काठमाडौँ । तीन वर्षे अध्ययन बिदा स्वीकृत गराएर विदेश पुगेका ६ वरिष्ठ इन्जिनियरहरूलाई नेपाल टेलिकमले ३० दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको छ । स्वीकृत अध्ययन बिदा समाप्त भइसकेपछि फर्किनुको साटो विदेशमा रहेका कर्मचारीहरूले थप बिदा स्वीकृतिका लागि निवेदन दिएका थिए ।

तर, टेलिकमले थप अध्ययन बिदा स्वीकृत गर्नुको औचित्य नदेखिएको भन्दै निवेदन अस्वीकृत गरिदिएको छ । थप अध्ययन बिदा अस्वीकृत गर्दै कम्पनीले शुक्रबार सूचना जारी गरेको हो । जसमा ६ जना कर्मचारीहरूलाई ३० दिनभित्र सम्पर्कमा आएर हाजिर हुन भनिएको छ ।
सम्पर्कमा नआई हाजिर हुन नआए टेलिकमले विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ । टेलिकमको मानव संसाधन विभाग (कर्मचारी प्रशासन शाखा)का अनुसार हरिओम ढुङ्गाना, दीपककुमार निधि, प्रवीण माली, सागर मिश्र, राजेन्द्र पौड्याल र अविनाश बस्नेत अध्ययन बिदा लिएर विभिन्न देश गएका थिए ।
ढुङ्गाना टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका कर्मचारी कार्यरत छन् । यस्तै, निधि, माली, मिश्र र पौड्याल कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालयमा कार्यरत थिए । बस्नेत भने टेलिकमको आईएमयू इलाममा कार्यरत रहँदा अध्ययन बिदामा गएका थिए ।

पछिल्लो अध्यावधिक: साउन २, २०८२ ११:१४
सामाग्री श्रोत :
टेक पाना