२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

काठमाडौं- सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयसँगै उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्।

निमित्त निर्देशकका रुपमा डा चालिसेले अस्पतालमा विभिन्न सुधार र सेवा विस्तारका काम अगाडि बढाइरहेका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- नेपालमा सहयोगी प्रजनन सम्बन्धी ऐन अत्यावश्यक भएको बताइएको छ । सोमबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले तयार पारेको सहयोगी प्रजनन सम्बन्धी ऐनको नमुना मस्यौदामा गरिएको छलफलमा बाँझोपन वा प्रजनन क्षमतामा समस्या भएका दम्पती वा व्यक्तिलाई विज्ञानसम्मत र नैतिक आधारमा सहयोगी प्रजननसम्बन्धी सेवा उपलब्ध गराउनका लागि यो ऐन आवश्यक रहेको छलफल कार्यक्रममा बताइएको हो। उनीहरुको सन्तान प्राप्तिको अधिकार, सम्मान, संरक्षण र परिपूर्ति गर्न तथा सेवाको गुणस्तर, पहुँच, गोपनीयता र नियमनका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था वाञ्छनीय भएकाले यो ऐन आवश्यक रहेको छलफलमा बताइयो । 

स्वास्थ्य सेवा विभागकी कानुन अधिकृत सीता घिमिरेले यस्ता कानुन निर्माण गर्न सरकारले चासो देखाउनुपर्नेमा अहिलेसम्म यसबारे छलफलसमेत नभएको बताइन् । नागरिक समाजको तर्फबाट एफडब्लुएलडीले नमुना कानुन बनाएर छलफल चलाएको छ, यो एकदमै सह्रानीय छ । उनले भनिन्, ‘यो नमूना कानुन पूर्ण छ भन्ने होइन, कम्तीमा कानुन आवश्यक छ भन्ने कुरा छलफल चलाउनु नै अहिलेको सन्दर्भमा ठूलो कुरा हो ।’ 

अहिलेसम्म प्रजनन स्वास्थ्य अधिकार कानुनमा सन्तान प्राप्तिको कुरा अटाएका छन्, तर यसलाई छुट्टै ऐन ल्याउन ढिला भइसकेको अधिकृत घिमिरेको भनाइ थियो । 

कार्यक्रममा एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐनको आवश्यकता र अवधारणाबारे प्रस्तुति दिएका थिए । उनले सन्तान प्राप्तिको आकांक्षा लिएर प्रत्येक साता ६ जोडी फटिलिटी सेन्टरमा सेवा लिन जाने गरेको बताए । निर्देशक श्रेष्ठले सुरक्षित प्रजननसम्बन्धी अहिलेसम्म बनेका कानुन, ऐन र सर्वोच्च अदालतले स्थापित गरेका नजिरका बारेमा उल्लेख गरेका थिए । 


 

सरकारले २०७५ सालमा ल्याएको ऐनले सुरक्षित मातृत्वसम्बन्धी ४ वटा कुरा मात्र समेटिएको निर्देशक श्रेष्ठको भनाइ थियो । सन्तान प्राप्तिको अधिकारमा सरकारले २०८० मा ल्याएको नीति तथा कार्यक्रममा सबै प्रदेशमा बाँझोपनको निःशुल्क र सुरक्षित सेवा उपलब्ध गराउने कुरा उल्लेख थियो । यसले कृतिम गर्भधारणका सबै विषय समेट्न नसकेको उनले बताए । 

एफडब्लुएलडीले तयार पारेको नमुना मस्यौदाका बारेमा अधिवक्ता दिपेश श्रेष्ठले ब्याख्या गरेका थिए । उनले परिच्छेद–१ मा संक्षिप्त नाम र प्रारम्भ गरेर सेवाका प्रकारसहित ऐनको मस्यौदा तयार पारिएको बताए । ऐन ६ वटा परिच्छेदमा समेटिएको छ । 

ऐनमा प्रारम्भ, सहयोगी प्रजननसम्बन्धी सेवाको अधिकार, सहयोगी प्रजनन सेवाको सञ्चालन र नियमन, डिम्ब तथा वीर्य दान, कसुर र सजाय तथा अन्य प्रावधानहरु समेटिएका छन् । 

सन्तान प्राप्तिका लागि पछिल्लो समय धेरै प्रकारका सेवा प्रयोगमा रहेको उनले बताए । नेपालमा यस्ता सेवा दिने ४२ वटा क्लिनिक रहेको र त्यसमध्ये २५ वटा काठमाडौं उपत्यकाभित्र रहेको उनले तथ्यांक प्रस्तुत गरे । सेवा प्रदायकले ३ देखि ६ लाख रुपैयाँसम्म लिने गरेको र ३५ देखि ५५ प्रतिशत मात्र सफल हुने गरेको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।

क्लिनिक सञ्चालनदेखि सेवा प्रदायक र सेवाग्राहीलाई समेट्ने एकीकृत कानुन अहिलेसम्म नभएकाले त्यो आवश्यकता पूर्ति गर्नका लागि नमुना कानुन एफडब्लुएलडीले निर्माण गरेको उनको भनाइ थियो । यो नमूना कानुनमा प्रजनन नैतिक र सुरक्षा, डिम्ब वा शुक्रकिटदाता र सन्तानको अधिकारी, शोषण, मानवअधिकारलगायतका विषय समेटिएको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।


 

कानुनविद् देव महत, ल क्याम्पसका प्राध्यापक अधिवक्ता डा. विष्णु बस्याल, एफडब्लुएलडीकी महासचिव अधिवक्ता लक्ष्मी पोखरेल, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, परिवार नियोजन संघका प्रभाकर श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोगकी विजिता दाहाल तथा स्वास्थ्य क्षेत्रका विज्ञ प्राविधिकहरुले नमुना मस्यौदाको कमजोरी र सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव दिएका थिए । छलफल कार्यक्रम अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा तारा पुन मगर वरिष्ठ उपाध्यक्ष, मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी उपाध्यक्ष, कमल भण्डारी महासचिव, सोनाम शेर्पा र दुर्गा प्रसाद भण्डारी सचिवका रूपमा चयन भएका छन्।
यस्तै, अर्जुन श्रेष्ठ कोषाध्यक्ष, टेक बहादुर बोहोरा युवा संयोजक, मिता गुरुङ महिला संयोजक तथा मनसुन खड्का र आइशा सिटौला सदस्य पदमा निर्वाचित भएका छन्।

सामाग्री श्रोत :
deshparadesh

केस स्टडी: ९४ वर्षीय बुबाको साहसिक यात्रा

केही समयअघि पाटन अस्पतालको मेडिकल अनकोलोजी विभागमा ९४ वर्षीय एक बुबा आउनुभयो, उहाँलाई कोलोन (आन्द्राको क्यान्सर) भएको पुष्टि भएको थियो। प्रारम्भमा धेरैले सोचे, ‘यो उमेरमा उपचार सम्भव होला र?’ तर उहाँको परिवार दृढ थियो – उहाँको शारीरिक अवस्था राम्रो थियो, जीवनका लागि इच्छाशक्ति प्रबल थियो।

हामीले उहाँलाई सन्तुलित र सहन सक्ने केमोथेरापी सुरु गर्‍यौं। नियमित फलो-अपमा उहाँले थोरै कमजोरी भएपनि जीवनशैलीमा उल्लेखनीय सुधार देखाउनुभयो। तर उपचार यात्रा सहज थिएन। 

अस्पतालसम्मको यात्रा आफैंमा संघर्ष पूर्ण थियो, कम सुनिने, दृष्टि कमजोर र अनेक पुराना रोगहरूसँग सहअस्तित्व थियो, आर्थिक पक्ष, सामाजिक सहयोग र पोषण व्यवस्थापन अझै चुनौतीपूर्ण थिए।

उहाँको केसले हामीलाई सम्झायो- क्यान्सर उमेर हेरेर आउँदैन, र उमेरले उपचार रोकिनु हुँदैन।

नेपालमा जेष्ठ नागरिकको क्यान्सर उपचार (जेरियाट्रिक अन्कोलोजी): अब आवश्यकताको विषय मात्र होइन, प्राथमिकताको कुरा हो।

हाल देशको कुल जनसंख्याको करिब ९ प्रतिशत ६५ वर्षभन्दा माथिका छन्, र आगामी दशकमा यो अनुपात झन् उच्च  हुँदै जानेछ। जस्तै, माथिको उदाहरणले देखाउँछ- जेष्ठ नागरिकको क्यान्सरको उपचार नेपालमा  सम्भव छ । उनीहरुको जीवनको गुणस्तर पनि उल्लेखनीय रूपले सुधार गर्न सकिन्छ। तर, यसका लागि सरकारको समुचित योजना, सहजीकरण र नीति जरुरी हुन्छ।

किन आवश्यक छ जेष्ठ नागरिकका लागि लक्षित क्यान्सर सेवा?


उमेरसँगै क्यान्सरको जोखिम बढ्दछ
६५ वर्षमाथिका व्यक्तिहरूमा क्यान्सर हुने दर तुलनात्मक रूपमा धेरै हुन्छ।
कोमोरबाइडाटिज र पोलिफार्मेसी
मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाका समस्या हुँदा केमोथेरापी वा अन्य उपचारको सहनसक्ने क्षमता घट्छ।
मनोसामाजिक र पारिवारिक संरचना
धेरै वृद्धहरू एक्लोपन, आर्थिक असुरक्षा र समाजिक सहयोगको अभावमा हुन्छन्।
सहनशक्ति अनुसारको उपचार आवश्यकता
सबै वृद्ध बिरामीलाई एउटै स्ट्यान्डर्ड रेजिमेन दिनु जोखिमपूर्ण हुन सक्छ। टेलोरेड,  लो-इन्टेन्सिटी, होलिस्टिक एप्रोच आवश्यक हुन्छ।

नेपालको वर्तमान स्थिति र चुनौतीहरू

साँघुरो संरचना: जेष्ठ नागरिकका लागि छुट्टै जेरिइट्रिक अन्कोलोजी सेवा अहिलेसम्म छैन।
तथ्यांक अभाव: वृद्ध समूहमा कुन-कुन क्यान्सर प्रचलित छन् भन्ने तथ्यांक अपूर्ण छन्।
जनशक्ति अभाव: जेरियाट्रिक केयरमा प्रशिक्षित अनकोलोजिस्ट वा हेल्थवर्करको अभाव छ।
सामाजिक सुरक्षा कमजोर: वृद्ध उमेरमा लाग्ने क्यान्सरको उपचार महँगो हुन्छ तर बीमा योजना पर्याप्त छैन।

नीति तहमा के गर्न सकिन्छ?
जेरियाट्रिक अन्कोलोजी मापदण्डको विकास : नेपालको स्वास्थ्य प्रणालीले वृद्ध बिरामीका लागि उपयुक्त क्यान्सर उपचार मापदण्ड ल्याउन आवश्यक छ।

विशेषज्ञ सेवा केन्द्रको स्थापना प्रमुख क्यान्सर अस्पतालहरूमा जेरियाट्रिक अन्कोलोजी युनिट सुरु गरिनुपर्छ।

स्वास्थ्य बीमा योजनामा वृद्ध लक्षित प्याकेज : ६५ वर्ष माथिका नागरिकका लागि विशेष बीमा प्याकेज आवश्यक छ।

अनुसन्धान र डाटा संकलन : वृद्धावस्थामा देखिने क्यान्सर, उपचारको परिणाम, जीवनको गुणस्तरमा सुधार सम्बन्धी डाटा संकलन प्राथमिक हुनुपर्छ।

सुधारका सम्भावना र सहजीकरण उपायहरू


फ्रन्टलाइन स्वास्थ्यकर्मीको तालिम
जीपी, एमबीबीएस र नर्सिङस्तरमै वृद्ध क्यान्सर सेवाको चेतना र प्राथमिक उपचार सिप विकास गरिनुपर्छ।
पारिवारिक सहभागिता
परिवारलाई मानसिक, आर्थिक र सामाजिक रूपमा तयार गर्नुपर्ने खाँचो छ।
टेलिमेडिसिन र होम-केयर
वृद्धहरूलाई सेवा पुर्‍याउन मोबाइल स्वास्थ्य सेवा, घरमै सल्लाह दिने प्रणाली जस्ता उपाय लागू गर्न सकिन्छ।

पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन – यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।(मेडिकल अनकोलोजिस्ट  डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक हुन्।)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- नेपालको पुरानो र भरोसाको केन्द्र बनेको वीर अस्पतालले आज आफ्नो १३६ औं वर्षमा प्रवेश गरेको छ। १३५ वर्षअघि आजकै दिन  तत्कालीन श्री ३ वीर शम्शेरको पहलमा स्थापना गरिएको यो अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा आधुनिक विशिष्टकृत उपचार सेवासहित देशकै अग्रणी स्वास्थ्य संस्था बनिसकेको छ। वीर अस्पतालको वार्षिकोत्सवको लाइभ :

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ।

विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए।

रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आएलगत्तै चासो लिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए । उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो।

विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ।

मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ । 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- डा रणजित झाले आकाशमै उपचार सेवा दिएर बिरामी बच्चाको ज्यान जोगाएका छन्।      

