२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

डीएनए प्रविधिमार्फत वैज्ञानिकहरूले पुनर्निर्माण गरे साढे १० हजार वर्ष पुरानो महिलाको अनुहार

काठमाडौँ । करिब १०,५०० वर्षअघि हालको बेल्जियममा बसोबास गर्ने एक प्रागैतिहासिक महिलाको अवशेषको अध्ययन गरिरहेका वैज्ञानिकहरूले प्राचिन डीएनए प्रयोग गरी उनको अनुहारको पुनर्निर्माण गरेका छन् । यो महत्त्वपूर्ण वैज्ञानिक सफलताले प्राचीन युरोपेली मानिसहरूको बारेमा नयाँ र अप्रत्याशित जानकारी उजागर गरेको छ ।

गेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा रहेको एक टोलीले पत्ता लगाएअनुसार, पुनर्निर्मित महिलाका नीला आँखा र पश्चिमी युरोपका मेसोलिथिक (मध्य पाषाण कालीन) कालका अधिकांश मानिसहरूको भन्दा केही हलुका छाला थियो । गेन्ट विश्वविद्यालयकी पुरातत्त्वविद् तथा मेसोलिथिक बेल्जियमसम्बन्धी अनुसन्धान परियोजनाको नेतृत्व गरिरहेकी इजाबेल डे ग्रोटले सीएनएनलाई बताएअनुसार, यी महिला बेलायतमा सोही समयमा बाँचेका ‘चेद्दरम्यान’ (Cheddar Man) जस्तै मानव समूहकी थिइन्, तर उनको छाला ‘चेद्दरम्यान’को भन्दा हलुका थियो ।

यी निष्कर्षहरूले सिकार जम्मा पार्ने युरोपेलीहरूको आनुवंशिक बनावट एकनासको थियो भन्ने पहिलेका धारणाहरूलाई चुनौती दिएका छन् । डे ग्रोटका अनुसार यसले विभिन्न जनसङ्ख्या समूहहरूमा छालाको रङ्गमा पहिलेदेखि नै उल्लेखनीय भिन्नता रहेको देखाउँछ । खोपडीको विश्लेषणबाट, उनी ३५ देखि ६० वर्ष बीचकी भएको अनुमान गरिएको छ । डे ग्रोटका अनुसार, उनको नाकको डाँडी उचो थियो, जुन ‘चेद्दम्यान’सँग मिल्दोजुल्दो छ । महिला भए पनि उनको निधारको हाड बलियो थियो ।

यी महिलाको अवशेष सन् १९८८-१९८९ मा बेल्जियमको डिनान्टस्थित मार्गाउक्स गुफामा पुरातात्त्विक उत्खननका क्रममा भेटिएको थियो । त्यस क्रममा अन्य आठ जना महिलाको शवसँगै फेला परेको थियो ।

अनुसन्धान परियोजनाका सदस्य तथा विश्वविद्यालयका पुरातत्त्वविद् फिलिप क्रोम्बेका अनुसार, अवशेषहरू फेला पर्दा प्राचीन डीएनएमा अनुसन्धान गर्ने कुनै प्रविधि उपलब्ध थिएनन् । “उत्खननपछि प्रविधिहरू विकसित भएका छन्,” उनले भने, “इन्टरडिसिप्लिनरी परियोजना पुराना उत्खननहरूको अत्याधुनिक विधिहरू प्रयोग गरेर गरिने नयाँ विश्लेषण हो ।” क्रोम्बेले महिलाको खोपडीबाट निकै राम्रो गुणस्तरको डीएनए लिइएको र त्यसले विस्तृत पुनर्निर्माण सम्भव भएको बताए ।

उनको छालाको रङ्ग, कपालको रङ्ग र आँखाको रङ्ग सबै प्राचीन डीएनएमा आधारित छ । जबकि, गहना र ट्याटु जस्ता अन्य तत्त्वहरू भने मियुज नदी बेसिनका अन्य उत्खननहरूबाट प्राप्त पुरातात्त्विक जानकारीमा आधारित छन् । यसले उनको दैनिक जीवनको चित्र बनाउन पनि मद्दत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २१:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट