काठमाडौँ । शब्दकै भरमा आवाज सहितको भिडिओ बनाउने गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ (Veo 3) विश्वभर उपलब्ध भएको छ । यसअघि केही देशका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो टुल बिहीबारदेखि विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको हो ।

कम्पनीका अनुसार यो नयाँ टुल १५९ देशका प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यो टुल प्रयोग गर्न भने मासिक १९.९९ डलर तिरेर गुगल एआई प्रो सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । भुक्तानीका माध्यम कनेक्ट गरेर सब्स्क्रिप्सन लिएपछि पहिलो एक महिना कुनै शुल्क तिर्नुपर्दैन । त्यसपछि भने मासिक १९.९९ डलर शुल्क लाग्छ ।
यो सब्स्क्रिप्सन लिएसँगै जेमिनाई एपको मोडेल २.५ प्रो प्रयोग गर्न सकिन्छ । यसबाट डिप रिसर्च गर्नुका साथै भिओ थ्री प्रयोग गरी क्षणभरमै भिडिओ बनाउन सकिन्छ । त्यसैगरी यो सब्स्क्रिप्सनमा फ्लोको एक्सेस पनि पाइन्छ । यो भिओ थ्री प्रयोग गरी आकर्षक भिडिओ निर्माण गर्न सघाउने गुगलको फिल्म मेकिङ टुल हो ।
त्यस्तै फोटोबाट भिडिओ बनाउन प्रयोग हुने गुगलको एआई टुल ह्विस्क पनि प्रयोग गर्न सकिन्छ । निःशुल्कभन्दा बढी सोर्स राख्न पाउने, अडिओ ओभरभ्यु प्रयोग गर्न सकिने र अनुसन्धान गर्न सकिने नोटबुक एलएमका प्रिमियम फिचर पनि यस सब्स्क्रिप्सनमा समेटिन्छन् ।

यसबाहेक जीमेल, डक्स जस्ता गुगलका अन्य एपहरूमा पनि जेमिनाई प्रयोग गर्न सकिन्छ । निःशुल्क १५ जीबी स्टोरेज दिँदै आएकोमा यो सब्स्क्रिप्सन लिएपछि २ टीबी स्टोरेज पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ ११:१
सामाग्री श्रोत :
टेक पाना