काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र दैनिक र रेडियो नेपालका सामग्रीहरूलाई डिजिटल प्रविधिमा सुरक्षित (आर्काइभ) गरिएको बताएका छन् । गोरखापत्रको ९२ वर्ष लामो इतिहास बोकेका सामग्री र रेडियो नेपालका ५५ हजारभन्दा बढी अडियो सामग्रीको डिजिटल आर्काइभिङ सम्पन्न भएको उनले जानकारी दिए ।

मंगलबार संसदमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले समाज रुपान्तरणको इतिहास बोकेका पुराना तथा महत्त्वपूर्ण सामग्रीहरूलाई भावी पुस्ताका लागि समेत सुरक्षित राख्ने उद्देश्यले ती सामग्रीलाई डिजिटल आर्काइभ गरिएको बताए ।
मन्त्री गुरुङले पुराना श्रव्य-दृश्य सामग्रीहरूको डिजिटल आर्काइभिङ गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताए ।
प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिको न्यूनीकरणका लागि आगामी आर्थिक वर्षदेखि रेडियो नेपालमार्फत विपद् पूर्व सूचना प्रणाली र दूरसञ्चार सेवाप्रदायकमार्फत एसएमएसमार्फत पूर्व सूचना दिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १४:३७
सामाग्री श्रोत :
टेक पाना