आइतबार जनकपुरबाट काठमाडौँ उडेको यति बिमानमा एउटा नवजात शिशुलाई जन्मजात मुटुको रोग भएर शरीर निलो हुँदै गरेको अवस्था (साइनोसिस) भएको थियो। 

बिमानका चालक दल र एअर होस्टेजले मेडिकल सपोर्टका लागि अनाउन्स गरेका थिए। जहाँ लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झा पनि यात्रारत थिए। 

चालकदलको आग्रहमा अक्सिजनको मात्रा मिलाउने गरी सम्बन्धित अस्पतालसम्म  पुर्याउनसम्म उनले सहयोग गरे। बालकको ज्यान जोगाउन सहयोग पुर्‍याएपछि डा झाले भने,  ‘बिरामीलाई सेवा अस्पतालमा मात्र हैन,  धर्ती देखि  आकाशमा नि  दिन सकिँदो  रहेछ !’

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- भक्तपुर क्यान्सर अस्तालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसका अवसरमा नयाँ सेवाहरु विस्तार गरेको छ। अस्पतालले एक कार्यक्रमका बीच दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको  हो । 

अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना फैलाउने उद्देश्यले क्यान्सर सर्वाइभरहरूलाई सम्मान समेत गरेको छ। नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ। यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा  उज्ज्वल चालिसेले बताए। 

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा रामकण्ठ माकाजुले बिरामीको अनुहारको खुशीले अस्पतालको सेवाको गुणस्तर मापन गर्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालले गरेको सेवा राम्रो भएको बताए। ज्ञान वुद्धि र सहकार्यले संस्थाको विकास हुने भएकाले धुलिखेल अस्पताल सधैं सहकार्य गर्न तयार रहेको बताए।

२००७ मा भरतपुरमा अस्पतालबाट सुरु गरिएको हेड एण्ड नेक विभाग  हाल सबै क्यान्सर अस्पतालहरुमा विस्तार हुनुले विश्वस्तीय सेवाहरु नेपालमा नै पाउने स्थिती भएको बताए। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बताए ।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – नेपालको पुरानो र भरोसाको केन्द्र बनेको वीर अस्पतालले आज आफ्नो १३६ औं वर्षमा प्रवेश गरेको छ। १ ३५ वर्षअघि आजकै दिन  तत्कालीन श्री ३ वीर शम्शेरको पहलमा स्थापना गरिएको यो अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा आधुनिक विशिष्टकृत उपचार सेवासहित देशकै अग्रणी स्वास्थ्य संस्था बनिसकेको छ।

वीर अस्पतालले जनतामा सुलभ स्वास्थ्य सेवा पु-याउने उद्देश्यले स्वास्थ्य उपचारसँगै शैक्षिक र अनुसन्धानमूलक कार्यमा समेत उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। वि.सं. २०६३ मा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि.वि.रा.प्र.) ऐन जारी गरी यस अस्पताललाई राष्ट्रिय स्तरको शिक्षण तथा अनुसन्धान केन्द्रको रूपमा अघि बढाएको हो। हाल एमडी, एमएस, एमसीएच, डीएम, बीएससी नर्सिङ, बीएमएस, एमएनलगायतका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरू यहाँ सञ्चालनमा छन्।

कोभिड–१९ महामारीको समयमा वीर अस्पताललाई ‘युनिफाइड केन्द्रीय अस्पताल’ को रूपमा विकास गरिँदै २०७८ सालमा थप ८३१ दरबन्दी स्वीकृत गरिएको थियो। यसले सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

अस्पतालले अति गरीब, अपाङ्ग, बेवारिसे, हिंसापीडित महिला, जेष्ठ नागरिक, जनआन्दोलनका घाइतेजस्ता वर्गका लागि गुणस्तरीय निःशुल्क सेवा निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

केवल १५ शैयाबाट सुरु भएको वीर अस्पताल हाल ४६० शैयामा सेवा दिइरहेको छ भने नयाँ सर्जिकल भवनको सञ्चालनपछि सेवा क्षमता ९६० शैयासम्म विस्तार भएको छ। 

भक्तपुरको दुवाकोटमा पनि वीर अस्पतालको सेवा विस्तार गरिँदैछ। १३६ वर्षको ऐतिहासिक यात्रामा वीर अस्पतालले चिकित्सा सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदान गौरवपूर्ण रहँदै आएको छ। भविष्यमा अझ प्रविधिमैत्री, पहुँचयोग्य र गुणस्तरीय सेवाको विस्तार गर्दै लैजाने निर्देशक डा दिलिप शर्मा बताउँछन् । 

