२०८२ असार २६ बिहीबार
LATEST NEWS
२०८२ असार २६ बिहीबार

भुक्तानीका लागि ओटीपी कोड लिन टावर आउने ठाउँमा गएका थबाङ गाउँपालिकाका ७ कर्मचारी बेपत्ता

काठमाडौँ । रोल्पाको विकट थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने वन टाइम पासवर्ड (ओटीपी) लिन छिमेकी जिल्ला रुकुम पूर्व गएको टोली दुई दिनदेखि गायब भएको हो  ।

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर नेतृत्वको टोली २४ असार बिहान ७ बजेदेखि सम्पर्कमा नआएको जानकारी दिएका छन् । विज्ञप्ति अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले २३ असार राति नै भुक्तानी प्रयोजनका लागि ओटीपी लिन रुकुम पूर्व जान लागेको जानकारी गराएका थिए । 

गाउँपालिकाको कार्यालय रहेको स्थानमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्ने भएकाले अनलाइन भुक्तानी प्रणालीका लागि आवश्यक ओटीपी लिन कर्मचारीहरू टावर टिप्ने डाँडा वा नजिकैको जिल्लासम्म जानुपर्ने बाध्यता छ ।

सम्पर्कविहीन हुने टोलीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले गरेका थिए । टोलीमा सहायक प्रशासन पाँचौ तहका हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सब-इन्जिनियरद्वय चन्द्रप्रकाश वली र निशा आचार्य, खा.पा.स.टे. शिव कुमार वली तथा सवारी चालक प्रदिप केसी रहेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको र खोजी कार्य गर्दा रुकुम पूर्वमा समेत नभेटिएकाले कार्यालयको कामकाजमा समस्या भएको छ,” विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले सम्पर्कविहीन कर्मचारीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ भने उनीहरूका बारेमा जानकारी भएमा पालिकामा खबर गरिदिन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृतसहित महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारी एकैसाथ सम्पर्कबाहिर रहँदा आर्थिक वर्षको अन्त्यमा हुने भुक्तानी तथा अन्य प्रशासनिक काम पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २३:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट