२०८२ श्रावण २३ बिहीबार
२०८२ श्रावण २३ बिहीबार

काठमाडौँ । नेपाल प्रहरीले हालै ललितपुरमा एउटा ठुलो अनलाइन सट्टाबाजीको र्‍याकेट फेला पार्‍यो । त्यसमा संलग्न ५ जना भारतीय र १२ जना नेपाली गरी १७ जना पक्राउ परे । उक्त समूहले ‘711Bat.club’, ‘711Bat.com’ र ‘Unicon offline’ जस्ता अनलाइन साइटहरू प्रयोग गरी ८१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रमाण फेला परेको छ । यो सञ्जाल सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालित रहेको भए पनि त्यहाँको महँगो खर्चका कारण नेपालमा सारिएको खुलेको छ ।

यो र्‍याकेटमा पक्राउ परेका मुख्य प्रतिवादी मध्येका एक हुन्, डायमण्ड कुँवर । अछाम साँफेबगरका २९ वर्षीय उनी करिब दुई ढाई वर्ष अघि भिजिट भिसामा यूएई गएका थिए । उनका अनुसार वर्किङ भिसा बनाएर कामको खोजीमा थिए ।  त्यसैक्रममा भारतीय नागरिक निखिल सोनी भन्ने ब्यक्तिसँग उनको भेट भयो । निखिलले क्यासिनोको काम अफर  गरे । तयार भएपछि उनले डायमण्डलाई लिएर यूएईको सत्तुवा सहरमा रहेको एउटा भवनमा पुर्‍याए । त्यहाँ भारतीय नागरिक राहुल सिंह, नेपाली नागरिक विनोद विक्रम शाही, महेश बोगटी र दिपक पौडेल भेटिए । यसरी डायमण्ड पनि उनीहरूले सञ्चालन गरिरहेको अनलाइन जुवा खेलाउने काममा संलग्न भए । 

च्याट सपोर्टको रूपमा बेटिङको काम थालेका उनी क्रमशः ग्राहकको रकम कसरी डिपोजिट गर्ने, कसरी विथड्र गर्ने लगातका काममा सक्रिय हुन थाले । करिब दुई वर्ष यूएईमा अनलाइन सट्टेबाजीको काम गरेको बताउने डायमन्डले त्यहाँ मासिक ७४ हजार रुपैयाँ पाउँथे । 

यूएईमा बस्न-खान महँगो हुने देखेर त्यहाँ गरिरहेको अनलाइन सट्टेबाजीको काम नेपालमै बसी गर्न सकिने आइडिया उनले निकाले । त्यसपछि सञ्चालक मध्येका राहुल सिंहसहित पुस २०८१ मा नेपाल आए  । पक्राउ पर्ने कुँवरसँगै डोटी पुर्वीचौकी-४ का हर्कबहादुर खड्का, ठक्कर कुँवर, तिलक खड्का, रूपन्देही, तिलोत्तमा-४ का पुर्णबहादुर दर्लामी मगर, दाङ, लमही-१ बिष्णुकुमार रावत, नवलपरासी (पुर्व) गैडाकोट-१२ का जीतबहादुर महतो सबै भिजिट भिषामा यूएई पुगेरै अनलाइन बेटिङमा जोडिएका हुन् । त्यस्तै  भारतीय नागरिकहरू बिहारका दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र दिल्लीका मोहितकुमार सिंहले पनि भिजिट भिसामा आफूहरू दुबई गएको बेला विभिन्न व्यक्तिहरूको सम्पर्कबाट अनलाइन बेटिङसँग जोडिएको बयान दिएका छन् । 

बाँकी कैलाली गौरीगंगा ६ का अरविनकुमार खड्का, अछाम चौरपाटी ७ का मनोज बोगटी, कञ्चनपुर कृष्णपुर ३ का राजेन्द्रबहादुर महता, अछाम साँफेबगर ७ का तेजबिकास थापा र डोटी पुर्वीचौकी ४ का सुवाश खड्का कामको खोजी गर्ने क्रममा काठमाडौँमै आएर यसमा संलग्न भए । भारत, बिहारका ऋषभ राजले उडिसामा नोकरी खोज्ने क्रममा भेटिएका एक व्यक्तिको सम्पर्कबाट काठमाडौँ आइपुगेको बयान दिएका छन् । नेपालमै अनलाइन सट्टेबाजीमा जोडिएकाहरूले खान-बस्न निःशुल्क अनि मासिक २५ हजार भारुदेखि माथिको तलब आफूहरूले पाउने गरेको बताएका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले ललितपुर महानगरपालिका-२६ जैनखेलस्थित एक घर र वडा १३ नख्खुस्थित सनराइज अपार्टमेन्टको एक फ्ल्याटमा छापा मारेको थियो । १९ जेठ २०८२ को साँझ ५ बजे छापा मार्ने क्रममा अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेका १५ जनालाई जैनखेलबाट र डायमण्ड कुँवरको बयानका आधारमा नख्खुस्थित अपार्टमेन्टबाट थप २ जनालाई पक्राउ गरिएको हो ।

