६५ वर्षमाथिका व्यक्तिहरूमा क्यान्सर हुने दर तुलनात्मक रूपमा धेरै हुन्छ।
कोमोरबाइडाटिज र पोलिफार्मेसी
मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाका समस्या हुँदा केमोथेरापी वा अन्य उपचारको सहनसक्ने क्षमता घट्छ।
मनोसामाजिक र पारिवारिक संरचना
धेरै वृद्धहरू एक्लोपन, आर्थिक असुरक्षा र समाजिक सहयोगको अभावमा हुन्छन्।
सहनशक्ति अनुसारको उपचार आवश्यकता
सबै वृद्ध बिरामीलाई एउटै स्ट्यान्डर्ड रेजिमेन दिनु जोखिमपूर्ण हुन सक्छ। टेलोरेड,  लो-इन्टेन्सिटी, होलिस्टिक एप्रोच आवश्यक हुन्छ।

नेपालको वर्तमान स्थिति र चुनौतीहरू

साँघुरो संरचना: जेष्ठ नागरिकका लागि छुट्टै जेरिइट्रिक अन्कोलोजी सेवा अहिलेसम्म छैन।
तथ्यांक अभाव: वृद्ध समूहमा कुन-कुन क्यान्सर प्रचलित छन् भन्ने तथ्यांक अपूर्ण छन्।
जनशक्ति अभाव: जेरियाट्रिक केयरमा प्रशिक्षित अनकोलोजिस्ट वा हेल्थवर्करको अभाव छ।
सामाजिक सुरक्षा कमजोर: वृद्ध उमेरमा लाग्ने क्यान्सरको उपचार महँगो हुन्छ तर बीमा योजना पर्याप्त छैन।

नीति तहमा के गर्न सकिन्छ?
जेरियाट्रिक अन्कोलोजी मापदण्डको विकास : नेपालको स्वास्थ्य प्रणालीले वृद्ध बिरामीका लागि उपयुक्त क्यान्सर उपचार मापदण्ड ल्याउन आवश्यक छ।

विशेषज्ञ सेवा केन्द्रको स्थापना प्रमुख क्यान्सर अस्पतालहरूमा जेरियाट्रिक अन्कोलोजी युनिट सुरु गरिनुपर्छ।

स्वास्थ्य बीमा योजनामा वृद्ध लक्षित प्याकेज : ६५ वर्ष माथिका नागरिकका लागि विशेष बीमा प्याकेज आवश्यक छ।

अनुसन्धान र डाटा संकलन : वृद्धावस्थामा देखिने क्यान्सर, उपचारको परिणाम, जीवनको गुणस्तरमा सुधार सम्बन्धी डाटा संकलन प्राथमिक हुनुपर्छ।

सुधारका सम्भावना र सहजीकरण उपायहरू


फ्रन्टलाइन स्वास्थ्यकर्मीको तालिम
जीपी, एमबीबीएस र नर्सिङस्तरमै वृद्ध क्यान्सर सेवाको चेतना र प्राथमिक उपचार सिप विकास गरिनुपर्छ।
पारिवारिक सहभागिता
परिवारलाई मानसिक, आर्थिक र सामाजिक रूपमा तयार गर्नुपर्ने खाँचो छ।
टेलिमेडिसिन र होम-केयर
वृद्धहरूलाई सेवा पुर्‍याउन मोबाइल स्वास्थ्य सेवा, घरमै सल्लाह दिने प्रणाली जस्ता उपाय लागू गर्न सकिन्छ।

पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन – यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।(मेडिकल अनकोलोजिस्ट  डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक हुन्।)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट