२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

५३ वर्षअघि नेपाल भित्रिएको झन्डै घर जत्रो त्यो पहिलो कम्प्युटर, कहाँ छ अचेल ?

काठमाडौँ । अहिले डिजिटल प्रविधिका विभिन्न स्वरूप हामीसँग छन्, हातमा स्मार्ट फोन, नाडीमा स्मार्टवाच, ब्यागमा ल्यापटप अनि टेबुलमा कम्प्युटर । यस्तोमा कम्प्युटर हाम्रो लागि एउटा सामान्य उपकरण बनेको छ ।  तर पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भने कम्प्युटर भन्ने बित्तिकै ५३ वर्ष पहिले थापाथलीस्थित तथ्याङ्क विभागमा रहेको ४ कोठामा पनि नअटाउने आईबीएमको दोस्रो पुस्ताको १४०१ मोडेलको कम्प्युटर याद आउँछ । 

विसं २०२८ असोजको महिना थियो । २१ वर्षका उप्रेती भर्खरै तथ्याङ्क विभागमा जागिर खान थालेका थिए । नेपालमा जनगणना १०/१० वर्षमा गरिने अभ्यास अनुसार त्यस वर्ष पनि जनगणनाको काम भइरहेको थियो । २०२८ सालभन्दा पहिले गरिएका जनगणनामा तथ्याङ्क निकाल्न नै पाँच वर्ष लागेको अनुभव सरकारसँग थियो । त्यही भएर छिटो जनगणना गर्न भन्दै त्यही वर्ष नेपालमा भारतबाट भाडामा एउटा कम्प्युटर ल्याइएको थियो । 

नेपाल सरकारले जनगणनाको डेटा प्रशोधनका लागि आईबीएम १४०१ कम्प्युटर भाडामा ल्याएको थियो । उक्त कम्प्युटरको मासिक भाडा १ लाख २५ हजार रुपैयाँ तिर्नु पर्थ्यो । जुन ५३ वर्ष पहिला चानचुने रकम थिएन ।

त्यो कम्प्युटर चलाउनेमा उप्रेतीसहितका तथ्याङ्क विभागका विभिन्न कर्मचारी थिए । उनीहरूलाई कम्प्युटर सिकाउन आईबीएम कम्प्युटरका एड्भाइजर जोन एन एडम्स र डीके राय नाम गरेका एक इन्जिनियर पनि नेपाल आएका थिए । 

 

उनीहरूले नै उप्रेतीसहित त्यस बेला तथ्याङ्क विभागमा प्रोग्रामिङ गर्ने अफिसरहरूलाई कम्प्युटर कसरी चलाउने र कसरी मर्मत गर्ने लगायतका विषयमा काम गराउँदै सिकाए ।

तर कम्प्युटर चलाउन सिकिरहेका नेपालका अफिसरहरूले कम्प्युटर देख्नुभन्दा पहिला कम्प्युटरको बारे सुनेका पनि थिएनन् । त्यसैले सानोतिनो घर जत्रो कम्प्युटर देख्दा दङ्गै थिए । 

उप्रेती भन्छन्, “सामान्य ४ ओटा कोठामा पनि नअटाउने कम्प्युटर थियो । तार र केबुलहरू त कति हुन् कति । कम्प्युटर कक्षमा जाँदा आउन सक्ने धुलोका कारण नबिग्रियोस् भन्नका लागि बाहिरै जुत्ता खोल्नुपर्थ्यो ।”

वि.सं २०२८ मा कम्प्युटर कक्षमा खिचिएको तस्बिर 

 

कसरी चल्थ्यो तथ्याङ्क विभागमा रहेको आईबीएम १४०१ कम्प्युटर ? 

नेपालमा कम्प्युटर भित्रिँदा नीलकण्ठ उप्रेती डेटा अपरेटरको रूपमा काम गर्थे । काम सुरु गरेको लगभग ६ महिनापछि विभागमा कम्प्युटर अपरेटरको रूपमा खटिए । पछि विसं २०३० मा लोकसेवा आयोगको परीक्षामा पास भएर नेपालकै पहिलो स्थायी कम्प्युटर अपरेटर बन्न सफल भए । 

थापाथलीमा काम गर्दै सिक्दै गरेर उनले कम्प्युटरसँग सम्बन्धित ज्ञान हासिल गरेका थिए । उप्रेती भन्छन्, “त्यो बेलासम्म  बाहिर गएर हामीले धेरै कुरा देखेका पनि थिएनौँ । जे सिक्यौँ, त्यहीँ सिक्यौँ ।” 

उनको सम्झनामा तथ्याङ्क विभागमा दुई ओटा ढोका भएको कम्प्युटर कक्ष थियो । कम्प्युटरले निकाल्ने तापक्रम पनि धेरै हुने भएकाले सन्तुलनमा राख्नका लागि चिसो र एयर कन्डिसनर भएको कोठा चाहिन्थ्यो । 

कम्प्युटरको लागि एउटा कक्षभित्र अर्को कक्ष भएको निकै ठुलो कोठा राखिएको थियो । बाहिरी कक्षमा डेटा इन्ट्री लगायतका काम हुन्थे भने भित्री कक्षमा कम्प्युटरका मुख्य उपकरण डिस्क, सीपीयू, मेमोरी आदी राखिएको हुन्थ्यो । 

त्यस समयको कम्प्युटरले अहिलेको कम्प्युटरले जस्तो मानिसका भाषाहरू बुझ्दैनथे । अझ नेपाली भाषा त बुझ्ने कुरा नै थिएन । त्यसैले सूचनाहरू कम्प्युटरलाई बुझाउन “पन्च्ड कार्ड” प्रयोग गर्नु पर्थ्यो । पन्च्ड कार्डमा विभिन्न किसिमका प्याटर्नहरू बनाइन्थ्यो । जसले विभिन्न अक्षर र अङ्कहरूको प्रतिनिधित्व गर्थ्यो र कम्प्युटरले त्यो भाषा बुझ्न सक्थ्यो ।

त्यस समयमा विभागमा साना साना डेटा इन्ट्री गर्न मिल्ने २८ ओटा मसिनहरू थिए । डेटा इन्ट्री गरिसकेपछि सही छ की छैन भनेर जाँच गर्न छुट्टै मसिन राखिएको हुन्थ्यो र यसको प्रमाणीकरण गर्ने छुट्टै अपरेटर हुन्थे ।  

त्यसपछि कम्प्युटरको रिडरले पन्च्ड कार्डमा बनेका प्याटर्नहरू रिड गर्थ्यो । रिडरले राखिएको डेटालाई रिड गरेपछि अस्थायी मेमोरीमा सूचना जान्थ्यो, जहाँ सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) ले डेटा प्रशोधन गर्थ्यो । 

त्यो कम्प्युटरको क्षमता पनि निकै कम हुन्थ्यो । “अहिलेका डिभाइसहरूको स्टोरेज टीबी (टेराबाइट) मा हुन्छ । क्लाउडमा पनि भण्डारण गरेर राख्न सकिन्छ ।” आईबीएम १४०१ को भने स्टोरेज क्षमता १६ केबी (किलोबाइट) रहेको उनी सम्झन्छन् । 

यस कारण कम्प्युटरले धेरै ठुलो तथ्याङ्क भण्डारण गर्न सक्दैनथे । जनगणनाका क्रममा भण्डारण गर्नुपर्ने डेटाहरू सीपीयूबाट प्रशोधन गरिसकेपछि म्याग्नेटिक टेपमा भण्डारण गरिन्थ्यो । विभागमा ६ ओटा म्याग्नेटिक टेपका युनिटहरू राखिएका थिए । तर म्याग्नेटिक टेपमा तथ्याङ्क भण्डार गर्न निकै झन्झटिलो काम रहेको उनी सुनाउँछन् ।  

म्याग्नेटिक टेप युनिट

 

तथ्याङ्क भएका रिलहरू कोठा भरी हुन्थे । तर केही गरि म्याग्नेटिक टेप कोरियो भने त्यसबाट डेटा निकाल्न सकिँदैनथ्यो । त्यसैले प्रशोधनको काम फेरि पहिलो चरणदेखि नै सुरु गर्नुपर्ने हुन्थ्यो । यता, विद्युत् सर्वसाधारणसम्म पुगिसकेको थिएन । तथ्याङ्क विभागमा विद्युत् त थियो, तर कम्प्युटर चलाउनका लागि निकै धेरै खपत हुन्थ्यो । त्यसैले समय समयमा बत्ती गइरहन्थ्यो । 

डेटा प्रशोधनको समयमा बत्ती गएमा कुन म्याग्नेटिक टेपमा डेटा भण्डारण भएको छ भनेर छुट्याउन समस्या पर्ने भएकाले बत्ति आएपछि डेटा प्रशोधनका काम पहिलो चरणदेखि नै सुरु गरिन्थ्यो । जेनेरेटर राखिएपनि त्यसले कम्प्युटरलाई आवश्यक पर्ने जति विद्युत् निकाल्न सक्दैनथ्यो । डिजेल अत्याधिक मात्रामा चाहिने भएकाले यो निकै खर्चिलो पनि हुन्थ्यो । 

