काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘शार्क ट्याङ्क नेपाल’ बाट एक करोड दुई लाख रुपैयाँ लगानी सुरक्षित गरेको एडटेक स्टार्टअप ‘मेरो कोडिङ क्लास’ले देशभरका विद्यार्थीलाई लक्षित गर्दै एक महिने कोडिङ कोर्स सञ्चालन गर्ने भएको छ । यसअघि १० हजार रुपैयाँ शुल्क रहेको कोर्स कम्पनीले अफर अन्तर्गत ५० प्रतिशत छुटका साथ पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

१ साउनदेखि सुरु हुने प्रोग्रामिङको कक्षामा सहभागी हुन इच्छुक ६ देखि १८ वर्षसम्मका बालबालिकाले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।
कम्पनीका सहसंस्थापक मुकुल भट्ट र सबिन कार्कीले शार्क ट्याङ्कमा १० प्रतिशत इक्विटी बराबर ३० लाख रुपैयाँ लगानी माग गरेका थिए । तर, उनीहरूको प्रस्ताव र योजनाबाट प्रभावित भई शार्क क्याबिनेट श्रेष्ठ र हेमराज ढकालले ३४ प्रतिशत शेयर स्वामित्व लिने गरी एक करोड दुई लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेका हुन् ।
कम्पनीले प्राप्त लगानीलाई काठमाडौँ उपत्यका बाहिर आफ्नो पहुँच विस्तार गर्न उपयोग गर्ने जनाएको छ । सहसंस्थापक सबिन कार्कीले भने, “हाम्रो लक्ष्य सबै बालबालिकालाई सफ्टवेयर डेभलपर बनाउनु मात्र होइन, भोलि डाक्टर वा इन्जिनियर बन्ने विद्यार्थीले पनि प्रविधि कसरी चल्छ भन्ने बुझोस् र आफ्नो क्षेत्रमा नवप्रवर्तन गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।”

चार वर्षअघि स्थापना भएको ‘मेरो कोडिङ क्लास’ले हालसम्म देशभरका ३५ विद्यालयसँग सहकार्य गरी चार हजारभन्दा बढी विद्यार्थीलाई प्रोग्रामिङ सिकाइसकेको छ । कम्पनीले विद्यार्थीको सहजताका लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट कक्षाहरू सञ्चालन गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ २१:४५
सामाग्री श्रोत :
टेक पाना