उनका अनुसार अहिले निकै गुनासो आइरहेको इमर्जेन्सीलाई फराकिलो बनाउने क्रम जारी छ। त्यसैगरी भीडलाई व्यवस्थित गर्ने र देशका कुनाकन्धराबाट आउने बिरामीका लागि कुरुवा घर प्राथमिकता रहेको उनी बताउँछन्। 

वार्षिकोत्सवको अवसरमा गरिएको संवाद् 

सामाग्री श्रोत :
swasthyakhabar

संसारभर जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने तयारी भइरहँदा हामीले भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा हासिल गरिएको उपलब्धि र हाम्रो सामु रहेका चुनौतीहरूको समीक्षा गर्नु जरुरी छ। यस वर्षको नारा — “सबै मिलेर संकल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ”ले हेपाटाइटिस निवारण र कलेजोको क्यान्सरको रोकथाममा बाधक बनेका आर्थिक, सामाजिक र प्रणालीगत अवरोधहरूलाई हटाउनका लागि तत्काल कदम चाल्न आह्वान गर्दछ। 

भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौती हुन्, र प्रायः कुनै पनि लक्षण नदेखाएर जटिल रोग निम्त्याउने गर्छन्। यी भाइरसहरू मुख्यतया संक्रमित रक्तजन्य उत्पादनहरू, असुरक्षित चिकित्सकीय अभ्यास, साझा सुइको प्रयोग, असुरक्षित यौन सम्पर्क र प्रसूतिका बेला संक्रमित आमाबाट बच्चामा लगायताका माध्यमबाट सर्छन्। संक्रमण लक्षणविहीन हुने भएकाले धेरैजसो संक्रमितहरू कलेजो सम्बन्धी गम्भीर समस्या नदेखिएसम्म पहिचान हुँदैनन्। 

ग्लोबल हेपाटाइटिस रिपोर्ट २०२४ अनुसार सन् २०२२ मा ३० करोड ४ लाख मानिसहरूलाई हेपाटाइटिस बी र सी बाट संक्रमण थिए। हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु कलेजोसम्बन्धी जटिलता र क्यान्सरका कारण हुने गर्छ, जुन दैनिक ३,५०० जनाको मृत्यु बराबर हो। यदि तत्काल दीर्घकालीन कदमहरु चालिएनन् भने सन् २०३० सम्ममा २८ लाख ५० हजार मृत्यु, ९५ लाख नयाँ संक्रमण, र थप २१ लाख क्यान्सरका नयाँ केसहरु हुने आंकलन गरिएको छ।

संक्रमक रोगहरूमध्ये भाइरल हेपाटाइटिस मृत्युको प्रमुख कारण भए तापनि, यसले अझै पनि एचआइभी वा क्षयरोग जस्तो विश्वव्यापी रूपमा प्राथमिकता पाउन सकेको छैन। 

नेपालको अवस्था
नेपालमा सामान्य जनसंख्यामा हेपाटाइटिस ‘बी’ र ‘सी’ को प्रकोप क्रमशः ०.९ प्रतिशत र ०.३८ प्रतिशत रहेको छ। तर, एचआइभी संक्रमित व्यक्ति र सुईबाट लागूऔषध प्रयोग गर्ने व्यक्तिहरू जस्ता उच्च जोखिम समूहहरूमा यो दर अझै बढी छ। तिब्बतसँग सिमाना जोडिएको दुर्गम हिमाली क्षेत्र माथिल्लो डोल्पामा, केही प्रकाशित अध्ययनहरू अनुसार, हेपाटाइटिस बी को प्रकोप १७ प्रतिशतसम्म रहेको छ। नेपालमा रोगको वास्तविक भार सम्बन्धी राष्ट्रिय तथ्यांक उपलब्ध नभएपनि, विश्वव्यापी आंकलन अनुसार नेपालमा करिब १ लाख १५ हजार जना हेपाटाइटिस सी संक्रमित छन् र तीमध्ये केवल १८ प्रतिशतको निदान भएको छ भने मात्र १ प्रतिशतले उपचार पाएका छन्। 

यी तथ्यांकहरूले रोगको भार र उपचार तथा हेरचाहमा पहुँचबीचको गम्भीर खाडल प्रस्तुत गर्दछ। किफायती परीक्षण तथा उपचार उपलब्ध भएपनि सेवामा न्यून पहँुच, जनचेतनाको कमी र आर्थिक कठिनाइका कारण धेरै संक्रमितहरूको अझै पनि न त पहिचान हुन सकेको छ न त उपचार नै पाउन सकेका छन्। सेवा र पहुँचबीचको यो खाडलले हेपाटाइटिस सम्बन्धी स्वास्थ्य सेवाहरू बिस्तार र ती सेवाहरूलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। 

हाल नेपालमा तोकिएका ९ वटा उपचार केन्द्रहरूले हेपाटाइटिस सी का लागि निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छन्, तर यी सेवा अझै पर्याप्त छैनन्। अधिकांश हेपाटाइटिस बी र सी संक्रमितहरूले निजी क्लिनिक वा अस्पतालबाट उपचार लिने गरेका छन्, जसका कारण विशेषगरी कलेजो सम्बन्धी गम्भीर रोग वा कलेजोको क्यान्सर भएको अवस्थामा उनीहरूले ठूलो आर्थिक भार बेहोर्नु परेको छ।  

यी चुनौतीहरूका बाबजुद पनि, नेपालले दृढ राजनीतिक इच्छाशक्ति र लक्षित जनस्वास्थ्य कार्यक्रमहरू  मार्फत सुधार सम्भव छ भन्ने प्रमाणित गरेको छ। सन् २०१९ मा पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण गर्न सफल विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका पहिलो देशहरूमध्ये नेपाल पनि बंगलादेश र भुटानसँगै एक बन्यो। यो उपलब्धि प्रभावकारी बाल खोप कार्यक्रमहरूको प्रतिफल हो।

यस महत्वपूर्ण उपलब्धिको आधारमा, भाइरल हेपाटाइटिस नियन्त्रणका लागि तयार गरिएको राष्ट्रिय रणनीतिक योजनाले सन् २०३० सम्म नयाँ संक्रमणहरूमा ९० प्रतिशत र मृत्युमा ६५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ। तर, यो योजनाको कार्यान्वयनमा बजेट तथा स्रोतको अभावका कारण चुनौतीपूर्ण बन्दै गइरहेको छ। 

अब कदम चाल्ने समय हो 
नेपालको संघीय स्वास्थ्य प्रणाली र बलियो प्राथमिक स्वास्थ्य सेवा सञ्जालले भाइरल हेपाटाइटिस सम्बन्धी सेवा विस्तार गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्यतर्फ अघि बढ्न रणनीतिक अवसर प्रदान गरेको छ। भाइरल हेपाटाइटिस सम्बन्धी सेवाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवाहरू र राष्ट्रिय स्वास्थ्य बीमा प्याकेजहरूमा समावेश गरेमा विशेषगरी सेवामा पहुँच नभएका समुदायहरूका लागि उपचारलाई अझ सुलभ र किफायती बनाउनेछ।

सेवाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विकेन्द्रीकरण गर्दै, स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई हेपाटाइटिस केस व्यवस्थापन सम्बन्धी आधारभूत सीपहरू प्रदान गर्न सकिएमा जीवनरक्षक उपचार सबैभन्दा बढी आवश्यक पर्ने व्यक्तिहरूसम्म पुर्‍याउन सकिन्छ। साथै, भाइरल हेपाटाइटिस सम्बन्धी भ्रम, लाञ्छना र विभेद विरुद्ध लड्नका लागि सटिक र प्रभावकारी सार्वजनिक शिक्षा प्रदान गर्नु आवश्यक छ।

यस विश्व हेपाटाइटिस दिवसमा, म सरकार, नीतिनिर्माताहरू, स्वास्थ्य सेवा प्रदायकहरू, नागरिक समाज र आम जनतालाई भाइरल हेपाटाइटिसको अन्त्यका लागि यो अवसरको उपयोग गर्न आह्वान गर्दछु। हामीले स्वास्थ्य सेवा पहुँचका अवरोधहरू हटाउँदै, लाञ्छना अन्त्य गर्दै, र सबैलाई रोकथाम, परीक्षण, उपचार र हेरचाहको अवसर सुनिश्चित गर्दै भाइरल हेपाटाइटिसको अन्त्यका लागि हाम्रो सामूहिक प्रयासलाई तीव्र पार्नैपर्छ। 

केही नगरी बस्नु विकल्प होइन। हाम्रो साझा प्रयासले जीवन बचाउन, नयाँ संक्रमणहरू रोक्न र नेपाललाई हेपाटाइटिसमुक्त बनाउन सक्छौं।

(डा राजेश सम्भाजिराव पाण्डव विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका प्रमुख हुन्। )
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट