२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

सामाजिक सञ्जालको ट्रेन्डिङमा कुलमान र बालेन

काठमाडौं । सामाजिक सञ्जाल यतिबेला कुलमान घिसिङ र बालेनमय बनेको छ । कुलमानलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फेसबुकमा आफ्नो कर्मचारीले तलब नपाएको आक्रोशसहित राखेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया दिइरहेका छन् । 

एक्स (पहिलेको ट्वीटर)मा कुलमान घिसिङ नेपालको ट्रेन्डिङ वनमा परेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको खबर बाहिरिए लगत्तै एक्स प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया राखेका छन् । त्यस्तै फेसबुकमा पनि कुलमान घिसिङ ‘पपुलर नाउ’ (Popular Now) मा परेका छन् ।  उनीबारे सयौं पोस्ट तथा हजारौं कमेन्ट गरिएका छन् ।

घिसिङको कार्यकालमा भएको लोडसेडिङको अन्त्य र विद्युत आपूर्तिको सुधारलाई लिएर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको समर्थन गरेका छन् भने मन्त्रिपरिषदको निर्णयको आलोचना गरेका छन् । 

सरकारको आलोचना गर्नेमा सत्तापक्षकै नेतादेखि विपक्षी दल र सर्वसाधारणसम्म छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्को निर्णय बाहिरिए लगत्तै सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असहमति जनाएका छन् । यसैगरी, कांग्रेस नेता शेखर कोइरालाले पनि सरकारको कदमको विरोध गरे ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि रास्वपा सभापति रवि लामिछाने र अन्य विभिन्न नेता तथा कार्यकर्ताले पनि सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका छन् ।

घिसिङको कार्यकालमा भएको लोडसेडिङको अन्त्यलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बिजुली नभइ मैनबत्ती बालेका तस्बिर पनि शेयर गरिरहेका छन् । 

फेसबुकमा घिसिङको तस्बीरमा फोटो क्याप्सन राख्दै अन्जु तामाङ लेख्छिन्, “प्रतिस्पर्धा त निकाल्नेकै चलेको थियो नि । कुलमानले बत्ती, सरकारले कुलमान ।” 

यस्तै ‘ishkaa’ नामको एक्स ह्यान्डल भएको प्रयोगकर्ता लेख्छिन्, ‘kulman ghising was removed, but corruption stays. load-shedding on the way, jobs disappearing, youth fleeing—Nepal is sinking while the corrupt call themselves leaders.we do not deserve darkness again — बोल्ने कि फेरि मैनबत्ती बाल्ने ?’

 यसैगरी ओली सरकारको विरोध गर्दै डा. मित्र परियार लेख्छन्, “राम्रो पर्फमेन्स गरेका कुलमान घिसिङलाई हटाएर ओली सरकारले चरम भ्रष्ट र जातिवादी कर्म गरेको छ ! सायद अदालतले न्याय देला ! Government has shown its casteist character by firing Kulman Ghising – a Tamang who’s efficiently led the electricity authority.”

‘डेभिल कान्छो’ ह्यान्डल गरेका प्रयोगकर्ताले पुराना नेताको विकल्पमा नयाँ पार्टीले देशको जिम्मेवारी लिनुपर्ने आशयको पोस्ट गरेका छन् । 

  यस्तै दिनेश लामिछाने फेसबुकमा लेख्छन्, “कुरा यत्ति हाे … लोडसेडिङका वेला उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा उपयोग गरेको बिजुलीको जरिवानासहित आठ अर्ब २६ करोड उठाउने अडानमा कुलमान थिए ।” तर…उनलाई हटाइयाे ! #kulmanghising #loadsending छ्या ! सरकारकाे जति विराेध गरेपनि कम हुन्छ ।”

 

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले फेसबुकमा घिसिङसँगको तस्वीर राख्दै “कुलमान नेपाली कुलकै उज्यालो हुन । अन्धकार बनाउन हुँदैन थियो ।” यो विषयलाई लिएर आम सर्वसाधारणले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा व्यक्त गरिरहेका छन् । 


यसैबिच सोमबार राति १०:१७ बजेतिर कामपा मेयर बालेनले आफ्नो फेसबुकमा स्टाटस राखे । उनले आफ्नो कर्मचारीहरूको तलब रोक्का गरेको भन्दै जिम्मेवार सबैलाई टुकुचामा गाड्दिने भन्दै धम्कीपूर्ण शैलीमा स्टाटस राखेका थिए ।

“काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!” बालेनले लेखेका छन् ।

 

यो समाचार तयार पार्दासम्म उनको स्टाटसमा ३ लाख ९१ हजारले रियाक्ट गरेका छन् भने करिब ७६ हजार कमेन्ट छन् । साढे २७ हजारले भने स्टाटस शेयर गरेका छन् । 

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १४:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट