
भद्रपुर (झापा) । झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उनले बताए ।
प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।
अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने र आफ्टर सेल्स सर्भिसलाई सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा विद्युतीय सवारी साधनमा केन्द्रित अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
रणनीतिक रूपमा सहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरमार्फत एमएडब्लूले आफ्ना ग्राहकलाई सहज, छिटो र विशेषज्ञस्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
यी सर्भिस सेन्टरहरू दीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि समर्पित हुनेछन् । प्रत्येक सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बे रहनेछन्, जसले धेरै संख्यामा गाडीहरूलाई एकैपटक दक्षतापूर्वक सेवा दिन सक्ने क्षमता राख्नेछन् ।
एक्सपर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी-समर्पित सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिका ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ ।
ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा प्रतिबद्धतालाई केन्द्रमा राख्दै आएको एमएडब्लू वृद्धिले यस कदमबाट आफ्टर सेल्स सर्भिसमा विश्वास र गुणस्तरको नयाँ मानक स्थापित गर्ने प्रयास गरिरहेको छ ।
यी सर्भिस सेन्टरहरू आगामी तीनदेखि पाँच महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ २१:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलको पहिलो हाफमा नेपालले तीन गोल खाएको छ । पहिलो हाफ सकिँदा उच्वेकिस्तानले ३ गोल गरेको छ भने नेपालले एक गोल फर्काएको छ ।
नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन् ।
यस्तै ११ औं मिनेटमा समीक्षा घिमिरेको खुट्टाबाट आत्मघाती गोल हुन पुग्यो । २६ औं मिनेटमा नेपालका तर्फबाट कप्तान सावित्रा भण्डारीले एक गोल फर्काइन् ।
खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल थप्दै खेललाई ३–१ को स्थितिमा पुर्यायो । उच्वेकिस्तानकी सोयीमोभा माफटुनाले पेनाल्टीमार्फत् गोल गरेकी हुन् ।
यस्ते पहिलो हाफको अन्तिम समयमा एर्गासेभा नोजिमाखोनले रातो कार्ट पाएपछि उच्वेकिस्तान १० खेलाडीमा सीमित भएको छ । उनले पहिले नै फाउल गर्दै पहेँलो कार्ड पाइसकेकी थिइन् । नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आजको युगमा हाम्रो जीवन मोबाइल, कम्प्युटर र इन्टरनेट बिना अधुरो छ । तर यही प्रविधिले जति सुविधा दिएको छ त्यति नै जोखिम पनि बढाएको छ । सामाजिक सञ्जालमा हुने ठगी, बैंकिङ ह्याकिङ, चरित्रहत्यादेखि गोप्य सूचना चोरीसम्म ‘साइबर अपराध’का घटना दिन प्रतिदिन बढिरहेका छन् । यस्ता अदृश्य अपराधका अपराधीसम्म पुग्न र उनीहरूलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी लगायत विश्वका अनुसन्धान निकायहरूले एउटा शक्तिशाली वैज्ञानिक हतियार प्रयोग गर्छन् । त्यसको नाम हो- साइबर फरेन्सिक ।
साइबर फरेन्सिक भनेको डिजिटल संसारको जासुसी हो जसले अपराधको डिजिटल पदचिह्न (Digital Footprint) पछ्याउँदै सत्यतथ्य उजागर गर्छ । यस लेखमा साइबर फरेसिकको चर्चा गरिएको छ ।
साइबर फरेन्सिक के हो ?
धेरैले साइबर फरेन्सिक, डिजिटल फरेन्सिक र कम्प्युटर फरेन्सिकलाई एउटै ठाने पनि यिनीहरूमा केही भिन्नता छ:
-
कम्प्युटर फरेन्सिक: यो कुनै एउटा कम्प्युटरमा के भयो भनेर अनुसन्धान गर्ने विधि हो ।
-
डिजिटल फरेन्सिक: यो कम्प्युटरका साथै मोबाइल, पेनड्राइभ, डिजिटल क्यामेरा जस्ता अन्य डिजिटल उपकरणहरू समेतको अनुसन्धान हो ।
-
साइबर फरेन्सिक: यो सबैभन्दा फराकिलो क्षेत्र हो । यसले डिजिटल उपकरणका साथै इन्टरनेट र साइबरस्पेस (भर्चुअल संसार) मा हुने हरेक गतिविधिलाई आफ्नो दायरामा समेट्छ ।
सरल शब्दमा साइबर फरेन्सिक भनेको कुनै पनि अपराधमा प्रमाणको रूपमा प्रयोग भएका डिजिटल उपकरण र इन्टरनेटबाट प्रमाण खोज्ने, संकलन गर्ने, त्यसलाई नबिग्रिने गरी संरक्षण गर्ने र अदालतमा पेस गर्न मिल्ने गरी विश्लेषण गर्ने विज्ञान हो ।
साइबर फरेन्सिकले के-के गर्न सक्छ ?
साइबर फरेन्सिक विज्ञहरूले विशेष प्रविधिको प्रयोग गरेर असम्भव लाग्ने कामहरू पनि सम्भव बनाउँछन्:
-
डेटा रिकभरी: कम्प्युटर वा मोबाइलबाट जानाजान डिलिट गरिएका फाइल, फोटो, भिडियो, च्याट र ईमेलहरू पुनः प्राप्त गर्न सक्छ ।
-
मोबाइल अनुसन्धान: डिलिट भएका एसएमएस, कल लग, सम्पर्क नम्बर र रेकर्डेड आवाजसमेत फिर्ता ल्याउन सक्छ ।
-
गतिविधि पहिचान: कुन व्यक्तिले, कुन समयमा, कुन उपकरणबाट इन्टरनेट वा कम्प्युटर प्रणाली प्रयोग गरेको थियो भनेर पत्ता लगाउन सक्छ ।
-
पासवर्ड क्र्याकिङ: केही अवस्थामा इन्क्रिप्टेड फाइल वा प्रणालीको पासवर्ड तोड्न सक्छ ।
-
क्षतिग्रस्त उपकरणबाट प्रमाण: बिग्रिएको (crashed) सर्भर, फेल भएको हार्डडिस्क वा फर्म्याट गरिएको मेमोरी कार्डबाट पनि डेटा निकाल्न सक्छ।
ऐतिहासिक विकासक्रम: कसरी सुरु भयो ?
साइबर फरेन्सिकको इतिहास सन् १९८० को दशकबाट सुरु हुन्छ, जब कम्प्युटर आम मानिसको पहुँचमा पुग्यो।
-
अमेरिका: सन् १९८० को दशकमा अमेरिकाको एफबीआईले ‘म्याग्नेटिक मिडिया प्रोग्राम’ सुरु गर्यो । एफबीआईकै माइकल एन्डरसनलाई ‘कम्प्युटर फरेन्सिकका पिता’ मानिन्छ ।
-
बेलायत: बेलायतमा पनि ‘फ्रड स्क्वाड’ अन्तर्गत कम्प्युटर अपराध इकाई स्थापना भयो । सन् १९९८ मा ‘एसोसिएसन अफ चिफ पुलिस अफिसर्स’ (ACPO) ले डिजिटल प्रमाणसम्बन्धी निर्देशिका बनाएपछि यसले संस्थागत रूप लियो ।
आज अमेरिका र बेलायतजस्ता देशमा यो प्रविधि निकै अत्याधुनिक भइसकेको छ जहाँ सरकारले निजी कम्पनीहरूसँग मिलेर आतंकवाद, मानव तस्करी र संगठित अपराधको अनुसन्धानमा सहकार्य गर्दछ ।
कसरी हुन्छ अनुसन्धान ?
साइबर फरेन्सिक अनुसन्धान एउटा व्यवस्थित प्रक्रिया अनुसार गरिन्छ ताकि प्रमाणको विश्वसनीयता कायम रहोस् ।
१. पहिचानः अपराधसँग सम्बन्धित प्रमाण कहाँ छ (कम्प्युटर, मोबाइल, सर्भर) र कुन रूपमा छ भनेर पत्ता लगाउने ।
२. संरक्षण (Preservation): फेला परेको प्रमाणलाई सुरक्षित राख्ने ताकि त्यसलाई कसैले मेटाउन वा फेरबदल गर्न नसकोस् । यसका लागि प्रमाणको ‘इमेज’ वा हुबहु प्रतिलिपि बनाइन्छ ।
३. विश्लेषण: विशेषज्ञहरूले विशेष सफ्टवेयर र उपकरण प्रयोग गरी प्रमाणको गहिरो विश्लेषण गर्छन् । डिलिट भएका डेटाहरू यही चरणमा रिकभर गरिन्छ ।
४. दस्तावेजीकरण अर्थात् डकुमेन्टेसन: विश्लेषणबाट प्राप्त भएका सबै तथ्य र निष्कर्षलाई समेटेर एउटा विस्तृत प्रतिवेदन तयार पारिन्छ ।
५. प्रस्तुतीकरण: उक्त प्रतिवेदनलाई अदालतमा प्रमाणको रूपमा पेस गरिन्छ, जहाँ विज्ञले त्यसको व्याख्या गर्छन् ।
साइबर फरेन्सिकका प्रमुख प्रकारहरू
अपराधको प्रकृति अनुसार फरेन्सिकका विभिन्न शाखा छन्:
-
डिस्क फरेन्सिक: हार्डडिस्क, पेनड्राइभ जस्ता स्टोरेज उपकरणको जाँच ।
-
नेटवर्क फरेन्सिक: इन्टरनेटमा डाटाको आवतजावत (ट्राफिक) को निगरानी र विश्लेषण ।
-
वायरलेस फरेन्सिक: वाईफाई जस्ता ताररहित नेटवर्कको अनुसन्धान ।
-
डेटाबेस फरेन्सिक: डेटाबेसबाट जानकारी निकाल्ने र विश्लेषण गर्ने ।
-
मालवेयर फरेन्सिक: भाइरस, वर्मजस्ता खराब सफ्टवेयरको पहिचान र विश्लेषण ।
-
ईमेल फरेन्सिक: शंकास्पद ईमेलको स्रोत र सामग्रीको अनुसन्धान ।
-
मेमोरी फरेन्सिक: कम्प्युटरको अस्थायी मेमोरी (RAM) बाट प्रमाण संकलन ।
-
मोबाइल फरेन्सिक: मोबाइल फोन र ट्याब्लेटको विस्तृत जाँच ।
डिजिटल डीएनए: अपराधी चिनाउने अत्याधुनिक पद्धति
जसरी हरेक मानिसको औँठाछाप र डीएनए फरक हुन्छ त्यसैगरी हरेक व्यक्तिले कम्प्युटर वा मोबाइल चलाउने तरिका (टाइपिङ गति, माउस चलाउने शैली आदि) पनि फरक हुन्छ । यही व्यवहारको आधारमा उसको एउटा छुट्टै ‘डिजिटल डीएनए’ बन्छ । यो अत्याधुनिक प्रविधिले एउटै कम्प्युटर धेरै जनाले चलाए पनि कसले के चलायो भनेर छुट्याउन सक्छ र वास्तविक अपराधीसम्म पुग्न मद्दत गर्छ ।
अनुसन्धानमा प्रयोग हुने प्रमुख उपकरण
साइबर अनुसन्धानका लागि विज्ञले विभिन्न शक्तिशाली सफ्टवेयर र उपकरणको प्रयोग गर्छन् जस्तै:
-
काली लिनक्स (Kali Linux): फरेन्सिक र सुरक्षा परीक्षणका लागि प्रयोग हुने एक अपरेटिङ सिस्टम ।
-
एन्केस (EnCase): हार्डडिस्कबाट डेटा निकाल्न र विश्लेषण गर्न प्रयोग हुने व्यावसायिक सफ्टवेयर ।
-
ओफक्र्याक (Ophcrack): विन्डोजको पासवर्ड पत्ता लगाउन प्रयोग हुने उपकरण ।
-
डेटा डम्पर (Data Dumper): डिस्कको हुबहु प्रतिलिपि बनाउन मद्दत गर्ने ।
चुनौती, गोपनीयता र भ्रमहरू
साइबर फरेन्सिक जति शक्तिशाली छ यसका चुनौती र सीमा पनि छन् ।
-
गोपनीयताको हक: अनुसन्धान गर्दा व्यक्तिको गोपनीयताको हक उल्लङ्घन नहोस् भनी कानुनी प्रक्रिया (जस्तै, अदालतको अनुमति) पूरा गर्नुपर्छ ।
-
इन्क्रिप्सन: अपराधीले डेटालाई बलियो पासवर्डले इन्क्रिप्ट गरेको छ भने त्यसलाई तोड्न निकै कठिन र समय-लाग्ने हुन्छ ।
-
क्षेत्राधिकार: इन्टरनेटको अपराध कुनै एक देशको सीमामा बाँधिएको हुँदैन । यसले गर्दा अनुसन्धान र कारबाहीमा कानुनी जटिलता आउँछ ।
साधारण भ्रम:
-
‘जलेको वा पूर्ण नष्ट भएको हार्डड्राइभबाट पनि डेटा निकाल्न सकिन्छ ।’ – यो लगभग असम्भव छ । यदि डेटामाथि नयाँ डेटा लेखिएको (overwritten) छ भने पुरानो डेटा फिर्ता ल्याउन सकिँदैन ।
-
‘जस्तोसुकै धमिलो फोटोलाई पनि एचडी बनाउन सकिन्छ ।’ – फिल्ममा देखाए जस्तो सजिलो छैन । फोटो वास्तवमै गुणस्तर कम छ भने त्यसलाई चमत्कारिक रूपमा सुधार गर्न सकिँदैन । फोटो कत्तिको धमिलो छ भन्ने विषयले पनि फरक पार्छ । तर, पछिल्लो समय विकास भएका आर्टिफिसियल इन्टेलिजेन्सका अत्याधुनिक टुलले तस्बिरको धमिलोपनलाई केही हदसम्म हटाउन सक्छन् । तर, एआईले एचडी बनाउने नाममा वास्तविक फोटो नै निर्माण गरिदिन्छ भन्ने हुँदैन ।
प्रविधिमा आधारित आजको समाजमा साइबर फरेन्सिक अपराध अनुसन्धानको एक अपरिहार्य हिस्सा बनिसकेको छ । यसले अदृश्य र जटिल देखिने साइबर अपराधको वैज्ञानिक र तथ्यपरक विश्लेषण गरी पीडितलाई न्याय दिलाउन र अपराधीलाई दण्डित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्रविधिको सही प्रयोगले मात्रै डिजिटल संसारलाई सुरक्षित बनाउन सकिन्छ र साइबर फरेन्सिक त्यही दिशामा एक बलियो कदम हो ।
(यो लेख न्यायाधीश डा. रत्नबहादुर बागचन्दको ‘साइबर सुरक्षा, अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तकमा आधारित छ । उनी हाल उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् ।)
पछिल्लो अध्यावधिक: असार २१, २०८२ २१:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको तेस्रो तथा अन्तिम खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ।
नेपालले अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध ९ :१५ बजे खेल्ने छ।
सुरुआती ११ मा एक मात्रै परिवर्तन गरिएको छ।श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई आराम दिएका छन्। उनको स्थानमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्।
तर, अञ्जिलालाई भने कुनै मौका दिएनन्। उनको स्थानमा अञ्जना रानामगरले गोल पोस्टको जिम्मेवारी पाएकी छन्। अघिल्ला दुई खेलमा पनि अञ्जनाले नै गोल पोस्ट सम्हालेकी थिइन्। यस्तै, प्याट्रिकले अञ्जिलाको कप्तानी जिम्मेवारी पनि खोस्दै सावित्रा भण्डारी साम्बालाई सुम्पिएका थिए।
यसअघि समूहका दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ । एसियन कप २०२६ छनोट हुनका दुवै टोलीका लागि यो अन्तिम अवसर हो ।
त्यसअर्थ आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने खेल फाइनल सरह हुनेछ। दुवै टोलीको एक मात्र लक्ष्य जितसँगै एसियन कप छनोट नै हो। बराबरी भएको अवस्थामा टाइब्रेकरमा पुगेर पनि आजको खेलमा नतिजा निकाल्नु पर्ने हुन्छ।
यी दुई टोलीबीचको यो चौथो हुनेछ। दुवै राष्ट्रबीच अहिलेसम्म ३ खेल भएका छन् । जसमा सबै खेल उज्वेकिस्तानले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नबिल बैंकले आफ्नो नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रामक सूचना फैलाएर ठगी गर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै बैंकले पुरस्कार तथा अन्य आर्थिक लाभको प्रलोभन देखाएर गरिने ठगी (स्क्याम/ फिसिङ) बाट बच्न ध्यानाकर्षण गराएको हो ।
बैंकका अनुसार, हाल केही सामाजिक सञ्जाल तथा नक्कली वेबसाइटहरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार परेको जस्ता झुटा र भ्रामक सूचना प्रचार गरिरहेको पाइएको छ । यस्ता सूचना ठगी वा फिसिङको उद्देश्यले तयार पारिएको हुन सक्ने भन्दै बैंकले ग्राहकलाई त्यस्ता वेबसाइट वा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।
कुनै पनि जानकारीको आधिकारिकता पुष्टि गर्नका लागि बैंकको आधिकारिक वेबसाइटहरू nabilbank.com र nbank.nabilbank.com मा मात्र विश्वास गर्न बैंकले अनुरोध गरेको छ ।
यस्ता कुनै पनि शङ्कास्पद सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००१५ वा ईमेल [email protected] मा सम्पर्क गरेर सत्यतथ्य बुझ्न पनि बैंकले सुझाएको छ ।
बैंकले कुनै पनि अपरिचित वा नक्कली वेबसाइटमा विश्वास नगर्न र आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा अनलाइन प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढ्दै गएका छन् ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ १९:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सुदूरपश्चिम प्रदेशमा आफ्ना मन्त्री बर्खास्तीमा परेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
अब प्रतिपक्षमा बस्ने उनको भनाइ छ । नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
मन्त्री चौधरीले भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन् । यस्तै सदनलाई पनि भोलि नै जानकारी गराइने नाउपाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ।
शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
उनका अनुसार समिति सात सदस्यीय हुनेछ। जसमा कांग्रेस र एमालेबाट २/२ जना सदस्य रहनेछन्। बाँकी अरू दलबाट राखिनेछ।
छानबिन समितिमा राज्य व्यवस्था तथा सुशासन समितिकै सदस्यहरूलाई भने नराख्ने सहमति भएको छ।
दलहरूले नाम दिएपछि समिति गठन हुनेछ।
समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिने निर्णय भएको पनि सभामुख घिमिरेका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।
समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था उक्त विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेको थियो।
यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपाल खानेपानी संस्थानबाट सेवा निवृत्त भएपछि ६३ वर्षीय डा. भूपेन्द्र प्रसाद अरूजस्तो अवकाश जीवन शान्तिमा बिताइरहेका छैनन् । उनी सप्तरीमा रहेको ‘एबी बायो डिग्रेडेबल’ कारखानाको रेखदेखमा बिहानदेखि साँझसम्म खटिन्छन् ।
‘ल्युकेमिया’ को बिरामी भएकाले स्वास्थ्यले उनलाई बेला बेलामा समस्या निम्त्याउँछ । तापनि नेपालमा प्लास्टिकको विकल्पलाई सर्वसुलभ बनाउन उनी लागि परेका छन् ।
उनी सप्तरी आसपासका गाउँ र स्थानीय निकाय पुगेर बायो डिग्रेडेबल (जैविक रूपमा नष्ट हुन सक्ने वस्तु) झोला प्रयोग गर्न आग्रह समेत गरिरहेका छन् ।
सन् २०२३ मा छोरी डा. भितास्ता मुस्कान (२६) र छोरा डा. प्रविन प्रसाद (३६) सँग मिलेर डा भूपेन्द्रले ‘एबी बायो डिग्रेडेबल’ सञ्चालनमा ल्याएका हुन् । कम्पनीले जैविक रूपमा ६ महिनाभित्र नष्ट हुने झोला उत्पादन गर्दै आएको छ ।
कसरी बनाइन्छ यस्तो झोला ?
यस्तो प्लास्टिक बनाउन ग्रानुल (साबुदानाबाट बन्ने कच्चा पदार्थ) र फिलर (मकैबाट तयार हुने कच्चा पदार्थ) प्रयोग गरिन्छ । आफूहरूले सामग्री तयार गरिसकेपछि यो नष्ट हुन्छ कि हुँदैन भनेर विभिन्न तरिकाबाट पनि परीक्षण गरेको डा. भितास्ता सुनाउँछिन् ।
यसका लागि माटोमा गाडेर, तातो कुरा राखेर, जलाएर, फ्रोजन गरेर परीक्षण गरिएको थियो । “यो ९० देखि १८० दिनसम्ममा माटोमा मिल्छ । हामीले माटोमा गाडेको छ महिनापछि हेर्दा प्लास्टिकको कुनै कण बाँकी थिएन,” उनले भनिन् । यस्तै उक्त प्लास्टिक जलाए पनि हानिकारक रसायन ननिसक्ने, बरु खरानी बनेर नष्ट हुने उनले उल्लेख गरिन् ।
कति पर्छ मूल्य ?
हाल कम्पनीले आधा केजी, १ केजी, २ केजी र ५ केजी क्षमताका झोला उत्पादन गर्दै आएको छ । जसको मूल्य क्रमशः ३७०, ३७५, ३८५ र ३९० रुपैयाँ रहेको छ । ग्राहकले आवश्यक अनुसार झोलामा प्रिन्ट गर्न सक्ने सुविधा पनि पाउँछन् । कम्पनीले आफ्नो झोलामा ‘म प्लास्टिक होइनँ’ भन्ने स्लोगनसमेत राखेको छ । हालसम्म कम्पनीले ५०० केजीको आसपासमा मात्र झोला बिक्री गरेको डा. भितास्ताले सुनाइन् ।
झोला बिक्रीका लागि भने अलि समस्या भएको उनको अनुभव छ । उनले भनिन्, “काठमाडौँमा राम्रो बिक्री हुन्छ भनेर अपेक्षा गरिएको थियो, तर सोचे जस्तो भएन ।” देशका मूख्य मूख्य शहरका थोक तथा खुद्रा पसलसम्म उत्पादन पुर्याउने प्रयास भइरहेको छ । यस्तै विभिन्न पालिका प्रमुखहरूसँग पनि बायो डिग्रेडेबल झोला प्रयोगका लागि छलफल चलिरहेको उनले बताइन् ।
त्यस बाहेक काठमाडौँको बुढानीलकण्ठ-३ रुद्रेश्वरमा आफैँले पसल खोलेर पनि झोला बिक्री गर्दै आएको छ । यस्तै, अनलाइनबाट पनि बिक्री गर्ने तयारी रहेको उनले सुनाइन् ।
मसिन किन्ने बेलामा ठगिएपछि…
सेवा निवृत्त हुनु पूर्व खानेपानी संस्थानको महाप्रबन्धक थिए डा. भूपेन्द्र प्रसाद । संस्थानमा सुरक्षित र स्वच्छ खानेपानी उपभोक्तासम्म पुर्याउन अहोरात्र खटिँदा उनले पानीमा भएको प्रदूषणलाई पनि नजिकबाट अध्ययन गरेका थिए ।
त्यसैले उनी पानी र वातावरण जोगाउने कुनै काम गरौँ भन्ने चाहन्थे । “ठोस फोहोर, प्लास्टिक फोहोर होस् वा तरल फोहोरले वातावरणमा निकै ठुलो समस्या सिर्जना गरिरहेको छ । पोलिथिन समुद्रमा पुगेर माइक्रो लेभलमा टुक्रिएर नुनसँग मिल्छ । त्यही नुन भान्सामा पुगेर हामी खाइरहेका हुन्छौँ ।” उनी थप्छन्, “काठमाडौँ, विराटनगर, इटहरी जस्ता ठुला सहरमा फोहर व्यवस्थापनका विषयमा अलि अलि भएपनि सचेत छन् तर साना पालिकाहरूको आर्थिक अवस्थाले पनि व्यवस्थापन गर्न सकिरहेका छैनन् ।”
जागिरबाट अवकाश लिने बित्तिकै उनी सप्तरीको शम्भुनाथ गाउँपालिका वडा. नं ५ मोहनपुरस्थित पुर्ख्यौली घरमा फर्किए । गाउँमै रोजगारी पनि दिने र वातावरणको विनाश पनि रोक्ने काम गर्ने निर्णयमा पुगे । त्यसपछि सस्तोमा बायो डिग्रेडेबल प्लास्टिक उत्पादन गर्ने योजना बनाए । उनको यो काममा छोरी भितास्ता र छोरा प्रविनले पनि साथ दिए ।
०८० सालमा कारखानाका लागि आवश्यक पर्ने मसिन कहाँ किन्ने भनेर खोजी हुन थाल्यो । मसिन किन्न दिल्लीमा गएर त्यहाँको कारखाना हेरेर आएको भितास्ता सुनाउँछिन् ।
“त्यहाँ पुगेर हामीले मसिन नै हेरेर आएका थियौँ । पहिला भुक्तानी गर्नुपर्छ भनेपछि हामीले प्रक्रिया पूरा गरेर पैसा पठायौँ । तर बहाना बनाएर तीन-चार महिनासम्म पनि उनीहरूले मसिन पठाएनन्,” उनले त्यो क्षण सम्झिन् ।
मसिन र ढुवानीका लागि पेश्कीमा नै २० लाख रुपैयाँभन्दा धेरै खर्च भएको उनले बताइन् । पेश्की लिएर मसिन नपठाएपछि हाल उक्त कम्पनी विरुद्ध मुद्दा लडिरहेको उनले सुनाइन् ।
कारखाना बनाउन तयार पारेको रकम डुबेर निकै तनावमा पुगेका थिए डा. भूपेन्द्र । केही दिन उनलाई निद्रै परेन । उनी कामै नगर्ने मनसायमा पुगिसकेका थिए । तर श्रीमतीसहित परिवारबाट काम गर्न हौसला मिलेपछि उनमा जाँगर आयो ।
“परिवारले नै साथ दिएपछि जसरी भएपनि काम गर्छु भन्ने सोचेँ । ऋण खोजेर कलकत्ताबाट चाहिने मसिन किनेर ल्याएँ । र, सप्तरीको शम्भुनाथमा कारखाना सुरु गरेँ ।”
कर महँगो भएपछि समस्या
बायो डिग्रेडेबल प्लास्टिकका लागि आवश्यक पर्ने कच्चा पदार्थ हाल नेपालमा नै उपलब्ध छैनन् । चीन र भारतबाट आयात गर्नुपर्छ । त्यसमाथि सरकारले लगाएको महँगो करका कारण उत्पादनमा समस्या भएको डा. भूपेन्द्र बताउँछन् । मसिन र कच्चा पदार्थ आयातदेखि बायो डिग्रेडेबल प्लास्टिक बजारमा बिक्री गर्ने बेला ७४ प्रतिशत कर तिर्नुपरेको छ ।
“अरू प्लास्टिक पेट्रोलियम पदार्थबाट बन्छन् । तर हाम्रो प्लास्टिक बनाउन साबुदाना र मकैको प्रयोग गर्नुपर्ने भएकाले महँगो पर्छ ।” तर नेपाल सरकारले पर्यावरणका बारेमा सोचेर कच्चा पदार्थ तथा मसिनरी आयातमा भन्सार छुट गरेर थप सस्तो मूल्यमा बजारमा बिक्री गर्न सकिने उनले सुनाए ।
सरकारले स्वदेशी उत्पादन र वातावरणलाई ध्यानमा राखेर भन्सारमा छुट गर्न नसकेमा प्लास्टिकमा कर बढाउन उनी चुनौती दिन्छन् । “यदि वैकल्पिक प्लास्टिक उत्पादनका लागि करमा छुट दिन सक्दैन भने पेट्रोलियम पदार्थबाट बन्ने प्लास्टिकमा पनि हामीलाई जस्तै महँगो कर लगाउनु पर्यो । त्यसपछि मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ।”
सरकारले जलवायु परिवर्तनका विषयमा आवाज उठाउँदै आउँदा प्लास्टिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए । करमा कमीका साथै नीति नै बनाएर पेट्रोलियम पदार्थबाट बनेका प्लास्टिक उत्पादन र प्रयोगमा निरुत्साहन गर्ने र जैविक रुपमा नष्ट हुने झोला सस्तोमा उत्पादन हुने वातावरण निर्माण गर्नु पर्ने उनको माग छ ।
यता, समाजमा बायो डिग्रेडेबल उत्पादनको फाइदा र प्लास्टिकको बेफाइदाबारे चेतनाको कमी रहेको डा. भितास्ताको बुझाई छ ।
त्यसैले ग्राहकले मूल्य हेरेर प्लास्टिक नै खरिद गर्ने गरेका छन् । बजारमा हानिकारक प्लास्टिक सस्तो पर्ने भएकाले बायो डिग्रेडेबलले बजार पाउन समस्या भएको उनले सुनाइन् ।
यद्यपी कम्पनीले विभिन्न चुनौतीका बाबजुद २० जनालाई रोजगारी दिँदै आएको छ । उनी भन्छिन्, “विशेषगरी यहाँका स्थानीय महिलालाई रोजगारी दिन सकियोस् भन्नेमा जोड दिएका छौँ ।”
बायो डिग्रेडेबल बोतल बनाउने योजना
सरकारले पटक पटक प्लास्टिकको झोला प्रयोगलाई कम गर्ने नीति ल्याएपनि सफल हुन नसकेको डा. भितास्ता बताउँछिन् । यसको पछाडि प्लास्टिकलाई ‘रिप्लेस’ गर्न सक्ने गतिलो वैकल्पिक झोला बजारमा नआउनु हो ।
उनले भनिन्, “बजारमा कागजको झोला नै एउटाको १० रुपैयाँसम्म पर्छ । अझ कपडाको झोला झन महँगा छन् । अहिलेसम्म बजारमा आएका अन्य बायो डिग्रेडेबल झोला पनि महँगो छन् । प्लास्टिकसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय र सस्तो झोला बजारमा आएका नै थिएनन् ।”
आफूहरूले भने सहुलियत मूल्यमा नै बजारमा बायो डिग्रेडेबल झोला बनाएर प्लास्टिकको झोलाको विकल्प बन्ने लक्ष्य राखेको उनले बताइन् । उनले भनिन्, “नेपाली बजारको २० प्रतिशत झोला बायो डिग्रेडेबल झोलाले ओगट्ने गरि बजारमा जाने लक्ष्य राखेका छौँ ।”
यता प्लास्टिकको झोलामात्र नभएर बोतलहरू पनि वातावरणका लागि निकै हानिकारक भएको डा. भूपेन्द्र बताउँछन् । उनले भने, “मिनिरल वाटरको बोतलमा पानी खाएर जथाभाबी फालिरहेका हुन्छन् । यो निकै ठुलो समस्या भएको छ । वातावरणमा पनि धेरै असर पुर्याइरहेको छ ।” यहीकारण भावी दिनमा जैविक रूपमा नष्ट हुने बायो डिग्रेडेबल बोतल बनाउने सोच रहेको उनले सुनाए । त्यस्तै अहिलेको झोलाको गुणस्तर थप बढाउँदै जाने र १० केजी क्षमतासम्मका झोला बनाउने योजना राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ १७:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– बाढी र पहिरोका कारण देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ । त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध छ ।
यसैगरी, बाढीका कारण डोल्पाको भेरी करिडोर र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