
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधिको प्रयोगबाट सामाजिक समस्या समाधानका लागि नवीनतम उपाय प्रस्तुत गर्न दुई नेपाली टिम स्विजरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । सोमबार ‘टिम सगरमाथा’ र ‘टिम गौतम बुद्ध’ स्विजरल्यान्ड उडेका हुन् ।
यी टिमले संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आयोजना गरेको ‘एआई फर गुड- रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । ९ जुलाई २०२५ देखि सुरु हुने यस विश्वव्यापी मञ्चमा ६० भन्दा बढी देशका युवा आविष्कारकले एआई र रोबोटिक्समा आधारित आफ्ना परियोजना प्रदर्शन गर्नेछन् ।
नेपालबाट सहभागी टोलीलाई रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान)ले आयोजना गरेको राष्ट्रिय स्तरको छनोट प्रतियोगितामार्फत छानिएको हो । सिनियर र जुनियर गरी दुई तहमा विभाजित नेपाली टोलीले विश्वव्यापी चुनौतीको प्राविधिक समाधानमा नेपालको क्षमता प्रस्तुत गर्नेछ । सिनियर तहको छनोट काठमाडौँ इन्जिनियरिङ कलेजमा र जुनियर तहको छनोट ललितपुरको युनाइटेड स्कुलमा सम्पन्न भएको थियो । त्यसमा देशभरका १७ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

‘टिम सगरमाथा’ नाम दिइएको सिनियर टोलीमा शिक्षक सन्तोष थापा मगरको नेतृत्वमा प्रभिन श्रेष्ठ, सम्पना केसी र श्रेयश आचार्य छन् । त्यसैगरी ‘टिम गौतम बुद्ध’ नामको जुनियर टोलीमा शिक्षक ऋषभ राज र किरण खत्रीको मार्गदर्शनमा आरव गौतम, परिधि श्रेष्ठ, अनुपम भुजेल र ऋद्धि मानन्धर सहभागी छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले टोलीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । ‘एआई फर गुड ग्लोबल समिट’ को एक हिस्साको रूपमा रहेको यो प्रतियोगिताले युवालाई वास्तविक विश्वका समस्या समाधान गर्न अत्याधुनिक प्रविधिको रचनात्मक प्रयोग गर्न प्रोत्साहित गर्ने र्यानले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १२:१७
सामाग्री श्रोत :
टेक पाना