नेपाल जस्तो विविधता भएको मुलुकमा शिक्षा प्रणालीको दायित्व केवल किताबी ज्ञान प्रदान गर्नु मात्र होइन, जनताको सुख समृद्धि भलाइमा आधारित समाधान खोज्नु पनि हो। देशका हिमाली दुर्गम बस्तीदेखि शहरको व्यस्तता भित्र अनेकौँ कथा लुकेका छन्, ती अवसर, समस्या र चुनौतीहरुलाई पहिचान गरी त्यस सम्बन्धमा उचित नीति निर्माणको लागि आवश्यक प्रमाण संकलन र उपायको खोजी गर्ने जिम्मेवारी विश्वविद्यालयको हुनु पर्दछ, जहाँ जीवनमा अर्थ राख्ने प्रश्न र तथ्यमा आधारित समाधानहरू खोजिन्छन् । यो नै समुदायको भलाइलाई अग्रता दिने स्वभाविक दिशा हो। तर दुःखको कुरा, नेपालका विश्वविद्यालयहरू आज पनि अनुसन्धानले केन्द्रिय स्थान पाउन सकेको छैन- विशेष गरी स्वास्थ्य र सामाजिक सरोकारका विषयहरूमा। यो लेख अनुसन्धान संस्कृतिको यथार्थ, केही प्रेरणादायी अभ्यास,चुनौतीपूर्ण अवस्थाहरूर सुधारका सम्भावनाहरूमा केन्द्रित छ।
नेपालमा मातृ र शिशु मृत्युदर अझै उच्च छ । बालबालिकाको कुपोषण चिन्ताजनक अवस्थामा छ । नसर्ने रोगहरू बढ्दो क्रममा छन् । मानसिक स्वास्थ्य, उपेक्षित उष्ण तटीय रोगहरू भित्र-भित्रै व्यापक रुपमा फैलिदै छन। बढ्दो क्रममा रहेको बृद्दहरुको जनसंख्याका कारण समाज, परिवार, र स्वय् त्यो समूहका मानिसले भोग्दै आएको विषम् परिस्थिती कतिपय अवस्थामा समस्याको रुप लिँदैछ । यस्ता जटिल स्वास्थ्य समस्याहरूको समाधान केवल नया अस्पताल वा स्वास्थ सस्था थप्दैमा वा अन्य उपचार सेवा विस्तारबाट सम्भव छैन । यसको लागि तथ्य प्रमाणमा आधारित नीति,समुदायको आवाज समेटिएको दृष्टिकोण र निरन्तरको अनुगमन चाहिन्छ। यसको लागि आधार भनेकै वर्तमान अवस्थाबाट अघि बढ्न मार्गनिर्देश गर्ने अनुसन्धान हुने गर्दछ।
उदाहरणका लागि,देशका केही ग्रामीण बस्तीहरूमा किन महिलाहरू गर्भजाँच गर्न, स्वास्थमा प्रसूती होस या प्रसूती पछीको जाचको लागी किन आई रहेका छैनन्? हाम्रा सबै बच्चाहरूको खोप, पोषण होस् या सामान्य बिमारी पर्दा उचित स्वास्थ उपचार किन पाइरहेका छैनन्? किन तराईको उर्बर भूमिमा पनि धेरै मानिसहरु कुपोषित छन्? किन हाम्रा युवाहरू बढ्दो क्रममा मनोबैज्ञानिक सेवाको आवश्यकता महसुस गरिरहेका छन्? तिनको आवाज के हो? यस्ता प्रश्नहरू झुटो आश्वाशन, बहकाई, सानातिना अनुदान, सहयोग, तालिमले मात्र समाधान हुँदैन। स्थानीय सन्दर्भलाई बुझ्ने अनुसन्धान गरी त्यसको बस्तुपरक कार्यान्वन बिना वास्तविक परिवर्तन सम्भव छैन।
विश्वविद्यालयहरु के गर्दैछन् ?
