
काठमाडौँ । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछोरी सामाजिक सञ्जालमा कस्तो सामग्री हेर्छन् भन्नेबारे अनभिज्ञ रहेको एक अध्ययनले देखाएको छ । सेफ चाइल्ड नेटले काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाथि गरेको अध्ययन अनुसार ११ प्रतिशत अभिभावक अनलाइन जोखिमबारे पूर्ण रूपमा अनजान थिए भने ८ प्रतिशतले मात्र यसबारे राम्रो जानकारी राखेका थिए । बाँकी ८१ प्रतिशतलाई सामान्य जानकारी मात्र थियो ।
प्रतिवेदनले ७० प्रतिशत अभिभावकले अनलाइनमार्फत बालबालिका यौन शोषण वा दुरुपयोगको जोखिमबारे थाहा नभएको देखाएको छ । त्यस्तै, ८५ प्रतिशत अभिभावकले आफ्ना बच्चासँग यौन तथा प्रजनन स्वास्थ्यबारे संवाद नै नगरेको बताएका छन् । तीमध्ये ६० प्रतिशतले आफ्ना बच्चा साना भएकाले यस्तो संवाद नगरेको बताएका छन् ।
बालबालिकाको उमेर बढ्दै जाँदा उनीहरूको अनलाइन प्रयोगमा अभिभावकीय निगरानी झन् कम हुँदै गएको देखिन्छ । ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकामा ४४ प्रतिशत अभिभावकले निगरानी गरेका थिए भने १३ देखि १७ वर्षका किशोर–किशोरीमा यो संख्या २३ प्रतिशत मात्र थियो ।
अध्ययन अनुसार ४५ प्रतिशत बालबालिकासँग आफ्नै डिजिटल डिभाइस छन् भने ३४ प्रतिशतले आफ्नै सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गरिरहेका छन् । तीमध्ये धेरैजसोले अभिभावकलाई जानकारी नै नदिई अकाउन्ट बनाएको पाइएको छ । १३ वर्षमुनिका ५९ जना बालबालिकाले आफैंले सामाजिक सञ्जाल अकाउन्ट खोलेको अध्ययनमा उल्लेख छ ।
कतिपय अभिभावकलाई आफ्ना बच्चाको एकभन्दा धेरै सोसल मिडिया अकाउन्ट भएको थाहा समेत छैन । ललितपुरकी एक किशोरीले आफ्ना दुई ओटा इन्स्टाग्राम अकाउन्ट रहेको बताएकी छिन्- एउटा परिवारका लागि र अर्को नजिकका साथीहरूका लागि ।
अधिकांश बालबालिकाले आमाको फोन वा अकाउन्टमार्फत सामाजिक सञ्जाल चलाइरहेका भए पनि त्यहाँ अभिभावकीय नियन्त्रण कमजोर देखिएको छ । यस्तो अवस्थाले बालबालिकालाई अनलाइन जुवा, यौनजन्य सामग्री, तथा अपरिचित व्यक्तिबाट हुने ‘ग्रुमिङ’ (grooming) जस्ता जोखिममा पारिरहेको छ । त्यसले गर्दा मानसिक तनाव र डिप्रेशनजस्ता समस्या देखा परेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा सहभागी अभिभावकमध्ये ९२ प्रतिशतलाई अनलाइन सुरक्षाबारे पर्याप्त जानकारी थिएन भने मात्र ३८ प्रतिशतले आफ्ना बालबालिकाका लागि स्क्रिन टाइम, फोन प्रतिबन्धजस्ता डिजिटल नियम बनाएको पाइएको छ । ती नियम पनि किशोर अवस्थामा पुगेका बालबालिकामा लागु गर्न कठिन भएको उनीहरूको अनुभव छ ।
अभिभावकहरू प्रायः अनलाइन यौनजन्य सामग्रीबारे जानकार छैनन् । मात्र १३ प्रतिशतले यस्तो विषयलाई गम्भीर जोखिमका रूपमा लिएका छन् । ५ प्रतिशत मात्र अभिभावकले आफ्ना बच्चाले अनलाइनमा अपरिचितसँग गरिरहेको संवादप्रति चासो देखाएको पाइएको छ ।
त्यसो त केही बालबालिकाले सामाजिक सञ्जालमा उमेर हदबन्दी बाइपास गर्न उमेर बढाएर अकाउन्ट बनाउने गरेको देखिएको छ । अध्ययनमा ५५ प्रतिशत अभिभावकले आफ्ना बच्चाले डेटिङ एपमा अकाउन्ट बनाएका होलान् भन्ने विश्वास नै नराखेको बताएका छन् । तर, फोकस ग्रुप डिस्कसनमा सहभागी बालबालिकाले Omegle, OmeTV, Ramailo जस्ता कम चर्चित एपहरूमा समेत अकाउन्ट बनाएको बताएका छन् ।
Omegle र OmeTV जस्ता एपबाट प्रयोगकर्ताहरू संसारभरका अपरिचितसँग सिधा जोडिन सक्छन् । तीमध्ये केही एप यौनजन्य गतिविधिका लागि प्रयोग भइरहेको पाइयो । त्यस्तै, ZArchiver, Alight Motion जस्ता कम परिचित एपहरूमा समेत बालबालिकाले अकाउन्ट बनाएको पाइएको छ ।
अध्ययनले अभिभावक र बालबालिकाबिचको डिजिटल व्यवहार सिधै जोडिएको देखाएको छ । इन्टरनेटमा धेरै समय बिताउने अभिभावकका बालबालिकाले पनि इन्टरनेटमा धेरै समय खर्च गर्ने गरेको उल्लेख गरिएको छ ।
बुवाहरू अनलाइन जोखिमप्रति सचेत भए पनि छोराछोरीसँग संवाद नगर्ने, आमाहरू भने सजिलै आफ्ना डिभाइस सुम्पिए पनि जोखिमप्रति बेखबर देखिएको अध्ययनको निष्कर्ष छ ।
बालबालिकाको डिजिटल सुरक्षा सुनिश्चित गर्न अध्ययनले शिक्षा, प्रविधि, कानुनी सहायता, नीति सुधार र सामुदायिक सहभागितालाई समेट्ने बहुपक्षीय उपाय आवश्यक रहेको औंल्याएको छ । अभिभावकलाई लक्षित गरेर तयार गरिएका सरल, व्यवहारिक र स्थानीय सन्देश मात्र बालबालिकाका लागि सुरक्षित अनलाइन वातावरण बनाउन सक्ने अध्ययनको सुझाव छ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ ७:८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ५२ वटै संवैधानिक पदाधिकारीहरूको पद जोगिएको छ ।
बुधबार मध्यराति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले २०७७ मङ्सिर ३० गते र २०७८ वैशाख २३ गते ल्याइएका दुई अध्यादेशअनुसार गरिएका नियुक्ति गैरकानुनी भएकाले बदरको माग गर्दै दायर १५ वटै रिट खारेज गरेको हो ।
पहिलो अध्यादेशअनुसार नियुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ जनाको नियुक्ति गैरकानुनी देखिएको भन्दै ती नियुक्ति बदर गर्नुपर्ने मत प्रधानन्यायाधीश राउतको थियो । राउतको मतमा न्यायाधीश नहकुल सुवेदी पनि सहमत थिए ।
तर न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले रिट खारेज गर्नुपर्ने मत राखेपछि बहुमतले रिट खारेज भएको हो । दोस्रो अध्यादेश भने कानुनसम्मत रहेको भन्दै सर्वसम्मत रिट खारेजीको फैसला भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । स्मार्टफोन निर्माता नथिङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन थ्री’ सार्वजनिक गरेको छ । सन् २०२२ मा बजारमा प्रवेश गरेको कम्पनीले लण्डनमा आयोजना गरेको कार्यक्रममार्फत यो मोडेल सार्वजनिक गरेको हो ।
नथिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईका अनुसार यो फोनमा प्रिमियम मटेरियल, हाई पर्फर्मेन्स र स्तरीय सफ्टवेयर प्रयोग गरिएको छ । कम्पनीले फोन थ्रीलाई सामसङलगायत अन्य प्रमुख एन्ड्रोइड ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारेको दाबी गरेको छ ।
यस पटक नथिङले फोनको पछाडि ‘ग्लिफ इन्टरफेस’ हटाएर नयाँ ‘ग्लिफ म्याट्रिक्स’ राखेको छ । यो म्याट्रिक्स फोनको पछिल्लो भागमा रहेको सानो माइक्रो-एलईडी स्क्रिन हो । कम्पनीका अनुसार यसले स्क्रिन टाइम घटाउन मद्दत गर्नेछ । प्रयोगकर्ताले फोनको मुख्य डिस्प्ले नखोली नै एप नोटिफिकेसन, सम्पर्कको जानकारी र रियल-टाइम प्रगति हेर्न सक्नेछन् ।
ग्लिफ म्याट्रिक्ससँगै ‘ग्लिफ टोइज’ नामक सफ्टवेयर फिचर पनि ल्याइएको छ । यसले डिजिटल घडी, स्टपवाच, ब्याट्री सूचकका रूपमा काम गर्छ ।
पछाडिको बटनको सहायताले सानो गेम पनि खेल्न सकिन्छ । नथिङले पब्लिक एसडीके उपलब्ध गराउँदै प्रयोगकर्ताले आफैंले नयाँ विजेट र गेम बनाउन सक्ने सुविधा दिएको छ । कम्पनीले छिट्टै कल गर्दा नम्बर वा नाम देखिने ‘कलर आईडी’ फिचर पनि ल्याउने जनाएको छ ।
फोनको मुख्य डिस्प्ले ६.६७ इन्चको एमोलेड हो, जसमा १.५के रेजोलुसन र ४,५०० निट्ससम्मको पिक ब्राइटनेस छ । यो नथिङको अहिलेसम्मकै सबैभन्दा उज्यालो र शार्प (तेज) स्क्रिन भएको कम्पनीले जनाएको छ । डिस्प्लेमा १२० हर्जको एडाप्टिभ रिफ्रेस रेट पनि उपलब्ध छ ।
फोटोग्राफीका लागि फोन थ्रीमा ट्रिपल रियर क्यामेरा र एक फ्रन्ट क्यामेरा छ । सबै क्यामेरा ५० मेगापिक्सेल सेन्सरसहित छन् । मुख्य र पेरिस्कोप क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) छ । भिडिओका लागि सबै लेन्सबाट फोरके र ६० एफपिएसमा रेकर्डिङ गर्न सकिन्छ ।
फोनमा स्न्यापड्रागन ८एस जेन ४ चिपसेट प्रयोग गरिएको छ, जसको प्रोसेसर ३.२१ गीगाहर्जको क्लक स्पिडमा चल्छ । यो प्रोसेसर अघिल्लो फोन टुको स्न्यापड्रागन ८+ जेन १ भन्दा ३६ प्रतिशत छिटो भएको बताइन्छ । जीपीयू प्रदर्शनमा पनि ८८ प्रतिशत सुधार भएको दाबी गरिएको छ ।
फोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा ५,१५० एमएएच ब्याट्री छ, जसले ६५ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ । कम्पनीले ब्याट्री एक पटक फुल चार्ज गर्दा ८० घण्टासम्म टिक्ने दाबी गरेको छ ।
फोनमा ‘एसेन्सियल की’ (Essential Key) नामक बटन राखिएको छ । यसबाट कम्पनीको ‘एसेन्सियल स्पेस’ एप खोल्न सकिन्छ । यसमा नयाँ ‘फ्लिप टु रेकर्ड’ फिचर पनि छ । यो फिचर प्रयोग गर्दा फोन उल्ट्याएर एसेन्सियल की थिचेपछि रेकर्ड सुरु हुन्छ र पछि त्यसको समरी (सारांश) ट्रान्सक्राइब भएर उपलब्ध हुन्छ ।
फोन थ्रीमा एन्ड्रोइड १५ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । कम्पनीले पाँच वर्षसम्म प्लेटफर्म अपडेट र सात वर्षसम्म सेक्युरिटी अपडेट दिने जनाएको छ ।
फोन ३ को प्रि-अर्डर ४ जुलाईदेखि सुरु हुनेछ भने विश्व बजारमा १५ जुलाईदेखि उपलब्ध हुनेछ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७९९ डलर (करिब एक लाख १० हजार रुपैयाँ) र १६ जीबी र्यामसहितको ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८९९ डलर (करिब एक लाख २३ हजार रुपैयाँ) तोकिएको छ । यो मूल्य सामसङ ग्यालेक्सी एस२५ को मूल्य बराबर हो ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ ६:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– एसियन कप क्वालिफायर महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालले ८–० गोल अन्तरले जित निकालेको छ ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल थप्यो ।
गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरे । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।
उज्वेकिस्तानमा जारी खेलमा नेपालको यो लगातार दोस्रो खेल हो । पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