
काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरणको केही दिनअघिको बोर्ड बैठकले कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालका अनुसार टेलिकमले प्राप्त थप फ्रिक्वेन्सी नयाँ आर्थिक वर्ष २०८२/०८३ को सुरुवात १ साउनदेखि प्रयोग गर्न पाउनेछ । कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा ०.४x२ मेगाहर्ज (पेयर्ड) अर्थात् ०.८ मेगाहर्ज (अनपेयर्ड) फ्रिक्वेन्सी दिइएको उनले बताए ।
यसअघि टेलिकमसँथ सो ब्यान्डमा १९.२ मेगाहर्ज अनपेयर्ड (९.६*२ मेगाहर्ज पेयर्ड) फ्रिक्वेन्सी रहेकोमा थप फ्रिक्वेन्सीगरी अब २० मेगाहर्ज अनपेयर्ड (पेयर्ड १०x२) मेगाहर्ज पुगेको छ । मूलतः टुजी र फोरजी सेवामा प्रयोग हुँदै आएको यो ब्यान्डको फ्रिक्वेन्सीले आगामी दिनमा कम्पनीको सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिस्पर्धी एनसेलसँग ९०० मेगाहर्ज ब्यान्डमा ९.६x२ मेगाहर्ज (पेयर्ड) फ्रिक्वेन्सी रहेको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ १७:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट देशलाई निकाल्ने नाममा सरकारले मेसेजिङ एप टेलिग्राम बन्द गराउने रणनीति अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गर्न पहल थालेको हो । समितिले सूचना तथा सञ्चार मन्त्रालयलाई बिहीबार पत्र पठाउँदै एपमाथि आवश्यक कदम चाल्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।
टेलिग्राममार्फत् ठगी, लागूऔषध कारोबार, हुन्डी र अन्य आपराधिक गतिविधि तीव्र रूपमा भइरहेको समितिको निष्कर्ष छ । साथै नेपालमा एपको सम्पर्क व्यक्ति पनि नभएका कारण यो एप बन्द गरिनुपर्ने समितिको सुझाव छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि भएको आशंकामा सरकार टेलिग्राम प्रति निर्मम देखिएको हो। आगामी सोमबारसम्ममा सरकार जसरी पनि टेलिग्राम बन्द गर्ने नियत लिएर अघि बढेको छ।
‘नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टमा परेको छ। त्यसबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री केपी शर्मा ओलीबाटै कडा निर्देशन र दबाब छ। टेलिग्रामलाई यही निहुँमा बन्द गर्दा सम्पत्ति शुद्धीकरणमा नेपाल कठोर छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पनि जान्छ र यसमा काम गरेको देखिने भएकाले सरकार आक्रामक बनेको हो,’ स्रोतले भन्यो।
सञ्चार मन्त्रालयले टेलिग्रामको कुनै आधिकारिक प्रतिनिधिसँग अझैसम्म यस विषयमा कुराकानी गर्न सकेको छैन। मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले आफूहरुले टेलिग्रामका प्रतिनिधिसँग छलफल गर्न चाहे पनि कुनै सम्पर्क व्यक्ति वा आधिकारिक माध्यम फेला पार्न नसकेको जानकारी दिए। टेलिग्राम सञ्चार मन्त्रालयमा सूचीकरणसमेत भएको छैन। नेपालको कानुनविपरीत काम गरेको फेला परे कारवाही गरिने उनले बताए।
सञ्चार मन्त्रालय बिहीबारबाटै टेलिग्रामविरुद्ध प्रमाण जुटाउन लागिपरिसकेको छ। टेलिग्राम संलग्न हुन सक्ने सम्भावित कडी मन्त्रालयले खोजिरहेको छ।
‘सम्पत्ति शुद्धीकरण आकर्षित हुने हुण्डी, सट्टेबाजी, अवैध धनको कारोबारीहरु टेलिग्राममा सकृय भेटेका छौं। केही प्रमाण भेटेकाले सञ्चार मन्त्रालयालाई कारवाही अघि बढाउन पत्राचार गरेका हौं। यी प्रमाण उहाँहरुलाई बुझाउँछौं। टेलिग्राम हाम्रो टार्गेटमा परिसक्यो,´ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ २०:४३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । जब इन्टरनेटको अस्तित्व नै थिएन, विद्यार्थीहरू केही कुरा सिक्न वा नयाँ कुरा थाहा पाउन शिक्षककै भर पर्नु पर्थ्यो । कक्षाकोठा बाहेकका ज्ञान लिन पुस्तकालयमा रहेका किताबका पाना पल्टाउनु पर्ने बाध्यता थियो । तर अहिले समय बदलिएको छ । शिक्षकलाई भन्दा बढि एआईलाई प्रश्न गर्छन् विद्यार्थी । गुगल, युट्युब भिडिओ, च्याटजीपीटी जस्ता कयौँ एआई टुलहरू छन् जसले विद्यार्थीलाई अध्ययनमा सघाइरहेको छ ।
च्याटजीपीटीलाई हजारौँ पीएचडीको भण्डार भन्न रुचाउँछन्, डियरवाक ग्रुपका संस्थापक रुद्र पाण्डे । तर, कुनै पनि नयाँ कुरा आउँदा सुरुमा नकारात्मक टिप्पणी हुनु स्वभाविक भएको उनको बुझाइ छ । उनी भन्छन्, “पुस्तकालयको अवधारणा आउँदा त्यसलाई पनि स्वीकार्न गाह्रो भएको थियो । अब यिनीहरूले लाइब्रेरीमा गएर पढि हाल्छन् । शिक्षकको के काम भन्ने खालको प्रश्न आएको थियो ।”
अहिले एआईलाई लिएर पनि त्यस्तै त्रास सिर्जना भएको छ । यसले मानवको सिर्जनशील क्षमता नाश गर्ने हो की भन्ने प्रश्न उब्जिएका छन् । कतिपय शैक्षिक संस्थामा विद्यार्थीलाई एआईको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
तर एआईको आगमनले ज्ञानमाथिको पहुँचलाई असाधारण रूपले सहज बनाएको पाण्डेको बुझाई छ । उनी भन्छन्, “एआई यस्तो ‘सुनामी’ जस्तो गरी आएको छ कि अब ‘तपाईँको औँलाको छेउमै एक पीएचडी सरहको ज्ञान उपलब्ध छ’ । यसले तपाईँले सोधेका सबै प्रश्नको तत्कालै जवाफ दिन्छ ।” अब उक्त सुनामीसँगै अघि बढ्न भने स्कुल कलेज लगायतका शैक्षिक संस्थामा पनि एआई प्रयोगलाई जोड दिनुपर्ने उनले बताए ।
डियरवाक ग्रुपका संस्थापक रुद्र पाण्डे
त्यसैले उनले डियरवाक सिफल स्कुल र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका कक्षा कोठा, शिक्षक र विद्यार्थीहरूमा एआई प्रयोगको तयारी अघि बढाएका छन् । भर्खरै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एआईको प्रयोगको बारेमा सिकाउन सुरु भइसकेको छ ।
यसका लागि हाम्रो पात्रोको क्रियटिभ टिमले एआईको प्रयोग कसरी गर्ने भनेर विद्यार्थीहरूलाई सिकाउँदै छ । पाण्डे आफैँ हाम्रो पात्रोको सञ्चालक समिति अध्यक्ष समेत हुन् ।
डियरवाक कलेजको कक्षा ११ मा भर्ना भएका ३५ बढी विद्यार्थीलाई एआई प्रयोग सम्बन्धी तालिम सुरु गरिएको हाम्रो पात्रोका क्रियटिभ म्यानेजर आनन्द महर्जनले बताए । जस अन्तर्गत विद्यार्थीहरूले विगत दुई हप्तादेखि कन्टेन्ट प्रोडक्सन र भिडिओ प्रोडक्सन लगायतका कुराहरू सिकिरहेका छन् ।
उनी भन्छन्, “अहिलेका पुस्ता हामीले सोचेभन्दा एआईमा निकै जानकार छन् । केही कुरा सिकायो भने छिट्टै बुझिहाल्छन् ।” च्याटजीपीटी लगायतका एआईलाई प्रम्प्ट दिएर फरक-फरक फोटोहरू बनाउने तरिका, स्टोरी टेलिङ र मार्केटिङ सामग्री तयार पार्ने सीपहरू सिकाउने काम भइरहेको छ ।
फोटोबाट एआईबाट भिडिओ क्लिप तयार पार्न, भोइसओभर, पडकास्ट, एडिटिङ लगायतका कामहरू गर्ने तरिका पनि सिकाइरहेको उनले बताए । विद्यार्थीहरूलाई प्रमियम टुलहरू भन्दा नि:शुल्क टुलहरू प्रयोग गर्न सहज हुने भएकाले सोही अनुसार सिकाउने काम भइरहेको छ ।
हाम्रो पात्रोका क्रियटिभ म्यानेजर आनन्द महर्जन
तर विद्यार्थीले एआई टुलहरू प्रयोग गर्नुभन्दा पहिला शिक्षक पनि यस बारे जानकार हुनुपर्ने डियरवाक सिफल स्कुलका प्रधानाध्यापक उज्ज्वल पौडेल बताउँछन् । शिक्षकले एआईको सही प्रयोग गर्न जानेमा दैनिक पाठ योजना बनाउन, विद्यार्थीको ग्रेडिङ गर्नुका साथै समय बचाउन सकिने उनको भनाई छ ।
त्यसैले विद्यालयका शिक्षकहरूलाई पनि एआई टुलहरू कसरी प्रयोग गर्ने भनेर तालिम दिइँदैछ । यसबाट शिक्षकहरूलाई नियमित काममा लाग्ने समय बचाएर बढी सिर्जनात्मक काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने उनको विश्वास छ ।
यस्तै डियरवाक कलेजमा ‘एआई स्टुडियो’को काम समेत अन्तिम चरणमा पुगेको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्रधानाध्यापक सम्झना पोखरेल बताउँछिन् । जहाँ विद्यार्थीहरूले इन्टर्नको रूपमा काम गर्न र एआई सम्बन्धी थप सीप सिक्न सक्छन् । नेपाल बाहिरबाट आएका ट्युटरहरूले यो स्टुडियोको नेतृत्व गर्ने बताइएको छ ।
डियरवाक सिफल स्कुलका प्रधानाध्यापक उज्ज्वल पौडेल
एआईबाट पढाउन कस्टमाइज जीपीटी
डियरवाक स्कुल तथा कलेजका लागि कस्टमाइज च्याटजीपीटी प्रयोगमा ल्याउने योजना पनि अघि सारिएको छ ।
सामान्य च्याटजीपीटीले प्रश्नको जवाफ दिँदा त्यसलाई कुन स्तरमा वा कुन सन्दर्भमा प्रस्तुत गर्ने भन्ने तय गरिएको हुँदैन । उदाहरणका लागि, विज्ञान विषयमा बल (force) को बारेमा विद्यार्थीलाई प्राथमिक तहदेखि सिकाइन्छ । यो विषयमा पीएचडीमा पनि अध्यापन भइरहेको हुन्छ ।
यसमा कक्षा ६ मा पढ्ने विद्यार्थी र पीएचडी गरिरहेका विद्यार्थीले पढ्ने बलको विषयमा आकाश जमिनको फरक रहन्छ । च्याटजीपीटीसँग पीएडी तहसम्मका जानकारी हुन्छन् । तर कसलाई कति जानकारी दिने भन्ने बारेमा थाहा हुँदैन । यसको लागि डियरवाकले आफ्नै कस्टमाइजेसन सहितको च्याटजीपीटील्याउन लागेको हो ।
जहाँ डियरवाकका पाठ्यक्रम अनुसारका सन्दर्भ सामग्री र पाठ्यपुस्तक स्क्यान गरेर च्याटजीपीटीलाई उपलब्ध गराइनेछ । यसले गर्दा यदि कक्षा ११ को भौतिक विज्ञान पढ्ने विद्यार्थीले प्रश्न गर्दा विद्यार्थीले खोजेको र बुझ्न सक्ने स्तरकै जानकारी च्याटजीपीटीले दिनेछ ।
प्रश्नपत्र तयार गर्न एआईको प्रयोगमा जोड दिइने सहायक प्रधानाध्यापक पोखरेलले बताइन् । प्रश्नपत्र तयार पार्ने टोलीले एआई प्रयोग गरी प्रश्नहरू तय गर्नेछ । यसले शिक्षकहरूमा पुरानै प्रश्नहरू दोहोर्याउने वा प्रश्न बनाउन अल्छी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै क्रियटिभ प्रश्नहरू तयार पार्न सघाउने । यसमा पछि टोलीले ‘ह्युमन भेरिफिकेसन’ गर्नेछ ।
एआई प्रयोग गरेर यसअघि डियरवाक कलेजले फिजिक्सको परीक्षाका लागि कस्टम एआई मोडलबाट प्रश्न पत्र बनाएर प्रयोग गरिसकेको सुनाउँदै अन्य विषयमा पनि प्रयोग गर्ने योजना रहेको उनले बताइन् ।
डियरवाक इन्स्टिच्युटअफ टेक्नोलोजीकी सहायक प्रधानाध्यापक सम्झना पोखरेल
कस्ता काममा प्रयोग हुनेछ एआई ?
सिफलका कक्षा कोठामा विद्यार्थीहरूलाई कुनै पनि कार्य सुरुमा एआईको प्रयोग नगरी गर्न लगाइने छ । त्यसपछि, आफूले गरेको कार्य एआई प्रयोग गरी अझ राम्रो गर्न विद्यार्थीलाई असाइन गरिने पाण्डे बताउँछन् । उनी भन्छन्, “विद्यार्थी आफैँले एआई बिना र सही प्रम्प्ट दिएर एआईको प्रयोग गरेर थप कसरी कामलाई राम्रो बनाउन सकिने रहेछ भनेर सिक्नेछन् ।”
परीक्षा पनि दुई चरणमा लिने तयारी गरिएको छ । १०० पूर्णाङ्कको परीक्षामा विद्यार्थीले ६० अङ्क भारको परीक्षा परम्परागत तरिकाले परीक्षा हलमा बसेर नै दिनेछन् । त्यसपछि ४० अङ्क भारको परीक्षामा भने पहिला परीक्षामा आफैँले लेखेको उत्तरलाई विद्यार्थीले एआई प्रयोग गरेर अझ राम्रो बनाउन अभ्यास गर्नेछन् । जसले विद्यार्थीहरूलाई आफ्नो कामलाई एआईको सहायताले कसरी सुधार गर्ने भनेर सिकाउने छ । विश्लेषणात्मक सीप विकासका लागि यस्तो शिक्षण सिकाई प्रणाली निकै प्रभावकारी हुने उनले बताए ।
डियरवाक सिफल स्कुल
त्यति मात्र नभएर दैनिक कक्षा कोठामा हुने शिक्षण सिकाईका क्रममा पनि एआईको प्रत्यक्ष प्रयोग गर्न लागिएको छ । शिक्षकले एउटा पाठ पढाइसकेपछि विद्यार्थीहरूलाई एआईले सोही विषयमा के भन्छ भनेर जान्नका लागि एआई प्रयोग गर्न लगाउनेछन् । उदाहरण दिँदै पाण्डे भन्छन्, “कक्षा ७ का विद्यार्थीहरूलाई ‘एनिमल किङ्गडम’ बारे शिक्षकले पढाउनु भयो । त्यसपछि एआईलाई त्यही विषयमा छोटो व्याख्या दिन लगाइन्छ ।” शिक्षकले कक्षामा पढाएको विषयमा एआईले नयाँ दृष्टिकोण दिँदा विद्यार्थी कक्षामा ‘बोर’ हुनपनि नपर्नेउनको भनाई छ ।
“एआईबाट भाग्ने होइन, अपनाउन सिकौँ”
पछिल्लो समय फैलिदै गएको एआई र यसको प्रयोगले मानवीय सिर्जनशीलतालाई नाश गर्ने भन्दै आलोचना भइरहेको छ । तर, एआईले सिर्जनात्मकतालाई प्रतिस्थापन गर्ने भन्दा पनि बरु त्यसलाई निखार्न सघाउने उनको तर्क छ । विद्यार्थीहरूले आफ्नो आइडिया र कन्सेप्टलाई एआई टुलको प्रयोगले मूर्त रूप दिन सक्ने पाण्डेको बुझाई छ । यसका लागि समयमा नै एआईलाई स्वीकार गरेर सदुपयोग गर्नमा ध्यान दिनुपर्ने उनले बताए ।
उनले भने, “कतिपय शैक्षिक संस्थामा विद्यार्थीलाई एआईको प्रयोग गर्न निषेध गरिएको छ । तर विद्यार्थीहरूले चोरी छिपी भएपनि यसको प्रयोग गरिरहेकै छन् ।” एआईको आवश्यकतालाई नबुझेर हेलचेक्र्याइँ गर्दा प्लेजेरिजम (बौद्धिक चोरी) को मात्रा बढ्ने उनले बताए ।
डियारवाकले आफ्ना आन्तरिक परीक्षाहरूमा एआईको प्रयोगलाई प्रोत्साहन गरे पनि सरकारी निकायहरूबाट लिइने परीक्षामा भने परम्परागत तरिकाबाट नै परीक्षा दिन सक्ने गरी विद्यार्थीलाई तयार पार्ने छ । त्यसैले आफ्ना विद्यार्थीलाई परम्परागत शैलीमा परीक्षा दिनका लागि पनि तयारी अवस्थामा राख्ने उनले बताए । तर, अन्य शैक्षिक संस्था हुँदै सरकारले पनि एआईको प्रयोगलाई स्वीकार गर्नुपर्ने उनको भनाई छ । “एआई नै भविष्य हो यसलाई स्वीकार नगर्नुको विकल्प छैन,” उनले भने ।
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी
पछिल्लो अध्यावधिक: साउन १, २०८२ २०:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई १ साउन (आज) ताकेता सहितको आदेश दिएको हो ।
अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा उक्त आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए । न्यौपानेको निवेदन अनुसार अदालतले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।
‘विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहको नागरिकहरुको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान हुनसक्ने वातावरण मिलाउनू’ अदालतको आदेशमा भनिएको छ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ। ह्वावे टेक्नोलोजिज चार वर्षभन्दा लामो समयपछि पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा पुगेको छ । सुस्ताउँदै गएको बजारमा प्रयोगकर्तालाई आकर्षित गर्ने नयाँ डिजाइन र सफ्टवेयरका कारण यो पुनरागमन सम्भव भएको हो ।
आईडीसीको तथ्यांकअनुसार सन् २०२५ को जुनसम्मको त्रैमासिक अवधिमा ह्वावेले बजारको करिब १८% हिस्सा ओगट्न सफल भएको छ । जबकि प्रतिस्पर्धी कम्पनी भिभो र ओप्पो जस्ता ब्रान्डहरूको बजार हिस्सा घटेको छ । समग्रमा चीनमा स्मार्टफोन शिपमेन्ट ४% ले घटेर ६ करोड ९० लाख युनिटमा झरेको भए पनि शेन्जेनस्थित ह्वावेले भने अन्य प्रतिस्पर्धीको तुलनामा यस अवधिमा राम्रो प्रदर्शन गरेको छ ।
ह्वावेको पुनरागमन अमेरिकाले लगाएको निर्यात प्रतिबन्ध पश्चात् आएको हो । उक्त प्रतिबन्धले कम्पनीलाई आफ्नै प्रविधि र हार्डवेयर विकास गर्न प्रेरित गर्यो, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपहरू समेत छन् ।
सन् २०२४ मा ह्वावेले पूर्ण रूपमा घरेलु रूपमा डिजाइन र उत्पादन गरिएका चिप प्रयोग गरी विभिन्न स्मार्टफोनहरू सार्वजनिक गर्यो, जसमा विश्वमै पहिलो पल्ट व्यावसायिक रूपमा उपलब्ध दुईपल्ट फोल्ड हुने फोन पनि थियो । साथै, कम्पनीले गुगलको एन्ड्रोइड सिस्टम छोडेर आफ्नै अपरेटिङ सिस्टम भएको स्मार्टफोन पनि बजारमा ल्याएको छ ।
आईडीसीका अनुसार पछिल्ला लगातार ६ त्रैमासिक अवधिपछि पहिलो पटक शिपमेन्ट घटेको हो । यसमा चिनियाँ सरकारले उपलब्ध गराएको उपभोक्ता सब्सिडीमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ ।
चिनियाँ बजारमा ह्वावेपछि क्रमशः भिभो दोस्रो (१७.३%), ओप्पो तेस्रो (१५.५%), साओमी चौथो (१५.१%) र एप्पल पाँचौं (१३.९%) स्थानमा रहेका छन् ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ १९:३०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । श्रमिकको यस आर्थिक बर्ष देखि न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० निर्धारण भएको छ । यस सम्बन्धमा नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच भएको छलफलमा सो सहमति जुटेको श्रम मन्त्रीको सचिवालयले जनाएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि श्रमिकको न्यूनतम ज्यालामा तीनवटै पक्षबीच सहमति भयो । पहिलो पटक त्रिपक्षिय सहमतिमा न्यूनतम ज्याला निर्धारण भएको हो ।
श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम ज्याला पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ। यसअघि श्रमिकले न्यूनतम रु १७,३०० पाउँदै आएका थिए।
न्यूनतम ज्याला निर्धारण समितिका संयोजक रहेका श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो समयदेखिको परामर्श, समन्वय र गहिरो छलफलपछि सहमति जुट्न सफल भएको जानकारी दिए। उनका अनुसार, यो सहमति श्रमिक वर्गको सम्मानजनक जीवनस्तर सुनिश्चित गर्न र श्रम बजारमा स्थायित्व कायम गर्न एक महत्वपूर्ण उपलब्धि हो।
रोजगारदाता पक्षबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहमतिको स्वागत गर्दै भने, “दिगो श्रम सम्बन्ध कायम राख्न न्यूनतम जयालामा सहमति आवश्यक थियो। पारदर्शी छलफल र सबै पक्षको लचकताको माध्यमबाट प्राप्त सहमति हामी सबैका लागि स्वीकार्य र सन्तुलित छ।” साथै, उनले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि सरकार र श्रमिक संगठनसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।
श्रमिक संगठन जेटियूसीसीका प्रतिनिधि जनक चौधरीले यो सहमति श्रमिक वर्गको जित भएको बताएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । “पहिलोपटक हाम्रो आवाज समेटिँदै न्यूनतम पारिश्रमिकमा सहमति जुटेको छ। अब यसको कार्यान्वयन सुनिश्चित गर्न सशक्त निगरानी गरिनेछ,” उनले भने।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । नेपालमा ४० प्रतिशतभन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अरूको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्ने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘द ग्लोबल फाइन्डेक्स डेटाबेस २०२५’ प्रतिवेदनले यो चिन्ताजनक तथ्याङ्क बाहिर ल्याएको हो ।
प्रतिवेदन अनुसार कंगो, कोमोरस, मोरक्को, तान्जानिया र जोर्डनमा पनि ४० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले अरूको नामको सिमकार्ड चलाउने गरेका छन् । यो अवस्थाले मोबाइल बैंकिङ, डिजिटल भुक्तानी र अन्य वित्तीय सेवाहरूमा नागरिकको पहुँचलाई प्रत्यक्ष रूप…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले लोकल डेटा सेन्टर स्थापना गरेपछि अब केन्द्रीय सर्भर (जीआईडीसी) मा समस्या आए पनि बिना अवरोध सूचना प्रणाली (नेपाली पोर्ट) चल्ने भएको छ ।
कार्यालयले बिहीबारदेखि लोकल डेटा सेन्टर पूर्ण रूपमा सञ्चालनमा ल्याएसँगै जीआईडीसीमा भर पर्नुपर्ने बाध्यता हटेको हो । अब जीआईडीसीको सर्भर डाउन भए पनि कालोसूचीमा परेका व्यक्तिहरुले उक्त अवधिमा प्रस्थान अनुमति पाउन सक्ने जोखिम टरेको कार्यालयले जनाएको छ ।
अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा श्रम मन्त्रालयबाट जारी गरिने श्रम स्वीकृति र शिक्षा मन्त्रालयबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को विवरण प्राप्त गर्न सकिने गरी लिंक गरिएकाले नेपाली पोर्टमा भित्र्याएर दुवै कागजात पाएका यात्रुले मात्र प्रस्थान अनुमति पाउँछन् । यसले नक्कली श्रम स्वीकृति र एनओसी बनाउने अभ्यास रोकिने कार्यालयको विश्वास छ ।
पटक-पटक कार्यालयको सर्भरमा समस्या आउँदा अध्यागमनसम्बन्धी सबै काम रोकिने गरेको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने यात्रुहरूले घण्टौं हैरानी खेप्नु परेको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ १७:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा नवीनतम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा रोलआउट गर्न सुरु गरेको छ । यससँगै अब संयुक्त राज्य अमेरिकाभर रहेका प्रयोगकर्ताहरूले एआई प्रयोग गरी स्थानीय व्यवसायहरूमा फोन गर्न सक्नेछन् । यी नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई समय बचाउन र थप जटिल जानकारी प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
एआईमा आधारित फोन कल सुविधा
एआई प्रयोग गरेर स्थानीय व्यवसायहरूलाई फोन गर्न सकिने नयाँ विकल्प सर्चमा उपलब्ध गराइएको छ । जसले प्रयोगकर्ताहरूलाई फोनमा कुरा नगरिकन मूल्य वा उपलब्धताको जानकारी प्राप्त गर्ने कार्यमा एआईलाई लगाउने अनुमति दिन्छ ।
यद्यपि यो सुविधा हाललाई घरपालुवा जनावर ग्रुमर (जनावरहरूको कपाल काट्ने, नुहाइदिने, सफा गरिदिने स्थान), अटो पसल, ड्राइ क्लिनर लगायतका निश्चित प्रकारका व्यवसायहरूका लागि मात्र उपलब्ध छ । अब यसले कसरी काम गर्छ भन्ने बुझौँ ।
उदाहरणका लागि मानौँ तपाईँ ‘Pet groomer near me’ सर्च गर्नु हुन्छ । गुगलले व्यवसाय सूची अन्तर्गत नयाँ ‘have AI check pricing’ अर्थात् ‘एआईलाई मूल्य जाँच गर्न लगाउनुहोस्’ भन्ने विकल्प देखाउँछ ।
त्यसपछि गुगलले तपाईँको अनुरोधबारे थप जानकारी सोध्नेछ, जस्तै तपाईँसँग कस्तो प्रकारको घरपालुवा जनावर छ, त्यसको नस्ल र तपाईँलाई कस्ता सेवा चाहिन्छ आदि । यसले तपाईँलाई कहिले सेवा चाहिन्छ र कसरी अपडेट प्राप्त गर्न चाहनुहुन्छ (जस्तै ईमेल वा मेसेज) भनेर पनि सोध्छ ।
गुगल सर्चका प्रोडक्ट भीपी रोबी स्टेनका अनुसार कम्पनीको डुप्लेक्स मोडलले कल गर्नका लागि जेमिनाई प्रयोग गर्दछ । कल गर्ने टुलले आफूलाई ‘ग्राहकको तर्फबाट जानकारी प्राप्त गर्न खोज्ने गुगलको एआई’ भनेर चिनाउनेछ । एआईले आवश्यक जानकारी प्राप्त गरेपछि उपलब्ध समय वा मूल्यबारे टेक्स्ट वा ईमेल मार्फत तपाईँलाई अपडेट दिनेछ ।
फोन कल गर्न झन्झट मान्ने युवा प्रयोगकर्ताहरू माझ यो सुविधा लोकप्रिय हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि व्यवसाय धनीहरूले आफ्नो गुगल प्रोफाइल सेटिङहरूमा एआई कलहरू प्राप्त नगर्ने विकल्प रोज्न सक्नेछन् । यो फिचर अन्य देशमा विस्तार गर्ने बारेमा गुगलले स्पष्ट रूपमा खुलाएको छैन ।
गुगलले यस वर्षको सुरुमा एआई मोड सार्वजनिक गरेदेखि नै यसमा नयाँ नयाँ फिचर थप गर्दै लगिरहेको छ । ताकि पर्प्लेक्सिटी एआई र ओपनएआईको च्याटजीपीटी सर्च जस्ता लोकप्रिय प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न सकियोस् ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ १७:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लेटरप्याड र काउन्सिलका रजिष्ट्रार डा सतिश देवको हस्ताक्षरसहित लाइसेन्स परीक्षा पास भएको पत्रको आवश्यक जाँचका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइएको छ। डाली युनिभर्सिटी चीनबाट एमबीबीएस उत्तीर्ण गरेका सीडी भूषालले काउन्सिलको लेटरप्याडमै लाइसेन्स परीक्षा पास भएको जानकारी पाएका थिए।
जानकारी पाएपनि अनलाइनमा फेल र लाइसेन्स समेत पाउने अवस्था नदेखेपछि काउन्सिलका अध्यक्ष डा चोपलाल भूषाललाई निवेदन लेखेका थिए। उक्त पत्र र पत्रमा उल्लेख विवरण शंकास्पद देखिएपछि काउन्सिलले कानुनी उपचारका लागि ब्युरोलाई पठाएको अध्यक्ष डा भूषालले जानकारी दिए।
सीडी भुषालले लेखेको निवेदन
उनले भने, ‘हामीलाई एक विद्यार्थीले निवेदन लेखेका थिए। उक्त निवेदन, विवरणको थप जाँचका लागि हामीले सीआईबीलाई पठाएका छौं।’
काउन्सिलको परीक्षामा फेल भएका आफूलाई पुनर्योग गर्न सुझाव, फारम भर्ने जिम्मा र उत्तीर्ण भएको जानकारी पत्र समेत पुतलीसडकमा रहेको स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीले दिएको उनले पत्रका लेखेका छन्।
पुनर्योगको परीक्षा पछि २०८१ कात्तिक २८ गते उत्तीर्ण भएको पत्रको फोटोकपी पनि सीडीले काउन्सिलमा बुझाएका छन्। तर, उक्त पत्र र त्यसको विवरणमा आशंका सृजना भएपछि सीआईबीलाई पठाइएको हो।
सीडी भुषालले लेखेको निवेदनमा ज्ञवालीले आफूलाई लाइसेन्स लिन बाँसबारीस्थित काउन्सिलमा बोलाएको समेत उल्लेख गरेका छन्। ज्ञवालीलाई पत्र काउन्सिलका रजिष्ट्रार डा देवले नै दिएको दाबी उनले दिएको निवेदनमा उल्लेख छ।
रजिष्ट्रा डा देव भने उक्त पत्र आफूले नदिएको बताउँछन् । भुषाललाई पुनर्योगमा पास भएको जानकारी सहितको पत्र दिने ज्ञवाली काउन्सिलको समेत सम्पर्कमा नआएको रजिष्ट्रार डा देवले बताए। उनले भने, ‘काउन्सिलको छाप, लेटरप्याड र मेरो हस्ताक्षर समेत दुरुपयोग गरिएको छ। हामीले दिएको पत्र होइन । सीडी भुषाल बाहेक अन्य विवरण समेत मिल्दैन।’
काउन्सिलबाट प्राप्त भनिएको पत्र
उक्त विवरणमा उल्लेख सीडी भुषालको नाम र सिम्बोल नम्बर बाहेक अन्य ७ जनाको विवरण समेत गलत रहेको काउन्सिलको भनाइ छ। काउन्सिलले दोस्रोपटक पत्र लेखेर उक्त जानकारी गराइसकेको छ।
सामाग्री श्रोत :
swasthyakhabar