काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले छोटा भिडिओको बजारमा प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै आफ्नो वर्चस्व कायम गरेको छ । युट्युबका सीईओ निल मोहनले हालै एक कार्यक्रममा उक्त प्लेटफर्मको ‘शर्ट्स’ फिचरमा दैनिक २०० अर्बभन्दा बढी भ्युज आइरहेको खुलासा गरेका हुन् ।

यो आँकडा टिकटकको भन्दा करिब तीन गुणा बढी हो । सन् २०२४ को मार्चसम्म टिकटकमा दैनिक ७० अर्ब भ्युज आउने गरेको थियो । कुनै समय छोटो भिडिओमा टिकटक अग्रस्थानमा रहे पनि युट्युब र मेटाजस्ता कम्पनीको प्रवेशपछि प्रतिस्पर्धा बढेको हो । प्रतिस्पर्धा तीव्र भएसँगै टिकटकको मातृ कम्पनी बाइटडान्सले दैनिक भ्युजको तथ्याङ्क सार्वजनिक गर्न छोडेको छ ।
शर्ट्स बाहेक अन्य भिडिओका सन्दर्भमा पनि युट्युबको लोकप्रियता मोबाइल स्क्रिनसँगै अन्य स्क्रिनमा पनि उत्तिकै रहेको सीईओ निल मिहनले बताए । उनका अनुसार विश्वभरका प्रयोगकर्ताले हरेक दिन टेलिभिजनमा एक अर्ब घण्टा बराबरको युट्युब सामग्री हेर्छन् ।
“विश्वका शीर्ष १०० सबैभन्दा बढी हेरिने युट्युब च्यानलमध्ये आधाभन्दा बढीका लागि टेलिभिजन नै सबैभन्दा बढी हेरिने स्क्रिन हो,” सीईओ निल मोहनले भने । यससँगै युट्युबको शर्ट्सलाई अझ लोकप्रिय बनाउन कम्पनीले त्यसमा भिडिओ जेनेरेसन टुल ‘भिओ थ्री’ इन्टिग्रेट गर्ने तयारी थालेको सुनले सुनाए ।

हाल भिओ थ्रीबाट एक पटकमा आठ सेकेन्डको क्लिप बनाउन सकिन्छ । शर्ट्समा उपलब्ध भएपछि यसलाई प्रयोग गर्न शुल्क तिर्नुपर्छ वा निःशुल्क हुन्छ भन्ने विषय हालसम्म स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ ८:५५
सामाग्री श्रोत :
टेक पाना