मुख्य योजनाकार राहुल सिंह, दिपक पौडेल र महेश बोगटी (रोलेक्स) भने फरार रहेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूकै निर्देशनमा डायमण्ड कुँवरले यस समूहको नेतृत्व गरेको बताइएको छ । 

यस समूहले क्रिकेट, फुटबल, टेनिस र तासको ‘तीन पत्ती’ जस्ता खेलहरूमा अनलाइन सट्टाबाजी खेलाउने गरेको थियो । खेलाडीहरूले ‘www.711Bat.club’ जस्ता साइटहरूमा साइनअप गरी भारतीय मोबाइल नम्बरबाट ओटीपी प्राप्त गरेर आईडी बनाउँथे । त्यसपछि, साइटमा रहेको भारतीय बैङ्क खातामा रकम जम्मा गरेपछि स्वतः कोइन प्राप्त हुन्थ्यो, जसबाट उनीहरूले बाजी लगाउन सक्थे । जित्दा कोइन बढ्ने र हार्दा घट्ने व्यवस्था मिलाइएको थियो । ग्राहकले जितेको रकम आफ्नो बैँक खातामा निकाल्न सक्ने प्रणाली बनाइएको थियो ।

समूहका सदस्यहरूले ग्राहकहरूलाई सपोर्ट दिने, समयमा रकम जम्मा गर्ने र निकाल्ने, तथा प्राविधिक समस्याहरू समाधान गर्ने जस्ता कामहरू गर्थे । उनीहरूले ह्वाट्सएपको माध्यमबाट ‘RTGS Group’ र ‘Account Group’ हरू बनाएर रकम र बैङ्क खाता उपलब्ध गराई कारोबार सञ्चालन गर्ने गरेका थिए । बरामद भएका ल्यापटप र मोबाइलको प्राविधिक जाँचबाट ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।

अधिकांश प्रतिवादीहरूले आफूहरू दुबईमा पनि यस्तै काम गरेको र पछि नेपाल आएर निरन्तरता दिएको बयान दिएका छन् । उनीहरूलाई मासिक नेपाली ४० हजारदेखि ८० हजार रुपैयाँसम्म (भारतीय २५ हजारदेखि ५० हजार रुपैयाँसम्म) तलब दिने गरिएको थियो ।

यी प्रतिवादीहरू विरुद्ध सट्‍टेबाजीसम्बन्धी कसुरमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसअनुसार उनीहरूबाट बिगो जफतसँगै एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २०:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विद्युतीय शवदाह गृहको उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले जानकारी दिए ।

Ncell 2
Ncell 2

अख्तियारले शवदाह गृहको उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरेको छ । यो प्रकरणमा सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी लिइएको छ ।

यसैगरी उपकरण आपूर्तिकर्ता म्याप इन्ट्रप्रेनर प्रालिका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि संयुक्त रुपमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । यस्तै एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध कायम गरेको बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी छ ।

पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ मा बोलपत्र आह्वान गरी विद्युतीय शवदाह गृहको उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । उक्त प्रक्रियामा योग्यता नपुगेका र योग्यता नपुगेका कम्पनीलाई ठेक्का दिलाउन मापदण्डसमेत हेरफेर गरिएको लगायतका र मिलोमतोमै रकम भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । करिब १०,५०० वर्षअघि हालको बेल्जियममा बसोबास गर्ने एक प्रागैतिहासिक महिलाको अवशेषको अध्ययन गरिरहेका वैज्ञानिकहरूले प्राचिन डीएनए प्रयोग गरी उनको अनुहारको पुनर्निर्माण गरेका छन् । यो महत्त्वपूर्ण वैज्ञानिक सफलताले प्राचीन युरोपेली मानिसहरूको बारेमा नयाँ र अप्रत्याशित जानकारी उजागर गरेको छ ।

गेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा रहेको एक टोलीले पत्ता लगाएअनुसार, पुनर्निर्मित महिलाका नीला आँखा र पश्चिमी युरोपका मेसोलिथिक (मध्य पाषाण कालीन) कालका अधिकांश मानिसहरूको भन्दा केही हलुका छाला थियो । गेन्ट विश्वविद्यालयकी पुरातत्त्वविद् तथा मेसोलिथिक बेल्जियमसम्बन्धी अनुसन्धान परियोजनाको नेतृत्व गरिरहेकी इजाबेल डे ग्रोटले सीएनएनलाई बताएअनुसार, यी महिला बेलायतमा सोही समयमा बाँचेका ‘चेद्दरम्यान’ (Cheddar Man) जस्तै मानव समूहकी थिइन्, तर उनको छाला ‘चेद्दरम्यान’को भन्दा हलुका थियो ।

यी निष्कर्षहरूले सिकार जम्मा पार्ने युरोपेलीहरूको आनुवंशिक बनावट एकनासको थियो भन्ने पहिलेका धारणाहरूलाई चुनौती दिएका छन् । डे ग्रोटका अनुसार यसले विभिन्न जनसङ्ख्या समूहहरूमा छालाको रङ्गमा पहिलेदेखि नै उल्लेखनीय भिन्नता रहेको देखाउँछ । खोपडीको विश्लेषणबाट, उनी ३५ देखि ६० वर्ष बीचकी भएको अनुमान गरिएको छ । डे ग्रोटका अनुसार, उनको नाकको डाँडी उचो थियो, जुन ‘चेद्दम्यान’सँग मिल्दोजुल्दो छ । महिला भए पनि उनको निधारको हाड बलियो थियो ।

यी महिलाको अवशेष सन् १९८८-१९८९ मा बेल्जियमको डिनान्टस्थित मार्गाउक्स गुफामा पुरातात्त्विक उत्खननका क्रममा भेटिएको थियो । त्यस क्रममा अन्य आठ जना महिलाको शवसँगै फेला परेको थियो ।

अनुसन्धान परियोजनाका सदस्य तथा विश्वविद्यालयका पुरातत्त्वविद् फिलिप क्रोम्बेका अनुसार, अवशेषहरू फेला पर्दा प्राचीन डीएनएमा अनुसन्धान गर्ने कुनै प्रविधि उपलब्ध थिएनन् । “उत्खननपछि प्रविधिहरू विकसित भएका छन्,” उनले भने, “इन्टरडिसिप्लिनरी परियोजना पुराना उत्खननहरूको अत्याधुनिक विधिहरू प्रयोग गरेर गरिने नयाँ विश्लेषण हो ।” क्रोम्बेले महिलाको खोपडीबाट निकै राम्रो गुणस्तरको डीएनए लिइएको र त्यसले विस्तृत पुनर्निर्माण सम्भव भएको बताए ।

उनको छालाको रङ्ग, कपालको रङ्ग र आँखाको रङ्ग सबै प्राचीन डीएनएमा आधारित छ । जबकि, गहना र ट्याटु जस्ता अन्य तत्त्वहरू भने मियुज नदी बेसिनका अन्य उत्खननहरूबाट प्राप्त पुरातात्त्विक जानकारीमा आधारित छन् । यसले उनको दैनिक जीवनको चित्र बनाउन पनि मद्दत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २१:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २ खेलेर स्वदेश फर्किएको छ ।

आइतबार अपरान्ह स्वदेश फर्किएको टोलीलाई त्रिभुवन बिमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । 

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । त्यस्तै लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो । 

Ncell 2
Ncell 2

स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए । 

नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे । 

विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टि ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘अप्सरा’ को भूमिकाबाट परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको भन्दै आइतबार सामाजिक सञ्जाल टिकटकमा विभिन्न पोस्टहरू आइरहेका छन् । केही पोस्टमा उनको ‘निधन भएको’ उल्लेख गरिएको छ भने केहीमा श्रद्धाञ्जलीको सङ्गीत राखेर भिडिओ बनाइएको छ । तर, टेकपानाको फ्याक्टचेकले निधनको खबर झुटो भएको देखाएको छ । स्तन स्क्यान्सरबाट ग्रसित श्रेष्ठको स्वास्थ्य अवस्था भने दिनानुदिन बिग्रँदै गएको पाइएको छ ।

दाबी

आइतबार, ८ असार २०८२ (२२ जुन २०२५) मा बिहान करिब आठ बजे सामाजिक सञ्जाल टिकटकमा ‘राधिका तिवारी’ नामक अकाउन्टबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओको क्याप्सनमा ‘आमाको बैकुण्ठ मा बास होस्’ लेखिएको छ । उक्त भिडिओभित्र ‘सबैलाई हसाउने अप्सरा आमा सबैलाई सम्झाना मात्र छोडि हामी बाट सदाका लागि बिदाई भएर जानू भएको छ’ लेखिएको छ । उक्त भिडिओमा गायक पुस्कल शर्माले गाएको ‘सति प्रथा’ बोलको गीत राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ६५ हजार बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

 

तथ्यजाँच 

राधिका तिवारी नामक टिकटक अकाउन्टबाट भिडिओ पोस्ट भएको फेला पारिसकेपछि टेकपाना फ्याक्टचेक डेस्कले यस्तै अन्य सामग्री खोज्न थाल्यो । त्यस क्रममा ‘चौहान क्विन ५४’ युजनरनेम र टिकटक किङ नाम सहित गायिका एलिना चौहानको फोटो प्रोफाइल पिक्चर राखिएको अकाउन्टबाट २० घण्टाअघि अर्थात् शनिबार राति ११ बजेतिर त्यही आशयको अर्को पोस्ट राखेको भेटियो । उक्त पोस्टमा कुनै क्याप्सन राखिएको छैन । तर, फोटोमा कलाकार राजाराम पौडेल, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भेटघाट गरेको फोटो जोडेर राखिएको छ । त्यसको ब्याकग्राउन्ड म्युजिकमा ‘श्रद्धाञ्जली गीत’ राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा  १२ लाख भन्दा बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यही अकाउन्टबाट बिहान १० बजेतिर यस्तै आशयको अर्को पोस्ट अपलोड भएको छ । त्यसमा पनि माथि प्रयोग गरिएको सङ्गीत प्रयोग गरेको देखिन्छ । 

यीबाहेक अन्य फेसबुक पेज तथा प्रयोगकर्ता र टिकटक प्रयोगकर्ताले पनि लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखिरहेका छन् । 

मेरी बास्सैमा श्रेष्ठसँगै काम गरेका  सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बिहीबार उनकै निवासमा भेट्न गएका थिए । घिमिरेले भेटघाटको भिडिओ पनि राखेकी थिइन् । यो सामग्री तयार पार्ने क्रममा आइतबार राति (९ बजेतिर) सिताराम कट्टेल (धुर्मुस)लाई हामीले सम्पर्क गर्‍यौं । “उहाँको निधन भएको भन्ने पोस्टहरू भ्रामक हुन्,” कट्टेलले टेकपानासँग भने, “उहाँ (लक्ष्मी श्रेष्ठ)लाई त्यस्तो नहोस्, हामी कामना गर्छौं ।”

अनलाइन खबरमा आइतबार दिउसो ४ः२५ बजे ‘घरमै थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यस्तै सेतोपाटीमा आइतबार दिउसो १ः३२ बजे ‘बिरामी परिन् ‘मेरी बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यसैगरी नेपाल प्रेसमा आइतबार बेलुका ५ः४१ बजे ‘घरमै थलिइन् क्यान्सर पीडित ‘मेरी बास्सै’की ‘अप्सरा’’ शीर्षकमा समाचार आएको छ । त्यसका साथै नेपालखबरमा दिउसो २ः४९ बजे ‘क्यान्सरले थला परिन् ‘मेरि बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । 

यी समाचार माध्यमले पारिवारिक स्रोतसँगको कुरा उद्धिृत गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था बिग्रिँदै गएको उल्लेख गरेका छन् । समाचारका अनुसार गएको दसैँदेखि अस्वस्थ उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । तर, डाक्टरले उपचार सम्भव नभएको भन्दै दुई साताअघि घर फर्काइदिएका थिए ।

हाल काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको रेखदेख उनकी छोरीले गर्दै आइरहेकी छिन् । दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको समाचारमा उल्लेख छ । साथै उनको औषधि छुटाइसकेको र झोल खानेकुराबाहेक खाना खान छाडेकी बताइएको छ । यो सामग्री तयार पार्दासम्म अधिकांश सञ्चार माध्यमले उनको स्वास्थ्य अवस्था बिग्रिरहेको उल्लेख गरे पनि अप्रिय खबर दिएका छैनन् । 

कलाकार लक्ष्मी श्रेष्ठको नजिककी कलाकार सुशीला निरौला (बिम्ली)ले सामाजिक सञ्जाल फेसबुक मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेकी छिन् । 

उनले पनि आइतबार लक्ष्मी श्रेष्ठसँगको एक पुरानो भिडिओ राख्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । यी सबै प्रमाणबाट कलाकार लक्ष्मी श्रेष्ठ उर्फ अप्सरा आमाको निधन भन्ने दाबी मिथ्या रहेको पुष्टि हुन्छ । 

दाबी

हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन ।

दाबीकर्ता

चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्ट ।

तथ्य

विगत लामो समयदेखि स्तन क्यान्सरबाट पीडित कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा आमा’को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो अप्रिय घटना भएको छैन । 

निष्कर्ष

चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्टले शनिबार रातिदेखि पोस्ट राख्दै टेलिसिरियल मेरी बास्सैमा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखेका छन् । तर, यो सामग्री तयार पार्दासम्म आएका विभिन्न सञ्चार माध्यमका समाचार र श्रेष्ठको बारेमा निरन्तर जानकारी दिइरहेकी सुशीला निरौला ‘बिम्ली’को पोस्ट र कुनै समय सहकार्य गरेका सिताराम कट्टेल ‘धुर्मुस’सँग गरेको कुराकानीबाट लक्ष्मी श्रेष्ठको निधन भएको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २१:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको आइतबाको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले दुई बुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी गराएका हुन् ।

Ncell 2
Ncell 2

मुख्य सचेतक बर्तौलाले भने, ‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुरिँदैन । आजको मितिले बढीमा तीनदेखि पाँच दिन भित्रमा हामी संयन्त्र बनाउँछौँ । गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ । त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।’

उनले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको बताउदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदको अवरोधप्रति निन्दा व्यक्त गरे ।

आइतबारको बैठकमा नै त्यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । शवदाह मसिन खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सहित १४ जना र दुई कम्पनी विरुद्ध मुद्‍दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शवदाह मसिन खरिदमा १० करोड ३३ लाख भन्दा बढी हिनामिना गरेको आरोपसहित आइतबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । 

खतिवडा सहित कोषका सदस्य सचिव मिलनकुमार थापा, उपनिर्देशक रेवती रमण अधिकारी,  तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री र तत्कालीन उपनिर्देशक सिताराम रिसेलव विरुद्ध अभियोग पत्र दायर भएको हो । यस्तै अभियोग पत्रमा इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, कानुनी सल्लाहकार लैनबहादुर थापा र पुल्चोक क्याम्पसका उपप्राध्यापक युवराज अधिकारी समेत संलग्न रहेको उल्लेख छ ।  

त्यस बाहेक म्याप एन्टरप्रेनर्स प्रालिका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालीका प्रबन्ध निर्देशक सुरज चापागाईसमेत अभियुक्त बनाइएको छ । आरोपीहरूले ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मसिनको लागत अनुमान बढाएर १ करोड ५२ लाख रुपैयाँ देखाएको अख्तियारको आरोप छ । यस्तै शवदाह मसिन खरिद गर्ने बेलामा नियम विपरीत मिलेमतोमा एकै कम्पनीलाई फाइदा हुने गरी खरिद प्रक्रिया अघि बढाएको आरोप पनि लगाइएको हो । 

अख्तियारका अनुसार कोषले ५ असार २०८० मा शवदाह मसिन खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । सो पछि १० करोड २२ लाख ९१ हजार ३० रुपैयाँमा म्याप एन्टरप्रेनर्स प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । 

तर, कम्पनी छनोटको क्रममा प्रतिस्पर्धा सीमित गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीमा अनुसन्धान हुँदा मसिनका लागि अनुभव नभएको परामर्शदाताबाट झुटो कोटेसन तयार गरेको, फर्जी कागजात प्रयोग गरेर बढी लागत अनुमान गरेको, नक्कली विज्ञ खडा गरी नक्कली प्रतिवेदन तयार गरेको, गैरप्राविधिक मूल्याङ्कन लगायतका कामहरूमा संलग्न भएको आरोप लगाइएको छ । 

यस्तै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ का आधारहरूलाई पालना नगरी १ करोड ८२ लाख पेस्की समेत उपलब्ध गराइएको उल्लेख छ । तर खरीद गरिएका मसिन न्यून गुणस्तरको भएर पटक पटक बिग्रिँदा पनि पेस्की रकम जमानत नगरेको अख्तियारको दाबी छ । अहिले उक्त शववाहन मसिन सञ्चालनमा समेत नआएको बताइएको छ । 

आरोपीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, १९ र २२ अन्तर्गत अभियोगपत्र दायर गरिएको हो  । उनीहरूबाट बिगो बमोजिम जरिबाना, कैद सजाय र सरकारी सम्पत्तिको हिनामिनाको क्षतिपूर्ति माग गरिएको छ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २०:२८





सामाग्री श्रोत :
टेक पाना

जेरुसेलम– इजरायलले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन ‘सेफ रिर्टन’ योजना अघि सारेको छ । यातायातमन्त्री मिरी रेगेवले यो योजना अनुसार देश बाहिर रहेका एक लाख ५० हजार इजरायली नागरिकलाई स्वदेश ल्याइने बताएकी छन् ।

दस दिनयता जारी इजरायल-इरान युद्धका कारण इजरायली आकाशमा उडान प्रतिबन्ध लगाइएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले यातायातमन्त्रीको भनाइ उदृत गर्दै निजी जहाज र पानीजहाजमार्फत देश बाहिर रहेका एक लाखदेखि डेढ लाख इजरायलीलाई स्वदेश झिकाउन लागेको उल्लेख गरेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा यस्तो काम सुरु गर्न लागिएको पनि यातायातमन्त्रीले बताइकी छन् ।

Ncell 2
Ncell 2

यातायातमन्त्री रेगेवले इजरायलमा बसिरहेका गैरनागरिकहरु जसमा बर्थराइट ट्रिप्स (इजरायलले देश बाहिर जन्मेका १८ देखि २६ वर्ष उमेर समूहका यहुदी किशोर– जसलाई नि:शुल्क दस दिने भ्रमणमा इजरायल घुम्ने योजना अन्तर्गत घुम्न आएका वा विदेशी पर्यटक पर्छन्) मा रहेकालाई सुरक्षित रुपमा देश बाहिर पठाउने काम पनि सरकारले गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले विदेशमा रहेका इजरायलीलाई स्वदेश ल्याउन हरसम्भव सबै प्रयास गर्नेछौं तर यसका निम्ति केही समय लाग्नेछ । किनकि यो रातारात हुने काम होइन ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । राइड हेलिङ प्लेटफर्म इनड्राइभको टपअप अब डिजिटल वालेट ‘खल्ती’बाट सिधै गर्न सकिने भएको छ । यसअघि आईएमई पेमा मात्र सीमित यो सुविधा दुई डिजिटल वालेट गाभिने भएपछि खल्तीमा पनि उपलब्ध गराइएको हो ।

आईएमई पे र खल्ती एकआपसमा गाभिएपछि आईएमई पेका विशेष सुविधाहरू क्रमशः खल्तीमा थपिँदै गइरहेका छन् । सोही प्रक्रियाअन्तर्गत इनड्राइभ टपअपको सुविधा पनि खल्तीमा आएको हो । “पहिले राइडरहरूले इनड्राइभमा टपअप गर्न आईएमई पे नै प्रयोग गर्नुपर्ने हुन्थ्यो,” आईएमई पेका एक प्रतिनिधिले भने, “अब खल्तीमा पनि यो सुविधा उपलब्ध भएको छ, जसले गर्दा राइडरलाई थप सहज हुनेछ ।”

इनड्राइभका राइडरले प्रत्येक राइड सम्पन्न गरेपछि कम्पनीलाई निश्चित प्रतिशत कमिसन बुझाउनुपर्छ । उक्त कमिसन भुक्तानीका लागि उनीहरूले आफ्नो इनड्राइभ खातामा रकम टपअप गर्नुपर्ने हुन्छ ।

आगामी १ साउनदेखि आईएमई पेका सम्पूर्ण कारोबार खल्ती एपबाटै सञ्चालनमा आउने छन् । त्यसैको तयारी स्वरूप आईएमई पेका सेवा तथा फिचर खल्तीमा स्थानान्तरण हुन थालेका हुन् ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १८:४३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको बताएका छन्।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए।

Ncell 2
Ncell 2

उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए। पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको बताए। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री ओलीले भने‚ ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई विकास गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरू उपयोगी हुन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।’

प्रधानमन्त्री ओलीले विरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको बताए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट