काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले लोकल डेटा सेन्टर स्थापना गरेपछि अब केन्द्रीय सर्भर (जीआईडीसी) मा समस्या आए पनि बिना अवरोध सूचना प्रणाली (नेपाली पोर्ट) चल्ने भएको छ ।

कार्यालयले बिहीबारदेखि लोकल डेटा सेन्टर पूर्ण रूपमा सञ्चालनमा ल्याएसँगै जीआईडीसीमा भर पर्नुपर्ने बाध्यता हटेको हो । अब जीआईडीसीको सर्भर डाउन भए पनि कालोसूचीमा परेका व्यक्तिहरुले उक्त अवधिमा प्रस्थान अनुमति पाउन सक्ने जोखिम टरेको कार्यालयले जनाएको छ ।
अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा श्रम मन्त्रालयबाट जारी गरिने श्रम स्वीकृति र शिक्षा मन्त्रालयबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को विवरण प्राप्त गर्न सकिने गरी लिंक गरिएकाले नेपाली पोर्टमा भित्र्याएर दुवै कागजात पाएका यात्रुले मात्र प्रस्थान अनुमति पाउँछन् । यसले नक्कली श्रम स्वीकृति र एनओसी बनाउने अभ्यास रोकिने कार्यालयको विश्वास छ ।
पटक-पटक कार्यालयको सर्भरमा समस्या आउँदा अध्यागमनसम्बन्धी सबै काम रोकिने गरेको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने यात्रुहरूले घण्टौं हैरानी खेप्नु परेको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १७:४०
सामाग्री श्रोत :
टेक पाना