काठमाडौं- स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रक्रिया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘आधारभूत स्वास्थ्य’का क्षेत्रमा केन्द्रित रहनेछ। हेल्थ अवार्डका लागि असार २४ देखि साउन ६ गतेसम्म १५ दिनको समयभित्र आवेदन दिन सकिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य खबर फाउन्डेसनले आधारभूत स्वास्थ्यमा केन्द्रित रहेर काम गरिरहेका चिकित्सक, नर्स, जन/स्वास्थ्यकर्मी तथा संस्थालाई हेल्थ अवार्ड प्रदान गर्न लागेको हो।
यस वर्ष विभिन्न ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ।
संविधानमा आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ। संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनेर लेखिएको छ।
संविधानमा उल्लेख भएको उक्त व्यवस्था अनुसार आधारभूत स्वास्थ्यका क्षेत्रमा कार्यरत व्यक्ति र संस्थाहरुले पुर्याइरहेका योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको फाउन्डेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संविधानको उक्त अधिकारका विषयलाई जनस्वास्थ्य ऐन र जनस्वास्थ्य सेवा नियमावलीमा समेत उल्लेख छ। जनस्वास्थ्य सेवा नियमावलीमा आधारभूत स्वास्थ्य भित्र के के सेवाहरु पर्छन् भनेर विस्तृतमा जानकारी समेत दिइएको छ।
आधारभूत स्वास्थ्यमा सक्रिय रुपमा काम गर्ने, सेवा प्रवाह, नीतिगत सुधार, अध्ययन अनुसन्धान वा स्वयंसेवा गर्दै आएका डाक्टर, नर्स, पारामेडिक्स, जनस्वाथ्यकर्मी, स्वास्थ्य प्रवर्धन तथा स्वास्थ्य सञ्चार, नीतिगत वकालतकर्ता, अभियानकर्ता लगायत स्वास्थ्य संस्थाहरुले समेत यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदन तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समिति मार्फत गरिने छ।
‘स्थानीय स्तरमा अति महत्वपूर्ण योगदान पुर्याइरहनुभएका स्वास्थ्यकर्मी तथा स्वयंसेवीहरुका कारण नेपालको स्वास्थ्य क्षेत्रका महत्वपूर्ण सूचकहरुमा उल्लेख्य सुधार भइरहेको छ। उहाँहरुको योगदानलाई कदर गर्न पनि यसपटक आधारभूत स्वास्थ्यका विषयमा अवर्ड प्रदान गर्न लागिएको हो,’ फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अवार्डका लागि व्यक्ति स्वंयले आवेदन दिन वा अन्य व्यक्तिले सिफारिस समेत गर्न सक्नेछन्।यो विधामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा कार्यरत जनशक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने छन्।
यस वर्षका विधाहरु
१. चिकित्सक
२. नर्स
३. जनस्वास्थ्यकर्मी
४. पारामेडिक्स
५. स्वास्थ्य प्रवर्धन/स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार
६. स्वास्थ्य संस्था
७. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका
८. स्वास्थ्य अभियान्ता
९. स्थानीय सरकार
अवार्डको लागि आवेदन तथा मनोनयनका मुख्य पक्षहरु
१. अवार्डका लागि आवेदन, सिफारिस तथा मनोनयनका लागि [email protected] मा इमेल गर्न सक्नुहुनेछ।
२. अवार्ड दाबीकर्ता (आवेदक स्वयं वा मनोनयन गरिने व्यक्ति) ले स्वास्थ्य क्षेत्रमा र विशेषगरी आधारभूत स्वास्थ्य सेवाका क्षेत्रमा गरेका योगदान संक्षिप्तमा उल्लेख गरिदिनुहोला।
३. अवार्डका लागि आधारभूत स्वास्थ्यका क्षेत्रमा गरेका कामको तथ्य तथ्यांक। सकेसम्म छोटो तर सान्दर्भिक सन्दर्भ सामग्री जस्तै फोटो, छोटो भिडियो, सम्मान आदि पनि चर्चा गर्न सकिनेछ।
४. आधारभूत स्वास्थ्यका क्षेत्रमा सृजनशील, अनुकरणीय र प्रेरणादायी कार्य गरेको।
५. दुर्गम तथा सिमित स्रोत साधन भएका क्षेत्रमा रहेर उदाहरणीय कार्य गरेको।
६. यो अवार्डले निजी तथा नाफामुलक संस्थामा कार्यरत पेसाकर्मीहरुलाई समेट्दैन। नेपालको स्वास्थ्य प्रबर्धनमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्दागर्दै निजी तथा नाफामुलक कार्यहरुलाई यस अवार्डमा नसमेटिएको जानकारी गराइन्छ।
आधारभूत स्वास्थ्यका विषयमा जनस्वास्थ्य सेवा नियमावलीमा रहेका विषयहरु पिडिएफमा हेरौं
सामाग्री श्रोत :
swasthyakhabar