नेपाल जस्तो सानो देशमा पनि १३ वटा विश्वविद्यालय, अनि त्यति संख्यामा बिषय केन्द्रित स्वायत्त शैक्षिक प्रतिष्ठानहरु खुलेका छन । ति अधिकांश विश्वविद्यालयहरूमा अनुसन्धान खासै प्राथमिकता पर्दैन । त्यहाँ अनुसन्धानको बारेमा पढाइ हुन्छ । आजकल स्नातक र स्नातकोत्तरका विद्यार्थीहरू थेसिस लेख्छन्,तर त्यो प्रायः औपचारिकता मात्रै हुन्छ। त्यस्ता थीसिसहरु कलेजमा बुझाउनमा मात्र सिमित हुन्छ । उनीहरुलाई अध्ययनको लागि प्रेरित गर्नु पर्ने प्राध्यापकहरू आफैँ पनि उचित वातावरण नपाएर आफनै अघुवईमा जीवन जगत र विज्ञानका लागि उपयोगी अध्ययन गर्न सकी रहेका छैनन् । उनीहरुलाई अध्ययनबृति सहज छैन, जेनतेन केही अध्ययन गर्दै रहेकाहरु पनि बिभिन्न व्यवस्थापकीय र प्रकाशनको झन्झटले जुधिरहेका हुन्छन्। फलस्वरूप कतिपय अब्बल प्राध्यापकहरू गहन अध्ययन भन्दा पनि प्रशासनिक वा राजनैतिक नियुक्तिको पछि लाग्दछन्।
प्राध्यापकहरु कै अनुसन्धानको अवस्था दयनीय भएको परिप्रेच्छामा कलेजले विद्यार्थीहरूलाई अनुसन्धानका नाममा केवल सर्भे फारम भराउने गरेका छन्। अनुसन्धान केवल डिग्री पूरा गर्नुपर्ने बन्धन जस्तो देखिन्छ। शिक्षाको यो अवास्था हुदा पनि विश्वविद्यालयहरु स्वय, विश्वविद्यालय अनुदान आयोग, सरकारी वा गैरसरकारी लगायत अन्य निकायहरुले विषय केन्द्रित भएर विश्वविद्यालयलाई अध्ययनको संस्कृती बिकासका लागि प्रयास गरेको पाइँदैन ।
एक त सरकारले बार्षिक कार्यक्रममा अध्ययन अनुशन्धानमा निक्कै काम बजेट छुट्याउने गरेको छ, त्यसमा पनि त्यस्ता अध्ययनहरु आन्तरिक प्रतिष्पर्धाबाट विश्वविद्यालय र विषय बिज्ञहरुलाई दिने गरेको छैन । फलस्वरूप उपलब्ध सिमित अध्ययनको बजेट पनि अनुत्पादक हुने गरेको छ।
स्वास्थ्य अनुसन्धानका केही आशलाग्दा उदाहरणहरू
सकारात्मक उदाहरणहरू पनि प्रशस्त छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो जनस्वास्थ्य कार्यक्रममा ‘डिजिटल हेल्थ’को परीक्षण गर्दै आएको छ। ललितपुरका ग्रामीण पालिकासँग सहकार्यमा गरिएको ‘डिजिटल परिवार स्वास्थ्य प्रोफाइल’ परियोजनाले समुदायमै स्वास्थ्य डेटा संकलन गरेर स्थानीय निर्णय प्रक्रियामा अनुसन्धानको प्रयोग गरिरहेको छ। त्यस्तै बिभिन्न रोग र तिनका औषधिको बारेमा पनि थुप्रै अध्ययन गरिएको छ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र ठूलो विश्वविद्यालय भएकोले यसले पनि बिगतमा धेरै राम्रा अध्ययन गरेको हो तर आजकल भने त्यहाँ पनि अध्ययनको नाममा सानातिना सर्भेमा सिमित हुने गरेको छ । काठमाण्डौं विश्वविद्यालयले नेपाल सरकारको स्रोत, विदेशी सहयोगमा स्वास्थमा केही आशलाग्दा केही अनुसन्धानका काम गर्दै आएको छ । त्यसका अलावा अन्य विश्वविद्यालयहरु र प्रतिष्ठानहरुले पनि केही अनुसन्धान गतिबिधि गरेका होलान । तर जब अनुसन्धान समुदाय र मानिसको जीवन र जगतका बिबिध सवालको उत्तर खोज्नसँग जोडिन्छ तब मात्र अनुसन्धानले अर्थ राख्छ। दुःखको कुरा,स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि अनैतिक अभ्यासहरू फैलिएका छन्। उदाहरणका लागि,कसैको स्वार्थ सिद्धी लागि अध्ययनको नतिजा प्रभावित पार्ने जस्ता काम हुने गर्दछ । हाम्रो बजारमा ब्यापक प्रचलनमा रहेका न्युत्रास्युटिकल त्यसका उदाहरण हुन् । स्वास्थ्य अनुसन्धानमा यस्तो अभ्यासले सार्वजनिक नीतिमा भ्रम फैलाउने,स्वास्थ प्रणाली बिगार्ने र जनस्वास्थ्यमा खतरनाक असर पार्न सक्छ।
अनुसन्धान संस्कृतिको जगेर्ना
नेपालमा विश्वविद्यालय तहको शिक्षामा अध्ययन र अनुसन्धानको संस्कृति विकास गर्ने प्रयासहरू पछिल्लो दशकमा केही सशक्त बनेका छन्। सरकारी तर्फ,विश्वविद्यालय अनुदान आयोगले अनुसन्धान अनुदान,फ्याकल्टी र थेसिस सहयोगजस्ता कार्यक्रममार्फत शिक्षण संस्थाहरूलाई अनुसन्धानमैत्री बनाउने प्रयत्न गरिरहेको छ। राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, स्वास्थ तथा जनसख्या मन्त्रालय लगायत अन्य मन्त्रालयले मातहतका निकाय मार्फत नीति निर्माणमा सहयोग पुग्ने गरी अनुसन्धानलाई प्राथमिकता दिन थालेका छन्। यसै उद्देश्यका साथ उच्चस्तरमा नीति अनुसन्धान परिषद समेत गठन भएको छ । यदपी यस्ता निकायको कार्यक्रम कुनै विश्वविद्यालयले पाएका उदाहरण बिरलै छन । अर्को तर्फ, स्वास्थ र शिक्षामा राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूबाट पनि केही अनुसन्धान सहयोग गर्ने प्रतिबद्दता गरेको देखिन्छ। उनीहरु पनि त्यस्तो सहयोग विश्वविद्यालयहरूसँग सहकार्यमा गर्दै अनुसन्धान लगानी,तालिम तथा प्राविधिक सहयोग पुर्याउँन उत्साहित देखिँदैन।
अबको बाटो
नेपालमा अनुसन्धान संस्कृतिको विकास अब विलासिता होइन,आवश्यकता हो। त्यसका लागि अनुसन्धानका लागि मार्गचित्र कोर्ने, विद्यार्थी अनुसन्धानलाई वास्तविक बनाउने, प्राध्यापकको समय संरचना पुनर्विचार गर्ने, सरकारी नीति अनुसन्धानमैत्री बनाउने उपायहरू तत्काल चालिनुपर्छ ।
नीति अनुसन्धान परिषद, स्वस्थ्य अनुसन्धान परिषद लगायतका निकायहरुलाई देशमा अध्ययनको वातावरण सृजना गर्न र नैतिक अनुगमन सुदृढ बनाउने परिलक्षित हुनु पर्दछ, त्यसका लागि समुदायमा आधारित अनुसन्धानका लागि स्पष्ट मार्गनिर्देश दिनुपर्छ। अनुसन्धान संस्थानहरूले गर्ने कामलाई ब्यबस्थित गर्न भूमिका खेल्नु पर्छ । अर्कोतर्फ विद्यार्थी अनुसन्धानलाई वास्तविक बनाउने अवसर छ । स्नातक र स्नातकोत्तर तहका अनुसन्धान परियोजनालाई स्थानिय सरकारका आवश्यकता र समस्यासँग जोडेर स्थानीय निकाय र कलेजको सहकार्य गर्नुपर्छ। त्यसको अलावा प्राध्यापकको समय संरचना पुनर्विचार गर्ने पर्ने पनि अति आवश्यक छ । विश्वविद्यालय वा कलेज वा बिद्यालयमा संलग्न व्यक्तिलाई आफ्नो पेशा, कार्यरत सस्था र समाजको हित हुने बिषयमा अध्ययन अनुसन्धानका लागि समय, प्राबिधीक र आर्थिक सहयोग गर्ने परिपाटी विकास गर्ने।
राज्यले सरकारी नीति अनुसन्धानमैत्री बनाउने अर्को सम्भावना पनि छ, बिभिन्न तहका सरकारहरूले नीति निर्माणका लागि स्थानीय विश्वविद्यालय, कलेजको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बाध्यात्मक ब्यवस्था गर्नुपर्छ,जस्तै सामाजिक सेवाको उपयोगिता, सेवाको पहुँच, समाजमा आएको परिवर्तन, वातावरणीय जोखिम आदि। हरेक गतिला अध्ययनका लागि स्रोतको आवश्यकता अपरिहार्य हुन्छ अत: अनुदान प्रणालीमा पारदर्शिता र अनुगमन हुनुपर्छ । विश्वविद्यालय अनुदान आयोग, बिभिन्न मन्त्रालयले अनुसन्धानलागि प्रदान गर्ने सहयोग लगायत अनुदान दिने मात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूबाट अनुसन्धानमा छुटयाएको राशी र त्यो प्राप्त गर्ने बिधि पद्दतिलाई राज्यले अनुगमन र व्यवस्थित गर्नुपर्छ।
निष्कर्ष
नेपालका विश्वविद्यालयहरूमा थुप्रै प्रतिबद्ध शिक्षक, जिज्ञासु विद्यार्थी र समाज प्रतिको उत्तरदायित्व भएका अनुसन्धानकर्ता छन्। तर तिनीहरूको प्रयास संगठित, संरचित र समर्थन प्राप्त हुन सकेको छैन। विशेषगरी स्वास्थ्य जस्तो विषयमा, जहाँ जनताको जीवन र मृत्युको सिमानामा निर्णय हुन सक्छ, अनुसन्धानको भूमिका झनै निर्णायक हुन्छ। उच्च शिक्षामा अनुसन्धानको महत्व बढदै गएको भए पनि अझ स्पष्ट नीति,पर्याप्त लगानी,र अनुसन्धान-अनुकूल वातावरणको आवश्यकता अझै बाँकी छ। अनुसन्धानको संस्कृति बलियो बनाउन राज्य, शैक्षिक निकायहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूको प्रतिबद्धता र सहकारी अपरिहार्य हुन्छ।
अब हामीले अनुसन्धानलाई किन गर्ने भन्ने होइन, कसरी गर्ने, कसरी संस्थागत बनाउने भन्ने प्रश्न उठाउनु पर्छ। विश्वविद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार र नीति निर्माता मिलेर यस्तो अनुसन्धान संस्कृतिको निर्माण गर्नुपर्छ, जसले जनताको जीवनमा साँचो सुधार ल्याउन सकोस्।
(लेखक पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)
सामाग्री श्रोत :
swasthyakhabar

