काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मङ्गलबार अदालतमा उपस्थित भएकी पहाडीको बयान र थुनछेक बहसपछि न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्ने क्रममा अनियमितता गरी राज्यलाई करिब ३३ करोड ४८ लाख रुपैयाँ नोक्सानी पुर्याएको दाबीसहित पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
०६८ पुस ६ मा टेलिकम र चिनियाँ कम्पनी एसिया लिंकेज टेक्नोलोजिजबिच भएको बिलिङ प्रणाली सुधारसम्बन्धी सम्झौतामा बदनियतपूर्ण तरिकाले मूल्य निर्धारण गरेको अख्तियारको आरोप छ । उक्त सम्झौताअनुसार करिब ९ करोड ८८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी २३ करोड ५९ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व सिर्जना भएको अभियोगपत्रमा उल्लेख छ ।

यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार गरेको ठहर भएपछि टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पदमुक्त भएका थिए । त्यसपछि रिक्त रहेको पदमा गत २० भदौ २०८० मा पहाडी नियुक्त भएकी थिइन् । पौडेल हाल सोही मुद्दामा जेल सजाय भोगिरहेका छन् ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १७:३७
सामाग्री श्रोत :
टेक पाना