काठमाडौँ । दर्जनौँ सरकारी वेबसाइटहरू एकाएक डाउन भएको पाइएको छ । शुक्रबार बिहानदेखि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका प्रमुख साइटहरू चल्न छोडेका हुन् ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) मा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरू प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको लाइनमा समस्या आएका कारण डेटा सेन्टरको विद्युत् आपूर्ति रोकिएको छ ।
संवेदनशील मानिएका साइटहरूलाई जनेरेटरको सहयोगमा सञ्चालनमा ल्याइएको भए पनि अन्य साइटहरू चल्न सकेका छैनन् । अबको केही समयमा बन्द भएका सम्पूर्ण साइटहरू पुनः सञ्चालनमा आउने महानिर्देशक शर्माले जानकारी दिए ।
त्यसो त काठमाडौँ सिंहदरबारमा रहेको एकीकृत डेटा सेन्टरमा समस्या आउँदा सरकारी सिस्टमहरूलाई ब्याकअप दिन हेटौँडामा रिकभरी साइट समेत बनाइएको छ । तर उक्त साइटले समेत धान्न नसक्ने गरी सरकारी सिस्टम तथा साइटहरू प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १०:३१
सामाग्री श्रोत :
टेक पाना