तर पनि काम गर्दै जाँदा कम्प्युटरको प्रयोगले पहिले ५ वर्ष लाग्ने जनगणनाको काम १८ महिनामा सम्पन्न भएको उनी सुनाउँछन् । त्यस बेलामा काम गर्न निकै चुनौतीपूर्ण भए पनि डेटा प्रशोधनको काम रमाइलो लाग्ने गरेको उप्रेती सुनाउँछन् । “त्यो बेलामा त कम्प्युटर भन्दा खत्रा कुरा अरू केही बन्न सक्छ जस्तो नै लाग्दैनथ्यो । जे हो, यही नै हो जस्तो लाग्थ्यो ।” उनी भन्छन्, “अहिलेका मान्छेसँग त त्यो कम्प्युटर चलाउनका लागि चाहिने धैर्यता पनि छैन । पछि गएर अहिले जस्तो प्रविधिको जमाना आउँछ भनेर हामीलाई थाहा पाएको भए त्यति दुःख गरेर काम गर्दैनथ्यौँ जस्तो लाग्छ ।” 

 

अनि भाडामा ल्याइएको कम्प्युटर नेपालमै रहने भयो

२०३० सालतिर जनगणनाको तथ्याङ्क प्रशोधनको काम सकियो । त्यसपछि कम्प्युटर कृषि गणना, पशु गणना, नेपालको राजस्व, नेपालमा आएका पर्यटकहरूको तथ्याङ्क आदिलाई प्रशोधन गर्ने कार्यमा उपयोग हुन थाल्यो ।  त्यही समयमा कम्प्युटर नेपालमै राख्ने की फिर्ता गर्ने भनेर अध्ययन गर्न सरकारको तर्फबाट उच्च अधिकारीको समिति पनि बन्यो । 

समितिले नेपालमा नै कम्प्युटर राख्ने निष्कर्ष निकाल्यो । संसारमा नयाँ पुस्ता तथा आईबीएम १४०१ भन्दा विशिष्ट किसिमका कम्प्युटर आइसकेका थिए । नेपालमा भएको कम्प्युटर निकै पुरानो पनि भइसकेको थियो । त्यसैले भारतले पनि कम्प्युटरलाई फिर्ता लिन चासो देखाएन । 

त्यसपछि उक्त कम्प्युटर सञ्चालनका लागि विसं २०३३ ताका “यान्त्रिक सारिणीकरण केन्द्र”को स्थापना गरियो ।  जसको अङ्ग्रेजी अर्थ “electronic Processing Center” हुन्छ । विकास समितिको रूपमा स्थापना गरिएको उक्त केन्द्र सरकारअन्तर्गत चल्ने स्वतन्त्र संस्था थियो । 

यान्त्रिक सारिणीकरण केन्द्र सञ्चालनमा आएपछि थप कर्मचारी थप्ने र अन्य सरकारी अफिसरहरूलाई पनि कम्प्युटर सम्बन्धी तालिम दिन थालियो । पछि नामको कारणले यान्त्रिक सारिणीकरण केन्द्र भनेको के हो भनेर बुझ्न समस्या भएकाले  ४० को दशकमा यसको नाम परिवर्तन गरेर “राष्ट्रिय कम्प्युटर केन्द्र” बनाइएको थियो । 

केन्द्रको स्थापना भएपछि कम्प्युटरलाई थापाथलीस्थित तथ्याङ्क विभागमा राख्नुभन्दा पनि सिंहदरबारमा सुरक्षित तरिकाले राख्नुपर्ने भन्दै सिंहदरबारमा सारियो । त्यसपछि आईबीएम कम्प्युटर पनि सिंहदरबारमा लगिएको थियो । 

सिंहदरबारबाट दक्षिण ढोकाबाट भित्र जाँदा दायाँ पट्टी गुप्तचर भवन छ । त्यसभन्दा पल्लो भवनमा कम्प्युटर केन्द्रको भवन थियो । उक्त भवनको बाहिर फोर डाइमेन्सनको स्कल्प्चर आर्ट समेत बनाइएको छ । केही समयअघि सिंहदरबार जाँदा आफूले नेपालको पहिलो कम्प्युटर हेर्न खोजेको उप्रेतीले सुनाए । 

उनले भने, “बाहिरबाट दुई ओटा ताल्चा ठोकिएको रहेछ । भित्र गएर हेरौँ भन्दा ताल्चा कसले लगाएको हो थाहा नै छैन भने । त्यो कम्प्युटरलाई त सङ्ग्रहालयमा लगेर राख्नुपर्ने हो ।” हाल उक्त भवन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको उनले सुनाए ।

 

शिक्षामन्त्रीले कम्प्युटरलाई मन्त्रालय ल्याउनु भनेपछि…

तत्कालीन समयमा एसएलसीको परीक्षा माघ हुन्थ्यो र जेठमा नतिजा सार्वजनिक गरिन्थ्यो । विभिन्न निकायको डेटा इन्ट्री गर्दै आएको केन्द्रले २०३६ सालमा भने पहिलो पटक कम्प्युटरमा एसएलसीको नतिजाको डेटा इन्ट्रीको काम सुरु गरेको उनले सुनाए । 

“पहिलो पटक डेटा इन्ट्री गराउने काम गर्दा समस्या आइरहेको थियो । काम गर्न ढिलो पनि भइरहेको थियो । यो कुरा केही व्यक्तिले मन्त्रीलाई गएर सुनाएछन् । मन्त्रीले ‘त्यसलाई यहीँ बोलाउनुस्’ भनेछन् । सानोतिनो घरमा नि नअट्ने कम्प्युटरलाई कसरी लैजानु । ” 

कहिले तथ्याङ्क विभाग त कहिले सिंहदरबार गरेर लगभग १० वर्षसम्म नेपालमा एउटा मात्र कम्प्युटर सञ्चालनमा आएको उनी सुनाउँछन् । त्यसपछि नेपालमा दोस्रो कम्प्युटरका रूपमा विसं २०३८ सालमा आईसीएल २९५० कम्प्युटर जनगणनाकै लागि भित्रियो । यो कम्प्युटरमा डेटाहरू राख्न पन्च्ड कार्डको आवश्यकता पर्दैन थ्यो । किबोर्डबाट डेटा इन्ट्री गर्न सकिन्थ्यो भने इन्पुट के राखियो भनेर हेर्न सकिने स्क्रिन पनि उपलब्ध थियो । 

कम्प्युटरसँग सम्बन्धित तालिम लिन उप्रेती २०४५ सालमा भारत पुगे । उनले गुजरातको आईआईएम इन्स्टिच्युटबाट कम्प्युटर बेस इन्फरमेसनको तालिम लिए । तर नेपालमा कम्प्युटर सम्बन्धी शिक्षा दिने केन्द्र नै थिएनन् । त्यसैले राष्ट्रिय कम्प्युटर केन्द्रले निकट भविष्यमा कम्प्युटर चलाउन आवश्यक पर्ने अफिसरलाई सामान्य कम्प्युटरसँग सम्बन्धित तालिम दिन थाल्यो। 

त्यसका लागि ‘एबीसी अफ कम्प्युटर’ नाम दिएर कम्प्युटरको सामान्य जानकारी दिने तालिम सञ्चालन गरिएको थियो । उक्त तालिम शिक्षा मन्त्रालय, सञ्चय कोष, एयरलाइन्स, लेखा परीक्षण कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, इन्जिनियरिङसँग सम्बन्धित व्यक्ति तथा सेना र प्रहरीका अफिसहरूलाई प्रदान गरिएको उनले सुनाए । 

कम्प्युटर सम्बन्धी एबीसी कोर्सको तालिम दिँदै नीलकण्ठ उप्रेती

 

तर पछि गएर राष्ट्रिय कम्प्युटर केन्द्र खारेज हुनु दुखद् समाचार भएको उनी सुनाउँछन् । कम्प्युटर प्रविधिको विकास तीव्र गतिमा भइरहेको बेलामा राष्ट्रिय कम्प्युटर केन्द्रको आवश्यकता नदेखिएको भन्दै सरकारले केन्द्र नै खारेज गरिदिएको थियो । “सरकारले दशैँ तिहारको बिदा पारेर केन्द्र नै खारेज गरिदियो । त्यो बेलामा धेरै कर्मचारीहरूले जागिर गुमाउनु पर्‍यो,” उनी भन्छन् ।

प्रविधिको द्रुत विकास हुँदा कम्प्युटर केन्द्रले समय अनुसार आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउँदै हालसम्म सञ्चालनमा आउनसक्ने उप्रेती  ठान्छन् । “केन्द्रसँग भवन थियो । काम गरेको अनुभव थियो, कर्मचारीहरू थिए । त्यसको काम गर्ने तरिकामा रूपान्तरण गरेर क्षमता अभिवृद्धि गर्ने काम गर्न सक्थ्यो । पछि गएर इन्जिनियरिङ इन्स्टिच्युटको रूपमा पनि रूपान्तरण हुन सक्थ्यो ।”

कम्प्युटर ल्याबको भ्रमण गर्दै राजा वीरेन्द्र

 

मतदाता नामावली निकाल्न पहिलो नेपाली फन्टको विकास

विसं २०४२ सालमा तत्कालीन पञ्चायत सरकारको पञ्चायत निर्वाचनका लागि कम्प्युटरबाट मतदाता नामावली राख्न भनिएको थियो । राजा वीरेन्द्रले १६ जिल्लाको मतदाता नामावली कम्प्युटरबाट निकाल्न आदेश दिएका थिए । यस कामको अगुवाइ प्रमुख निर्वाचन आयुक्तले गरेका थिए । “त्यति बेला सम्म नेपालमा नेपाली फन्टको विकास नै भएको थिएन । मतदाता नामावली नेपालीमा नभइ जनताले बुझ्न सक्दैनथे । त्यसपछि बागबजार तिरका टेक्निकल मान्छे र कम्प्युटर केन्द्रका इन्जिनियरहरू मिलेर पहिलो पटक नेपाली फन्ट विकास गरिएको थियो ।”  

पहिलो पटक निजी र सरकारकी संस्थाको सहकार्यमा तयार पारिएको संस्कृत शैलीका नेपाली अक्षर लेख्ने “देवनागरी लिपी” फन्टको प्रयोग गरेर २०४२ सालको राष्ट्रिय पञ्चायत निर्वाचनका लागि मतदाता नामावली तयार पारिएको उनले सुनाए । 

नेपालका कम्प्युटरको सुरुवाती चरण देखेका उप्रेतीले कम्प्युटरको नाम नै थाहा नभएको समाजदेखि डिजिटल दुनियाँमा बाचेको अहिलेको समाजसम्म देखेका छन् । संसारमा प्रविधिको विकास निकै तीव्र गतिमा भएको छ । उनी भन्छन्, “समयसँगै प्रविधिको विकास द्रुत गतिमा भयो । कम्प्युटरको आकार र मूल्य दुबै निकै घट्यो । मानिसहरूलाई प्रयोग गर्न सजिलो पनि बन्दै गयो र यसलाई प्रयोग गर्ने इच्छा र चासो पनि व्यापक भयो ।” नेपालमा २०४० को दशक तथा संसारमा १९८० को दशकमा द्रुत रूपमा कम्प्युटरको विकास भएको उनको बुझाई छ ।   

तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई निर्वाचन आयोगका कम्प्युटर देखाउँदै नीलकण्ठ उप्रेती

 

उप्रेतीले विसं २०४७ सालमा बेलायत गएर कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर गरे । त्यसपछि निर्वाचन आयोगलाई आधुनिकीकरण र कम्प्युटरमैत्री बनाउनुपर्‍यो भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मार्फत आफूलाई तथ्याङ्क विभागबाट निर्वाचन आयोगमा सरुवा गर्न लगाए । निर्वाचन आयोगमा रहेर उनले आयोगलाई डिजिटलाइजेसन गर्ने काम गरे । उनी भन्छन्, “२०४२ सालमा मतदाता नामावली बनाएकै कारण मलाई निर्वाचन आयोगमा लगिएको थियो जस्तो लाग्छ ।”

निर्वाचन आयोगमा रहँदा कामको सिलसिलामा नै उनी अफगानिस्तानमा समेत निर्वाचन गराउन पुगेका थिए । त्यसपछि निर्वाचन आयोगमा नै कार्यरत रहेका उनी ६ वर्षभन्दा लामो समय निर्वाचन आयुक्त बन्दै दुई कार्यकालसम्म प्रमुख निर्वाचन आयुक्त भए । २०६९ फागुनमा प्रमुख निर्वाचन आयुक्त बनेका उनले २०७२ वैशाखमा अवकाश लिए । 

त्यसयता रिटायर्ड जीवन बाँचिरहेका उप्रेती पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको विकास देखेर दङ्ग छन् । उनी भन्छन्, “पहिले कम्प्युटरले मान्छेले बोल्ने सामान्य भाषा बोल्दैनथ्यो/बुझ्दैनथ्यो । अहिले बोलेको भरमा लेखिदिन्छ । मेमोरि सकिन्छ भन्ने चिन्ता नै छैन । केही नजानेर एआईलाई प्रश्न सोधियो भने मज्जाले बुझाइ दिन्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ ११:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट