काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य रहेका बाँकेका पशुपतिदयाल मिश्र कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका छन् । उनी सो बैंकको पूर्वअध्यक्ष हुन् ।

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।
यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । पक्राउ परेकाहरुमथि अनुसन्धान जारी रहेको सिआईबी प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिएका छन् ।
सीआईबीबाट डीएसपी दानबहादुर थापाको कमाण्डको एउटा टोली नेपालगन्जमै रहेर कर्णाली बिकास बैंक ठगी प्रकरणको अनुसन्धान गरिरहेको जनाइएको छ । मिश्रसँगै कर्णाली बिकास बैंकको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

पक्राउ परेकाहरु विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । बैंकबाट अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।
२०६० सालमा कर्णाली विकास बैंक स्थापना भएको थियो । बैंक डुबेर जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले फरार रहेका बैंकका सिइओहरु तथा कर्मचारीको खोजीकार्य तीब्र पारेको छ ।
सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओसहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिइसकेको स्रोतले जनाएको छ ।
बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउबाट यसअघि पक्राउ परेका छन् । आज पक्राउ परेका पूर्वअध्यक्ष मिश्रका छोरा तथा बैंक संचालन समितिका वर्तमान अध्यक्ष ओम मिश्र रहेका छन् । यसकारण पनि पशुपतिमाथि छानविनको दवाव बढिरहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