२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

पाकिस्तानबाट किन बाहिरिँदैछन् प्रविधि कम्पनी ?

काठमाडौँ । बिल गेट्सको माइक्रोसफ्ट कम्पनीले पाकिस्तानमा २५ वर्ष काम गरेपछि आफ्नो कार्यालय भियतनाममा सारेको छ । दिग्गज प्रविधि कम्पनीको यस किसिमको कदमले दक्षिण एसियाली मुलुकमै हलचल मच्चाएको छ । 

यही सन्दर्भमा माइक्रोसफ्टको यो निर्णयप्रति दुःख व्यक्त गर्दै पूर्व राष्ट्रपति आरिफ अल्वीले आफ्नो एक पोस्टमा भनेका छन्, “फेब्रुअरी २०२२ मा जब बिल गेट्स पाकिस्तान आएका थिए त्यतिबेला उनले मसँग पाकिस्तानमा थप लगानी ल्याउन चाहेको बताएका थिए । तर, त्यसपछि यहाँको राजनीतिक उथलपुथल र कानून व्यवस्थाको अवस्था देखेर उनी निराश भए र अहिले उनले पूर्ण रूपमा हात उठाएका छन् ।”

आर्थिक मामिलाबारे लेख्ने पाकिस्तानको एक ठूलो पत्रिका ‘बिजनेस रेकर्डर’ले लेखेको छ, “माइक्रोसफ्टको पाकिस्तान सञ्चालन निकै सानो थियो र उसले यहाँबाट वार्षिक ५० मिलियन डलर मात्र राजस्व कमाउँथ्यो । तर कुरा राजस्वको मात्र होइन । जब कुनै ठूलो कम्पनीले देश छोड्छ तब साना लगानीकर्ताको मनोबल पनि टुट्छ ।”

यसअघि अन्तर्राष्ट्रिय स्टार्टअप ‘करिम’ले पनि १८ जुलाईदेखि पाकिस्तानमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको थियो । सन् २०२१ देखि २०२४ सम्मको तीन वर्षमा एयरलिफ्ट र स्वेलजस्ता ५५ स्टार्टअपले आफ्नो कम्लोकुटिरो बोकी पाकिस्तान छोडिसकेका छन् ।

पछिल्लो तीन वर्षमा पाकिस्तानमा स्टार्टअप फन्डिङ ३५५ मिलियन डलरबाट ८८ प्रतिशतले घटेर ४३ मिलियन डलरमा झरेको छ । जबकि सन् २०२४ मा भारतमा ७.५ अर्ब डलर र बङ्गलादेशमा १४० मिलियन डलरको स्टार्टअप फन्डिङ भित्रिएको छ ।

एक स्थानीय टेक कम्पनीका मालिकले बीबीसी हिन्दीलाई भने, “आखिर विदेशी टेक कम्पनी यहाँ किन बस्छन् ? एकातिर पछिल्लो तीन वर्षदेखि डलरको तुलनामा पाकिस्तानी रुपैयाँ टिक्न सकेको छैन । अर्कोतिर इन्टरनेट सेवा कहिले खुल्छ, कहिले बन्द हुन्छ भन्ने कुनै ठेगान छैन ।” इन्टरनेटको गतिको हिसाबले पाकिस्तान विश्वमा १२६ औं स्थानमा छ । कराँची र लाहोर दुई ठूला प्रविधि केन्द्र हुन् तर त्यहाँ दैनिक छ देखि आठ घण्टा लोडसेडिङ हुन्छ ।

विश्वभरका लगानीकर्तालाई ‘एकद्वार प्रणाली’ (One Window Operation) निकै मन पर्छ । तर पाकिस्तानमा कुनै लगानीकर्ताले आफ्नो पैसा बाहिर पठाउन कम्तीमा छ ओटा विभागका कर्मचारीको स्वीकृति लिनुपर्छ । कहिले र कति कर लाग्छ वा घट्छ भन्ने कुनै ग्यारेन्टी छैन । उदाहरणका लागि नयाँ बजेटमा कुरियर सेवा र अनलाइन कारोबार गर्नेहरूमाथि ४ प्रतिशत बिक्री तथा विथहोल्डिङ कर लगाइएको छ । कुरियर कम्पनीले आफ्नो नाफा जोगाउन यो कर सिधै ग्राहकको थाप्लोमा हालेका छन् ।

अनलाइन व्यापार गर्नेमा अधिकांश युवा, शिक्षित गृहिणी वा सरकारी जागिरको खोजीमा भौंतारिनुको सट्टा आफ्नै खुट्टामा उभिन चाहने ब्याच्लर्स छन् । हाल पाकिस्तानको डिजिटल अर्थतन्त्र २.५ अर्ब डलर बराबर छ र लगभग छ लाख मानिस ई-कमर्स, सफ्टवेयर विकास र फ्रिल्यान्सिङमा सङ्लग्न छन् । 

नयाँ वर्षको सुरुमा ‘उडान पाकिस्तान’ नामक पञ्चवर्षीय योजना घोषणा गरिएको थियो । यसको लक्ष्य आगामी १० वर्षमा पाकिस्तानलाई एक ट्रिलियन डलरको अर्थतन्त्र बनाउनु हो । केवल डिजिटल अर्थतन्त्रबाटै आगामी पाँच वर्षमा १० देखि १५ अर्ब डलर कमाउने लक्ष्य तोकिएको छ । तर, यहाँको वातावरण यस्तो छ कि विदेशी त परै जाओस् स्वदेशी कम्पनीलाई पनि टिक्न मुस्किल भइरहेको छ । 

सरकारी अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा लगभग पाँच हजार सफ्टवेयर डेभलपर क्यानडा, युएई र जर्मनीमा बसाइँ सरेका छन् जबकि २०२३ मा लगभग १० हजार प्राविधिक कामदारले देश छोडेका थिए । 

बीबीसी हिन्दीको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १४:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट