काठमाडौँ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाम र लोगो दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालनमा रहेको पाइएको छ । कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली पेजबाट सचेत रहन आग्रह गरेको हो ।

कार्यालयको नाम र लोगो दुरुपयोग गर्दै त्यस्ता पेजबाट फैलाइने अफवाहलाई विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीका अनुसार, कार्यालयको आधिकारिक फेसबुक पेज ‘Madhesh Province Police Office, Janakpurdham’ हो । यही पेजबाट कार्यालयले आफ्ना नियमित गतिविधि र सूचना सार्वजनिक गरिँदै आएको छ । तर, ‘Madheshpolice Janakpurdham’ नामको नक्कली पेज बनाएर नेपाल प्रहरीको लोगो दुरुपयोग गरी विभिन्न भ्रामक हल्ला तथा अफवाह फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।
विज्ञप्तिमा उक्त नक्कली पेजमा रहेका सामग्रीलाई लाइक, कमेन्ट वा शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । “फेक आईडीबाट फैलाइएका अफवाहहरूलाई लाइक, कमेन्ट र शेयर नगर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

नक्कली पेज सञ्चालन गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
३२०० बढी फलोअर भएको उक्त फेसबुक आईडीबाट प्रहरीलाई बदनाम गर्ने किसिमले राजनीतिक विषय वस्तुका पोस्ट राखिएको देखिन्छ । १७ फेब्रुअरीमा उक्त आईडीबाट नेपाल प्रहरीको बर्दीमा रहेका एक व्यक्ति र अन्य युवकले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा खिचेको फोटो राखेको देखिन्छ । त्यसपछि केही प्रहरीसँग सम्बन्धित पोस्ट राखिएका छन् भने अधिकांश राजनीतिक विषय र देशमा पछिल्लो समय भइरहेका घटनाक्रमको जानकारी पोस्ट गरिएको देख्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ २३:१०
सामाग्री श्रोत :
टेक पाना