काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको बिजनेस म्यानेजमेन्ट सफ्टवेयर ‘ओडू’ (Odoo) ले आफ्नो पछिल्लो संस्करण ‘भर्सन १८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रतिनिधिले सफ्टवेयरका नयाँ फिचर, कार्य क्षमता र नेपाली व्यवसायका लागि यसको उपयोगिताको बारेमा विस्तृत जानकारी दिएका हुन् ।

कार्यक्रम साना, मझौला तथा ठुला सबै प्रकारका संस्थाका लागि ओडू कसरी एक शक्तिशाली र एकीकृत समाधान बन्न सक्छ भन्ने विषयमा केन्द्रित थियो । कम्पनीका अनुसार आज धेरै कम्पनीले फरक-फरक कामका लागि छुट्टाछुट्टै सफ्टवेयर प्रयोग गर्ने झन्झट बेहोरिरहेका छन् । ओडूले यही समस्याको समाधान गर्दै उत्पादन, गोदाम व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन, बिक्री, खरिद, मार्केटिङ र ई-कमर्स जस्ता सबै पक्षलाई एउटै प्रणालीमा एकीकृत गर्छ ।
यसमा रहेका ७० भन्दा बढी एप एक-आपसमा पूर्ण रूपमा जोडिएकाले व्यावसायिक कम्पनीभित्रका कुनै पनि विभागको जानकारी अर्को विभागले तुरुन्तै पाउन सक्छ । यसले गर्दा काममा प्रभावकारिता बढ्ने कम्पनीले जनाएको छ ।
कम्पनीले व्यावसायिक क्षमताको हिसाबले आफूलाई एसएपी, ओराकल जस्ता ठुला ईआरपी सफ्टवेयरसँग तुलना गरे पनि प्रयोगकर्ताका लागि यो अत्यन्तै सरल र सहज रहेको दाबी गरेको छ । सार्वजनिक गरिएको नयाँ भर्सन १८ मा व्यवसाय सञ्चालनलाई थप सहज बनाउने विभिन्न फिचर थपिएका छन् । यससँगै अब कम्पनीले आफ्ना बिक्री प्रतिनिधिका लागि लक्ष्य निर्धारण गरी सोही आधारमा कमिसन स्वतः मापन गर्न सक्नेछन् ।

त्यसैगरी कोटेसन वा बिल जस्ता पीडीएफ फाइलमा आफ्नो अनुकूल जानकारी, लोगो वा डिजाइन थप्न मिल्ने ‘कस्टम जोन’ को सुविधा पनि ल्याइएको छ । अब म्यानुअल रूपमा उत्पादनको विवरण टाइप गर्नुको सट्टा, सेल्स एपबाट सिधै क्याटलगमा गएर वस्तु र सङ्ख्या छनोट गर्न सकिने, वेबसाइट बिल्डरमा परिष्कृत डिजाइन छनोट गर्न सकिने, बारकोडमार्फत उत्पादनको जानकारी प्रणालीमा स्टोर गर्न सकिने जस्तो सहजता प्राप्त हुनेछ ।
साथै प्वाइन्ट अफ सेल (POS) प्रणालीलाई पनि थप सुविधासम्पन्न बनाइएको छ । यस किसिमका सुधारले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीको विश्वास छ । कार्यक्रममा विभिन्न क्षेत्रका २०० बढी पेसाकर्मीहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रममा यसको कार्यक्षमता पुष्टि गर्न नेपालको एक इलेक्ट्रोनिक्स रिटेलर कम्पनीको उदाहरण दिँदै प्रत्यक्ष डेमो समेत प्रस्तुत गरिएको थियो ।
डेमोमा देखाइए अनुसार जब एक ग्राहकले वेबसाइटमार्फत वाशिङ मसिन खरिद गर्ने बारे सोधपुछ गर्छन्, त्यो जानकारी स्वतः सीआरएम प्रणालीमा ‘लिड’को रूपमा पुग्छ । बिक्री प्रतिनिधिले तुरुन्तै कोटेसन पठाउँछन्, तर प्रणालीले गोदाममा उक्त सामान नभएको जानकारी दिन्छ । त्यसपछि पर्चेज (Purchase) एपमार्फत सबैभन्दा उपयुक्त आपूर्तिकर्ताबाट सामान खरिद गरिन्छ र सामान गोदाममा आएपछि ‘इन्भेन्टरी’ (Inventory) एपमा त्यसको जानकारी स्वतः अपडेट हुन्छ ।
यो सम्पूर्ण प्रक्रियाको लेखाजोखा ‘अकाउन्टिङ’ एपमा रेकर्ड हुँदै जान्छ । अन्ततः सामान ग्राहकलाई पठाइन्छ, बिल जारी गरिन्छ र भुक्तानी प्राप्त भएपछि सम्पूर्ण कारोबार सम्पन्न हुन्छ । कम्पनीको मालिक वा म्यानेजरले ड्याशबोर्ड मा गएर बिक्री, नाफा र अन्य महत्त्वपूर्ण रिपोर्ट एकै पटक हेर्न सक्छन् । यो सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा सम्पन्न हुँदा समयको बचत र काममा सरलता आउने देखाइएको थियो ।
ओडूले व्यवसायको आवश्यकता अनुसार विभिन्न प्याकेज उपलब्ध गराएको छ । यसमा ‘स्ट्यान्डर्ड’ प्याकेज प्रति प्रयोगकर्ता प्रति महिना ७.२५ डलरबाट तथा ‘कस्टम’ प्याकेज १०.९० डलरबाट सुरु हुन्छ । कम्पनीले सफ्टवेयर कार्यान्वयन, तालिम र डेटा माइग्रेसनका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराउने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १८:३१
सामाग्री श्रोत :
टेक पाना